लोकमान अध्यायको पटाक्षेप

लोकमान अध्यायको पटाक्षेप

सर्वोच्च अदालतको फैसलाबाट संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की पदमुक्त भएका छन् । उनी अयोग्यका साथै चरित्रहीन, कुख्यातसमेत दरिए । संवैधानिक परिषद्ले गरेको नियुक्ति सर्वथा गलत ठहर भयो । त्यस्तो व्यक्तिबाट जे-जे भयो, त्यो सबै यत्तिकै भयो, त्यस्तो व्यक्तिलाई त्यो ठाउँमा पुर्‍याउने पनि जस्तातस्तै छन्, हाँसिरहेकै छन् । एउटा व्यक्ति एक समय एक्कासि नायक भयो, फेरि एक्कासि दानव पनि ।

यो घटनाक्रमबीच नेपाली प्रजातन्त्रमा अनुभूत विभिन्न कुरा एकदमै घतपर्दा छन्, राजीतिशास्त्रका विद्यार्थी र राजनीतिका सुझबुझधर्मीको लागि । त्यसो त अन्तिममा कामै गर्‍यो प्रजातन्त्रले नै । आधुनिक प्रजातन्त्रको शक्ति पृथकीकरणको मान्यताअन्तर्गत कुनै न कुनै अंगमा शुद्ध प्रवृत्ति बसेको हुनैपर्‍यो ।

नभए प्रजातन्त्र कसरी टिकोस् ? न्यायालयका आफ्ना समस्या छन्, त्यहाँ पनि राजनीतिका रूपकहरू नै चल्ने चर्चा हुन्छ । तर यसपटकको ऐतिहासिक फैसलामा सर्वोच्चले आफ्ना सर्वोच्चता सिद्ध नै गर्‍यो । संसद्मा रचित महाभियोग नामक रूपकका पात्रहरूसमेत यही फैसला कुरिरहेका थिए । कानुन आखिर जसलाई पनि चाहिने रहेछ । घोर अन्यायकर्ताहरूसमेत आफूलाई मानवीय धरातलमा प्राप्य न्याय कुरेर बस्छन् ।

पुसे ठण्डीमा सर्वोच्चको फैसलाबाट तातो वाफ प्रस्फुरित छ । सञ्चारमाध्यमलाई मीठो खजाना जो जुटिरहेको छ । कार्यपालिका दंग छ । राजनीति मख्ख छ । तर यसबीच थुप्रै प्रश्न जन्मिएका छन् । जसको जवाफ आजको नेतृत्व, विद्वत् वर्गले नखोजे पनि भोलिको पुस्ताले त्यसै नछोड्ला ।
मुलुकले फेरि यस्तै प्रकरण कुनै न कुनै रूपमा भोग्नु नपर्ला त ? रहस्यमय तवरमा कोही यसैगरी शक्तिमा आउने-ल्याइने, बबन्डर मच्चाउने क्रम नदोहोरिएला भन्ने के छ ?

लोकमान प्रकरणको हरहिसाब के सर्वोच्च अदालतको फैसलामा विजयोत्सव मनाएर मात्र मिल्छ ? चुनावको निहुँमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइयो, जसमार्फत लोकमानको पदार्पण भयो । एउटा गलत अभ्यासबाट अर्को बाइप्रोडक्ट निस्क्यो, जो त्यो अभ्यासबाट लाभ हेरिरहेका वा त्यसलाई मान्न विवश भएकाको कण्ठमा हाड बनेर अडकियो । जब हाड अडकिन्छ, त्यसपछि के खाइएछ भन्ने ज्ञान हुने नै भयो ।

खिलराजदेखि लोकमानसम्मको खेलको ऐतिहासिक रहस्य आज हरेक नेपाली मानिसले बुझेकै छन् । नेपाली जातिको एउटा अचम्मैको बानी छ, सहनशीलता र सहिष्णुता । षड्यन्त्र बुझ्ने कला नेपालीमा भए सायद आधुनिक कालको राजनीतिले आज मुलुकलाई एक तहको स्थिरता र समृद्धि दिइसक्थ्यो । आज नेपाली राजनीतिमा जनताको त्यही सोझोपनमाथि खेलबाड गर्ने प्रवृत्ति मच्चिँदै छ । चरम अवसरवाद र नैतिकहीनता मौलाइरहेको छ । त्यसैले नै शासन सत्ताका निर्णायक पदहरूमा खिलराज, लोकमानहरू आसीन गराइए ।

के अब भ्रम वा खेलको पर्दा उघ्रेको हो त ? नेताहरूले महाअभियोग प्रस्तावबाट लाठी पनि नभाँचिने, सर्प पनि मर्ने भन्ने किसिमको ध्येय पूरा गरेका हुन् त ? लोकमानलाई अहिले भस्मासुर, असनको साँढे भन्ने राजनीति अनि विश्वविद्यालयका विद्यावारिधिवालाहरूले कुनै बेला योग्य प्रशासक भनेर उपमा दिएका होइनन् ? आदर्श व्यक्ति एकाध वर्षमा भस्मासुर बन्न पुग्दासम्मको तीन सय ६० डिग्रीको परिवर्तनमा अब ती दिगम्बरहरू किन बोल्दैनन् ?

प्रजातन्त्रको सबैभन्दा ठूलो मूल्य हो जवाफदेहिता । संक्रमणकालीन अवस्थाको मुलुकलाई गलत व्यक्ति र प्रवृत्तिबाट बन्दी बनाउन प्रजातन्त्रका रथी नेताहरू नै अघि सरेका होइनन् र ? कुन र कताको ऊर्जामा ती रथीहरू यस्तो भूल गर्न उम्लिए ? त्यसमा उनीहरूको उद्देश्य के थियो ?

कसका के उद्देश्यमा उनीहरू प्रयोग भए ? नेपालका शीर्ष नेताहरू अब यी प्रश्नको जवाफ दिनबाट नैतिक रूपले उन्मुक्त छैनन् । राजनीतिक गल्तीको क्षतिपूर्ति हुन लामो कालखण्ड लाग्छ । तर जवाफदेहिताको संस्कार राजनीतिमा स्थापित गर्न नसकिँदा सधैं राजनीति गल्ती र प्रयोगमा निर्लिप्त हुने अवस्था रहन्छ । नेपालमा भएको यही हो । यसै कारण हुँदाहुँदा भ्रष्टाचार नियन्त्रण निकायकै प्रमुख अयोग्य र चरित्रहीन दर्ज हुनुपर्ने अवस्था आयो । योजत्तिको लज्जास्पद विषय अरू के हुन सक्छ ?

हामी यहाँ नेताहरूको जवाफदेहिताको कुरा गरिरहेका छौं । घोषणापत्रमा लेखिएका कुरा पूरा नगरेको, आयोजनाहरूबाट कमिसन खाएको, सरुवा-बढुवामा र्‍याल काढेकोलगायत रुटिन गुनासाको पुलिन्दा गर्नु अब नेपालमा निरस भइसक्यो ।

गैंडाको छालामा बरु केही काउकुती लगाउन सकिएला, यी यस्ता विषयले नेपाली राजनीतिलाई छुनेजस्तो देखिँदैन । अख्तियार, अदालतहरू नै त्यस्ता प्रवृत्तिका संरक्षक बनिरहेको अवस्था जो छ । सभ्य र सुसंस्कृत समाजमा त पिन खसेको आवाज पनि सुनिन्छ । कसैले कसैलाई छुरा प्रहार गरे पनि अखबारको मुख्य समाचार बन्छ । भ्रष्ट व्यक्ति त समाजमा मुख देखाउन लायक हुँदैन । ऊसँग कसैले सँगै बसेर एक कप चियासमेत खान मन गर्दैन ।

तर यहाँ त सिंगो देशलाई नै ‘क्रिपल' गर्ने एउटा अध्याय हुन गयो । आफ्नो तालुमा प्रलयकारी हातको स्पर्श पर्न लागेपछि मात्र नेताहरूले बल्ल भस्मासुर भन्ने चिने । लोकमानमा त्यस्तो आसुरी विशेषता थियो वा थिएन, विस्तारै देखिँदै, बुझिँदै जाला । तर भस्मासुर जन्माएर, हुर्काएर पनि चुइँक्क केही बोल्नुनपर्ने हाम्रा नेता भगवान् स्वरूप हुन् ? भगवान्ले माफ मागेको पौराणिक इतिहास छ ।

भगवान्ले सजाय भोगेका किस्सा छन् । कलियुगमा नेताहरूले सधैं सबै कुरामा उन्मुक्ति पाइरहने ? नेपाली जनतासामु उनीहरूले राष्ट्रिय एकताको दिवसको अवसर पारेर क्षमायाचना गरिदिएको भए कति राम्रो हुन्थ्यो । क्षमादानबाट सौर्य प्राप्त हुने र क्षमायाचनाबाट ऊर्जा मिल्ने हाम्रो सभ्यताको विश्वास हो । अहिले भोगिएको हदसम्मको निर्लज्जता र जवाफहीनताले नेताहरूको कुनै हैसियत रहनेछ भन्ने प्रस्ट हुनेछ ।

एउटा टिठ लागेको विषय के भने आधुनिक प्रजातन्त्रमा चौथो अंग मानिने सञ्चार जगत्ले समेत लोकमान प्रकरणमा सापेक्ष र सुरक्षित पोजिसन लिन चाह्यो । नेताजस्तै नभए पनि सञ्चारमाध्यमहरू आफू जोगिने प्रयत्नमा लागे । एक्काइसौं शताब्दीमा सञ्चार क्षेत्र सेवाभन्दा कर्पोरेट सेक्टरको रूपमा विकास हुनु एउटा चिन्ताको विषय हो ।

आफू कमसल हुने अनि अर्कालाई मात्रै दोष दिने प्रवृत्तिलाई हाम्रै नेताहरूले मलजल गर्दै आएका छन् । प्रस्ताव गर्ने प्रचण्ड, वकालत गर्ने बाबुराम, सही टाँचा लगाउने सुशील-शेरबहादुर, झलनाथ-वामदेव, स्वीकृति दिने रामचन्द्र, माधव, ओलीहरूले लोकमानका विषयमा कहिल्यै पनि जनतासामु जवाफ दिने नैतिक बल राखेनन् ।

कर्पोरेट सेक्टरले समाजलाई आपत् पर्दा त्याग र साहस प्रदर्शन गर्न सक्छ वा सक्दैन ? जनताको बोली बोल्नुपर्ने सञ्चार क्षेत्रले आफूमाथि सुरक्षा संकट परे जनतासामु जान सक्ने ठाउँ राखेर काम गर्न सक्नुपर्छ । महाअभियोग प्रस्ताव वा अदालतले केही गर्छ भनेर सञ्चारमाध्यम हेर्न थाल्नु नेपाली प्रजातान्त्रिक समाजको लागि दुःखको विषय हो ।

नेताहरूका नाममा कडा शब्दमा जनतासँग माफी माग भनेर समेत मूलधारका सञ्चारमाध्यमले लेख्न सकेनन् । के बीसौं पेज छापिने पत्रिकाहरू नेताहरू मनमनै हाँस्ने गन्थन लेखेर मात्र चल्न मिल्छ ? यो नमज्जा मज्जैले देखियो ।

केही व्यक्तिविशेषका आँट र इच्छाशक्तिले एक हदमा काम गर्न सकिने अवस्था जुन युद्धभुमिमा पनि रहन्छ । सर्वोच्च अदालतले यो काम यतिखेर गरेको छ । धेरै नेता र फाइदाखोर खेलाडीहरूलाई यो फैसलाले अल्पकालीन आरामी निद्रा दिएको छ । उनीहरूले महाभियोगको चटारो र खतरा दुवैबाट मुक्ति पाएका छन् । जोप्रति उनीहरू नतमस्तक छन्, तिनीहरूसामु उभिरहने निहुँ पाएका छन् । दूरगामी र सारभूत रूपले हेर्दा खासमा यो फैसलाले नेपाली जनतामा न्यायिक सर्वोच्चताको अनुभूति दिलाएको छ ।

नेपाली न्याय क्षेत्रमा यो फैसलाले अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतीकात्मक नजिरका रूपमा काम गर्न सक्छ । हामी शुभकामना दिऊँ कि न्यायालयको आगामी नेतृत्वले पनि यो स्पिरिट कायम राख्दै नेपालको अस्तित्व बचाउने काममा अब्बलता हासिल गर्न सकोस् । नजर अन्त्यतिर ?

लोकमान प्रकरणमा सुरुदेखि नै छिमेकी भारतलाई अवगाल दिने विषय चल्यो । आफू कमसल हुने अनि अर्कालाई मात्रै दोष दिने प्रवृत्तिलाई हाम्रै नेताहरूले मलजल गर्दै आएका छन् । मौका नपरेसम्म राष्ट्रवादी बनिरहने र लाभको मौका आए लम्पसार पर्ने राजनीतिक प्रवृत्ति लोकमान अध्यायमा जो देखियो ।

प्रस्ताव गर्ने प्रचण्ड, वकालत गर्ने बाबुराम, सही टाँचा लगाउने सुशील-शेरबहादुर, झलनाथ-वामदेव, स्वीकृति दिने रामचन्द्र, माधव, ओलीहरूले लोकमानका विषयमा कहिल्यै पनि जनतासामु जवाफ दिने नैतिक बल राखेनन् । पूर्वराष्ट्रपति महोदयले प्रधानसेनापति काण्डमै आफ्नो सबै तागत सक्नुभएछ क्यार । पेन्सन पकाएर घर बसेका खिलराजलाई बृहत्तर राजनीतिको के मतलब !

अनि भारतलाई गाली गर्ने ? गाली आफूले आफैंलाई जबसम्म गर्न सकिँदैन, तबसम्म आफ्नो हैसियत थाहा हुन्न । भारतले आफ्ना राष्ट्रिय स्वार्थका विभिन्न समीकरण बनाउला । हामी पनि हाम्रो आफ्नै अभेद्य समीकरण बनाऔं । झ्याल-ढोका ह्वाङ राख्ने अनि को कहाँबाट छिर्‍यो भनेर रोइलो गर्ने हाम्रै तरिका ठीक होइन कि ?



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.