पाण्डवका पञ्चदेवल ओझेलमा

पाण्डवका पञ्चदेवल ओझेलमा

बैतडीको दशरथचन्द नगरपालिका-१ मा देवलहाटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका पञ्चदेवल प्रचारप्रसार नहुँदा ओझेलमा छन् । सांस्कृतिक तथा धार्मिक महत्व बोकेका पञ्चदेवलको महत्त्व आधुनिक पुस्तालाई बुझाउन जरुरी रहेको स्थानीय गणेशदत्त भट्टले बताए ।

उनले भने, ‘परापूर्वकालमा पाण्डवले वनबासमा रहेका बेला एकै रातमा बनाएको जन श्रुति रहेका पञ्चदेवलको प्रचारप्रसार नहुँदा यसको महत्व कम भएको छ ।' पञ्चदेवल भनिए पनि त्यो ठाउँमा सातवटा देवल छन् । ‘पाण्डवले बनाएका हुनाले पञ्चदेवल भनिएको हो । कुन्ती र द्रौपदीका लागि समेत दुईवटा अलग देवल रहेका छन्', भट्टले भने ।

पञ्चदेवलमा पुरानो शिलालेख छ । शिलालेखमा लेखिएका अक्षर कसैले पनि बुझ्न नसक्ने खालका छन् । योगी नरहरिनाथले समेत सो स्थानमा भ्रमण गरेको तर शिलालेखमा कुँदिएका अक्षरका बारेमा थाहा पाउन नसकेको भट्टले दाबी गरे । बैतडी सदरमुकाम गढीको ठीक तल दक्षिणतर्फ रहेको पञ्चदेवलमा शिवलिंग र सहस्त्रलिंग छन् ।

खडेरी परेका बेला प्रार्थना गरेमा पानी पर्ने जनविश्वाससमेत रहेकाले यसको धार्मिक महत्व निकै भएको स्थानीय दिलाराम भट्टले बताए । उनले भने, ‘पञ्चदेवल अहिले बनेका होइनन्, पाण्डवहरूले बनाएका हुन् भन्ने कथन छ, नजिकै शिवकुण्ड पनि छ । तर यसको महत्वका बारेमा प्रचारप्रसार हुन सकेको छैन ।'

प्रत्येक महिनाको संक्रान्ति र पूर्णिमाका दिन पूजा लाग्ने पञ्चदेवलमा महाशिवरात्रिका अवसरमा विशेष पूजा गरिन्छ । पञ्चदेवलमा निर्माण गरिएका पाँचवटा देवलमा प्रयोग गरिएका ढुंगाहरू सो ठाउँमा नपाइने गरेको स्थानीय जानकार बताउँछन् । ‘कहाँबाट कसरी ढुंगा ल्याएर पञ्चदेवल बनाए यसको बारेमा अझै अध्ययन हुन सकेको छैन', स्थानीय भुवन भट्टले भने ।

हरेक देवल तीन तलाका छन् । नजिकै शिवकुण्ड छ । सोही कुण्डको पानीले प्रसिद्ध जगन्नाथ मन्दिरमा पूजाआजा गर्ने चलन रहिआएको छ । पञ्चदेवल निर्माणमा प्रयोग गरिएका ढुंगाको पहिचान, त्यसको उत्खनन र प्रचारप्रसार गर्नसके यसलाई तीर्थस्थलका रूपमा विकास गर्न सकिने भट्टले बताए ।

उनले भने, ‘पाण्डवहरू भारतको उत्तराखण्ड हुँदै नेपालतर्फ आएको र एकै रातमा देवल निर्माण गरेको भन्ने किंवदन्ती छ । एउटा देवल निर्माण गर्दागर्दै उज्यालो भएकाले आधामात्रै निर्माण गरिएको छ ।' यी देवलको दर्शन र अवलोकन गर्न सीमा जोडिएको भारतको धार्चुला, पिथौरागड र चम्पावतदेखिका दर्शनार्थी आउने गरेको उनले बताए ।

पञ्चदेवलसम्म पुग्न मोटरबाटो बनाइएको छैन । यसले पनि आगन्तुकलाई असहज भएको भट्टले बताए । वर्षौंदेखि सो ठाउँमा पुग्न मोटरबाटो बनाउने चर्चा चले पनि बाटो भने पुग्न नसकेको गणेश भट्टले बताए । पञ्चदेवलमा पुग्ने बाटो बनाउन सके आन्तरिक तथा भारतीय पर्यटक धेरै संख्यामा भित्र्याउन सकिने सम्भावना रहेको उनले बताए ।

गाउँको बीचमा रहेको पञ्चदेवल सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व बोकेको क्षेत्र हो । यसलाई प्रचारप्रसार गर्नसके पर्यटनका माध्यमबाट यस क्षेत्रको विकास गर्न सकिने वीरेन्द्र माविका शिक्षक ईश्वरदत्त भट्टले बताए । उनले भने, ‘केही वर्षअघि पुरात्व विभागले यसको अध्ययनमा चासो देखाएको हो, जीर्ण देवलको जीर्णोद्धारका लागि प्रयास पनि गरिएको हो । तर, काम हुन सकेको छैन ।'

पञ्चदेवल उत्खनन गर्दा परम्पराग वस्तु, हातहतियार, रहनसहनका सामग्री फेला परेकाले यसको महत्व थप बढेको तर अध्ययन अनुसन्धान नहुँदा ओझेलमा रहेको स्थानीयवासीको बुझाइ छ । संस्कृतिसँग जोडिएका देवलको संरक्षणका लागि स्थानीयवासीले प्रयास गरे पनि त्यो सुनुवाइ नभएको गुनासो उनीहरूको छ । यस क्षेत्रका राजनीतिज्ञले यस्ता विषयमा ध्यान नदिएकाले पनि यसको महत्व प्रसार गर्न कठिन भएको स्थानीयवासीको गुनासो छ । पञ्चदेवलमा रहेका कलात्मक संस्कृति, ऐतिहासिक र धार्मिक महत्वका बारेमा अनुसन्धान हुन जरुरी रहेको स्थानीय जानकार बताउँछन् ।

धार्मिक महत्व


पञ्चदेवलको दर्शन तथा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । महाशिवरात्रिका अवसरमा स्थानीयवासीले चोखो भोको रहेर वर माग्ने र त्यो पूरा हुने गरेको स्थानीयवासी गणेश भट्टले बताए ।

‘महिलाले हातमा दियो बालेर वर माग्ने गर्छन्, मनको चिताएको पूरा हुन्छ', उनले दाबी गरे, ‘परापूर्वकालमा गढीका बडाहाकिमले पानी माग्दा पानी परेको थियो भन्ने जन श्रुति छ । अहिले पनि शुद्ध मनले दर्शन गरेमा चिताएको पूरा हुन्छ ।' पञ्चदेवलको साइनो जिल्लाको प्रसिद्ध जगन्नाथ मन्दिरसँग पनि जोडिएको छ । पञ्चदेवलमा रहेको कुण्डको पानीले मात्र जगन्नाथमा पूजा हुने भएकाले यसको धार्मिक महत्व बढी भएको भट्टले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.