उग्र राष्ट्रवाद जागेको वर्ष

उग्र राष्ट्रवाद जागेको वर्ष

पहिलो त उनी उम्मेदवारसमेत नहुने आकलन थियो । निरन्तर विवादास्पद अभिव्यक्तिका बावजुद डोनाल्ड जे ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार बने । डेमोक्रेटिक पार्टीबाट हिलारी क्लिन्टन उनकी प्रतिस्पर्धी थिइन्, जसलाई संसारभरबाट सहानुभूति थियो । त्यस्तो सहानुभूतिले क्लिन्टनलाई जिताएन, अमेरिकी मतदाताले ट्रम्पलाई आगामी चार वर्षका लागि आफ्नो ४५ औं राष्ट्रप्रमुख बनाए । यो सन् २०१६ को त्यस्तो परिघटना हो, जसले आगामी केही वर्षको विश्व राजनीतिलाई प्रभावित पार्ने छ ।

अमेरिकाको आधिकारिक नीति विपरीत रुस र उत्तरकोरियाली नेताहरूको प्रशंसा गरेका ट्रम्पले चुनावी अभियान र त्यसपछि पनि चीनको विरोध गरिरहेका छन् । ताइवानी राष्ट्रपतिको बधाई ग्रहण र एक चीन नीतिप्रति पुनर्विचारको कुरा गरेर उनले विश्व राजनीतिमा कम्पन ल्याइदिएका छन् । खासगरी, दोस्रो विश्वयुद्धपछि अमेरिकी चाहनामा बनेको विश्व राजनीतिक समीकरण भत्काउन उनी उद्यत् देखिएको आलोचकहरूको भनाइ छ ।

विश्व अर्थतन्त्रमा त्यस्तै तहल्का मच्चाएको थियो, युरोपेली संघबाट बेलायतको बहिर्गमन अर्थात्, ब्रेक्जिटले । जुन ०१६ मा बेलायतमा भएको जनमत संग्रहमा झिनो मतले ब्रेक्जिटका पक्षमा परिणाम आयो, जसले क्षेत्रीय संगठनकै अवधारणामा धक्का लागेको विश्लेषण भइरहेको छ । त्यसका असर त विस्तारै देखिँदै जालान्, तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई भने पदबाट राजीनामा दिन नैतिक दबाब सिर्जना गर्‍यो ।

one

प्रस्तावको विपक्षमा मतदान गरेका स्कटल्यान्डका मतदाताले पुनः स्वतन्त्रताको नारा अगाडि सारेर पक्षमा मत दिएकाहरूलाई समस्यामा पारिदिएका छन् । वर्षको थालनीमै ब्राजिलबाट सुरु भएको जिका भाइरसको संक्रमणले विश्वभर आतंक सिर्जना गरायो । संक्रमित शिशुको मस्तिष्क र टाउको सानो हुने समस्यालाई गम्भीरतापूर्वक लिनु पर्नेमा विश्व स्वास्थ्य संगठनले सचेत गरायो । यौन सम्पर्कबाट समेत सर्ने भएकाले ब्राजिलकै रियोमा त्यसपछि आयोजित ओलम्पिकमा सहभागी हुन चाहने संसारभरका मानिस सचेत हुन पुगे ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकाल कम विवादास्पद र लोकप्रिय रह्यो । त्यस्तैमा ८८ वर्षअघि तोडिएको क्युबास“गको सम्बन्ध जोडेर ओबामाले विश्व रंगमञ्चलाई चकित तुल्याए । क्युबा भ्रमण गर्ने त्यसयताका पहिलो राष्ट्रपति पनि बने उनी । फिडेल क्यास्ट्रो नेतृत्वमा भएको सशस्त्र संघर्षबाट कम्युनिस्ट शासन स्थापित भएपछि अमेरिकाले क्युबामाथि ५५ वर्षभन्दा बढी समय आर्थिक नाकाबन्दी लगाएको थियो ।

सन् १९६२ मा क्युबामा सोभियत संघले आणविक अस्त्रहरू राख्न खोजेपछि त दुई मुलुकको सम्बन्ध तिक्तताको उत्कर्षमै पुगेको थियो । त्यति ठूलो परिवर्तन देखेरै २६ नोभेम्बरमा क्यास्ट्रोले ९० वर्षको उमेरमा देहत्याग गरे । विश्वभरका कम्युनिस्टहरूका आदर्श र उदारवादीका नजरमा अधिनायकवादी शासक क्यास्ट्रो २० औं शताब्दीका नेता थिए ।

यस्तै, मेमा ओबामा जापानको हिरोसिमा पुगे । र, दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम खसालेको उक्त सहरको भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बने । उक्त घटनामा एक लाख ४० हजारभन्दा बढीको ज्यान गएको थियो । यस्तै, संसारभरका शक्तिशाली व्यक्तिहरूले कसरी अवैध सम्पत्ति लुकाउँछन् भन्ने खुलासा गर्‍यो पनामा पेपर्र्सले ।

अप्रिलमा मध्यअमेरिकी मुलुक पनामास्थित कानुनी सेवा केन्द्र मोस्याक फोन्सेकाका वर्गीकृत सूचनाहरू सार्वजनिक भएपछि विश्वभरिका नेता, फुटबल खेलाडी र अभिनेताहरूको असली चरित्र उदांगो हुन पुग्यो । उनीहरू माथि नक्कली कम्पनीका नाममा लगानी गरेर कालो धनलाई सेतो बनाउन खोजेको आरोप लागेको छ ।

सार्वजनिक भएका करिब एक करोड १५ लाख सूचनाका कारण युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्को, प्रख्यात फुटबल खेलाडी लियोनेल मेस्सी र उनका पिता, हङकङमा जन्मिएका प्रख्यात हलिउड अभिनेता ज्याकी च्यान, साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजिज अल साउद, चीनका पूर्वप्रधानमन्त्री ली पेङकी छोरी ली जायोलिन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका साथीहरू सेर्गेइ रोल्डिगिन र बोरिस रोटेनबर्ग, बेलायतका तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनका पिता आयन, आइसल्यान्डका प्रधानमन्त्री सिग्मन्डर डेभिड गुनलग्सनलाई लाजमर्नु भयो । गुनलग्सन त राजीनामा दिन बाध्य भए ।

two

१४ मे ०१६ मा फिलिपिन्सको राष्ट्रपतिमा रोड्रिगो डुर्टेटे निर्वाचित भए । उनी गुण्डा र लागुऔषध कारोबारीलाई भिजिलान्ते शैलीमा गैरकानुनी हत्या गर्ने शासकका रूपमा चिनिएका छन् । डाबाओ सहरको मेयर हुँदा लागुऔषधका कारोबारी र गुण्डाहरूलाई कानुनी प्रक्रियामा नलगी सिधै हत्या गर्ने गरेको खुलासा उनी स्वयंले गरेका हुन् । राष्ट्रपति निर्वाचित भएपछि पनि त्यो क्रम रोकिएको छैन । अमेरिकी राष्ट्रपति ओबामाले गैरकानुनी हत्याको विषय उनीसँगको भेटमा उठाउने बताएपछि उनले ओबामालक्षित अपशब्द नै बोले । परम्परागत रूपमा अमेरिकाको नजिक मानिने फिलिपिन्सलाई डुर्टेटेले चीनतिर ढल्काएका छन् ।

थाइल्यान्डका लोकप्रिय राजा भूमिबोल अदुल्यादेजको १३ अक्टोबरमा निधन भयो । उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने लोकप्रिय राजा थिए । उनको उत्तराधिकारी तोक्न भने झण्डै दुई महिना लाग्यो । ५० औं दिनमा विवादास्पद छविका छोरा ६४ वर्षीय युवराज महाभजिरालङकर्नलाई राजगद्दीमा आसिन गराइयो । युवराज छँदाका बखत स्वच्छन्द क्रियाकलापले उनलाई विवादास्पद बनाएका थिए । सोही कारण उनले बाबुको मृत्युपछि तत्काल राजगद्दीमा नबस्ने बताएका थिए । 

विनासकारी युद्ध उत्कर्षमा पुग्दा इराक र सिरियाका करिब एक करोड मानिस बसोबास गर्ने क्षेत्र कब्जा गरेको इस्लामिक अतिवादी संगठन आईएसआईएस डिसेम्बर ०१६ को अन्त्यसम्म आइपुग्दा खुम्चिँदै गएको बीबीसीको दाबी छ । इराकको मोसुलबाट सुरु भएर इराक र सिरियाका विभिन्न क्षेत्रमा फैलिएको आईएस नियन्त्रित इलाका अहिले मोसुल वरिपरि नै आइपुगेको छ । इराकी सुरक्षाकर्मी, कुर्दिस लडाकु र सुन्नी आदिवासीहरूको गठबन्धनले आईएसलाई परास्त गर्दै लगेको पनि बीबीसीले जनाएको छ । नृशंस यातना दिँदै हत्या गर्ने अमानवीय गतिविधिका कारण उक्त संगठन बदनाम छ ।

मार्च २०१६ मा एअर इजिप्टको विमानलाई ५९ वर्षीय इजिप्टेली नागरिक सेफ इल्डिन मुस्तफाले अपहरण गरेर साइप्रसमा अवतरण गराए । सुरुमा उक्त विमान आतंककारीको अपहरणमा परेको शंका गरिएको थियो । उनले जहाज अपहरण गर्ने क्रममा नक्कली विष्फोटक पदार्थको पेटी लगाएका थिए । जब विमान साइप्रसको दक्षिणपूर्वी तटीय क्षेत्र लर्नाकामा अवतरण भयो, मुस्तफाले अनौठा माग राखे । त्यसमध्ये एउटा, साइप्रसकी नागरिक तथा उनकी पूर्वपत्नीलाई चिठ्ठी दिन पाउनुपर्ने पनि थियो ।

आफूले विगत २४ वर्षदेखि आफ्नी पत्नी र छोराछोरीलाई देख्न/भेट्न नपाएको तथा इजिप्ट सरकारले अनुमति नदिएकाले विमान अपहरण गर्न बाध्य भएको उनले बयान दिए । मागमा अडिग देखिएका मुस्तफाले धेरै बन्धकलाई रिहा मात्र गराएनन्, बन्धकसँग उनले हाँसेर खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा ‘भाइरल’ बने । र, नेपाल अप्रिल २०१६ मा नेपालको सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीले सपथ लिइन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्ले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि नेपालले अक्टोबर २०१५ मा राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारी र सभामुखमा ओनसरी घर्तीमगर पाएको थियो । नेपालमा तीन महिला राज्यको शीर्षस्थानमा पुगेको समाचारलाई संसारभरका सञ्चारमाध्यम र छिमेकी भारतका टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स, इन्डियन एक्सप्रेसलगायत अखबारले प्राथमिकताका साथ प्रकाशित गरेका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.