अभियन्ता, पिता र रंगकर्मी

अभियन्ता, पिता र रंगकर्मी

कलाकार विष्णुभक्त फुयाल गत पुस १९ मा यस संसारबाट बिदा हुनुभयो । ८० वर्षको उमेरमा पनि युवासरह ऊर्जावान् र क्रियाशील हुनुहुन्थ्यो । राष्ट्रिय नाचघर जमलको रंगमञ्चमा नाटक मञ्चन गर्दागर्दै अन्तिम संवादतिर आइपुग्दा मेजर ब्रेन स्ट्रोक अर्थात् मष्तिस्कघातको कारण उहाँ ढल्नुभयो र तत्काल बित्नु पनि भयो । कहिले ठट्टाको रूपमा त कहिले अलि भावुक बन्दै उहाँले पटकपटक भन्नुभएको थियो, 'हिँड्दाहिँड्दै, काम गर्दागर्दै, अझै नाटक खेल्दाखेल्दै बित्ने इच्छा छ ।' आफन्त, परिवार र निकटका मित्रहरूका लागि उहाँका यस्ता भनाइ अनपेक्षित लाग्थ्यो । संयोगवश उहाँको मरण पनि असामयिक हुन पुग्यो ।

संघर्षशील अभियन्ता

भक्तपुर जिल्लाको माथिल्लो बागेश्वरीमा २३ भदौ १९९४ मा ब्राह्मण परिवारमा जन्मनुभएका मेरा बुबा विष्णुभक्तको बाल्यकाल दुःखदायी रह्यो । उहाँ जन्मेको केही महिनामै हजुरबुबा बित्नुभएछ । केही वर्षपछि हजुरआमा काठमाडौंको बौद्ध महांकालका सामान्य आर्थिक हैसियतका व्यक्तिसँग अन्तरजातीय घरजम गर्न जाँदा बुबा पनि साथै आउनुभएछ । त्यहाँ हजुरआमाले झन्डै वर्र्षैिपच्छे आठ सन्तान जन्माउनुभएछ । सानै उमेरका मेरा बुबालाई ती भाइबहिनीलाई हेरचाह गर्नुपर्नेलगायतका आर्थिक उपार्जनमा पनि लाग्नुपर्ने जिम्मेवारी आइपरेछ ।

घरायसी अस्तव्यस्तताका कारण बुबाले स्कुलमा खुट्टा टेक्ने अवसरै पाउनुभएनछ । पन्ध्र वर्षको उमेरमै साबेल बोकेर बाटो खन्ने काममा लाग्नुभएछ । ज्याला मजदुरी गरेर आएको रकमले घर धान्नुपर्ने बाध्यता बुबालाई आइपरेछ । ठूलो परिवार, गरिबी, अभाव, सौतेली मामला र न्यून चेतका कारण परिवारमा सधैं कचिंगल हुने रहेछ । त्यही क्रममा १६ वर्षको उमेरमा बुबा घर छोडेर मजदुरी गर्न कलकत्ता पुग्नुभएछ ।

त्यहाँ थुप्रै किसिमका श्रममा संलग्न भएर पाँच वर्ष बिताउनुभएछ । जीविकाको लागि निर्मम संघर्ष गर्दागर्दै उहाँको मनमा लेखपढ गर्ने तीव्र इच्छा पलाएछ । यसका लागि उहाँले विभिन्न व्यक्तिहरूसँग अनुरोध, सल्लाह गर्नुभएछ । उहाँ अनौपचारिक रूपमा नेपाली, बंगाली र हिन्दी भाषामा पढ्न र लेख्न थाल्नुभएछ ।

बाल्यकाल कष्टपूर्ण भए पनि नयाँ ज्ञान र सीप सिक्ने अदम्य इच्छाशक्तिका कारण उहाँले पढाइ बढाउँदै जानुभएछ । अन्यायविरुद्ध प्रतिरोध गरिहाल्ने उहाँको स्वभाव थियो । कलकत्तामा अन्तिम वर्षहरूमा उहाँले कुक काम सिक्नुभएछ । काठमाडौं फर्किएपछि त्यसैलाई पेसा बनाउनुभएछ । तत्कालीन रोयल होटेलबाट वेटरमा काम सुरु गर्नुभएका उहाँले त्यसपछि होटेल शंकर, होटेल ग्रिन, होटेल तारागाउँ (अहिलेको हायात), गोकर्ण सफारी पार्कलगायत होटेल अन्नपूर्णमा कुकका रूपमा काम गर्नुभएछ ।

उहाँको विवाह २०१९ सालमा भएको रहेछ । काठमाडौंमा डेरामा बस्दै आउनुभएकाले हामी दुई भाइ त्यहीं जन्मिएछौं । आमा र बुबाको अथक परि श्रम तर थोरै आम्दानी रहेछ । तर पनि केही बचत गरेर उत्पादनमूलक काममा लगानी गर्ने बुबाको चेतना रहेछ । त्यसैका कारण हाम्रो पारिवारिक अवस्थामा क्रमिक सुधार हुँदै गएछ । हामी स्कुल पढ्ने भएपछि आमा र बुबा हामीलाई लेखपढ गर्ने विषयमा प्रोत्साहन गर्नुहुन्थ्यो ।

कमजोर आर्थिक अवस्था, निरन्तर आयमूलक श्रममा लाग्नुपर्ने बाध्यता हुँदाहुँदै पनि बुबामा कला, संगीतप्रति रुचि र लगाव थियो । घरमा हार्मोनियम र तबला बज्ने गर्दथ्यो, गायक र संगीतकारहरूको आवतजावत भइरहन्थ्यो । छिमेकका केटाकेटी आउँथे र हाम्रो घरमा जम्मा भएर गाउन र नाच्न रमाउँथे । बुबाको अगुवाइमा यस्ता जमघट नियमितरूपमा भइरहन्थ्यो ।

आफ्नो पूर्णकालीन पेसाका अतिरिक्त बुबा बेलाबखत नाटकहरूमा पनि अभिनय गरिरहनुहुन्थ्यो । श्रमिक हकहितको सवाल र सामाजिक न्यायका मुद्दाहरूमा उहाँ सधैं अघि सर्नुहुन्थ्यो । जीवनपर्यन्त उहाँ एक अथक् अभियन्ता रहनुभयो ।

लोकप्रिय रंगकर्मी

भाइ कमल र म पनि सानै उमेरदेखि काम गथ्र्यौं । काम गरेवापत पाएको पैसा घरपरिवारमा खर्च गथ्र्यौ । बुबा ४५ वर्षको उमेरमै कुक पेसाबाट रिटायर्ड हुनुभयो र स्वतन्त्र ढंगले पूर्णरूपमा कला क्षेत्रमा लाग्नुभयो । सापेक्षिक रूपमा पाको उमेरमा मात्र कला र नाटक क्षेत्रमा पूर्णकालीन रूपमा काम गर्न पाउँदा उहाँ धेरै खुसी हुनुभएको थियो । रंगकर्ममा डुब्नुभएको थियो । उहाँ आरोहण तथा गुरुकुलको स्थापनाकालदेखि नै नाट्यकर्ममा संलग्न हुनुभएको थियो । त्यसका अतिरिक्त उहाँ थुप्रै नाट्य समूह तथा सांस्कृतिक संगठनहरूसँग पनि जोडिनुभएको थियो ।

उहाँको रंगकर्मको यात्रा २०१९ सालमा एउटा नेवारी नाटकबाट सुरु भएको थियो । विगत ५४ वर्षदेखि नाटकमा अभिनय गर्दै आउनुभएका उहाँको अन्तिम नाटक सत्यमोहन जोशीद्वारा लिखित याज्ञवल्क्य हुन पुगेको छ, जुनमा उहाँ राजा जनकको भूमिका निकै प्रभावकारी ढंगले निभाउँदै हुनुहुन्थ्यो । काठमाडौंका ठूला नाटक हलहरू मात्र हैन, उहाँले नेपालका थुप्रै गाउँबस्ती, स्कुल र कलेजहरूमा पुगेर पाँच सयभन्दा बढी नाटकहरूमा अभिनय गर्नुभयो र धेरैवटा नाटक निर्देशन पनि गर्नुभयो । उहाँ नेपालबाहिर भारत र बंगलादेशमा पनि पुग्नुभयो ।

पिता र अभिभावक

उहाँ सफल कलाकार र सामाजिक न्यायको निम्ति सदैव लागिरहने जुझारु अभियन्ताका साथै आफ्नो गच्छेअनुसार जिम्मेवार पिता र अभिभावक पनि हुनुहुन्थ्यो । उहाँले परिवारको अभिभावकत्व निर्वाह गर्न कहिल्यै चुक्नुभएन । म एक्सन एड लन्डनमा कार्यरत हुँदा बुबा ६ महिना हामीसँग रहनुभएको थियो । त्यस समय नै मेरो उहाँसँग सबैभन्दा बाक्लो उठबस र कुराकानी भइरह्यो ।

विगत २० वर्षको अवधिमा उहाँको रेखदेख, उपचारलगायत हेरचाहको मूल जिम्मेवारी भाइ कमल र बुहारी लक्ष्मीले लिएका थिए । कान्छो भाइ निर्मल र उसको परिवार केही वर्षदेखि अमेरिकामा बसोवास गर्दै आएकाले यतिबेला हामी सँगै हुन सकेनौं ।

२०४५ सालमा लिभर क्यान्सरको कारण आमा तारादेवीको ४३ वर्षको उमेर निधन भयो । यस घटनाले हाम्रो परिवारमाथि ठूलो बज्रपात पर्‍यो, जसको चोटले आजसम्म पनि हाम्रो मुटु दुखिरहन्छ । आमाकै माया, ममता, कडा मेहनत, विवेकशील मार्गदर्शन र भेटेजति मान्छेलाई भलो गर्ने स्वभाव र व्यवहारकै कारण बुबा र हामी आजको ठाउँमा आइपुगेका हौं ।

आमा र बुबा अब स्मृतिको लोकमा मात्र हुनुहुन्छ । सामाजिक न्यायको अभियान जहाँ हाम्रो संलग्नता हुन्छ, ती हरेक पलमा उहाँहरू जीवितै हुनुहुन्छ र रहनुहुनेछ । उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.