गान्धीः भाषा, धर्म र संस्कृति

गान्धीः भाषा, धर्म र संस्कृति

प्रतिशोधले ऊर्जा र समयको नाशमात्र गर्दैन, सम्बन्धमा समेत तिक्तता ल्याउँछ । त्यो तिक्तता अन्ततः हिंसामा परिणत हुनसक्ने सम्भावना हुन्छ । त्यसैले एकअर्कालाई दोषारोपण गर्नुभन्दा प्रायश्चित्त गर्दा सम्भावित हिंसा टार्न सकिन्छ । गान्धीले भनेका छन्, ‘परिवर्तन आफूबाट सुरु गरिए संसार परिवर्तन गर्न सकिन्छ । गान्धीको आदर्शको मूल जडमा आदर्श छ । त्यो आदर्शको जडमा नैतिक चरित्र छ । मुलुकको अवस्थालाई ध्यानमा राख्दै नेपाली नेतृत्व पंक्तिले गान्धीको उक्त वाणीलाई आत्मसात् गर्नुपर्ने देखिन्छ ।

भनिन्छ, ‘अँध्यारोपछि उज्यालो आउँछ ।' तर, उज्यालोपछि अँध्यारोको कल्पना गरिँदैन । हाम्रो मुलुकको अहिलेको वास्तविक चित्रण हो यो । मुलुकको विषम परिस्थितिीलाई अँध्यारोपछिको उज्यालोसँग तुलना गर्ने कि, उज्यालोपछिको अँध्यारोसँग ? आधुनिक नेपालको इतिहासमा सायदै यस्तो अन्योल निरस्त सिर्जना भयो होला ।

किनकि प्रत्येक शासकपछि अर्को शासकको जन्म भएको राजतन्त्रात्मक इतिहास छ । सत्य धरातलको आधारमा तयार गरिएको कल्पनाको स्वप्न व्यवस्था हुन्थ्यो, परिवर्तनको जगमा । २००७ साल पछिका वर्षमा, चाहे पञ्चायतले होस् वा पञ्चायतकालमा दलहरूले बहुदलको सपना बाँडेको विगत छ । तर, राष्ट्र विखण्डन र जातीय द्वेषको जगमा कसैले राजनीति गरेन् । परिवर्तन सम्भव भयो पनि । चाहे त्यो पञ्चायती भूमिगत कालमा होस् वा जनयुद्ध भनिएको अवधिीमा । निकास यहाँ छ भन्ने एउटा निर्दिष्ट लक्ष्य तय गरिएको विगत छ ।

यति बला मुलुकमा अब के हुन्छ भन्ने संशयमात्र बाँकी छ । निकास यही र यस्तै हुन्छ भन्नसक्ने ठोस आधार कसैसँग छैन । कसैले यही नै हुन्छ भनेर ठोकुवा गर्छ भने त्यो हावादारीमात्रै हो । त्यसमा कुनै आधार छैन भनेर बुझ्दा हुन्छ । हरेक समस्याका पछि समाधान त हुन्छ नै तर त्यो समाधान भनेको विवेकपूर्ण त्याग हुनसक्छ वर्तमान सन्दर्भमा । भन्नुको अर्थ मुलुकको अस्मितालाई कायम गर्नसक्नु नै समाधान हो ।

मुलुकको स्वतन्त्रता र अस्मिताको कुरा गर्दा भारतका राष्ट्रपिता महात्मा गान्धीलाई सूक्ष्म रूपले अध्ययन गर्दा केही दिशाबोध हुनसक्छ । आँखाको पूर्वाग्रही चस्मा निकालेर अध्ययन गरियो भनेमात्रै दिशाबोध होला नभए उनी पनि दोषी लाग्न सक्छन् । जन्मिँदै राष्ट्रिय दासताको जन्जिरमा रहेका गान्धीले सन् १९१७ मा नेपाली भूभागलाई ‘नयी दुनियाँ' भनेका छन् ।

उनी दक्षिण अफ्रिकाबाट भारत आगमनपछि किसान सत्याग्रह उनको पहिलो सत्याग्रह हो, जुन सफल भएको थियो । त्यति बेला उनी किसान सत्याग्रहका लागि बिहारको चम्पारण आएका थिए, जुन कुरा उनको आत्मकथामा समेटिएको छ ।

युगीन दासताले बाँधिएको भूमिलाई मुक्त गराउन गान्धीले जति उत्पीडन, पीडा र निराशा संसारमा सायदै कसैले अनुभव गर्‍यो होला । तर पनि उनी विश्वास र अहिंसाको मार्गबाट विचलित भएनन् ।

लोककल्याणका लागि लडिरहे । जालझेल र षड्यन्त्रलाई चिर्दै सिंगो साम्राज्यसँग जुध्नु गान्धीलाई पक्कै सहज थिएन् । त्यो पनि सशस्त्र शक्तिसँग निःशस्त्र । नेपालको २००७ सालको परिवर्तन उनको लडाइँसँग जोडिएको परिवर्तन पनि हो । त्यसैले अहिलेको अवस्थामा उनको आदर्श र मार्गलाई सम्झिएर निर्णयमा पुग्न कोसिस गरे भलाइ नै हुनेछ ।

त्याग, बलिदानी र निष्ठालाई आदर्शमा रूपान्तरण गर्नु गान्धीको महानता हो । उनले चलाएको आन्दोलनको जडमा धर्म, भाषा र संस्कृति पाइन्छ । दर्शनसँगै मानवीय मूल्य र मान्यता पनि पाइन्छ । त्यसकै आधारमा समाजमा विद्यमान कुरीतिविरुद्ध जागरुकता ल्याउँदै समाजिक जागरणमार्फत परिवर्तनका लागि उनी निरन्तर लडिरहे । धर्मको कुरा गर्दा लाग्नसक्छ, गान्धी निरपेक्षवादी थिए ।

हो उनी धर्मका बारेमा उदार त रहे तर भड्कावमा लागेनन् । उनले धर्मलाई जातिवादभन्दा माथि उठेर व्याख्या गरेका छन् । ‘मेरो धर्म हिन्दु हो', भनेका छन्, ‘त्यसले मलाई केही सिकाएको पनि छ । सबै धर्मको आस्था सत्यसँग जोडिएको हुन्छ । सबैको उत्पत्ति ईश्वरबाट भएको हो । सबै धर्म अपूर्ण नै छन् । पूर्ण दाबी गर्नसक्ने कुनै धर्म पनि छैन । किनभने त्यो पनि अपूर्ण मानव माध्यमद्वारा हामीसम्म आइपुगेको हो । त्यसलाई सच्याउँदै जानु हामी मानवको कर्तव्य हो ।'

भारतको स्वतन्त्रताको आन्दोलनको सारथि हुँदा उनी धर्म, संस्कार र मानवीयताका विषयमा निकै सजग थिए । ‘हामी सबै आआफ्नो धर्ममा रहेर पूर्णता प्राप्त गर्न खोजौं', गान्धीले भनेका छन्, ‘धर्म नैतिक अनुशासनको कडी हो ।' तर हामीले कहिले धर्मलाई राजासँग जोड्यौं, कहिले एनजीओको समावेशिताको नारा बनाइरहेका छौं ।

नैतिक अनुशासनलाई कसैले पनि ध्यान दिएनौं । न त अहिले दिएका छौं । एकत्रित नेपाली समाज अहिले फेरि धर्मको नाममा विभाजनको सँघारमा पुगेको छ । गान्धीको आदर्शलाई नेपाली कांग्रेसका बीपी र नेपाली कम्युनिष्टका संस्थापक पुष्पलालले बुझेका भए पनि अहिले उनका अनुयायीले त्यो आदर्श चरित्रलाई भेदन गरिरहेका छन् ।

गान्धी युगामा दुवै नेता बनारसमा निर्वासित थिए । गान्धी साहित्य उनीहरूले अध्ययन गरेर नेपालको परिवर्तन सम्भव छ, भन्ने कुरालाई प्रेरणाका रूपमा लिएको पाइन्छ । उनीहरूको चरित्र र व्यवहारमा त्यो आदर्शको भाव देखिन्छ । गान्धी सार्वजनिक रूपमा आफू हिन्दु धर्मावलम्बी भएको बताउँथे तर नित्य भजनमा ‘सबै धर्म समान' भनेर प्रवचन दिन्थे । व्यवहारमा पनि उनले त्यो चरित्र उतारेका थिए ।

भाषाको कुरा गर्दा गान्धीले भनेका छन्, ‘भाषा सबै जाति समुदायको आआफ्नै हुनसक्छ तर राष्ट्रभाषा एउटै हुनपर्छ जसले विविधतालाई एकत्रित गर्न सकोस् ।' उनी आफू गुजराती थिए तर पनि उनले तत्कालीन भारतमा राष्ट्र भाषा हिन्दी बनाए । किनभने जनसंख्यात्मक आधार र सर्वव्यापकतालाई ध्यान दिँदै आन्दोलनकै क्रममा सन् १९३५ मा हिन्दी भाषालाई उनले राष्ट्रभाषा घोषणा गरेको इतिहास छ ।

त्यसैको जगमा भारतको राष्ट्रिय एकता छ । आफू गुजराती हुँदाहुँदै आन्दोलनको नेतृत्व गरिरहँदा हिन्दी भाषालाई राष्ट्रिय भाषाको दर्जा दिनसक्नु उनको दूरदर्शिता हो । त्यसले गर्दा आजको भारतमा हिन्दी राष्ट्रभाषा हुन सम्भव भएको हो । गान्धीको गुजराती र अंग्रेजी उत्तिकै राम्रो थियो तर पनि सर्वव्यापकता र राष्ट्रिय एकतालाई समृद्ध बनाउन हिन्दीलाई राष्ट्रभाषा बनाउने साहस र दूरदर्शिता उनले देखाए ।

संस्कृतिको कुरा गर्दा गान्धी आफ्ना अग्रज मराठीभाषी बालगंगाधर तिलकभन्दा उदार र सहिष्णु पाइन्छन् । उनले भनेका छन्, ‘पहिला हामीले आफ्नो संस्कृतिको सम्मान गर्न सिकौं । अनि आत्मसात् पनि गरौं । हाम्रो संस्कृतिजस्तो निधि संस्कृति अरू कसैको छैन ।' तर, आफ्नो संस्कृतिको पक्षपोषक गरिरहँदा अरूको तिरस्कार र बदनाम गर्नु हुँदैन भन्ने कुरा हामीलाई सिकाइएको छ ।

गान्धी विश्वमा त्यस्ता दार्शनिक हुन् जो सिद्धान्त रचेर दार्शनिक भएनन् । आफ्नो जीवनमा अनुभव गरेरमात्र त्यसलाई उपदेश वा अर्ती दिने काम गरे । गान्धीको समग्र वैचारिक मूल्यको आधार नैतिकतामा छ । त्यसको जगमा भाषा, धर्म, संस्कृति सहितको राष्ट्रवाद पाइन्छ । गान्धीको आदर्श उच्चकोटिको छ । त्यसैले आजको विश्वका लागि त्यो पुज्य बन्दै गएको छ । अहिंसा उनको मूल मन्त्र हो ।

तर नेपालमा आफूलाई गान्धीको आदर्श र लिगेसीसँग सामीप्य देखाउने दल र नेता संकीर्णता र पूर्वाग्रहको राजनीतिमा लिप्त छन् । आदर्श विचार दर्शाउन आदर्श चरित्रको आवश्यकता पर्छ तर आज त्यो अभाव छ । त्यस्तो अवस्थामा गान्धीको लिगेसी देखाएर आफू अनुकूल व्याख्या गर्नु अपमानमात्र हुनेछ । अन्य दर्शनबाट सुशोभित नायकहरूले पनि आन्तरिक राजनीतिमा नैतिकताको उच्च आदर्श बोक्नसके गान्धीले भारतलाई दासताबाट मुक्त गराएजस्तै अनिश्चित भविष्यबाट नेपालाई मुक्त गराउनसक्ने सम्भावना देखिन्छ ।

गान्धीलाई चरित्रमा उतार्न सके भौगोलिक सीमाका आधारमा आफ्नो सामीप्य दर्शाउनेहरूले पनि न बोर्डरमा बसेर हान्नुपर्छ न त रासायनिक राष्ट्रवादको राग अलाप्नेहरूले कसैप्रति चोर औंला देखाउनु पर्नेछ । एकपटक भाषा, धर्म, सांस्कृतिक विरासतका आधारमा गान्धीको आदर्श मनन गरेर राष्ट्र र राष्ट्रियताको महत्वबोध गरेर एकताको सूत्र खोज्ने कि ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.