जय चाटुकार, जय चाटुकारिता

जय चाटुकार, जय चाटुकारिता

मेरा टोलवासीहरूले एक जना चाटुकारलाई ‘चाटु–सम्राट’ को उपाधिले विभुषित गरे, हालसालै । ती चाटु–सम्राटलाई चाटुकारितामा उत्कृष्ट योगदान पुर्‍याएवापत त्यति विशिष्ट सम्मान दिइएको थियो । त्यति लर्तरो सम्मान थिएन त्यो । टोलका एकसेएक चाटुकारहरूलाई उछिन्दै उनले चाटु–सम्राटको उपाधि उम्काउन सफलता पाएका थिए । उपाधि ग्रहण गरेपछि फूलमालामा सजिएका उनले केही मन्तव्य राख्नुपर्ने थियो नै । उनी अगाडि बढे र चाटुकारितामा आफूले प्राप्त गरेको उत्कृष्टताबारे खुलेरै बोले ।

bibas basti

चाटु–सम्राटले बोल्ने क्रममा भने, ‘यो सम्राट भन्ने उपाधि सितिमिति रूपमा मानिसहरूले पाउँदैनन् । यो धेरै ठूलो सम्मान हो । म यो सम्मानलाई हार्दिकतापूर्वक ग्रहण गर्छु ।’ केही गम्भीर बन्दै उनले भने, ‘नेपालमा कमै बुद्धिजीवी, विद्वान्, कवि, लेखक, प्राध्यापक, इतिहासकार, गजलकार, हाइकुकारहरूले सम्राटको उपाधि पाएका छन् । म पनि तिनै भाग्यमानीहरूमध्ये पर्छु, जसलाई आज चाटु–सम्राटको उपाधि पाउने अवसर मिलेको छ । यो अवसरमा मलाई चाटु–सम्राटको उपाधिका लागि सहयोग गर्नुहुने सबै विद्वानहरूमा मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’

चाटु–सम्राटले धाराप्रवाह रूपमा बोल्दै गए । बीच–बीचमा तालीको गड्गडाहट पनि कायमै रह्यो । ३/४ ट्रक मानिस त उनले आफ्नो सम्मान कार्यक्रममा ताली बजाउनकै निम्ति ल्याएका थिए । आफ्नो गलामा सजाउनका निम्ति उनले करिब एक भ्यान त फूलका मालाहरू नै ल्याएका थिए । अहो ! धेरै नै भव्य र सभ्य सावित भएको थियो, चाटुकार महोदयको सम्मान कार्यक्रम ।

फूलको मालाले सजिएर घाँटी नै असन्तुलित भएका चाटुकार महोदयले भने, ‘मैले यो सम्मान त्यत्तिकै पाएको होइन । वर्षौंदेखिको कठोर संघर्ष, त्याग, तपस्या, बलिदान, उन्मुक्ति, इमानदारिता, आस्थाका कारण मैले यो पद्वी पाएको हुँ ।’ बोल्दाबोल्दै उनी केही उत्तेजित देखिए, ‘बालकृष्ण समले ‘नाट्य सम्राट’को उपाधि पाए, त्यत्तिकै पाएका हुन् र उनले ? उनले धेरै नै सडक नाटकहरू लेखे । नारायणगोपालले ‘स्वरसम्राट’को उपाधि त्यत्तिकै पाएका हुन् ? उनले माइकल ज्याक्सनले गाएजस्तै सुपरहिट गीतहरू गाए ।

धु्रवचन्द्र गौतमले ‘उपन्यास सम्राट’ त्यत्तिकै पाएका हुन् ? उनले घामका पाइलाजस्ता चर्चित किताब लेखे । ती ज्ञानुवाकारले त ‘गजलसम्राट’कै उपाधि पाए । उनले पनि कम्ती गजल लेखेका छन् । १०/२० वटै गजलका किताबहरू लेखेका छन् । त्यसैले यो सम्राटको उपाधि जुन पायो त्यही व्यक्तिले पाउँदैनन् भन्ने कुरा सबैले जाने हुन्छ ।’

चाटु–सम्राटले टोलवासीहरूलाई केही सुझाव दिन पनि भ्याए । उनले भने, ‘तपार्इंहरूले चाटु–सम्राटको उपाधि दिएर मलाई धेरै ठूलो गुन लगाउनुभयो । तपार्इंहरूको यो गुनलाई म कहिल्यै बिर्सने छैन । म बाँचुञ्जेलसम्म चाटुकार नै भइरहन्छु ।’ उनले हात उठाउँदै भने, ‘जय चाटुकार, जय चाटुकारिता ।’ उनले सुझाव दिने क्रम अझै त्यागेनन् । अझ दुई कदम अगाडि बढ्दै भने, ‘अब तपार्इंहरूले मलाई सम्मान गरेजस्तै कुनै महानुभावलाई भाट–सम्राटको उपाधि पनि दिनुस्, जसले भाटकारितामा विशिष्ट योगदान पुर्‍याउने छ ।

त्यस्तै, कसैलाई पुच्छर–सम्राटको उपाधि पनि दिनोस्, जसले अरूको पुच्छर हुनुमा गर्व गर्छ । कसैलाई पाल्तु–सम्राटको उपाधि दिए पनि फरक पर्दैन, जो अरूकै जुठोपुरो खाएर बाँच्न चाहन्छ ।’ चाटुकार महोदय केही रोकिएजस्तो भए र भने, ‘हैन, अचेल त पाल्तु–सम्राटको उपाधि पाउनु ठूलो कुराजस्तो लाग्यो मलाई । जेहोस् ...।’ अन्तमा उनले भने, ‘म जे भन्छु, तिमीहरू पनि त्यही भन है । जय चाटुकार, जय चाटुकारिता ।’ तालीको एकोहोरो गड्गडाहटले धेरै बेरसम्म वरिपरिका परिवेश गुञ्जायमान भइरह्यो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.