सन्धिखर्क घटनाको सन्देश

सन्धिखर्क घटनाको सन्देश

गत साता अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आयोजित अर्घाखाँची महोत्सव कार्यक्रममा आक्रोशित जनसमुदायले ढुंगा प्रहार गरेका कारण उपस्थित ऊर्जामन्त्रीले मन्तव्य प्रकट नगरी प्रहरीको सुरक्षा घेरामा कार्यक्रम स्थलबाट बाहिरिनुप‍र्‍यो । त्यतिमात्र नभएर उनीसँगै कार्यक्रममा सहभागी अर्का माओवादी नेताले जनआक्रोशको सामना मात्र गर्नुपरेन, उनले जनसमक्ष आफ्नो गैरजिम्मेवार अभिव्यक्तिको लागि माफीसमेत माग्नुप‍र्‍यो । यस घटनाले यतिबेला अर्घाखाँची देशैभरि चर्चाको विषय बनेको छ ।

लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची प्राकृतिक सौन्दर्य एवं साधनस्रोतको उपलब्धताका हिसाबले धनी मानिन्छ । यससँगै अर्घाखाँचीवासी स्वाभिमान एवं परिश्रमका हिसाबले पनि अग्रपंक्तिमा रहेका छन् । अर्घाखाँची शैक्षिक एवं राजनीतिक चेतनाको हिसाबले अग्रणी जिल्लाको कोटीमा पर्दछ । संस्कृत व्याकरणका प्रणेता पाणीनिको जन्म अर्घाखाँचीकै पणेनामा भएको मानिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई लालनपालन एवं तिनको व्यक्तित्व निर्माणमा योगदान दिने उनकी जेठी आमा चन्द्रप्रभावती खाँची राज्यकी राजकुमारी थिइन् ।

देशमा जहानियाँ राणाशासनविरोधी संघर्ष होस् वा पञ्चायती निरंकुशता वा राजतन्त्रविरोधी आन्दोलन, अर्घाखाँचीवासीले अग्रपंक्तिमा रहेर आफ्नो जुझारुपना प्रदर्शन गर्दै आएका छन् । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनपक्षधरता अर्घाखाँचीवासीको सदैव सर्वस्वीकार्य आदर्शको रूपमा रहँदै आएको छ । उनीहरूले ती आदर्शका लागि प्रयत्नरत जोकसैलाई प्रोत्साहन र समर्थन दिँदै आएका छन् । अनि जो ती आदर्शविरुद्ध देखा पर्छ, त्यसलाई तिरष्कार गर्नसमेत पछि परेका छैनन् । पञ्चायती शासनको चरम उत्कर्षका बेला चर्चित काण्डहरूमध्येको बर्रेकाण्ड अर्घाखाँचीकै भूमिमा भएको थियो ।

अनि अर्घाखाँचीकै टंक भुसाल र वसिर मियालगायतका व्यक्तिहरूले मुलुकलाई त्याग एवं बलिदानको पाठ पढाएर गएका थिए, जुन कुराबाट अर्घाखाँचीवासीले निरन्तर प्रेरणा लिइरहेका छन् ।

विकास र अवसरका हिसाबले पछि परेकाले पहिल्यैदेखि नै त्यहाँका वासिन्दामा अवसर र सुविधाको खोजीमा खासगरी लुम्बिनी अञ्चलकै कपिलवस्तु र रुपन्देही अनि राप्ती अञ्चलको दाङ जिल्लामा बसाइँसराइ गर्ने प्रवृत्ति रहँदै आएको छ । कतिपयले त अर्घाखाँची र ती जिल्लामध्ये कुनै एक जिल्ला दुवैतिर बसोवास गर्दै आएका छन् । यसरी पहाड उनीहरूको घर र तराई आँगनको रूपमा रहँदै आएको छ ।

०६२/६३ को जनआन्दोलनपश्चात् देशमा संघीय व्यवस्था लागू गर्ने अठोटअनुसार नयाँ संविधान तर्जुमा गर्दा देशलाई सातवटा प्रदेशमा विभाजन गरियो । जसमध्ये प्रदेश नम्बर २ र ६ बाहेकका पाँच प्रदेश पहाड र तराई जिल्ला मिलाएर निर्माण गरियो । यीमध्येको प्रदेश नम्बर पाँच यतिबेला झन्डै डेढ महिना लामो आन्दोलनका कारण चर्चामा छ ।

नेपाली कांग्रेस र माओवादीलगायतका पार्टीहरूको सरकारले मधेसीहरूका माग पूर्तिका नाममा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला छुट्ट्याएर चार नम्बर प्रदेशमा गाभ्ने गरी संविधान संशोधन गर्ने सार्वजनिक गरेपछि सिंगो पाँच नम्बर प्रदेश आन्दोलित हुन पुगेको छ । आन्दोलनकारीहरूका अनुसार पाँच नम्बर प्रदेशलाई टुक्य्राउने कार्य एक त उक्त क्षेत्रका पहाडी जिल्लाहरूलाई तराईसँगको सम्बन्ध-विच्छेद गरेर पहाडी जिल्लाका नागरिकहरूको जीवनयापन कष्टकर तुल्याउने हेतुले प्रेरित छ ।

दोस्रो, यो कार्य भारतीय स्वार्थप्रेरित छ । यो कार्य अन्ततः मुलुक टुक्य्राउने ध्येयप्रति समर्पित छ भन्ने रहेको छ । यस आधारमा यतिबेला सिंगो देश संविधान संशोधन पक्षधर र विरोधी दुई खेमामा विभाजित हुन पुगेको छ । पाँच नम्बर प्रदेशका लगभग सबै जिल्लामा प्रदेश विभाजनको प्रस्तावविरुद्ध सशक्त जनमत रहेको पाइन्छ । यद्यपि संविधान संशोधन (अझ खासगरी पाँच नम्बर प्रदेश विभाजन) विरोधी आन्दोलनलाई सत्ता पक्षले एमालेको उक्साहटमा भएको आन्दोलन भनी आरोपित गर्ने गरेको छ । तर वास्तविकता त्यस्तो छैन ।

यो आन्दोलन कुनै दलविशेषको पहलमा भएको आन्दोलन नभएर पाँच नम्बर प्रदेश विभाजनविरोधी सम्पूर्ण जनताको आन्दोलन हो । यसलाई कुनै पार्टीविशेषको आन्दोलन ठान्ने मानसिकता पराजित मानसिकता त हुँदै हो, त्यसभन्दा बढी यो जनविरोधी एवं राष्ट्रविरोधी मानसिकता पनि हो । यो कुन अर्थमा भने यतिबेलाको संविधान संशोधनको एजेन्डा भारतद्वारा प्रायोजित एजेन्डा हो । यो कुरा मधेसी दलहरू एवं सरकारी पक्षलाई भारतद्वारा भइरहेको उक्साहट र समर्थन हेर्दा स्पष्ट हुन्छ ।

यसरी हेर्दा पाँच नम्बर प्रदेशका जनताले हाल सञ्चालन गरेको आन्दोलन राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको लागि सञ्चालन गरेको आन्दोलन रहेको प्रस्टिन्छ । तर सत्ता स्वार्थको लागि राष्ट्रिय स्वाभिमानकै बलि दिन चाहनेहरू पाँच नम्बर प्रदेशलाई विभाजन गरेर उक्त प्रदेशका जनताको भावनासँग खेल्ने र तिनीहरूलाई अपमानित गर्ने कार्यमा लागेका छन् । तिनीहरूको यस किसिमको कार्यबाट उक्त प्रदेशका जनताले आफूलाई अपमानित मात्र अनुभव गरेका छैनन्, आक्रोशितसमेत हुन पुगेका छन् ।

सन्धिखर्कमा गएको पुस २८ गते भएको घटनालाई उल्लिखित परिप्रेक्षमा हेर्नुपर्ने हुन्छ । नेपाली जनताबीच लम्पसारवादीको पहिचान बनाएको पुष्पकमल दाहाल नेतृत्वको सरकारका ऊर्जामन्त्रीले अर्घाखाँचीका जनतासामु उनीहरूले भोगिरहेको ऊर्जा संकटलाई हल गर्ने योजना वा आश्वासनसम्म दिन सकेका भए प्रशंसा बटुल्थे । उनको कार्यकालमा काठमाडौंमा भइरहेको लोडसेडिङ नियन्त्रण कार्य देखेका जनताले उनीबाट त्यसै किसिमको अपेक्षा गरेका हुन सक्थे तर उनले त्यो बाटो नभएर जनतालाई चिढ्‍याउने बाटो रोजे ।

महोत्सव उद्‍घाटनअगावै प्रेससँगको भेटघाटमा उनले पाँच नम्बर प्रदेश टुक्य्राउने कुरामा जोड दिँदै अर्घाखाँचीका जनताले त्यसपछि कायम हुने प्रदेशको राजधानी पोखरासम्म सुरुङमार्गबाट पुग्न सक्छन् भन्ने जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिए । लामो समयदेखि लुम्बिनी-राप्ती अञ्चलका पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट टुक्य्राउने योजनाविरुद्ध आन्दोलनरत अर्घाखाँचीवासी आफूहरूको मागप्रति प्रकट यस किसिमको उपेक्षाबाट असन्तुष्ट हुनु स्वाभाविकै थियो ।

मन्त्रीको अभिव्यक्तिबाट खिन्न जनतालाई आक्रोशित तुल्याउने कार्य मन्त्रीसँगै कार्यक्रममा सहभागी उनकै पार्टीका सोही जिल्लाका नेताले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले 'पाँच नम्बर प्रदेश टुक्रिएर केही हुँदैन, देश टुक्रिनुभएन' भन्ने अभिव्यक्ति दिएपछि जनताको धैर्यको बाँध फुट्यो । उनीहरूले आफ्नो भावनाको विरोध गर्नेहरूविरुद्ध नाराबाजी र ढुंगामुढासम्म गर्न पुगे । जनआक्रोशबीच प्रहरीले मन्त्रीलाई कार्यक्रमस्थलबाट सुरक्षित बाहिर निकाल्यो । मन्त्रीले आफ्नो मन्तव्यसम्म प्रकट गर्न पाएनन् । पछि जनतालाई आक्रोशित तुल्याउने गरी मन्तव्य दिने माओवादी नेता (!) ले आफू पनि अर्घाखाँचीवासी भएको र जिल्लावासीसँग टाढा हुन नसक्ने भन्दै आफ्नो भनाइका लागि जनसमक्ष माफी मागे ।

उल्लिखित घटनाले धेरै सन्देशहरू दिएको छ । प्रथम, अर्घाखाँचीवासीले आफ्नो राष्ट्रियताप्रेमी एवं स्वाभिमानी भावनाको पुनर्पुष्टि गरेका छन् । हो, देशमा संघीयता राष्ट्रको युगीन आवश्यकता वा केही व्यक्तिहरूको सत्ता स्वार्थपूर्ति केका लागि लागू गर्नुपरेको हो ? यस कुराको पुष्टि समयक्रमसँगै हुँदै जाला, तर संघीयता जनचाहनाअनुरूप लागू गरिनुपर्छ । यसलाई सीमित व्यक्तिहरूको सत्ता स्वार्थको परिपूर्ति गर्ने वा देशै विखण्डित गर्ने हेतुले संरचित गरिनु हुँदैन ।

संविधान निर्माण गर्दा एक किसिमको संघीयताको खाका निर्धारण भइसकेपछि पुनः एक पक्षको चाहनाअनुरूप चलखेल गर्ने कार्यले विषयवस्तुलाई अझ बढी जटिलता प्रदान गर्दछ भन्ने कुराको यो राम्रो उदाहरण हो ।

दोस्रो, सन्धिखर्क घटनाले राजनीतिक स्वार्थका निम्ति संविधान संशोधन गर्नेहरूलाई बेलैमा सचेत तुल्याउने कार्य गरेको छ । यसबाट कसैले सत्ता स्वार्थका निम्ति विदेशीको योजनामा जनचाहनाविपरीत संविधान संशोधन गरी एक क्षेत्रलाई अर्कोतर्फ गाभ्ने कार्य गर्दछ भने त्यो जनतालाई स्वीकार्य हुने छैन र त्यसले अन्ततः संघीयतालाई नै विफल तुल्याउन सक्छ भन्ने स्पष्ट सन्देश दिएको छ । यसबाट विद्यमान संघीय खाकालाई जथाभावी परिवर्तन गर्न खोज्नेहरू नै संघीयताविरोधी भएको स्पष्ट भएको छ ।

तेस्रो, सन्धिखर्क घटनाले जनचेतनाले माथिल्लो स्तरमा विकास गरेको कुरा देखाएको छ । यतिबेला अर्घाखाँची मात्र नभएर पाँच नम्बर प्रदेशअन्तर्गत सबै जिल्लाका वासिन्दा प्रस्तावित संविधान संशोधनविरुद्ध आन्दोलनमा छन् । उक्त आन्दोलनमा कुनै एउटा पार्टीका सदस्य एवं समर्थकहरू नभएर सबै पार्टी समर्थक र सामान्य नागरिकसमेतको संलग्नता रहेको पाइन्छ । त्यसैले यो आन्दोलन जनआन्दोलन पनि हो । जुन आन्दोलनले सबैखाले जनविरोधी शक्तिहरूलाई पराजित गर्ने सामथ्र्य राख्छ । त्यसैले जनभावनासँग खेलाँची गर्नेहरूले सन्धिखर्क घटना प्रारम्भ मात्र भएको कुरालाई समयमै बुझ्नु र आफूलाई सच्याउने कार्य गर्नु उनीहरूकै हितमा हुनेछ ।

चौथो, सन्धिखर्क घटना अर्घाखाँचीवासीहरूको धैर्यको प्रस्फुटन पनि हो । दसबर्से माओवादी 'जनयुद्ध' का क्रममा अर्घाखाँचीका कयौं नागरिकहरूले सहादत प्राप्त गरेका छन् । सन्धिखर्कमा भएको माओवादी आक्रमणबाट ध्वस्त संरचनाहरूको अझ पुनर्निर्माण भइसकेको छैन भने माओवादी आक्रमणबाट मालपोत र नापी कार्यालय ध्वस्त हुँदा नष्ट भएका नागरिकका जग्गाधनी पुर्जाहरू अझ तयार भइसकेका छैनन् । यसबाट उनीहरूले निकै व्यावहारिक कठिनाइहरू बेहोर्नु परिरहेको छ । माओवादी पार्टी पटक-पटक सत्तामा पुगे पनि जनताका यी र यस्ता अन्य समस्या समाधानमा कुनै सरोकार राखेको पाइँदैन । यी सबै मुस्किलहरू बेहोर्दै आएका जनता अब यस किसिमका ज्यादती सहेर बसिराख्ने स्थितिमा छैनन् भन्ने प्रस्ट भएको छ ।

उल्लिखित आधारमा सन्धिखर्क घटना कसैप्रति पूर्वाग्रह किसिमले गराइएको नभई यो जनविरोधी क्रियाको प्रतिक्रियास्वरूप सिर्जना हुन गएको देखिन्छ । त्यसैले सम्बन्धित दलको नेतृत्वले यस घटनालाई बक्तव्यबाजी गरी निन्दा गर्ने र यसको दोष अरूमाथि थोपर्दै आफू पानीमाथिको ओभानो बन्ने प्रयत्न गर्नुभन्दा यसले दिएको सन्देशलाई गम्भीरतापूर्वक बुझ्नु र अविलम्ब आफ्नो कार्यशैली सुधार्नेतर्फ लाग्नुपर्छ । जनता अब कसैको डर, धाक, धम्की एवं बहकाउमा नलागेर कुनै पनि घटना एवं कार्यको समर्थन वा विरोध त्यसका गुणदोषका आधारमा गर्ने हैसियत राख्छन् । त्यसैले अब राजनीति गर्नेहरूले जनमतको कदर गर्न सिक्नुपर्छ ।

तर यसो नगरेर बरु मुलुक टुक्रियोस् तर आफ्नो स्वार्थ रत्तिभर खण्डित नहोस् भन्नेहरूलाई जनताले अस्वीकार गर्ने मात्र होइन, दण्डित गर्नसमेत पछि पर्दैनन् भन्ने पछिल्लो उदाहरण सन्धिखर्क घटना हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.