फुर्तिली फुञ्जो
आरोहण थालेको सात महिनाभित्र चार अप्ठ्यारा हिमाल आरोहण गर्नु चानचुने काम होइन । गोरखा चुमभ्यालीकी फुञ्जो लामाले यो कीर्तिमान कायम गरेकी छन् । फुञ्जोले जुन ०१६ देखि नोभेम्बरसम्ममा सफलता हासिल गरेकी हुन् ।
२३ जुनमा अमेरिकाको सबैभन्दा अग्लो ‘डेनाली पिक’को शिखर चुमेर आरोहण यात्रा सुरु गरिन् । विश्वका ‘टप सेभेन’ समिट गरेर मात्र डेनाली पिक चढ्ने यसअघिको प्रचलन पनि उनले तोडेकी छन् । अरू हिमालको अनुभव नलिई पहिलो आरोहण नै त्यसैबाट गरिन् ।
विश्वको छैटौं अग्लो हिमाल चो–ओयु लामाको दोस्रो प्रयास थियो, जसको चुचुरोमा पाँच घण्टामै पाइला राखिन् । जबकि, धेरै अभ्यास भएकाहरूका लागि पनि चो–ओयुको शिखर चुम्न सामान्यतया आठ वा नौ घण्टा लाग्ने गर्छ ।
अझ महत्वपूर्ण पक्ष उनले उक्त आरोहण बिनाअक्सिजन गरेकी थिइन् । त्यसपछि उनको मोह आमादब्लम हिमालमा गयो । निरन्तर अभ्यासपछि उनले १९ नोभेम्बरमा शिखर चुमिन् । आमादब्लमको अभ्यासमा छँदा एउटै शृखंलामा रहेको लोपोछे हिमाल १३ नोभेम्बरमा तीन घण्टामा आरोहण गरेकी थिइन् ।