अख्तियारको अख्तियारीमै प्रश्न

अख्तियारको अख्तियारीमै प्रश्न

यतिबेला सान्दर्भिकता सकिएको छ, लोकमानसिंह कार्कीको । तर न्यायिक निर्णयमा सधैंका लागि नजिरका रूपमा रहिरहनेछ, संसदीय सर्वोच्चता खण्डित गरी लोकमानको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला । हो, लोकमानसिंह कार्की निकै चर्चाका पात्र बने, व्यवस्थापिका-संसद्मा महाभियोग प्रस्ताव दर्ता भएदेखि अदालतको फैसला नआउन्जेल ।

पछिल्लोपटक पुनरावलोकन मुद्दामा तारिख बुझ्न सर्वोच्च पुगेका कार्कीलाई अदालतभित्रै कालोमोसो दलियो । एउटा निलम्बित संवैधानिक अंगको प्रमुख अदालतमा तारिख बुझन जाँदा मुद्दा फाँटमै कालोमोसो दलिएपछि देशको न्यायिक अवस्था र अदालतको सुरक्षा व्यवस्थाप्रति पनि गभ्भीर प्रश्न उठ्यो । त्यसैले त न्यायालयलाई राजनीतिक अखडासमेत भनियो । न्यायालयका जिम्मेवार पदाधिकारीका पछिल्ला गतिविधिले त झन् त्यसलाई मलजल गर्ने काम गरेको छ । लोकतान्त्रिक शासन व्यवस्थाको लागि यो शुभसंकेत होइन ।

संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्की तिनैको सिफारिसमा संवैधानिक अंगका प्रमुख बनेका हुन्, जसले आज उनैविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरे । संसद्मै टुंग्याउनुपर्ने विषयलाई सर्वोच्चको आदेश कुर्न बाध्य हुनुपर्ने हैसियतमा झार्‍यो, गणतान्त्रिक व्यवस्थाका हिमायतीहरूलाई । हुन त व्यवस्थाको उपयोगिता नबुझ्नेहरूलाई यो नौलो विषय भएन ।

हो, लोकमानको छवि सफा थिएन, त्यो कुरा प्रमुख आयुक्तको जिम्मेवारी दिँदा प्रमुख दलहरूलाई थाहा नभएको होइन, तर किन बनाइए त उनी ? हामीले देखिरहेका छौं, लोकमानजतिको चर्चित बन्ने हैसियत उनलाई महाभियोग लगाउन उद्यत् भएकाहरूले समेत बनाउन सकेका रहेनछन् भन्ने प्रमाणित भएको सर्वोच्चले कार्कीलाई पदीय जिम्मेवारीमा रहन अयोग्य भनिदिएपछि । आज लोकमानको डरले सिंगो संसद्को मर्यादामा प्रश्नचिन्ह लागेको छ । अख्तियार प्रमुखको जिम्मेवार बहन गर्ने लोकमानको घोषणाबाट किन डराएको छ, राजनीतिक नेतृत्व ?

कारबाहीको दायराभित्र पर्ने डरले लोकमानमाथि प्रहार भएको त होइन ? यो प्रश्नको उत्तर पनि खोज्नैपर्छ । अख्तियारलाई कारबाही गर्न मात्र उपयोग गर्ने र अरू बाध्यता यथावत् रहने हो भने यस्तो दिन पनि आउनेछ कि सबै भ्रष्ट एक भई अख्तियार खारेजीको प्रस्ताव ल्याउन सक्नेछन् । त्यतिबेला कस्तो न्यायको अपेक्षा गर्ने सर्वसाधारण नागरिकले न्यायालय र नेतृत्वबाट ?

हिजो सूर्यनाथ उपाध्याय प्रमुख आयुक्तमा नियुक्त भएपछि अख्तियारलाई शक्तिसम्पन्न बनाउन दबाबस्वरूप नागरिक समाजका प्रतिनिधिलाई छलफलमा बोलाएका थिए । छलफलमा पंक्तिकारले भनेको थियो, 'सबैतिर भ्रष्टाचार छ, कारबाहीको लागि सशक्त कानुन चाहिएको हो, यदि सशक्त कानुन बनाइयो भने त्यसलाई लागू गर्ने हैसियत अख्तियारमा भएका आयुक्त र कर्मचारीले राख्लान् ? राज्यको कुनै न कुनै जिम्मेवार निकायमा रहेर काम गरिसकेका उनीहरू स्वयं भ्रष्टाचारमुक्त छन् त ? '

दुर्भाग्य, बाँच्नको लागि झन्डै सबैले भ्रष्टाचार अँगाल्नुपर्ने बाध्यता छ, त्यसैले त भ्रष्टाचार संस्थागत हुँदै गएको छ, फरक मात्राको मात्रै हो, त्यसैलाई देखाएर हामी उम्किन खोजिरहेका छौं । आयोगले भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्छ भने कारबाही होइन, भ्रष्टाचार हुन नसक्ने कारण पहिल्याउन सक्नुपर्छ ।

प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश गरेको नेपाल परिवर्तनको रफ्तारसँग अघि बढ्न सक्दैन भन्ने स्थिति यसले देखाएको छ । हो, परिवर्तन साध्य मात्रै हो, साधन त हाम्रा राजनीतिक दल हुन्, जसका क्रियाकलापका कारण हामी सधैं अस्थिरताको भुमरीमा रुमलिई रहनुपरेको छ । हरेक निर्णयमा दलीयता लाद्न खोज्ने नेतृत्वको रबैयाका कारण नेपाल निकै पछि परेको छ । जनताको नाममा गरिएको राजनीतिले जनताकै हित गर्दैन भने राजनीतिको सार्थकता कसरी प्रमाणित गर्ने ? हामीले त्यस्तो नेतृत्वबाट के अपेक्षा गर्ने ?

भ्रष्टाचारका कारण नेपाल एसियाकै दोस्रो दरिद्र देशका रूपमा दर्ज भएको छ । भ्रष्टाचार देशको ठूलो रोग भएको छ । भ्रष्टाचार छानबिनकै प्रसंगले आज सिंगो मुलुक तरंगित भइरहेको छ । हरेक क्षेत्रमा भ्रष्टाचार छ । हो, आजको नेपाली जीवनशैलीअनुसार राष्ट्रसेवा गरेबापत पाइने रकमले कोही पनि बाँच्न सक्ने अवस्था छैन । पहिला यसको निदान खोज्नुपर्छ ।

आयोगमा आयुक्त भएर आएका व्यक्ति मात्र होइन, त्यहाँ कार्यरत कर्मचारी पनि त्यही प्रणालीका उपज भएकाले भ्रष्टाचार हुनुको कारण र बाध्यता उनीहरूलाई थाहा छ । त्यसैले के कारणले समाज नै भ्रष्ट हुँदै गएको छ र के गर्दा रोकिन्छ भन्ने प्रश्न आफैंलाई सोधेर भ्रष्टाचार निर्मूल पार्न के गर्नुपर्छ भन्ने नीति सरकारसमक्ष पेस गर्न सक्नुपर्छ, कारबाहीको दायरा बढाउने नीतिले मात्र भ्रष्टाचार रोकिन्छ भन्नु मूर्खताबाहेक केही होइन ।

लोकतन्त्रमा मानिस बदमास हुँदैन भन्ने होइन, ऊ बदमास हुनुको पछाडिका कारण पत्ता लगाउनुपर्छ । बदमासलाई कारबाही गर्दैमा बदमासी घट्दैन । त्यसको अन्त्यका लागि के गर्ने त ? कसैले भ्रष्टाचार गरेको प्रमाणित भए उसलाई जेल हाल्नु मात्रै समस्याको समाधान हो र ? सर्वप्रथम भ्रष्टाचार किन गर्‍यो त उसले भन्नेबारे अध्ययन-अनुसन्धान हुनुपर्‍यो । त्यसको जरा पत्ता लगाउनुपर्‍यो ।

दोषी प्रमाणित गराएर कसैलाई सजाय दिँदैमा भ्रष्टाचार अन्त्य हुन्छ भन्ने सोचाइ गलत र अव्यावहारिक छ । कस्तो छ नेपाली समाज, समाजअनुसार बाँच्न, परिवारको शिक्षादीक्षा र पालनपोषणको लागि दिइएको रकम पर्याप्त छ कि छैन, बजारको अवस्था के छ, सबैथोकको अनुसन्धानपछि मात्र भ्रष्टाचारीको पहिचान गरी कारबाहीको दायरामा प्रवेश गर्नु उपयुक्त हुन्छ ।

भ्रष्टाचार नेपाली समाजको पर्याय बनेको छ । कसरी देशलाई यसबाट मुक्त गर्ने त ? यसबारे कसैको चासो गएको छैन । आफूले विवेकहीन र जवाफदेहीविहीन काम गरेको प्रमाणित हुने डरले अख्यियार नै घाँडो भएको अर्थ लगाउने हाम्रो नेतृत्वबाट गरिबी निवारणसहित देश विकासको अपेक्षा कसरी गर्न सकिन्छ ?

त्यसैले त गरिबी मात्र होइन, नैतिकताविहीनहरूको बाहुल्य रहेको समाज भएको देशका रूपमा चिनिन थालिएको छ नेपाललाई । जसले आफ्नो व्यावहारिक जीवनमै लोकतन्त्रका आधारभूत मान्यता पालना गर्न सक्दैन भने उसले देशमा लोकतन्त्र सदृढ बनाई भ्रष्टाचारमुक्त समाज निर्माण गर्छ भनेर हामी कतिन्जेल कुरेर बसिरहने ?

लोकमानको नाममा अख्तियारको औचित्यमाथि प्रश्न उठाउने काम भइरहेको छ, यतिबेला । हो, हामीले चाहेको समाज अख्तियारको आवश्यकता नभएको समाज हो, भ्रष्टाचारलाई बढावा दिन अख्तियारको अधिकार खोस्ने होइन । भ्रष्टाचार छानबिनको दायरा बढाउन लाग्दा लोकमानलाई आज गलत प्रमाणित गराइयो, त्यो ठूलो विषय होइन, तर अब आउने नयाँ लोकमानले अख्तियारको कार्यक्षेत्रको परिधिभित्र रहेर काम गर्न पाउने कि नपाउने ?

कुनै दल या नेतृत्वले मर्यादा नाघेर अघि बढ्दा देशमा कानुन छ, त्यो कानुन सबैका लागि समान छ भन्ने भावनाको विकास गराउन सक्नुपर्छ । आफू दोषी हुने डरले मर्यादा नाघेर अघि बढ्दा त्यसको परिणामबारे पनि ख्याल गर्न सक्नुपर्छ । विरोधीलाई तह लगाउने औजारका रूपमा अख्तियार प्रयोग हुनु र गराउनुले न राष्ट्रको हित हुन्छ न व्यक्तिको । लोकमानसिंहको महाभियोगको प्रस्ताव व्यवस्थापिका-संसद्मा विचाराधीन रहेकै बेला सर्वोच्चले उनलाई अख्तियारको प्रमुखको लागि अयोग्य भएको फैसला गर्‍यो ।

सर्वोच्चको फैसलापछि सभासद्हरूले सिंगो संसद्को सर्वोच्चता गुमाएको आरोपसहित निर्णय लिन नसकेको आरोप खेप्नुपर्‍यो, यो असत्य होइन । कुचोले बढाउनुपर्ने कसिंगर हावाले उडाइदिएपछि महाभियोग प्रस्तावमा मतदान गर्नुनपरेकोमा केही दललाई सन्चो भएको होला, तर अख्तियारको अख्तियारी पतनोन्मुख भएकोतर्फ सोच्ने कि नसोच्ने ? अब लोकमान दोषी प्रमाणित भई पदमुक्त भए भनेर अहिलेसम्म डामिएका भ्रष्टाचारी चोखो प्रमाणित भए भन्ने होइन, देश र जनताका नजरमा उनीहरू सबै दण्डित र कलंकित भइरहनेछन् ।

संविधान घोषणा भएको १५ महिना बितिसकेको छ । त्यसको कार्यान्वयनका चरणमा देखिएका क्रियाकलापले राज्य असफल हुने सम्भावना बढ्दै गइरहेको प्रतीत हुन्छ । लोकतन्त्रका नाममा भएगरिएका तमाम अराजकताले कानुन मिच्नेलाई नै बल पुगिरहेको छ । विधिविधान उल्लंघन गर्नेहरू आफूलाई प्रतिष्ठित नागरिकको दर्जामा राखिरहेका छन् । यसमा राजनीतिक नेतृत्व मात्र होइन, अयोग्य घोषित लोकमान पनि पर्छन् । मुलुकको संवैधानिक पदमा बसेपछि कानुन मान्दिन भन्न मिल्दैन कसैले पनि । लोकमानले अदालतको आदेशलाई अवज्ञा गरेकै हुन् ।

आदेशको अवज्ञा गर्ने अवस्था कसरी प्राप्त भयो उनलाई भन्नेबारे पनि त्यत्तिकै प्रश्न उब्जिएका छन् । नीतिनियम बनाउनेलाई कानुन मान्नुपर्दैन भन्ने प्रश्न अहिले गम्भीर बहसको विषय बनेको छ । शक्तिशाली नेतालाई अदालतले कानुनको आधारमा न्याय दिएको र त्यसको आडमा पद र प्रतिष्ठा जोगिएको इतिहास छ । तर आज असुरक्षित बनिरहेको अदालत जोगाउन सघाउनुपर्ने तिनीहरूको कर्तव्य होइन ? अदालतलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न नदिने हो भने कसरी कायम रहला, न्यायिक सर्वोच्चता ?

कानुनभन्दा माथि कोही छैन भन्ने सिद्धान्त स्थापित गर्न गणतन्त्र ल्याएका हौं हामी मिलेर । संविधानमा लेखिएका शब्दको अर्थभित्र पनि यही लुकेको छ । यस्तो संविधानलाई चुनौती दिने काम हुन्छ भन्ने त्यस्ता गतिविधि रोक्न सिंगो संसद् एक हुनैपर्छ । संविधान आफैंमा केही पनि होइन, कागजमा लेखिएको शब्दले केही गर्न सक्दैन पनि । तर हामीले समाज रूपान्तरणको लागि यति ठूलो परिवर्तनपछि ल्याएको संविधानलाई कागजको खोस्टो मात्रै प्रमाणित गराउने कि त्यसअनुसार आचरण पनि गर्ने ?

लोकतन्त्र र संविधानले मात्रै समाजमा विकास र समृद्धिको ग्यारेन्टी गर्दैन । राजनीतिमा पुनर्जीवन खोज्ने कि लोकतन्त्रलाई संकटमा राखिरहने ? भ्रष्टाचारमा छानबिनको लागि प्रक्रिया थाल्दा अख्तियारको अख्तियारीमै प्रश्न उठाउने नेतृत्वले कसरी लोकतन्त्रको विकास गर्ला ? यो अहिलेको नेतृत्वसमक्ष तेर्सिएको महत्त्वपूर्ण प्रश्न हो ।
-डा. श्रेष्ठ सहप्राध्यापक हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.