रंगभेदी समाजशास्त्रको पुनर्पाठ

रंगभेदी समाजशास्त्रको पुनर्पाठ

पुस्तक     :      द सेलअाउट

लेखक      :       पल बेट्टी

विधा        :       अाख्यान

प्रकाशक   :      पिकाडाेर

मूल्य       :     ९६० यूएसडी

सन् २०१६ को म्यान बुकर पुरस्कार विजेता पल बेट्टी सिंगो अमेरिकी लेखकीय इतिहासमै उक्त पुरस्कार हात पार्ने पहिलो लेखक हुन् । सन् १९९६ मा प्रकाशित ‘द ह्वाइट ब्वाय सफल’बाट उपन्यासमा डेब्यु गरेका उनको पछिल्लो ‘द सेलआउट’का पाना जो कोही पाठकलाई पनि पल्टाउँ–पल्टाउँ लाग्ने कारण एउटा मात्रै छ । त्यो हो, यसले अमेरिकी जातीय राजनीतिलाई पिँधसम्म पुगेर उधिनेको मात्रै छैन, समकालीन अमेरिकालाई मानव अधिकारका सवालमा एउटा सन्देश प्रवाह पनि गरेको छ ।

किनभने, यसले प्रहार गर्ने जातीय सीमान्तीकरण माथिको कसिलो व्यंग्यले ‘ह्वाइट हाउस’लाई समेत हल्लाउने सामथ्र्य राख्छ । यसै वर्ष यही उपन्यासका लागि उनले ‘नेसनल बुक क्रिटिक्स् सर्कल अवार्ड’ समेत हात पारेका छन् । अफ्रिकी–अमेरिकी मुख्य पात्रको माध्यमबाट उनले जोड्ने जातीय राजनीतिको इतिहास र वर्तमानबीचको कडी पत्ता लगाउन नै पाठक ३०४ पृष्ठसम्म व्याकुल रहन्छन् ।

अफ्रिकी–अमेरिकी पात्र ‘मी’ र अमेरिकी इतिहासको न्यायिक पाटोलाई केलाउनका लागि उनले बुनेको कथानकको तारिफ पठनीय छ । उपन्यासभरि ‘मी’को मुख्य चासोका रूपमा उसको मौलिक पहिचानको ‘वंशाणुकरण’ नहोस् भन्नेतर्फ नै बढी केन्द्रित छ । यसरी इतिहासलाई औपन्यासिकीकरण गर्दा धेरै चुनौती आइपर्छन् । सबैखाले चुनौती सामना गर्ने साहस जुटाएर नै उनले यो हक्की किताब लेख्ने आँट गरेका होलान् ।

यो उपन्यास अमेरिकी सम्भ्रान्त वर्गमाथि पनि प्रहार हो । क्यालिफोर्नियाको निम्न–मध्यम वर्गीय परिवारको प्रतिनिधित्व गर्ने एक ठिटोको माध्यमबाट बेट्टीले भन्ने कथा आफैंमा ऐतिहासिक दस्तावेजको सबुत हो । अझ, समयको एउटा डरलाग्दो कालखण्डको जुन चित्रण उपन्यासमा छ, सामाजिक अपमान भोगेका अफ्रिकी–अमेरिकीलाई पनि तीतो प्रताडनाको झझल्को आँखामा आइछाड्छ ।

बहिस्कृत पर्यावरणमा हुर्किएको काला जातिको एउटा जवान किसान ठिटो ‘मी’ (जसको अघिल्लो नाम छैन, थर मात्रै छ) जातीय मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालत धाउनुपर्ने परिस्थितिको चित्रणले सिंगो अमेरिकी इतिहासको मूल्य बोकेको भान पर्न सक्छ, पाठकलाई ।अश्वेत चिनिया रेस्टुराँ एउटा बलियो विम्ब हो, रंगभेदको जग खोतल्न प्रयोग गरिएको । कथावाचक ‘मी’ एक विवादास्पद समाजशास्त्री बाबुको लालनपालनबाट हुर्किएको हो, जसले आमाको ममताको भेउ नै पाएन ।

‘मी’को बाबु प्रहरीको गोलीबाट मारिएपछि खास चेतनाको तह उघारिन्छ र कथावाचनले जातीय विभेदजन्य इतिहासको पत्र–पत्र खोतल्छ । कथा बुन्न उपन्यासकारले छानेका होमिनी जेन्किन्स्, नागासाकी, सोडोम र गोमोराह सशक्त चरित्र हुन् भने सर्वोच्च अदालत रंगभेदी इतिहास वाचनमा थप बल लिने साक्षी हो । त्यसबाहेकका स्थानको छनोटले उनले भन्ने कथालाई यति मजबुत आधार नदिन पनि सक्थे । बेट्टीको कथानकको संरचना निर्माण र वाचन कौशलका सामु उनका मसिना कमजोरी र प्राविधिक त्रुटिमा पाठकको ध्यान जाँदैन । पढ्दा पाठकले दिमाग खियाउनु पर्दैन, कथावाचक नै सबै ऐतिहासिक विषयमा जानकार लाग्छ ।

अमेरिकी इतिहासमा रंगभेदको गहिरो लेप पोतिएको छ, जसलाई पखालेर अब सेतो बनाउन पक्कै पनि सकिने छैन । त्यही मूलधारको इतिहासलाई बेट्टीले पुनर्पाठ गरेका छन् र आधुनिक युगका पाठकलाई भनिदिएका छन्ः अश्वेत भएकै नाताले राज्यले नागरिक अधिकार आन्दोलनपूर्व आफ्नै नागरिकलाई कुन तहको व्यवहार गरेको थियो ।

‘द सेलआउट’को माध्यमबाट उपन्यासकारले विश्वभरका पाठकलाई केवल एक स्वैरकल्पनाको छरितो ठेली दिने मनसाय पक्कै पनि होइन, बरु एउटा विस्मृतिजन्य इतिहासको भीमकाय चित्र पाठकसामु राखिदिनु हो । अनि, सबैले बुझ्नेगरी आजको विश्वमै लोकतान्त्रिक मुलुक भनेर कुर्लिने अमेरिका गुज्रिएर आएको विगतको कथा भन्नु हो ।

हुन त, बिर्सिएको अतीत र खाटा बसिसकेको घाउ कोट्याइदिएजस्तो पनि लाग्दो हो कतिपय रंगभेदी नीति पीडित नयाँ पुस्तालाई । तर, यो घटित यथार्थ हो, जसलाई भुलेर भुल्न सकिँदैन । इतिहासले त्यसलाई स्वीकारिसकेको छ । बहुसांस्कृतिक स्वादको खिचडी पनि भन्न सकिएला लेखनलाई कतै–कतै । तर, बेट्टीको व्यंग्यचेतले किताबलाई यति बलियो बनाइदिएको छ कि पाठकले कुनै आक्षेप लगाइहाल्ने आँट गर्दैनन् ।

‘हामी उब्जिएदेखि नै काला किरा हौं’ जस्ता वाक्य कडा व्यंग्ययुक्त हरफ हुन्, जसलाई उनले दोहोर्‍याएर लेख्न जोड दिएका पनि छन् । उपन्यासको शक्ति भनेकै यसले कथानाकबाट स्थापित गरिदिने न्यायिक नजिर हो, जसको साक्षी त्यहाँको प्रशासन हो । र, त्यहाँको सर्वोच्च अदालत । लसएन्जलसको दक्षिणी भूगोलकै सेरोफेरोको सघन गन्ध आउने कथावाचनले दासप्रथाको जरो खोतलेको छ । म पात्रको कथा भन्ने शैली यस्तो लाग्छ, मानौं ऊ कोही अब्बल कानुनको ज्ञाता वा अनुभवी न्यायाधीश हो ।

अमेरिकी नागरिक अधिकार आन्दोलनमाथि मात्रै नभई सबैभन्दा पुरानो र समावेशी कानुनको बिल्ला भिराएर व्याख्या गरिँदै आएको अमेरिकी संविधानका रंगभेद विरोधी धारा वा समानताका कानुनी प्रावधानमाथि खरो धावा बोलेको छ उपन्यासले । यसमार्फत बेट्टीले रंगभेदी राजनीतिको कसीमा राखेर २१ औं शताब्दिको आधुनिक अमेरिकाका हरेक लोकतान्त्रिक अभ्यासलाई जाँचेका छन् । उक्त कसीमा अमेरिकी प्रशासन फेल वा पास के भयो भन्ने टुंगो समयले लगाउला तर बेट्टी भने लेखनमा अब्बल अंकका साथ उत्तीर्ण भइसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.