चन्द्रशमशेरका टिपोट र कमलमणि

 चन्द्रशमशेरका टिपोट र कमलमणि

चन्द्रशमशेरका टिपोटहरू राणाकालीन र थापाकालका शासकहरूले राजपाठ र व्यक्तिगत घटनाहरूको छोटा विवरण र टिपोट हो । यो किताबको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको राणाकालीन समयका क्रूर शासकहरू भनेर वर्णन गरिएका व्यक्तिहरूले निर्णय गर्दा वा दण्ड दिँदा कुनै अन्याय भयो वा निरपराध दण्डित भएका घटनामा आफ्नो निर्णयप्रति आत्मालोचना गर्दै दण्डित व्यक्तिको प्रतिष्ठा पुनस्र्थापित गर्न प्रयास गरेका देखिन्छन् ।

यसका दुइटा घटना यहाँ उल्लेखनीय छन् । पहिलो टिपोट यस्तो छ- चन्द्रशमशेरको एकजना कमारालाई उजुरीका आधारमा कान काट्ने आदेश दिएकोमा आफ्नै रानीसँग पश्चात्ताप गरी आइन्दा त्यस्ता रिसको झोकमा हप्काउँदा मारकाट भन्ने हुकुम नबक्सने कुरा भएको छ । टिपोट यस्तो छ । एउटा बाहुन कमारो भागेछ ।

त्यसलाई फेला पारी पक्रन जाँदा कमाराले जान्न भनी बाहुनलाई कुटेछ । पछि मद्दत लिई कमारालाई पक्री बिहान महाराज सलाममा राज भएको बेलामा पक्रेर ल्याइ बाहुनले सबै कुरा बिन्ती चढाएछ । महाराजबाट कमाराउपर रिसानी भै लौ यस बदमासको कान काट भन्ने हुकुम भएछ ।

हुकुम आउनेबित्तिकै नजिकमा बसेका कप्तान नरवीरले छुरी झिकी कमाराको कान काटिदिए । त्यसपछि दुवै बाहुन र कमारा घरतर्फ गएपछि भित्र सवारी भएका महाराजबाट सबै कुरा बडामहारानीलाई भनिबक्स्यो । सो कुरा सुनेर त्यस कमारालाई अरू केही सजाय बक्सनुपर्ने कानै कटाइ बक्सियो । त्यसो नगर्नुपर्ने भनेर बिन्ती गरिबक्स्यो ।

मैले त कानै काट भनेर भनेको त होइन । खाली डर मात्र देखाएको हो नरवीरले बुझ्दैनबुझी कान काटिहाल्यो भन्ने हुकुम महाराजबाट हुँदा भने कसैलाई हप्काइबक्सँदा मार काट भन्ने हुकुम बक्सनुभएन । त्यस्तो हुकुम हुँदा नगरे हुकुम नमान्नु हुन्छ गरे सानो कुरामा जीउ जोखिम हुन्छ भनी बिन्ती चढाइबक्स्यो ।
दोस्रो टिपोट यस्तो छ- महाराजको एउटा गुरुङ आठपहरिया थियो । ऊ बलियो थियो, सवारी सिकारीमा जानु भन्ने भए जान्थ्यो । महाराजको सबै आदेश मुखबाट निक्लनेबित्तिकै तामेल गथ्र्यो । एक दिन महाराज बगैंचामा टहलिरहँदा एउटा बगैंचेले राम्रो काम गरेनछ ।

रिसमा महाराजले ठोक भन्नेबित्तिकै आठपरिया गुरुङले एक झापड हानेपछि बगैँचे मुर्छा परी ढलेछ । पछि उसलाई बडो मुस्किलले होसमा ल्याइएछ । त्यसउप्रान्त महाराजले गुरुङ आठपहरियालाई हुकुम भएछ, अब उप्रान्त हामी कसैसँग रिसानी हुन लागेमा कसैलाई ठोक्ने, पिट्ने हुकुम दिन लाग्छौँ भने तैंले हाम्रा नजिक नबसी अन्यत्रै बस्नू भन्ने हुकुमपछि आफू र आफ्ना परिवारप्रति बफादार त्यस आठपहरियाबाट निर्दोष व्यक्ति अन्यायमा पर्न सक्नेतर्फ तत्कालीन राणाशासक कति संयम सतर्क थिए ? यी दुई उदाहरण छन् ।

यहाँ यो पुस्तकको विवेचना वा चर्चा गर्न लागिएको होइन । यो पुस्तक किनेर पढ्न प्रेरणा दिनुहुने कमलमणि दीक्षितसँग जोडिएको प्रसंग उल्लेख गर्न लागिएको हो । सादा जीवन र उच्च विचारका धनी दीक्षितले पनि आफ्नो जीवनको उत्तराद्र्धमा आफ्नै परिवारका सदस्यमाथि लोकतन्त्रकालीन राज्यका स्वेच्छाचारी संस्थाका स्वेच्छाचारीद्वारा प्रताडित भएको घटना महसुस गर्नुभयो ।

८६ वर्ष लामो जीवनकालमा साहित्य, भाषा र समाजको सेवामा समर्पित दीक्षितले आफ्ना दुई पुत्र मानवअधिकारवादी कनक दीक्षित र पत्रकार कुन्द दीक्षितमाथि राज्यले स्वेच्छाचारी संस्था अख्तियार दुरुपयोग निवारण आयोगले दिएको मानसिक दुःख प्रत्यक्ष अनुभव गर्नुभयो । हुन त सर्वोच्च न्यायालयको आदेशले दीक्षितका दुवै पुत्र स्वेच्छाचारी कारबाहीबाट मुक्त भएका छन् ।

तर मानसिक रूपमा परेको चोटले उहाँको वृद्ध शारीरिक अवस्था कमजोर पारेको र मृत्युशड्ढयासम्म धकेलेको नकार्न सकिन्न ।

संयोग हो वा परिस्थिति नै हो । कमलमणिसँग एक वर्षअगाडि एउटा सार्वजनिक कार्यक्रममा भेट हुँदा उहाँले नै मलाई चन्द्रशमशेरका टिपोटहरू पढ्न प्रेरित गर्नुभएको थियो । यसअघि पनि दीक्षितसँग भेट हुँदा ऐतिहासिक पुस्तक अध्ययन गर्ने प्रेरणा मिलिरहन्थ्यो । उहाँका राणाकालीन इतिहाससँग सम्बन्धित सबै पुस्तकहरू पढेकाले उहाँका लेख-रचनाहरू नबिराइ पढिन्थ्यो । उहाँसँग भेट हुँदा पुस्तककै कुराकानी हुन्थ्यो ।

पुस्तकप्रतिको कूतुहलता र पढ्ने आकांक्षा झन् बढ्दै गयो । काठमाडौंका धेरै पुस्तक पसल चहारें । दीपक ज्ञवालीलाई गुहारेर समेत जगदम्बा पुस्तक पसलमा पनि पटकपटक पुगें । अन्त्यमा चार महिनाअघि हिमाल साउथ एसियाको एउटा कार्यक्रममा कनकमणिसँग आफ्नो वेदना पोखें । सहयोगको लागि जहिले पनि तत्पर कनकले त्यही कार्यक्रममा पुस्तक मेरो हातमा थमाए ।

कमलमणिले त्यो पुस्तक पढ्ने सल्लाह दिँदा मदन पुस्तकालय, जगदम्बा गुठी, साझा यातायात जस्ता प्रकरणमा कनकमणिविरुद्ध अख्तियारले पुर्जी काटेर थुन्ने संकेत कतै थिएन । दीक्षितका जेठा छोरा एवं अंग्रेजी साप्ताहिक नेपाली टाइम्सका सम्पादकमाथि पनि अख्तियारको निर्देशनमा धरपकड गर्लान् भन्ने अनुमान नै थिएन ।

तर समयको गति यति छिटो बढ्यो कि पर्याप्त कानुनी आधारविना नै एक वर्षको अवधिमा सबैथोक कमलमणिले हेर्नुपर्‍यो अनाहकमा । सर्वोच्च अदालतले मदन पुस्तकालय, कनकमणि र कुन्दमाथि लगाएको आरोपमा कानुनी आधार नभएको भनी कारबाही नबढाउन आदेश दिएर अहिले सबै प्रक्रिया स्थगित भएको छ ।

आरोप र अनुसन्धान गर्न आदेश दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्की सर्वोच्चकै निर्णयबाट पदमुक्त भएका छन् ।

कमलमणिले यी सबै आरोह प्रत्यक्ष देख्नुभयो । अन्याय भएको हो भनी सर्वोच्चले न्याय दिएको पनि देख्नुभयो । आफ्नो लामो, सादा र स्वच्छ जीवनमा परेको त्यो अन्यायपूर्ण घटनाले उहाँको स्वास्थ्य र जीवनमा असर परेको हुनुपर्छ । एकै वर्षको बीचमा उहाँको स्वस्थ्य जीवन मृत्युशड्ढयामा पुग्यो ।

नेपालका विभिन्न राज्य व्यवस्थामा व्यक्तिको स्वतन्त्रता र न्याय गौण विषय बनेको छ । कुनै पनि कालमा षड्यन्त्र र व्यक्तिको मानसिक शारीरिक एवं प्रतिष्ठाको हत्यामा राज्यका संयन्त्र संलग्न छन् । नेपालमा न्याय प्रणालीको इतिहास हेर्ने हो भने घात-प्रतिघातका घटनाका क्रममा कतिपय नागरिक निर्दोष भएर पनि दोषी ठहरिएका छन् ।

परम्परागत र हुकुमी शासन पद्धतिबाट अहिलेको मानव अधिकार, न्यायपूर्ण र प्रजातान्त्रिक युगमा आउँदा पनि हाम्रा व्यवस्था व्यवहार खासै परिवर्तन भएका छैनन् । उदार र प्रजातान्त्रिक संविधानले पनि स्वेच्छाचारी संस्था र स्वेच्छाचारी कानुन बनाई नागरिकलाई धरपकड गर्ने परम्परा कायम छ । कुनै कानुनी, विधानमा स्पष्ट आधारबिना व्यक्तिको सनक र स्वेच्छाचारी निर्णयले प्रजातान्त्रिक भनिने राज्य स्वेच्छाचारी र बर्बर बन्न पुगेको छ ।

दाताहरू नागरिक समाज र निरीह राजनीतिज्ञहरूले जवाफदेही संस्थाहरू निकम्मा भएका छन् भने अख्तियार दुरुपयोग निवारण आयोग जस्ता संस्थाहरू स्वेच्छाचारी रूपमा निरीह नागरिकको हुर्मत लिइरहेका छन् ।

यसै हुर्मतको प्रहार सहन नसकी कमलमणि जस्ता व्यक्तिले यस संसारबाट छिटै बिदाइ हुनुपरेको छ । ८६ वर्षको उमेरसम्म सम्मानित जीवन बिताउनुभएका दीक्षितको लागि अख्तियारजस्तो स्वेच्छाचारी संस्थाको प्रहार कस्तो रह्यो होला भन्ने अनुमान गर्न कठिन छैन ।

विभिन्न चरणमा अख्तियार जस्ता संस्थाको प्रहारबाट यसअघि पनि विभिन्न तहमा कार्यरत राष्ट्रसेवकहरूले मृत्युवरण गरेका घटना प्रशस्तै छन् । प्रारम्भिक चरणमै यस्ता स्वेच्छाचारी संस्थाले गरेका कारबाहीलाई न्यायिक रूपमा नियन्त्रण गर्न नसक्दा बर्बरताको कारबाही सामना गर्न नसकी सामाजिक मर्यादा र प्रतिष्ठा गुमेको पिरमा हृदयाघात, मष्तिस्कघातले जीवन गुमाउने दर्जनौं परिवार छन्, कानुनको चक्रव्युहमा परी राजनीतिक जीवन समाप्त भएका नेपाली कांग्रेसमा ।

नेपालमा उदार प्रजातान्त्रिक व्यवस्था आएको आज ३० वर्ष हुन लागिसक्यो । जनतामा आधारित प्रजातान्त्रिक व्यवस्था आएको त ६६ वर्ष नाघिसक्यो । तर राज्यको चरित्र अझै स्वेच्छाचारी छ । स्वेच्छाचारी संस्थामा बस्नेले व्यक्तिको मानमर्यादाको हुर्मत लिन सक्छ तर त्यसलाई उत्तरदायी र कानुनको दायरामा ल्याउने कुनै व्यवस्था छैन ।

अख्तियारका दुई कार्यकाल स्वेच्छाचारी अधिकार प्रयोगबाट व्यक्तिगत स्वतन्त्रतामा भएका क्षतिका लामो समयसम्म इतिहासको कालखण्डमा रहनेछ । सूर्यनाथ उपाध्याय प्रमुख आयुक्त रहेको कार्यकालमा पश्चिमका उदार लोकतान्त्रिक देशहरूको आर्थिक सहयोगमा निर्माण गरिएको वर्तमान अख्तियारको भवन लोकमानसिंह कार्की प्रमुख आयुक्त रहँदासम्म र अझै पनि स्वेच्छाचारी कानुन बहाल रहेको छ । कतिपय निरीह नागरिकमा आफ्नो जीवन समाप्त हुने जोखिम छँदैछ ।

राज्यको स्वेच्छाचारी संस्था अख्तियारको प्रहारबाट मानसिक चोट सहनुहुने कमलमणि पहिलो हुनुहुन्न । राजनीतिज्ञ रवीन्द्रनाथ शर्मा यसैको तोडमा बित्नुभयो । पूर्व गृहसचिव पदम पोखरेलका श्रीमती हुन् वा पूर्व प्रहरी प्रमुख मोतीलाल बोहराकी श्रीमती । चिरञ्जीवी वाग्लेका श्रीमती र तत्कालीन सचिव दिनेशचन्द्र प्याकुरेलले त आत्महत्या नै गर्नुभयो ।

गोविन्दराज जोशीको सासूको देहावसान भयो । पूर्व प्रहरी महानिरीक्षक अच्युत खरेलको श्रीमतीले पनि स्वेच्छाचारी संस्थाको प्रहारले प्रतिकारमा पुगेका आघातलाई थाम्न सकिनन् । नेपाल विद्युत् प्राधिकरण एवं नेपाल पर्यटन बोर्डका राष्ट्रसेवकहरू छिटो न्याय नपाउँदा थप मानसिक दबाबमा छन् ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका निमित्त प्रमुखको पनि हृदयाघातबाट केही महिनाअघि मृत्यु भयो । यस्तै बोर्डकै अर्का कनिष्ठ कर्मचारी विरोध बरालको मष्तिस्कघातबाट मृत्यु भयो । दुवैजना माथि अख्तियारले भष्टाचारको अभियोग लगाई गत वर्ष मुद्दा दायर गरेको थियो ।

जबसम्म राज्यका नागरिकले व्यक्तिको स्वतन्त्रता र प्रतिष्ठाको सम्मान गर्दैन अनि न्यायालयले त्यस्ता स्वेच्छाचारी र निरंकुश संस्थाबाट जनताको रक्षा गर्न सक्तैन तबसम्म नागरिकले निरन्तर पीडा भोगिरहनेछन् ।

अदालतले छिटो न्याय नदिँदा र अख्तियार जस्ता निकाय झनै स्वेच्छाचारी बनेका छन् । अख्तियारले मुद्दा दायर गरेपछि अदालतको ढिलाइ र व्यक्तिको स्वतन्त्रताप्रति कटिबद्धता नहुँदा दबाब र मानसिक दबाबमा धेरैले ज्यान गुमाएका छन् ।

यसबाहेक तल्लो एवं माथिल्लो तहका कतिपय व्यक्तिहरू स्वेच्छाचारी अधिकारको प्रहारबाट मर्माहत भएका छन् । यसमा स्वेच्छाचारी अधिकार दुरुपयोगबाट नागरिकको स्वतन्त्रता बचाउन न्यायिक निकायको निष्क्रियता पनि, जिम्मेवार व्यवस्थापिका नै यस्ता निकायलाई पारदर्शी र जवाफदेही बनाउन पूर्णरूपमा असफल ठहरिएको देखिन्छ ।

इतिहासविद् प्राध्यापक डा. त्रिरत्न मानन्धरको नेपाल दी एअर्स अफ ट्रवल (१८७७-८५) मा राज्य व्यवस्थाको बर्बरता र क्रूरतामा निर्दोष व्यक्तिहरूले मृत्युदण्ड स्वीकार गरेर मात्र छुटकारा पाएनन्, बरु आफ्नो टाउको एकैचोटि छिनाउन घूस ख्वाएका दर्जनौं बयानले तत्कालीन समयको भयावह अवस्थाको चित्रण गर्छ ।

कर्णेल विक्रम थापाले बोल्याको यो टिपोटले तत्कालीन व्यवस्थाको भयावह अवस्था चित्रण गर्छ । ‘बाटोमा केही बोलेनन् । घाटमा पुग्यापछि मुष धोया । बाहुनसँग मागी विभुत घस्या । तुलसीपत्र मुखमा हाल्या । हे भाइ हो मैले करनीमा बिगार्‍याको होइन, कहनी मात्र चुक्दा ज्यान गयो । एकैचोटी छिन्यास भनी पोड्यालाई एक मोरु दिया । चार चोटमा शिर छुटियो ।'

जबसम्म राज्यका नागरिकले व्यक्तिको स्वतन्त्रता र प्रतिष्ठाको सम्मान गर्दैन अनि न्यायालयले त्यस्ता स्वेच्छाचारी र निरंकुश संस्थाबाट जनताको रक्षा गर्न सक्तैन तबसम्म नागरिकले निरन्तर पीडा भोगिरहनेछन् । जबसम्म न्यायालयको परिसरभित्र पस्दा व्यक्तिले स्वतन्त्रताको न्याय पाउने अनुभूति महसुस गर्न सक्तैन र उसमा भएको उकुसमुकुस भएको स्थितिबाट न्यायालयको परिवारबाट बाहिर निस्केपछि उन्मुक्तिको महसुस गर्छ । त्यस्तो व्यवस्था रहँदासम्म यस्ता स्वेच्छाचारी संस्थाको बर्बरता कायम रहन्छन् ।

प्रजातान्त्रिक र लोकतान्त्रिक युगमा स्वेच्छाचारी संस्थाहरू र त्यसका हाकिमहरू नागरिकको स्वतन्त्र अधिकारविरुद्ध जाइलागे निरपराध व्यक्तिलाई दण्ड दिइरहँदा एकजना क्रूर र हुकुमी शासनका शासकको अन्याय भएको कुराले प्रायश्चित गरेका कुरा आफैंमा अनौठो थियो ।

चन्द्रशमशेरले आफूबाट पुनः अन्याय हुन नपाओस् र व्यक्तिको मानमर्यादा र जीवन नजाओस् भनी पर्याप्त सतर्कता अपनाएका थिए । तर लोकतन्त्र र प्रजातन्त्रमा कमलमणि जस्ता बुज्रुकले भोगेको मानसिक पीडा र स्वास्थ्यमा परेको असर अनि दुखान्त निधनको बारेमा को उत्तरदायी बन्ने र कसले प्रायश्चित गर्ने ? कमलमणिप्रति श्रद्धाञ्जली !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.