पुनर्जन्म लिँदै साझा

पुनर्जन्म लिँदै साझा

एकातिर पाँच वर्षदेखि लेखक/साहित्यकारले लेखकस्व पाएका छैनन् अर्कातिर लेखक/साहित्यकारको एकमात्र सरकारी संस्था साझा प्रकाशनले २२ करोड रुपैयाँ बराबरका पुस्तकहरू भण्डारणमा थन्क्याएको छ । वर्ष दिन प्रेस पनि बन्द गरियो ।

गलत नेतृत्वकै कारण त्यहाँ आठ वर्षसम्म साधारण सभासम्म भएन । ११ वर्षदेखि लेखा परीक्षणलाई पनि सार्वजनिक गरिएन । कर्मचारीले अझै पनि दुई वर्षभन्दा बढीको सञ्चय कोष र बढीमा ३० महिनादेखिको मासिक तलब पाएका छैनन् ।

यस्तै परिवेशमा दुई वर्षअघि अध्यक्ष तथा महाप्रबन्धक बनेर आएका डोलिन्द्रप्रसाद शर्माले साधारण सभा गराए, लेखा परीक्षण सार्वजनिक गराए । प्रेस सञ्चालनमा ल्याए तर तलब खान र लेखक/साहित्यकारलाई पारि श्रमिक वितरण गर्न नसक्ने गरी थला परेको साझा प्रकाशनमा सीमित बजेटका कारण अरू खासै केही गर्न सकेनन् । दुई वर्षको कार्यकाल पनि सकिन लाग्यो ।

उनी नियुक्त हुनुअगाडिदेखि नै लेखक/साहित्यकारहरूले ‘साझा बचाऊ' आन्दोलन र अभियान गरिरहेकै थिए । तर साहित्यलाई अनुत्पादक क्षेत्र ठान्ने र साहित्यकार/कलाकार देशका गहना हुन् भन्ने दोहोरो मापदण्ड बोकेको सरकारले साझा प्रकाशनलाई टुलटुलु हेरिरह्यो, स्याहारसम्भार गर्नुपर्छ भन्ने महसुससम्म गरेन ।

शर्माले सरकारलाई ब्यूँझाउने प्रयास गरे । सम्भवतः सरकारसँग शर्माको ‘वेभ लेन्थ' मिल्यो र प्रधानमन्त्री पुष्पकमल दाहालले २० करोड रुपैयाँ ऋण र १० करोड अनुदान गरी ३० करोड रुपैयाँ दिने प्रस्ताव मन्त्रिपरिषद्मा राखे । प्रस्ताव पारित भयो । मन्त्रिपरिषद्को यो निर्णय सम्पूर्ण साहित्यकारको साझा सरकारी थलो मानिएको साझा प्रकाशनका लागि एउटा कोशेढुंगो साबित भयो ।

३० करोडको बाँडफाँट

साझाका लागि २० करोड ऋणसहित १० करोड रुपैयाँ दिइने भएको छ । रकम निकासा भइसकेको छैन । रकम हात पर्न कति समय लाग्ने हो, त्यो फरक विषय होला । साझाले १४ करोड १३ लाखरुपैयाँ जनक शिक्षा सामग्री लिमिटेडलाई दिनुपर्ने सर्त तयार छ । रकम हात नपर्दै शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, १४ करोड १३ लाख रुपैयाँ सीधै केन्द्रलाई मिलाइदिन ।

साझाले आर्थिक कठिनाइ भएपछि २०६८ सालमा तत्कालीन अध्यक्ष एवं महाप्रबन्धकले सिटिजन्स् बैंक र राष्ट्रिय सहकारी विकास बैंकबाट गरी चार करोड ६० लाख रुपैयाँ ऋण लिएको थियो । केन्द्रलाई दिनुपर्ने रकम कटाएपछि बच्ने १५ करोड ८७ लाख रुपैयाँबाट दुई बैंकको ऋण र त्यसको ब्याज तिर्न सात करोड ८५ लाख खर्च हुनेछ । साझा प्रकाशनको परिसरमा पाँचतले निर्माणाधीन भवन पूरा गर्नै छ । पुरानो प्रेस एक वर्ष बन्द भएको र अहिलेको समयमा सान्दर्भिक नभएकाले नयाँ आधुनिक मेसिन खरिद गर्नुपर्ने भएको छ ।

शर्माले करिब तीन करोड रुपैयाँ पर्ने वेब मेसिन किन्ने तयारी गरेको जानकारी दिए । कर्मचारीको तलब भत्तामात्र २८ करोड र लेखकस्व मात्र एक करोड ५० लाखभन्दा बढी छ । ‘सबै खर्च कटाउने हो भने पाँच करोड रुपैयाँ पनि हात पर्ने अवस्था छैन तर सर्जकले हेर्दा ३० करोड कहाँ गयो भन्ने प्रश्न फेरि गर्न सक्छन्', उनी भन्छन्, ‘केन्द्र र बैंकलाई मिलाएर १७ करोडमात्रै तिरेर काम चलाउने र बैंकलाई तिरेपछि एक करोड ८० लाख फुक्का हुने भएकाले त्यो साझामै खर्च गर्ने योजना छ ।' भवन बनाइसकेपछि त्यसबाट मासिक १५ लाख रुपैयाँ भाडा आउने उनको भनाइ छ ।

साझाको भण्डारमा झन्डै २२ करोडका पुस्तक छन् । त्यसलाई प्रदर्शनीमार्फत बिक्री गर्ने योजना साझाको छ । शर्माका अनुसार शिक्षामन्त्री धनीराम पौडेलले माननीय विकास कोषबाट दुई लाखको पुस्तक किनेका छन् भने संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले दुई लाखको किन्ने वचन दिएका छन् ।

४६ करोडको योजना

साझा प्रकाशन केही वर्षदेखि गम्भीर संकटबाट गुज्रँदै आएको छ । टड्कारो रूपमा देखा परेका समस्याहरू धेरै र संस्था सानो भएकैले चुनौतीको सामना गर्दै उच्च मनोबलका साथ वार्षिक कार्ययोजना बनाउनु र सोहीअनुसार कार्यान्वयन गर्नु सञ्चालक परिषद् र कर्मचारीको विशेष दायित्व बनेको छ । चालू आर्थिक वर्षमा साझा प्रकाशनले नौ शीर्षकमा यसरी खर्च गर्ने योजना बनाएको छ ।

कार्यरत कर्मचारीलाई भुक्तानी गर्न बाँकी तलबभत्ता आदि सात करोड ४४ लाख ४४ हजार तीन सय ३०, विगतमा सेवानिवृत्त भएका कर्मचारीलाई दिनुपर्ने बाँकी उपदान तीन करोड ६४ लाख ३१ हजार एक सय ५६, अवकाश लिएका कर्मचारीलाई दिन बाँकी रकम पाँच करोड ६० लाख ८० हजार एक सय ७७, २० वर्ष सेवा पुगेका कर्मचारीलाई अवकास दिँदा भुक्तान गर्नुपर्ने रकम ११ करोड ६२ लाख ६६ हजार ६ सय ८३ रुपैयाँ छ ।

पुस्तकमाथि पाठकको पहुँच' बढाउन साझाले गोदाममा रहेका २२ करोडभन्दा बढीका साहित्यिक पुस्तक प्रवद्र्धनात्मक योजना ल्याई बिक्री गरी चालू पुँजीमा परिणत गर्नेछ ।

दुई बैंकबाट लिइएको रकमको साँवा तथा ब्याज भुक्तानी सात करोड ८५ लाख, छपाइ मेसिन खरिद र बीउ पुँजी दुई करोड ५० लाख, लेखकस्व भुक्तानी बाँकी एक करोड ८७ लाख सात हजार पाँच सय, संस्थाको निर्माणाधीन भवनलाई सम्पन्न गर्न दुई करोड र सरकारबाट प्राप्त ऋण सहयोगको भुक्तानीका लागि चार करोड २७ लाख रुपैयाँ छुट्याइएको छ । यसरी चालू आवमा ४६ करोड ८१ लाख २९ हजार आठ सय ४६ रुपैयाँको काम साझा प्रकाशनमा खर्च हुनेछ ।

संस्थाले लक्षित आम्दानीका रूपमा २५ करोड ७० लाख ८७ हजार चार सय तीन रुपैयाँ हुने अपेक्षा गरेको छ । जसअनुसार कक्षा ११ र १२ का पाठ्यपुस्तक लगायत व्यवस्थापन संकाय तर्फबाट पुस्तकहरूको उत्पादन र बिक्रीबाट १२ करोड रुपैयाँ ३२ लाख ८७ हजार ८३, संस्थामा विगतमा छपाइ भई मौज्दात रहेका पुस्तकको बिक्रीबाट चार करोड, छपाइ कार्यबाट दुई करोड ७५ लाख, पुस्तक प्रदर्शनीबाट ७० लाख, अनुसूची २ अनुसारको कामबाट एक करोड ८० लाख, कर्मचारी कटौती र शाखाहरू गाभ्दा प्राप्त हुने एक करोड ७८ लाख र विद्यालय तथा विश्वविद्यालय सन्दर्भ सामग्री अनुसूची ३ अनुसारको कामबाट दुई करोड ३५ लाख तीन सय २० रुपैयाँ हुनेछ ।

कर्मचारी कटौती

हाल साझा प्रकाशनमा कार्यरत कर्मचारीको संख्या दुई सय ८८ छ । शर्माले २० वर्ष पूरा गरेका कर्मचारीलाई यही पुस २३ गतेदेखि बिदाइ गर्दैछन् । यसबाट एक सय ५६ जना कर्मचारी प्रकाशनबाट बाहिरिने भएका हुन् । यसपछि साझामा ९३ जनामात्र कर्मचारी हुनेछन् ।

कटौती भएपछि शाखाहरूको आवश्यकताअनुसार मिलान गरिनेछ । मिलानले साझाको एक करोड ७८ लाख रुपैयाँ जोगाउनेछ ।

साझाका क्षेत्रीय कार्यालय विराटनगर, जनकपुर, भरतपुर, पोखरा, नेपालगन्ज र धनगढीमा थिए । मुख्य शाखा कार्यालय बिर्तामोड, धरान, लहान, वीरगन्ज, भोटाहिटी, प्रदर्शनीमार्ग, बुटवल, बागलुङ, दाङको घोराही, सुर्खेत र दिपायल थिए । शाखा कार्यालय पाँचथरको फिदिम, इलाम, धनकुटा, राजविराज, हेटौंडा, त्रिशूली, पाल्पा, जुम्ला र महेन्द्रनगरमा थिए ।

हाल साझाको नयाँ निर्णयले शाखा, मुख्य शाखा र क्षेत्रीय कार्यालयसमेत कटौती गरेर चुस्त बनाएको छ । त्यसअनुसार जनकपुरको क्षेत्रीय कार्यालय हटाइएको छ भने शाखा कार्यालयका रूपमा बिर्तामोड, धरान, प्रदर्शनीमार्ग (काठमाडौं), बुटवल, दाङको घोराही, जनकपुर, राजविराज, हेटौंडा, त्रिशूली र वीरगन्जमा मात्रै राखिएको छ ।

चार वर्षपछिको साझा

पाँचतले निर्माणाधीन भवन बनिसक्नेछ, जसले मासिक १५ लाख आम्दानी गर्नेछ । महाप्रबन्धक शर्माका अनुसार साझा परिसरमा हाल रहेका तीनवटै भवन भत्काइनेछन् र बन्नेछन् पुस्तकालय, स्रष्टाहरू दिन बिताउन मिल्ने वातावरण र विशेष अवस्थामा रात बस्न मिल्नेछ । मूर्धन्य स्रष्टाहरूका सालिक बनाइने छ ।

साझाबाट प्रकाशित पुस्तक अंग्रेजी लगायतका भाषामा अनुवाद हुनेछन् र विश्व बजारमा पुग्ने उनको दावी छ । उनी भन्छन्, ‘नेपाली स्रष्टा विदेशी स्रष्टासँग र नेपाली साहित्यिक संघसंस्था विदेशी साहित्यिक संघसंस्थासँग जोडिनेछन् र समन्वयमा कृति र साहित्यिक गतिविधि साटासाट हुनेछन् ।'

‘पुस्तकमाथि पाठकको पहुँच' बढाउन साझाले गोदाममा रहेका २२ करोडभन्दा बढीका साहित्यिक पुस्तक प्रवद्र्धनात्मक योजना ल्याई बिक्री गरी चालू पुँजीमा परिणत गर्नेछ । शर्माका अनुसार स्थानीय विकास मन्त्रालयमार्फत देशभरका स्थानीय निकायमा पुस्तक खरिदका लागि नीतिगत व्यवस्था गर्न प्रस्ताव पेस गरिएको छ । नेपालबाहिर भारतको सिलिगुडीमा पनि शाखा स्थापना गर्ने तयारी छ ।

उपत्यकाबाहिर रहेको साझाको जग्गालाई व्यावसायिक प्रयोगमा ल्याई दिगो आम्दानीको स्रोत बनाइनेछ । ‘११ वर्षदेखि लेखा परीक्षण सार्वजनिक नगर्नु र आठ वर्षदेखि साधारण सभासम्म हुन नदिनु साझा अर्थात् समग्र स्रष्टाको दुर्भाग्य हो', प्रत्येक अंशियारलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्ने उनी थप्छन्, ‘अब साझा बचिसक्यो, यसलाई नमुना बनाउने प्रयासमा छौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.