पोस्ट-ट्र्युथ संघीयताको विकल्पमा

 पोस्ट-ट्र्युथ संघीयताको विकल्पमा

‘चीनले २०११-२०१३ को बीचमा जति सिमेन्ट उपयोग गर्‍यो त्यति सिमेन्ट अमेरिकाले सिंगो बीसौं शताब्दीमा गरेन ।' विश्वभर सनसनी मच्चाएको माथिको भनाइ जुन २०१४ मा आफ्नो ट्विटर मेसेज र ब्लगमा बिल गेट्सले राखेका थिए । त्यसलाई उनले भ्याक्लाभ स्मिलको बहुचर्चित र विचारोत्तेजक पुस्तक ‘मेकिङ दी मोडर्न बल्र्ड- मटेरियल्स एन्ड डिमटेरियलाइजेसन' नामक पुस्तकबाट उधृत गरेका थिए ।

लगत्तै गेट्सले १२ जुन २०१४ मा आफ्नो ब्लगमा लेखे- उनी चढ्ने कारमा ११८० किलोग्राम स्टिल, ३६३ किलोग्राम प्लास्टिक र १८२ किलोग्राम हलुका धातु प्रयोग भएको छ । उनी घरबाट आफ्नो कार्यालय जाँदा हरेक दिन साढे ६ किलोमिटर यात्रा गर्दछन्, त्यो भनेको हरेक बिहान उनी १५ हजार टन कंक्रिट सामग्रीबाट बनेको सडकमा यात्रा गर्छन् ।

एउटा कार बनाउन जति स्टिल, प्लास्टिक वा त्यो कार गुड्ने सडक बनाउँदा उपयोग हुने निर्माण सामग्रीको उत्पादन र उपयोगसम्बन्धी गतिविधिले निर्माण गर्ने समग्र आर्थिक क्रियाशीलताको परिणाम पनि विकास र समृद्धि हो ।

त्यसैले चीनलाई आजको शक्ति र समृद्धिको युगमा ल्याएको हो । चीनका सहरहरू त्यो शक्ति र समृद्धिका वाहक, प्रेरक र पोषक हुन् ।

पानी, बिजुली, सडक, पेटी, ढल, स्कुल, अस्पतालजस्ता आधारभूत संरचनाको कुनै भरपर्दो व्यवस्था छैन । सबैतिर लथालिंग छ, तर पनि नेपालको कुल जनसंख्याको ४२ प्रतिशत सहरमा बस्छन् ।

सरकारी आँकडाअनुसार नेपालका सहर र वरिपरिका गाउँ-बस्तीका सहरकेन्द्रित आर्थिक गतिविधिले मुलुकको कुल गार्हस्थ उत्पादनमा ६३ प्रतिशतभन्दा बढीको योगदान गर्दछ । मुलुकको अर्थतन्त्रमा झन्डै एकचौथाइ योगदान काठमाडौं उपत्यकाको मात्रै छ । त्यसैगरी मुलुकको कुल सहरी जनसंख्याको २४ प्रतिशत र कुल जनसंख्याको १० प्रतिशत काठमाडौं उपत्यकामा बस्छ ।

एक्काइसौं शताब्दीमा सहरहरू राष्ट्रिय-अन्तर्राष्ट्रिय समुदायमाझ नयाँ सामाजिक, आर्थिक र राजनीतिक शक्तिकेन्द्रको रूपमा उदाइरहेका छन् । राष्ट्रसंघका अनुसार सन् २०१४ मा नै संसारका ५४ प्रतिशत जनसंख्या सहरमा बस्थ्यो । अहिले त्यो ६० प्रतिशत आसपास छ ।

मकिन्से ग्लोबल इन्स्टिच्युटले गरेको अध्ययनअनुसार संसारका एक सय मुख्य सहरहरूले विश्वको कुल गार्हस्थ उत्पादनमा ३८ प्रतिशत योगदान गर्छन् । संसारको कुल जनसंख्याको २० प्रतिशत बस्ने विश्वका ६ सय सहरहरूले विश्वको कुल गार्हस्थ उत्पादनमा ६० प्रतिशत योगदान पुर्‍याइरहेका छन् ।

क्यानाडाका ६ वटा ठूला सहरहरूमा त्यहाँको कुल जनसंख्याको ५० प्रतिशत मानिस बस्छन् र ती सहरहरूले मात्र मुलुकको कुल गार्हस्थ उत्पादनमा पनि ५० प्रतिशतकै योगदान गर्छन् । अमेरिकाका ठूला सहरहरूले मात्र अमेरिकाको कुल गार्हस्थ उत्पादनमा ८५ प्रतिशत योगदान गरिरहेका छन् ।

क्यानाडा, अमेरिका र युरोपका सहरहरू त सबै किसिमका यातायात, सञ्चार, विद्युत्, बैंकिङ तथा व्यापारिक सञ्जालबाट आपसमा जोडिइसकेका र जोडिँदै छन् । आगामी दसकभित्र भारत, चीन, खाडी क्षेत्रका र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले सबै ठूला-साना सहरहरूको क्लस्टर निर्माण गरेर परस्पर उद्योग, व्यापार, कृषि र रोजगारका बजारहरू एकीकरण गर्दैछन् ।

अमेरिका, युरोप, चीन र खाडी मुलुकका सहरहरूले विश्वका सयौं सहरहरूमा परस्पर आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तारको लागि आफ्ना कार्यालय स्थापना गरेका छन् । उनीहरूको समद्धिको एउटा कारण त्यो पनि हो ।
यो मामिलामा सबैभन्दा पछि भनेको दक्षिण एसिया मात्र हो ।
डेढ दसकदेखि जनप्रतिनिधिविहीन बनेका हाम्रा गाउँ र सहरहरूले नियमित निर्वाचनद्वारा आफ्ना जनप्रतिनिधि पाएका भए उनीहरूको नेतृत्वमा हुने न्यूनतम विकाससम्बन्धी गतिविधिले पनि मुलुकमा सयौं नगर र नगरोन्मुख बस्ती विकास भइसकेका हुने थिए । निर्वाचित जनप्रतिनिधि र आम जनताबीचको सहकार्य र सहर-सहरबीच तथा गाउँ-सहरबीच र नेपालका सहरहरूको अन्य मुलुकका सहरसँगको भगिनी सम्बन्धले मुलुकमा निर्माण हुने त्यस्तो आर्थिक गतिविधिले नेपाल समृद्धिको नयाँ चरणमा प्रवेश गरिसकेको हुने थियो ।

प्रविधि, नीति र संरचनाको समस्या

नेपालमा १९ वर्षदेखि स्थानीय निकायको चुनाव भएको छैन । स्थानीय निकायको अनुभव भएको र त्यसको नेतृत्व गरेको पुस्ता हराउँदै छ । नयाँ पुस्तालाई त्यसको कुनै अनुभवै छैन । तुलनात्मक रूपमा नेपालको शासन प्रणालीको इतिहासमा सबैभन्दा सार्थक अभ्यास भनेकै गाउँ, नगर र जिल्ला तहमा भइरहेका थिए ।

तर त्यसलाई यो वा त्यो नाममा छेकेर मुलुकको समग्र अस्तित्वमाथि एउटा अज्ञात भय, आतंक, असुरक्षा र आशंका निर्माण हुने गरी संघीयताको अवधारणालाई उठाइएको छ, त्यो पनि अत्यन्त सन्देहास्पद राजनीतिक गतिविधिको माध्यमबाट ।

कसैलाई अप्रिय लाग्न सक्छ, तर घटना र सन्दर्भहरूले सावित गरेको छ, नेपालको संघीयतामा बाह्य शक्तिहरूको दबाब, प्रेरणा र सहयोग र सरोकार निर्माण भएको छ । त्यसैकारण यो राज्यको सुरक्षा, एकता र अखण्डताविरुद्धको चुनौती र संकट बनिरहेको छ ।

राजनीतिक नेतृत्वकै कारण निर्मित कमजोर राज्य क्षमताले हिजो संघीयताको मागलाई र आज देखिँदै गरेको यसको विखण्डनकारी चरित्रले दिएको दबाब धान्न सकिरहेको छैन ।

तर मूल समस्या, पहाड वा मधेसका आम जनताको राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको उनीहरूको ऊर्जा, विश्वास र प्रतिबद्धताले नेतृत्व नपाउनु हो । उनीहरूको विवेक र विश्वासले नेतृत्व पाउने हो र राज्यले उनीहरूलाई प्रभावकारी सुरक्षामात्रै दिने हो भने हिमालदेखिका सबै भूभागमा राष्ट्रिय एकता र अखण्डताको पक्षमा विकास हुने लहरले संघीयताको विखण्डनकारी चरित्रलाई सजिलै परास्त गर्न सक्छ ।

तर दुर्भाग्य ! मुलुकको राजनीति र सुरक्षा र प्रशासनिक संयन्त्र सबै उत्साहहीन, ऊर्जाहीन र आत्मकेन्द्रित देखिएका छन् । व्यक्तिगत र समूह रक्षा र अवसर विस्तार मात्रै उनीहरूको लक्ष बनिरहेको देखिन्छ । राष्ट्रको बृहत्तर हितमा उनीहरू बोल्न र उभिन सकिरहेका छैनन् ।

दक्षिण एसियाको जेठो राष्ट्रले आफ्नो आन्तरिक ऊर्जाको नेतृत्व पाउन नसकेको मात्र हो, त्यस्तो ऊर्जा हराएको होइन । इतिहासका त्यतिविघ्न प्रतिकुल अवस्थामा पनि राष्ट्रको अस्मिता रक्षाको लागि त्यत्रो बलिदान गर्न सक्ने धरतीमा चेतनाको वीज डढेको छैन । नेतृत्व पाउनेबित्तिकै त्यो जाग्छ भन्ने कुराको उदाहरण मुलुकले प्रदर्शन गरिसकेको छ । अर्को कुरा, नेपालको भौगोलिक संरचना, जनसंख्या र बस्तीको चरित्रले पनि संघीयता स्विकार्दैन । गरिबी, अभाव र बेरोजगारले निचोरेका जनताले दर्बिलो भर नपाएका पनि हुन् ।

देखिन्छ— वर्तमान राजनीतिक नेतृत्वले संघीयता अस्वीकार गर्न सक्दैन र लागू गर्न तथा गराउन पनि सक्दैन । दुवै अवस्थाले गम्भीर चुनौती र समस्या निर्माण गर्ने निश्चित छ, तर संघीयताको अस्वीकृति नेपाल राष्ट्रको बृहत्तर हक र हितमा रहेको, तुलनात्मक रूपमा कम खतरनाक भएको, संघीयताविरुद्ध उठ्ने आवाज र शक्तिलाई हिमालदेखि तराईसम्मका आम जनताको समर्थनसमेत रहेकाले संघीयताको उन्नत र प्रभावकारी विकल्पबारे पनि व्यापक छलफल र विमर्श आवश्यक छ ।

चार दसकअघि डेनियल बुस्र्टिनले ‘प्रविधिको गणतन्त्र' र ‘पृष्ठपोषण ( फिडब्याक) विश्व' को कुरा गरेका थिए । त्यसको तीन दसकअघि ओर्टेगा ग्यासेटले भनेका थिए- प्रविधि र मानिस एकअर्काका पूरक हुन् ।
प्रविधि आफैंमा स्वतन्त्र र स्वायत्त शक्ति संरचना हो । यसको आफ्नै नियम र गति हुन्छ, कुनै राज्य संरचनाको मातहत हुँदैन ।

प्रविधि शक्ति हो, औषधि हो, विकास र ज्ञान हो । प्रविधिलाई केन्द्रमा राखेर राज्य नीतिहरू अवलम्बन गरिएन भने मुलुक उठ्दैन । हाम्रोजस्तो सानो मुलुक त्यसमाथि विभिन्न प्रदेशमा विभक्त हुँदा त्यस्तो उन्नत प्रविधिलाई विकास र उपयोग गर्ने क्षमता विकास गर्न सक्दैन ।

मानिसको चेतनालाई अभिव्यक्त गर्न पनि प्रविधि आवश्यक हुन्छ । बीसौं र एक्काइसौं शताब्दीले ज्ञान र प्रविधिमा सबैको पहुँच निर्माण गरेर बुस्र्टिन र ग्यासेटलाई सत्यापित गरेको छ ।

आजको विश्वको समृद्धिको बल भनेको मूलतः प्रविधि हो । अर्थात् आधुनिक विकास र समृद्धिको नेतृत्व नै प्रविधिले गरिरहेको छ । त्यही प्रविधिमा आर्जन गरेको श्रेष्ठताले अमेरिका आजको स्थानमा आइपुगेको छ । प्रविधिलाई अत्यन्त उन्नत र व्यापक रूपमा प्रयोग गर्न पाएको सफलताले चीन यति थोरै अवधिमा असाधारण सफलता र समृद्धि आर्जन गर्न समर्थ भएको छ ।

चुनौतीपूर्ण विश्व व्यवस्थाको केन्द्रमा रहेका चीन र भारतको बीचमा रहेको नेपालको सुरक्षा र स्थिरताको आधार भनेको प्रविधि प्रवद्र्धित आर्थिक विकास र समृद्धि मात्रै हो । त्यस्तो विकास र समृद्धि दिने भनेको उपयुक्त राज्य र सेवा प्रदायन संरचना, त्यस्तो सेवाको स्तर संरचना हो ।

मुलुकहरूको गरिबीको मूल कारण नै प्रविधि, नीति र समृद्धि निर्माणका संरचनाहरूको अभाव हो । मानिसको स्वायत्तता, स्वतन्त्रता र समृद्धिको आधार बनेको प्रविधिलाई नागरिक र सामाजिक जीवनसँग जोड्न र त्यसको लाभ आर्जन गराउन सुविधासम्पन्न आधुनिक नगरहरूले मात्र सक्छन् ।

पोस्ट-ट्रुथ संघीयताको विकल्पः समृद्धि लक्षित सहर

सर्बियन मूलका अमेरिकी साहित्यकार स्टोजन स्टिभ टिजिकले सन् १९९२ मा एउटा लेखमा पहिलोचोटि लेखेका थिए, ‘स्वतन्त्र व्यक्तिको रूपमा हामीले एक किसिमको पोस्ट-ट्रुथ दुनियाँमा रहने स्वतन्त्र निर्णय गरेका छौं ।'

यदाकदा उपयोग हुने यो शब्दको प्रयोग सन् २०१६ मा दुई हजार प्रतिशतभन्दा बढी गरिएपछि अक्सफोर्ड डिक्सनरीका सम्पादकहरूले लामो अध्ययन-अनुसन्धान र छलफलको अन्त्यमा यसलाई सन् २०१६ को ‘वर्ष शब्द' घोषणा गरे ।

आज मुलुकहरूबीच राजनीतिक भूगोलले भन्दा यातायात तथा सञ्चार सञ्जाल भूगोलले महत्व पाउन थालेको छ । त्यसैले संसारका धेरै मुलुकहरू आफ्नो मुलुकमा मात्र नभएर अर्को-अर्को मुलुकमा त्यस्तो सञ्जाल विकास, सुधार र सहरीकरणमा लगानी गरिरहेका छन् ।

वस्तुगत आवश्यकता, अवस्था, सत्यतथ्यभन्दा पनि आवेग, उत्तेजना र आग्रहको बलमा जनमत निर्माण गर्ने, आफ्ना निजी हित, सुविधा, कुण्ठा, अहम् तुष्टि वा आग्रह रक्षाको लागि जनतालाई उत्तेजित बनाएर जनमत निर्माण गर्ने अवस्था बुझाउन पोस्ट-ट्रुथ शब्दको प्रयोग गरिन्छ ।

ब्रेग्जिट सवालमा बेलायतमा र राष्ट्रपतिको निर्वाचनमा अमेरिकामा यसको अत्यधिक प्रयोग भयो भनिन्छ । संघीयताको सम्बन्धमा नेपालले पोस्ट-ट्रुथ मानसिकतालाई अत्यधिक प्रदर्शन गरिरहेको छ ।

पराग खन्नाका अनुसार संसारका मुलुकहरूको सीमाको कुल लम्बाइ पाँच लाख किलोमिटर छ तर साढे ६ करोड किलोमिटर लामो सडक सन्जाल, ४० लाख किलोमिटर लामो रेल मार्ग, २० लाख किलोमिटर लामो पाइपलाइन र दस लाख किलोमिटर लामो इन्टरनेटका तारहरूले समस्त विश्वलाई परस्पर जोडेका छन् ।

खन्ना भन्छन्- गएको चार हजार वर्षमा जति पूर्वाधार निर्माण भए, त्यति नै पूर्वाधार आगामी चार दसकमा बन्नेछन् । ती पूर्वाधारहरूले निर्माण गर्ने भनेको सहर हो । त्यसले मानव बसोवास र राज्यको परम्परागत संरचनामा व्यापक परिवर्तन माग गर्दछ । स्मरणीय छ, २०३० सम्ममा थप दुई अर्ब मानिस सहरमा बस्नेछन् ।
सहर आफैंमा समावेशी र समतामूलक समाज हो । एकअर्काको सहरीकरणको अनुभवबाट सिक्न र व्यवस्थित गर्न सकियो भने सहर दिगो विकासको केन्द्र पनि हो । लगानी वृद्धि, विकास, मुनाफा, व्यापक रोजगार र समृद्धिको केन्द्र पनि सहर हो ।

आज मुलुकहरूबीच राजनीतिक भूगोलले भन्दा यातायात तथा सञ्चार सञ्जाल भूगोलले महत्व पाउन थालेको छ । त्यसैले संसारका धेरै मुलुकहरू आफ्नो मुलुकमा मात्र नभएर अर्को-अर्को मुलुकमा त्यस्तो सञ्जाल विकास, सुधार र सहरीकरणमा लगानी गरिरहेका छन् ।

सहरीकरणको नयाँ युगलाई राज्यका परम्परागत संघीय अवधारणा र संवैधानिक व्यवस्थाले प्रतिनिधित्व र व्यवस्थापन गर्न सकिरहेको छैन । नयाँ र प्रभावकारी सहरी सञ्जालीकरण तथा समूहीकरणका मागअनुरूपका संरचना र व्यवस्थापन विधायनको आवश्यकताबारे क्यानाडाको एउटा अध्ययन ‘इम्पावर्ड सिटिज-अ न्यु पाथ टु कोल्याबरेटिभ फेडर्यालिजम' ले दह्रोसँग उठाएको छ ।

कनेक्टिभिटी अर्थात् यातायात, सञ्चार, आर्थिक र सामाजिक व्यवहारहरूले परस्पर जोडेको वर्तमान विश्वमा भूगोल नियम र नियति दुवै होइन । खन्ना भन्छन्— आजको युगमा नियति भनेको कनेक्टिभिटी मात्रै हो । कनेक्टिभिटी सम्बद्ध पूर्वाधारहरू स्नायु प्रणालीजस्तै हुन् । कनेक्टिभिटी नै पुँजी, शक्ति र समृद्धि हो ।

कनेक्टिभिटी सम्बद्ध प्रविधिले विश्वको भूराजनीतिका सबै सीमाहरूलाई असान्दर्भिक बनाइसकेको छ— राजनीतिक र प्राकृतिक सीमाहरूमाथि विजय प्राप्त गरेको छ ।

के बुझ्न ढिलाइ भइसकेको छ भने मानिसलाई दल र राजनीतिक ढोंगले होइन प्रविधि र समृद्धिका सपनाले जोड्छ ! प्रविधि र समृद्धिका सपनाहरू सहरहरूसँग जोडिन्छन् ।

साविकका र विकसित हुँदै गरेका सहरहरूलाई आधुनिक सुविधासहित व्यवस्थित गर्दै महाभारत पर्वत शृंखलाको दक्षिण फेदीदेखि चुरे दक्षिण फेदीसम्म घना वन क्षेत्र नभएको र वातावरणीय दृष्टिले उपयुक्त मेचीदेखि महाकालीसम्मको भूभागमा र हुलाकी राजमार्गका विभिन्न केन्द्रहरूमा सुविधासम्पन्न सहरहरू विकास गर्न सकिन्छ ।

साथै तिनलाई वरिपरिका बस्तीहरूसँग जोड्ने बृहत् परियोजना सञ्चालन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोत र सहयोग परिचालन गर्ने हो भने त्यसले मधेसको आवश्यकता र समग्र मुलुकको समृद्धिको सपनालाई यथार्थमा रूपान्तरण गर्न सक्नेमा ढुक्क हुनुनपर्ने कुनै कारण छैन ।
—भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटिजिक स्टडिजसँग आबद्ध छन् ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.