किन कमजोर हुँदैछन् दलहरु ?

किन कमजोर हुँदैछन् दलहरु ?

नेपालका दलहरू सिद्धान्तअनुसार चलेका छैनन् । आंशिक रूपमा मात्र सिद्धान्तमा आधारित छन् भन्न सकिन्छ । दलहरू अक्षरशः सिद्धान्तअनुसार चल्ने त विश्वमा कहीं पनि हुँदैन, व्यावहारिक रूपमा त्यस्तो गर्न गाह्रो हुन्छ । अमेरिका, स्क्यान्डेनेभियन देशहरू, भारत र अन्य प्रजातान्त्रिक मुलुकमा पनि त्यस्तो हुँदैन । सिद्धान्त र व्यवहारका बीचमा केही फरक त जहाँ पनि हुन्छ । चीन आफैं पनि माओवादमा पूर्ण आधारित छैन ।

राजनीतिक रूपमा त अझै माओवादी दर्शनमा चीन चलेको होला तर आर्थिक हिसाबले खुल्ला बजार नीति अवलम्बन गरेको छ । विदेशी लगानी र व्यापार चलिरहेका छन् । कम्युनिस्ट दर्शनमा आधारित राजनीतिक र आर्थिक व्यवस्था भएको सोभियत संघ असफल भएर टुक्रियो ।नेपालको सन्दर्भमा, कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भनेकाले र अन्तर्राष्ट्रिय परिस्थिति अर्थ–राजनीतिक प्रणालीका लागि अनुकूल भएकाले धेरै–थोरै आफ्नो सिद्धान्तमा टिक्न सकेको छ ।

pr.-lockraj-baral

कांग्रेसले लोकतन्त्र र लोकतान्त्रिक पद्धतिप्रतिको प्रतिबद्धता त्यागेको छैन । यद्यपि, कांग्रेस पनि सिद्धान्तप्रति प्रतिबद्ध छैन । कांग्रेसले लोकतान्त्रिक समाजवादलाई आफ्नो सिद्धान्त मानेको छ । तर, त्यसलाई पूर्ण अनुसरण गरेको छैन । उसले केही मान्यता त्यागेको छ । पहिले संवैधानिक राजतन्त्र अपरिवर्तनीय भन्ने कांग्रेस पछि गणतन्त्रमा जान राजी भयो ।

कम्युनिस्ट पार्टीहरूमा केन्द्रीकरण र अधिनायकवाद हुन्छ । माक्र्सले सर्वहाराको अधिनायकवाद स्थापना र लेनिनले प्रजातान्त्रिक केन्द्रीकरण भनेका छन् । माक्र्सवाद, लेनिनवादलाई एमालेले मार्गनिर्देशक सिद्धान्त भने पनि त्यो पार्टीको संगठन र व्यवहारमा लागु भएको छैन । एमाले मात्र नभई नेपालका कम्युनिस्ट पार्टीहरूमा नारा र ब्यानर एकातिर तथा काम गराइ फरक छ ।

जस्तो : माओवादीले माओवादको कुरा गर्‌याे  त्यसैअनुसार रणनीति बनायो । गुरिल्ला युद्ध गर्‌यो, बुर्जुवा शिक्षा चाहिँदैन भन्यो । उदारवादी लोकतान्त्रिक अर्थ–राजनीतिक प्रणालीले मुलुकका समस्याको समाधान गर्न सक्दैन भन्यो । तर, अहिले आएर त्यही भासमा माओवादी पसेको छ । एमाले र माओवादीलगायत कम्युनिस्ट पार्टीहरू रूपान्तरित भएर संसदीय लोकतान्त्रिक पद्धतिमा आइसकेका छन् । विरोधाभाष के छ भने उनीहरूले कम्युनिस्ट सिद्धान्त छाड्यौं भन्न सकेका छैनन् ।

नाम र सिद्धान्त एकातिर छ, विश्वभर स्वीकारिएको लोकतान्त्रिक पद्धतिभित्र छिरिसकेका छन् । नेपालका कम्युनिस्टमा आएको परिवर्तन रणनीतिक मात्र नभएर दीर्घकालीनजस्तो देखिन्छ । किनभने, नेपालको सन्दर्भमा यसको विकल्प देखिदैन । अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिले पनि नेपालका कम्युनिस्टमा परिवर्तन ल्याएको देखिन्छ ।

औद्योगीकरण, व्यापार, वैदेशिक लगानी र समग्रमा अन्तर्राष्ट्रिय आर्थिक प्रणालीमा समाहित हुनुपर्ने बाध्यताले यस्तो परिवर्तन आएको हुनसक्छ । अहिले अमेरिका र चीनलाई एकअर्काको बजार चाहिने परिस्थिति छ । चीनको अर्थतन्त्र बजारमुखी छ, राजनीतिक प्रणाली भने नियन्त्रित । चीनलाई पनि विश्वको अर्थतन्त्रसँग सहकार्य र अन्तरक्रिया नगरी सुख छैन ।

चीनको यो अर्थ–राजनीतिक व्यवस्था अन्य देशका कम्युनिस्टका लागि पनि एउटा मोडेलका रूपमा आएको छ । भियतनाम पनि पूर्ण रूपमा कम्युनिस्ट अर्थ–राजनीतिक प्रणालीअनुसार चलेको छैन । उत्तरकोरियामा कम्युनिजमका नाममा सैनिक अधिनायकवादी र पारिवारिक शासन चलेको देखिन्छ । विश्वभरि नै उदारवादी लोकतन्त्रको विकल्पमा कुनै अर्को राजनीतिक व्यवस्था आउन सकेन । त्यसैले नेपालमा पनि कम्युनिस्टहरू यही पद्धतिमा आउन बाध्य भएका हुन् ।

नेपालका कम्युनिस्ट पार्टीहरू माक्र्स, लेनिन, माओ र अन्य कम्युनिस्ट नेताका सिद्धान्त तथा सर्वहारा वर्गका नारामा एकमत त भए तर त्यसअनुसारको व्यवहार गर्न सकेनन् । माक्र्स र माओका सर्वहाराको अधिनायकवादी शासन, मुक्ति, शोषणविरुद्धको लडाइँजस्ता नारा आन्दोलनका लागि निकै आकर्षक र शक्तिशाली भए । माक्र्सले हिंसात्मक तरिकाले सर्वहाराको अधिनायकवाद र अधिकार स्थापित गर्ने कुरा गरेका थिए ।

मुलुक र समाजलाई असर पार्ने महत्तवपूर्ण निर्णय ५/७ जना नेताले गर्ने र त्यसमा अरुले अनुमोदन मात्रै गर्ने चलन संसदीय लोकतन्त्रमा नहुनुपर्ने हो। हाम्रो राजनीतिक पद्घति र निर्णय प्रक्रिया लोकतान्त्रिक मान्यताहरूबाट टाढा पुगिसकेको देखिन्छ।

तर, माओले चीनमा कम्युनिस्ट सशस्त्र क्रान्ति गर्दा युरोपको जस्तो अवस्था थिएन । चीन कृषिमा आधारित मुलुक थियो, माओले माक्र्सवादलाई चीनका सन्दर्भमा अनुसरण गरे । मधेशकेन्द्रित दलहरू भारतका तमिलनाडु, आन्ध्रप्रदेश, पश्चिमबंगालजस्ता प्रान्तमा भएका क्षेत्रीय पार्टीजस्तै हुन् । तिनीहरू आफ्नो क्षेत्र, समाज र जातजातिको अधिकारका लागि स्थापित भएको दाबी गर्छन् ।

उनीहरू पनि नेपालका अरू दलजस्तै हुन्, पूरै सिद्धान्तअनुसार चलेका छन् भन्न सकिँदैन । तर, उनीहरूले सिद्धान्त त्यागेका छन् पनि भन्न सकिँदैन । संसदीय लोकतान्त्रिक पद्धति उनीहरूले पनि स्वीकारेको विधि हो । उनीहरूले मधेशीलाई अधिकारका लागि संघीयता, समावेशी प्रतिनिधित्वका एजेन्डा छाडेका छैनन् । ती माग लोकतन्त्रको आधारभूत मान्यतासँग मेल नखाने किसिमका होइनन् ।

सधैँ आफ्नै मात्र सिद्धान्तमा अडिएर बस्न दलहरू सक्दैनन् । त्यसो गर्नु गाह्रो मात्र होइन, अव्यावहारिक पनि हुन्छ । विचलन वा दलको सिद्धान्तमा आधारित व्यवहार नगर्ने प्रवृत्ति संसारभरि नै छ । हाम्रोजस्तो गरिब मुलुक, जहाँ विभिन्न विचारधाराका दलहरू छन्, मा त झन् सिद्धान्तअनुसार व्यवहार गर्न र रणनीति बनाउन गाह्रो छ । सिद्धान्तलाई नीति र रणनीतिमा ढाल्न झन् गाह्रो छ । सिद्धान्त र रणनीतिमा केही फरक हुन्छ तर नेपालमा सिद्धान्तलाई रणनीतिका रूपमा प्रयोग गरिएको छ ।

जस्तो : धर्मनिरपेक्षता भन्ने एउटा सिद्धान्त छ तर त्यसलाई यहाँ रणनीतिका रूपमा प्रयोग गरियो । धर्मनिरपेक्षता जुन–जुन पार्टीले लागु गरे, तिनैका शक्तिशाली नेता त्यसविरुद्ध देखिएका छन् । ८१ प्रतिशत हिन्दु भएको मुलुक धर्मनिरपेक्ष हुनुहुँदैन, हिन्दुराष्ट्र हुनुपर्छ भन्ने माग आइरहेको छ, जुन विरोधाभाष हो ।

२०१५ सालमा तत्कालीन राजा महेन्द्रले दिएको संविधानमा पनि नेपाललाई हिन्दुराष्ट्र भनिएको थिएन । पञ्चायती व्यवस्थामा राजाको शक्ति र शासनलाई जायज देखाउन हिन्दुराष्ट्र घोषणा गरियो । अहिले पनि केही दलका नेताले हिन्दुराष्ट्रको माग गरिरहेका छन् । यसरी दलहरूले सिद्धान्त बुझेको र त्यसप्रति प्रतिबद्ध भएको देखिएन । दलहरू सिद्धान्तप्रति प्रतिबद्ध भएको भए र आन्तरिक छलफल हुने भए, तिनका नेताको एउटै बोली हुनुपथ्र्यो । राज्यले एउटा धर्मको नजिक देखिनु राम्रो होइन ।

नेपालका राजनीतिक दलको सिद्धान्तभित्र रहेर जनताका जनजीविकाका सवाललाई सम्बोधन गर्ने किसिमले रणनीतिहरू बन्ने संस्कार छँदै छैन । सिद्धान्तबाट निर्देशित हुनेभन्दा पनि शक्ति र सत्तामा पुग्न बढी प्रतिस्पर्धा हुने गरेको छ । दलहरूको सिद्धान्त र लोकतन्त्रको संस्थागत विकासमा प्रतिबद्धता देखिएन । सिद्धान्तका लागि क्रान्ति गर्ने तर त्यसपछि आफ्ना एजेन्डालाई संस्थागत गर्न नसक्ने/नगर्ने देखियो ।

दलको दृष्टिकोण कस्तो बनाउने, मुलुकलाई कसरी बढाउने भन्ने कुनै चिन्तन भएको देखिँदैन । दलहरूबीच समीकरण बन्ने र भत्किने विषय खालि सत्ता र शक्तिका लागि मात्र भइरहेजस्तो देखिन्छ । लोकतन्त्रमा दलहरूबीच प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि शिक्षा, स्वास्थ्य, कृषि र मुलुक विकासका विषयमा साझा अवधारणा र सहमति हुनु जरुरी हुन्छ । नेपालमा साझा अवधारणा बनेको कमै पाइन्छ ।


सिद्धान्त, नीति र रणनीतिमा आन्तरिक छलफल नहुने हुनाले दलहरू थोरै नेताको निर्णयअनुसार चल्ने गरेका छन् । कार्यकर्ताहरू विचारका आधारमा गोलबद्ध हुनेभन्दा पनि नेताको पछाडि लाग्ने र अन्ध समर्थन गर्ने परिपाटी बनेको छ । मुलुक र समाजलाई असर पार्ने महत्वपूर्ण निर्णय ५/७ जना नेताले गर्ने र त्यसमा अरूले अनुमोदन मात्रै गर्ने चलन संसदीय लोकतन्त्रमा नहुनुपर्ने हो । यसरी हाम्रो राजनीतिक पद्धति र निर्णय प्रक्रिया लोकतान्त्रिक मान्यताहरूबाट टाढा पुगिसकेको देखिन्छ । यसलाई सही बाटोमा ल्याउन धेरै गाह्रो छ ।

अहिले विभिन्न विचारधारा र रणनीति भएका दलबीच ध्रुवीकरण देखिन्छ । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता आधारभूत राजनीतिक उपलब्धिमै विमति देखिएको छ । दलहरूले सिद्धान्तमा आधारित भएर निर्णय गरेका छैनन् । जस्तो : राज्य र धर्मको सम्बन्धको मामिला । धर्मनिरपेक्षता भनेको राज्यको कुनै धर्म विशेषप्रति नजिक हुँदैन र सबै धर्मप्रति बराबर दूरी राख्छ भन्ने हो ।

निरपेक्षता वा स्वतन्त्रता हुँदैमा सबै धर्मप्रति राज्य बराबर हुँदा मानिसले आफ्नो धर्म मान्न पाउँदैनन् भन्ने त होइन । पूजापाठ गर्ने र धर्म मान्ने अधिकार सबैलाई हुन्छ । भारतमा पनि करिब ८० प्रतिशत हिन्दु छन् र तिनले धर्म मान्न र त्यसअनुसारको संस्कृति अपनाउन पाउँछन् । तर, भारतलाई हिन्दुराज्य त घोषणा गरिएको छैन ।

नेपालका दल घोषणा पत्रप्रति पनि इमानदार भएको देखिँदैन । तिनीहरू विखण्डित भएका छन् र दलभित्र समूह बनेका छन् । दललाई एक बनाउन सक्ने र बलियो नेतृत्व दिन सक्ने नेता भएनन् । नेतृत्वले दललाई पूर्ण नियन्त्रणमा लिन सकेनन् । भारतमा जवाहरलाल नेहरू र इन्दिरा गान्धीले नेतृत्व दिए । भारतका राजनीतिक दलमा नीतिगत विषयमा विवाद बाहिर छताछुल्ल भएको खासै देखिँदैन । तर, नेपालका दलभित्रका समूह, गुट र नेताका मतभिन्नता बाहिरै आउँछन् ।

पार्टीहरू प्रभावकारी हुनलाई आ–आफ्ना आदर्शमा टाँसिएर मात्र हुँदैन । लोकतन्त्रका आधारभूत कुरामा त सहमति हुनुपर्छ । सबै कुरामा सहमत हुन सकिँदैन भने संविधान कार्यान्वयन र समावेशीजस्ता आधारभूत कुरामा त दलहरूबीच सहमति हुनुपर्छ । लोकतन्त्र आफैंमा समावेशी व्यवस्था हो । तर, यसमा प्रतिनिधित्वलाई प्रभावकारी बनाउनलाई समावेशी भनियो ।

यस्तै परिस्थिति रहिरहने हो भने देश र संवैधानिक प्रक्रिया दुर्घटनामा पर्नसक्ने सम्भावना प्रबल छन्। पार्टीहरू कमजोर हुँदै जान्छन् र बहुदलीय व्यवस्था कमजोर हुन्छ। त्यतिबेला कुन शक्ति कसरी आउँछ भन्न गाह्रो छ।

समावेशीताले लोकतन्त्रलाई व्यवहारमा लागु गर्छ भन्ने अवधारणा हो । लोकतन्त्रको सिद्धान्तलाई व्यवहारमा उतार्न दलित, जनजाति र मधेशीका समावेशीका माग आएका हुन् । अहिले संघीयता, समावेशीका मागलाई सम्बोधन नगर्दा पछि ती झन् सशक्त ढंगले उठ्छन् । चिन्तन नगरी, दबाबका भरमा र छलफल नगरी संघीयता, समावेशी, धर्मनिरपेक्षताजस्ता कुरा स्वीकार्ने तर पछि पछाडि फर्किन खोज्ने प्रवृत्तिले दलहरूमा प्रशस्त छलफल नभएको प्रस्ट हुन्छ । नेपालको राजनीतिमा स्थायित्व नआएको कारण पनि यही हो ।

दलहरूका नाम जे भए पनि र तिनीहरूका सिद्धान्त कागजमा जे रहे पनि सबै दल व्यवहारमा उस्तै देखिन्छन् । उदारवादी लोकतन्त्र, बहुदलीय व्यवस्था र संसदीय पद्धतिमा सबै आएका छन् । यी कुरा स्वीकारिसकेपछि सहमति र सहकार्यका साथ बढेको भए सजिलो हुने थियो । तर, स्वार्थबाट निर्देशित भएकाले राजनीतिक अस्थिरता देखिएको हो ।

विचारमा विभिन्नता भएका पार्टीहरूबीच न्यूनतम कुरामा सहकार्य हुनैपर्छ । हरेक विषयमा विमति राखेर मिलनविन्दु फेला पर्न सक्दैन । सबै दल सिद्धान्त, आदर्श र रणनीतिमा मात्र आधारित रहे भने सहमति र सहकार्य हुन सक्दैन । तर, लोकतान्त्रिक समाजवाद, जनमुखी लोकतन्त्र, जनतालाई राहत र आर्थिक न्याय दिने तथा क्षेत्रीयताको माग कसरी सम्बोधन गर्ने, सरकार कसरी चलाउनेजस्ता विषयमा सहमति हुनुपर्छ । यी विषयमा सहमति नहुने हो भने संविधान नै कार्यान्वयन नहुने खतरा बढ्छ ।

यसका लागि फरक–फरक विचार, माग र दृष्टिकोण भएका दलले गम्भीर भएर देशका लागि सोच्नु जरुरी छ । मुलुकको समस्याबारे दलहरू संवेदनशील हुनुपर्छ । न्यूनतम कुरामा सहमति र सहकार्य हुनुपर्छ भन्ने कुरा दलहरूले जबसम्म महशुस गर्दैनन्, तिनीहरूको अहिलेजस्तो संरचना, बनावट र नेतृत्वबाट मुलुकले निकास पाउन सम्भव छैन ।

जनता र सिद्धान्तभन्दा स्वार्थ माथि आएकाले राजनीतिमा समस्या देखिएको हो । संविधान जारी गर्ने बेलामा केही ढिलो गरेको भए पनि हुन्थ्यो । तर, केपी ओलीको प्रधानमन्त्री बन्ने हतारोले संविधान चाँडै र हतारमा जारी गरियो । यसरी देशका समस्याभन्दा पनि व्यक्तिगत र पार्टीको स्वार्थलाई बढी प्राथमिकता दिइयो । अहिले पनि स्वार्थवश राष्ट्रवादको नारा जोडतोडले उठाइएको छ ।

पुष्पकमल दाहालपछि प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका छन् शेरबहादुर देउवा । कुर्सीको खेललाई प्राथमिकतामा राखियो । मुलुक र जनताका विषयवस्तुलाई प्राथमिकतामा पारिएन । बहुदलीय व्यवस्थालाई संस्थागत बनाउन दलका नेतामा एकै किसिमका सोच र भावना हुनुपर्छ ।यस्तो अनिश्चयको वातावरण देखेर परम्परागत शक्ति टाउको उठाउन खोज्दैछन् ।

त्यस्ता शक्तिलाई अहिलेको नेतृत्वको अकर्मण्यताले अप्रत्यक्ष सहयोग पुर्‌याइरहेको छ । यस्तै परिस्थिति रहिरहने हो भने देश र संवैधानिक प्रक्रिया दुर्घटनामा पर्नसक्ने सम्भावना प्रबल छ । पार्टीहरू कमजोर हुँदै जान्छन् र बहुदलीय व्यवस्था पनि शक्तिहीन हुन्छ । त्यतिबेला कुन शक्ति, कसरी आउँछ भन्न गाह्रो छ । उत्तर/दक्षिण नजोड्दा मुलुक टुक्रिन्छ र पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्छ भन्नु पुराना सोचाइ छाड्न नसकेको कुराको प्रतीक हो ।

नेपालमा छिटोछिटो राजनीतिक परिवर्तन हुने गरेका छन् । ००७ सालमा प्रजातन्त्रको स्थापना, ०१७ मा प्रजातन्त्रको अपहरण, ०४६ मा बहुदलीय व्यवस्थाको पुनःस्थापना र ०६३ मा गणतन्त्रको घोषणा छोटो समयमा र अप्रत्यासितजस्तो गरी भएका छन् । दलहरूबीच सहमति नहुने र हरेक विषयमा विमति रहिरहने हो भने संविधान कार्यान्वयन नहुने मात्र होइन, देशले ढिलोचाँडो अर्को राजनीतिक बाटो लिन सक्छ । यस्तै राजनीतिक वातावरण कायम रहिरहने हो भने लोकतन्त्र संस्थागत र स्थिर हुन सक्दैन । राजनीतिक दलले गल्ती महशुस र न्यूनतम कुरामा सहमति गरेर संविधान कार्यान्वयनको दिशामा बढ्नुपर्छ ।

(कुराकानीमा आधारित)



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.