सूचना प्रविधिमा नयाँ फड्को: सुरु भयो फोर जी सेवा

सूचना प्रविधिमा नयाँ फड्को: सुरु भयो फोर जी सेवा

काठमाडौं: नेपालको सूचना तथा प्रविधिको क्षेत्रले ठूलो फड्को मारेको छ । आइतबार नेपाल टेलिकमले काठमाडौं र पोखरामा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोर जी) सञ्चालनमा ल्याएको छ । लङटर्म इभोलुसन (एलटीई) सेवाका रूपमा टेलिकमले फोर जी सेवा उपलब्घ गराएको हो । योसँगै काठमाडौं र पोखरामा रहेका जीएसएम पोस्टपेडका तीन लाख ५० हजार ग्राहकले फोर जी सेवाको मज्जा लिन पाउने भएका हुन् । यसका लागि नयाँ प्रविधिको यू-सिम भने अनिवार्य भएको छ । यू-सिम सानो आकारमा उपलब्ध सिम हो ।

झन्डै चालीस करोड लागतमा नेपाल टेलिकमले सञ्चालनमा ल्याएको फोर जी सेवाको प्रयोगबाट प्रारम्भिक चरणमा जीएसएम प्रिपे्रडका ग्राकह भने बन्चित भएका छन् । पहिलो चरणमा पोस्टपेडमा मात्र सिमित रहेको फोर जी सेवालाई टेलिकमले माघ २२ गतेबाट प्रिपेडका ग्राहकलाई पनि उपलब्ध गराउनेछ । टेलिकमले माघ २२ गतेबाट व्यावसायिक रूपमा फोर जी सार्वजनिक गर्दै प्रिपेडका ग्राहकलाई पनि यसमा समेट्ने जनाएको छ ।

सुरुवात परीक्षणका क्रममा भएकाले पनि हामीले फोर जी सेवालाई प्रिपेड सिम प्रयोगकर्तामाझ पु‍र्‍याउन नसकेको टेलिकमका महाप्रबन्धक कामिनी राजभण्डारीले बताइन् । उनका अनुसार फोर जी सेवाको सञ्चालन टेलिकमका लागि अविस्मरणीय क्षण हो । योसँगै ग्राहकले अब उच्च गतिको इन्टरनेट सेवा उपभोग गर्न पाउनेछन् । यसले नेपाललाई फोर जीको एलटीई सेवामासमेत समावेस गराएको छ ।

टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सञ्चालनमा ल्याउनेछ । त्यसमा टेलिकमले १० मेगाहर्जबाट टू जी र थ्री जी सेवालाई निरन्तरता दिएको छ भने ५ मेगाहर्जबाट फोर जी सञ्चालन गरेको राजभण्डारीले बताइन् ।

टेलिकमले फोर जीका लागि काठमाडौंमा तीन सय आठ वटा बीटीएस टावरलाई अपग्रेड गरेको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरेको छ । यसका लागि टेलिकमले चाइनीज कम्पनी हुवावेको टेक्नोलोजी प्रयोगमा ल्याएको छ । पहिलो चरणमा ३२.४ एमबीपीएस डाउनलोड स्पिडमामा रहेको फोर जी सेवालाई १०० एमबीपीएस बनाउन टेलिकमले छिट्टै ५ मेगाहर्ज ब्यान्डविथ थप गर्नेछ ।

थ्री जी सेवाकै मूल्यमा उपलब्ध गराएको फोर जी सेवा सञ्चालनका लागि पोस्टपेडका ग्राहकले स्टार ह्यास डायल गरी सेवा सञ्चालन गर्न सक्नेछन् । पुरानो संरचनाको सिममा यो सेवा उपलब्ध नहुने भएकाले यू-सिम नै लिनुपर्नेछ । तीन वर्षअघिदेखि यू-सिम वितरण थालेकाले त्योभन्दा पुरानो सिममा फोर जी चल्ने छैन । त्यसका लागि ग्राहकले ५० रुपैयाँ तिरेर नयाँ सिम निकाल्नुपर्ने प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

उनका अनुसार टेलिकमले फोर जी सेवालाई अहिले सेवा शुभारम्भको अवसरमा जनवरीभरि सेवा रजिस्टर्ड गर्ने ग्राहकलाई प्रतिदिन एक जीबीका दरले चार दिनका लागि चार जीबी निःशुल्क डाटा प्रदान गर्ने घोषणासमेत गरेको छ । साथै टेलिकमले १० एमबीपीएसदेखि ५ जीबीसम्मको डाटा प्याकेज पनि सार्वजनिक गरेको छ जुन प्रतिएमबी ३६ पैसादेखि ८० पैसामा उपलब्ध हुनेछ ।

फोर जी सेवाको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालको सूचना तथा प्रविधिको क्षेत्रमा एउटा महत्त्वपूर्ण कदम भएको बताए । उनले फोर जी सेवाको उपयोग बढीभन्दा बढी विकास पूर्वाधारका रूपमा प्रयोगमा आउनुपर्ने बताए । थ्री जी सेवा सुरु गर्ने सार्क राष्ट्रमा पहिलो देशका रूपमा रहेको नेपाल फोर जी सेवा सञ्चालन गर्न सात वर्ष ढिला भएको भन्दै कार्कीले अब यसलाई देश विकासको काममा अधिकतम् प्रयोगमा ल्याउनुपर्ने बताए ।

उनले गाउँगाउँमा ब्रोडब्यान्डमार्फत सेवा दिन नेपाल टेलिकम मात्र सक्षम भएको बताउँदै यसले दैनिक जीवनलाई सहज बनाउनसमेत सघाउ पुर्‍याउने बताए । कार्यक्रममा टेलिकम वायरलेस सेवाका निर्देशक अशोक थापाले सूचना प्रविधिको उपयोगका साथै विकासको पूर्वाधारका रूपमा फोर जी सेवा स्थापित हुनु पर्नेका साथै सेवाको उपयोगमार्फत सुरक्षा निकाय, पर्यटन, स्वास्थ्य, शैक्षिक, व्यावसायिक क्षेत्रको विकास गरी स्मार्ट सीटीको परिकल्पनालाई साकार पार्न योगदान गर्नुपर्ने बताए । उनले फोर जी मुलुकको आर्थिक परिवर्तनको वाहकका रूपमा स्थापित हुनुपर्ने बताए ।

सिममा मात्र नभएर कतिपय फोनमा पनि फोर जी सेवा नचल्न सक्छ । कम्पनीका अनुसार फोर जी सपोर्ट गर्ने प्रायः सबै फोनमा यो सेवा उपलब्ध हुनेछ । तर यसका लागि १८०० मेगाहर्ज ब्यान्डमा फोर जी सपोर्ट गर्ने फोन भने आवश्यक हुन्छ । बाहिरबाट आएका कतिपय फोनमा १८०० मेगाहर्ज ब्यान्डमा फोर जी सपोर्ट नगर्ने भएकाले एन्ड्रोइडका कतिपय फोनमा पनि फोर जी सेवा नचल्ने निर्देशक थापाले बताएका छन् । उनका अनुसार आईफोनमा देखिएको समस्या आईफोनको आईओएस १०.३ लन्चहुने वित्तिकै समाधान हुनेछ ।

अहिले आईफोनको सिक्स, सिक्स प्लस, र आईफोन सेभेन र सेभन प्लसमा फोर जी सेवा चल्ने छैन । यसका लागि कार्य भइरहेको र आईफोनको आईओएस १०.३ लन्च भएसँगै यसको समस्या हट्ने एप्पलका प्रतिनिधिले जानकारी गराएको थापाले बताए । उनका अनुसार कम्पनीको सेक्युरिटी फिचर्सअन्तर्गत लोकेसन इनेबल गर्न बाँकी सेटमा अहिले फोर जी नचल्ने भएको हो । थापाका अनुसार अहिले काठमाडौं र पोखरामा गरेर तीन लाखको हाराहारीमा पोस्टपेडका ग्राहक रहेका छन् ।

कुल एक करोड ६० लाख ग्राहक रहेको टेलिकमले फोर जी सेवा सबैमाझ पुर्‍याउन केही समयभित्रै देशका १५ वटा नगर तथा उपमहानगरपालिकामा फोर जी प्रारम्भ गर्ने उनले जनाए । ग्राहकले सेवालाई रुचाए भने ब्यान्डविथ थपेर पनि हामी अब फोर जी लिएर आउने निजी कम्पनीसँग प्रतिस्पर्धाका लागि तयार रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.