संघीयता चाहिँदैन

संघीयता चाहिँदैन

नेपालको सामाजिक, राजनीतिक, भौगोलिक र आर्थिक पृष्ठभूमिका आधारमा नेपालजस्तो सानो देशको लागि संघीयता घातक हुनेछ । सरल भाषामा भन्दा संघीयता चाहिँदैन, देश टुक्र्याउन पाइँदैन । संघीयताको सिद्धान्त र उद्देश्यका आधारमा राज्यको संरचना गर्ने हो भने यो देश छिन्नभिन्न मात्र होइन, विखण्डन हुनेछ ।

साँच्चै भन्नुपर्दा प्रत्येक जातजातिलाई मात्र नभएर अन्ततोगत्वा व्यक्ति-व्यक्तिलाई पनि छुट्टै राज्य दिनुपर्ने अवस्था आउन सक्नेछ । हिमाल, पहाड, तराई मात्र छुट्टै नभएर यी प्रत्येक क्षेत्रभित्रै अनगिन्ती राज्य स्थापना हुने सम्भावना छ । संघीयताले नेपालमा विभिन्न जातजाति, भेषभूषा र भाषाभाषी भएका जनताको बीचमा वैमनश्य फैलाउनेछ, संकीर्णताको भावना बढाउनेछ ।

वर्तमानमा बढिरहेको अन्तरजातीय सम्बन्ध अन्त्य हुँदै जानेछन् । विदेशीले क्षेत्र-क्षेत्रमा, वर्ग-वर्गमा र जात-जातमा वैमनस्य, विद्रोह, कलह बढाउन मौका पाउनेछन् र यसबाट अनुपयुक्त फाइदा उठाउँदै नेपालै मेट्ने खेल खेल्नेछन् ।

नेपाल, भारत र चीनको युद्धभूमि हुने सम्भावना हुनेछ । भारतले दक्षिणबाट नेपाललाई च्याप्न लाग्यो भने उत्तरबाट चीनले छोड्ने छैन । तराईवासीले हिमाल, पहाड हाम्रो पनि हो भन्ने अवस्था रहने छैन । उनीहरूले सगरमाथा, माछापुच्छ्रे जस्ता हिमाल र पहाड हाम्रा हुन् र त्यहाँबाट झरेको पानीमा र त्यहाँ पाइने अमूल्य प्राकृतिक स्रोतमा हाम्रो पनि हक छ भन्न पाउने छैनन् । त्यस्तै हिमाली र पहाडीले तराईको उर्वरा माटोले दिएको अन्नपातमाथि हक दाबी गर्न पाउने छैनन् ।

प्रत्येक राज्य आर्थिक दृष्टिकोणले कमजोर र संकटमा फस्नेछन् । प्राकृतिक स्रोत कसले पहिला प्रयोग गर्ने भनी राज्य-राज्यमा प्रतिस्पर्धा र लुच्छाचुँडी पर्नेछ । जनताका अधिकार बढ्नेछन् भनेर संघीयता लाद्दा उल्टै जनताका आर्थिक, राजनीतिक, सामाजिक र भौगोलिक अधिकार सीमित हुँदै हराउनेछन् । एउटा क्षेत्रमा एउटा वर्गमा मात्रै स्रोत र साधन सीमित रहने सम्भावना बढ्नेछन् ।

चित्रबहादुर केसी, नारायणमान बिजुक्छे र केपी ओलीले संघीयता यो देशको लागि अफाप र विनाशकारी हुनेछ भनेर बारम्बार उद्घोष गरिरहेका छन् र यो अडान नै निःस्वार्थ र सही अडान हो, देश बचाउने एक मात्र बाटो हो । वर्तमान स्थितिमा सम्पूर्ण स्वाभिमानी नेपाली जनताले देश विखण्डन गर्ने संघीयताको घोर विरोध गर्दै तराईदेखि पहाड, हिमाल मिलाएर बनाइएका पाँच विकास क्षेत्र र यिनीहरूकै सीमांकनका आधारमा पाँच प्रदेश बनाउन सशक्त आवाज उठाउँदै विदेशी पैसामा विकेका र मन्त्री हुने लोभमा नैतिकता बेच्ने नेताको विवेकमा राष्ट्रियताको सोच भर्न नितान्त आवश्यक छ यतिबेला । नत्र सिक्किम गयो भनेजस्तै नेपाल पनि जाने या सदाका लागि विलय हुने अवस्था आउनेछ ।

पाँच विकास क्षेत्र या प्रदेश भौगोलिक, आर्थिक र सामाजिक दृष्टिकोणले वैज्ञानिक र समय सान्दर्भिक छन् । यस प्रकारका प्रदेश विभाजनले देशभरका जातजातिको सम्मान मात्र हुने छैन, राष्ट्रियतामा समेत आँच आउने छैन । नत्र नेतृत्वले पाँच प्रदेश बनाउँदाका बेफाइदा पनि जनसमक्ष भन्न सक्नुपर्‍यो ।

जातजाति, भाषाभाषी, भेषभूषा नै देशभन्दा ठूलो भनेर जनताका आँखामा धमिलो पानी छ्यापेर देश विखण्डन गर्न अघि सर्नुभएन । देश नरहे न संस्कृति रहन्छ न भाषा रहन्छ, न त डमरु, डम्फु र च्याबु्रङ बजाएर नाचेर बाँच्न सकिन्छ, न त घाटु र सोरठी, धान नाच र माघी मनाएर बाँच्न सकिन्छ । यसर्थ पनि सबैभन्दा पहिला देश बचाऔं अनि हामी हाम्रो संस्कृति जगेर्ना गर्दै अरूको संस्कृतिको सम्मान गरौं ।

तराईका केही संकीर्ण, स्वार्थी र देशद्रोही नियत भएका नेताका कारण त्यहाँका जनता विभेदमा छन् । त्यही विभेद हटाउन भन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराईको भूभाग एउटै मात्र सिंगो प्रदेश बनाउनुपर्छ भन्ने माग गरिरहेका छन् ।

देश नरहे न संस्कृति रहन्छ न भाषा रहन्छ, न त डमरु, डम्फु र च्याबु्रङ बजाएर नाचेर बाँच्न सकिन्छ, न त घाटु र सोरठी, धान नाच र माघी मनाएर बाँच्न सकिन्छ । यसर्थ पनि हामी सबै मिली देश बचाऔं ।

सोलुखुम्बुको शेर्पा, आठराईको सुब्बा, लमजुङको गुरुङ, जुम्लाको जुम्ली, सुर्खेतको राउटे र मकवानपुरको चेपाङले गएर तराईका जनतालाई विभेद र थिचोमिचो गरेका छैनन् । तराईवासी त्यहाँकै सामन्ती, उच्चवर्ग र नैतिकताहीन नेताकै सिकार बनेका छन् ।

त्यहाँका केही छुट्टै प्रदेश माग्ने नेताले तराईवासीको नाममा उनीहरूमाथि नै थिचोमिचो गरेका छन् । हाम्र नेताहरू तराईवासी या नेपाली जनताका लागि नभएर विदेशीको निहित स्वार्थका लागि संघीयताको भर्‍याङ तेस्र्याएर नेपाल विखण्डन गर्ने खेलमा लागिपरेका छन् ।

संसदमा प्रस्तुत संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्नु नेपाल र नेपाली जनतामाथि गरिने घोर अपराध हुनेछ, सभासद् महोदय होसियार हुनुस् । प्रस्तावका पक्षमा मतदान गर्नुभयो भने तपाईंको राजनीतिक आयु अर्को चुनाव नआउन्जेलका लागि मात्र हुनेछ ।

सांसद धनराज गुरुङ र चन्द्र भण्डारीले जस्तै अडान लिन पंक्तिकार कांग्रेसका सबै सभासद्सँग अनुरोध गर्दछ । पार्टीको ह्विपविपरीत मतदान गर्दा पार्टी छोड्नुपरे पनि तयार हुनुहोस् । पार्टीको ह्विपभन्दा नेपाल राज्य ठूलो हो । पार्टीको सभापति र दुईचारजना नेताले भने भन्दैमा देश नै विखण्डन गर्ने कार्यमा सहमत नहुनुहोस् ।

पाँच नम्बर प्रदेशका जनताले तराईबाट छुट्ट्याएको छुट्टै प्रदेश मागेका छैनन् भने नेताहरूलाई मात्र किन सकसक लाग्छ ? यो विधेयक या विवेकहीन या त देश राष्ट्रद्रोही या त बेचिएका नेताको कदम हो र यो संशोधन विधेयक मदतानमार्फत परास्त गर्नुपर्छ । यो विधेयक केवल विदेशी, देश विखण्डनकारीका लागि बनाइएको भर्‍याङको एउटा खुटकिला मात्र हो । यसमा न जनताको हित छ न त देशको नै ।

विगतमा जेजस्ता क्रियाकलाप र गतिविधि भए पनि वर्तमान राजनीतिक अवस्थामा केपी ओली र एमाले पार्टीले संविधान संशोधनको विरोधमा उठाएका आवाज र कदम जायज छन् र यो अवस्थामा सम्पूर्ण सांसदले यो अग्निपरीक्षाको घडी हो भन्ने सम्झेर खुट्टा नकमाई आफ्नो विवेक उपयोग गर्नुपर्छ ।

संयुक्त राज्य अमेरिका विभिन्न जातजातिले भरिएको देश हो । त्यहाँ संघीयताको आधारमा राज्यको संरचना गर्ने हो भने त अफ्रिकन अमेरिकन, नेटिभ अमेरिकन- इन्डियन, इटालियन, ग्रिक, स्पेनिस, स्किमो, चाइनिज, जापानिज, इन्डियन, नेपाली, बंगाली आदि थुप्रै संसारभरका जातजाति जो त्यहाँ गएर बसोवास गरेका छन्, उनीहरू सबैलाई छुट्टाछुट्टै राज्य दिनुपर्ने हुन्छ, जुन न सम्भव छ न त व्यावहारिक ।

नेपालमा पनि अनगिन्ती जाति मात्र होइनन् तर एउटै जातिभित्र पनि विभिन्न जात हुन्छन् । लिम्बूमा कन्दङ्वा, नेम्बाङ, चेम्जुङ, तुम्बाहाम्फे, लावती आदिआदि । संघीयताको खास सिद्धान्त लागू गर्ने हो भने के यी सबैलाई छुट्टाछुट्टै राज्य दिने त ? नत्र भने कसलाई दिने कसलाई नदिने ?

त्यसैले संघीयता देश विखण्डन गर्ने गोप्य मन्त्र मात्र हो । पंक्तिकारका यी शब्दभित्र स्वाभिमानी, स्वतन्त्रप्रेमी र राष्ट्रको माया बोकेका नेपालीको आवाज छन्, त्यसलाई अवहेलना गरेर लत्याइए ती बहादुर नेपाली अवश्य निदाएर बस्ने छैनन् । स्मरण रहोस्, राष्ट्र र राष्ट्रियता जोगाउन उन्मुख हुनु कुनै अतिवादी सोच होइन, यो त प्रत्येक नागरिकको कर्तव्य हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.