किन दुर्घटनाग्रस्त हुँदैछ प्रजातन्त्रको गाडी ?

किन दुर्घटनाग्रस्त हुँदैछ प्रजातन्त्रको गाडी ?

प्रजातन्त्र आएको तीन दसक बितिसकेको छ भने गणतन्त्र आएको आठ वर्ष । यसबीचमा संविधानसभाका दुइटा निर्वाचन सम्पन्न भए । दोस्रो संविधानसभाबाट संविधान बनेको पनि डेढ वर्ष पुग्न लागिसक्यो तर संविधान कार्यान्वयनको लागि सहमति जुट्न सकेको छैन । एउटा गन्तव्यहीन यात्रा वा जात्राजस्तो भएको छ नेपाली राजनीति यतिबेला ।

प्रजातन्त्रको लागि जीवन आहुति दिएका धेरै राजनीतिक नेताहरू यो संसारबाट बिदा भइसकेका छन् भने धेरैजसो ओझिलिएका छन् । हजारौंले गणतन्त्र र लोकतन्त्रका लागि पछिल्लो प्रकरणमा प्राणको आहुति दिए, लाखौं बिचल्ली भए भने हजारौं विस्थापित भए । तर तिनको भूमिकाको कदर हुन सकेको छैन, आजका दिनसम्म । के भयो सहिदको प्रजातन्त्रप्रतिको आस्था र सपना ?

किन बारम्बार चुकिराखेका छौं हामी ? किन हामी यो गोलचक्करमा घुमेकोघुम्यै छौं, किनारामा नपुग्नै गरी ? किन प्रजातान्त्रिक अभियानले गति लिन सकिरहेको छैन ? आज संविधान संशोधनको विषयमा अल्झिएर महिनौं संसद् अवरुद्ध छ । प्रजातन्त्रलाई पूर्णता दिन आवश्यक कानुन-नियमहरू बन्नुपर्नेमा त्यसै थाती राखिएको छ । जनताको करबाट उठेको धनको बर्बादी भइरहेको छ । भोलि धर्म, क्षेत्र, भाषा, जात, जातिको अधिकारका विषयमा देश बन्धक बन्नुपर्ने अवस्था आजको राजनीतिले उत्पन्न गरिरहेको छ, किनकि साना भनिने तर गम्भीर प्रभाव पार्ने विषयमा दलहरूबीच बहस नै हुन सकेको छैन ।

बहुलवादको सिद्धान्तलाई पाखामा राखी केही राजनीतिज्ञले आफ्नो व्यक्तिगत प्रलोभनको लागि आम जनतालाई सुसूचित नै नगरी झुक्याएर गरिएका निणर्यहरू कार्यान्वयन हुन कठिन छ । जनताले त्यस्ता निर्णयमा पुनर्विचार गर्नुपर्ने माग राख्नु स्वाभाभिकै हो । धेरै नेपाली राजनीतिज्ञमा आत्मविश्वासको अभाव देखिन्छ यतिबेला किनकि उनीहरू आन्तरिक समस्याको समाधान विदेशीको इशारामा खोज्ने ।

यस्तो प्रवृत्तिले प्रस्ट्याउँछ, उनीहरू देश र जनताप्रति उत्तरदायी नभई विदेशीको नुनको सोझो गरी राष्ट्रलाई बारम्बार धोका दिइरहेका छन् भन्ने सन्देश प्रवाह भएको छ जनमानसमा । राजनीतिज्ञले बिर्सन नहुने कुरा के हो भने भिक्षा मागेर पाइन्छ, तर स्वतन्त्रता र स्वाभिमान पाइँदैन । बरु माग्दा पटकपटक उपेक्षित र घृणित बन्नुपर्छ । छिमेकी र साथीहरूसँग मागेर चलाएको जीवन सम्मानित हुन सक्दैन ।

ठीक यस्तै अवस्था छ नेतृत्वको यतिबेला । होनहार युवाले आफ्नो जवानी बिर्सेर, ज्यान जोखिममा राखेर विदेशमा दुःख गरेर ल्याएको पैसाले देश चलेको हेक्का राख्नुपर्छ नेताहरूले । नेपालीले नै नेपाल चलाएका छन्, विदेशीको मुख हेर्नुपर्ने परिस्थिति छैन भन्ने सन्देश पनि त्यही दिएको छ । यो सत्यलाई कदापि भुल्नु हुन्न ।

कुनै पनि देशको सबैभन्दा ठूलो सम्पत्ति भनेको जनता हुन् । नेपाली जनताले असल, बहादुर, स्वाभिमान र मेहनती भएको प्रमाणित गरेका छन् विश्वसामु । त्यसैको प्रतिफल हो- दस वर्षसम्म युद्धमा होमिएको देशमा न भोकमरी लाग्यो न त आर्थिक अवस्था नै जर्जर भयो । स्वाभिमानी, कर्मठ र मेहनती नेपालीको परिचय भएकै कारण यस्तो सम्भव भएको हो । तर बारम्बार असल, सक्षम, इमानदार राजनीतिक नेतृत्व चयन गर्न किन चुकिरहेका छौं ?
पंक्तिकार चाहन्छ- विवेकशील, सुशिक्षित र राष्ट्रवादी नेतृत्व जसले विदेशीको आशा नगरी आफ्ना जनतालाई शत्तिसम्पन्न र सर्वोपरि मानी जनताको पक्षमा सही निर्णय लिने तथा आवश्यक काम गर्ने क्षमता राखून् ।
प्रायजसो नेता तथा कर्मचारीमा एउटै कुरामा तल्लीन देखिन्छ, त्यो हो पैसा । पैसा सबैलाई चाहिएको छ । किन पैसाको मात्र आवश्यकता हुन्छ ? महत्त्वपूर्ण कुरा के छ भने यिनीहरूले कुम्ल्याएको सम्पत्ति आम इमानदार र सोझा नेपालीको भाग खोसेर सम्भव भएको प्रस्ट छ ।

कहाँ चुक्यौं त हामी ? हामीले चुनेको नेतृत्वले हाम्रै भलाइप्रति किन गम्भीर नभएको होला ? प्रजातन्त्रको नाममा विश्वका विभिन्न राजनीतिक दर्शनको प्रयोग गरी निमुखा जनतालाई डल्लो पार्ने काम मात्र भइरहेको देखिन्छ । प्रजातन्त्रको लागि जीवन अर्पण गरेका महानपुरुषहरूले कल्पना गरेको प्रजातन्त्र यस्तै थियो होला त ?

संविधानतः तीनवटा निर्वाचन एक वर्षभित्र गर्नुपर्ने चुनौती छन् हाम्राअगाडि । स्थानीय, प्रदेश अनि संघको, निर्वाचनको कुरा राजनीतिक वृत्तमा केही समयमै चुलिनेछ । मधेसकेन्द्रित दलहरू मौजुदा संविधानले आफ्ना माग सम्बोधन नगर्ने भन्दै निहुँ खोजिरहेका छन् तैपनि निवार्चनको विषयमा सहमतिमा आउने छाँटकाँट उनीहरूले देखाएका छन् । तसर्थ यी निर्वाचनहरू हुन्छन् भन्ने विश्वास भने गरौं ।

समयानुकुल चल्न सक्ने सक्षम र इमानदार नेतृत्वको चयन गर्ने जिम्मा हाम्रै काँधमा आएको छ- अब सही नेतृत्व छान्ने कि असक्षम, डाँका, फटाहा, गुन्डा, अपराधी, हत्यारा, भ्रष्ट, छद्मभेषी र जनताको स्वाभिमान विदेशीलाई बेच्ने खालका नेतृत्व चुन्ने ?

प्रजातन्त्रको अपरिहार्य प्रक्रियामध्येको एक हो निर्वाचन । निर्वाचनमा सही प्रतिनिधि चुन्न चुकेनौं भने फेरि चार वर्षको लागि गलत नेतृत्वले निम्त्याएको दुःखद् परिणाम भोग्न हामी बाध्य हुनुपर्नेछ । अहिलेको राजनीतिक असफलता, डेडलक र ढिलासुस्ती हाम्रो विगतको भूलको परिणाम हो । हो, हामीले धेरैजसो राजनीतिक प्रतिनिधिहरू सही चयन नगरेकै हो र त्यसैको मूल्य चुकाइरहेका छौं अहिले ।

हुन त नेपालको संविधान २०७२ ले चुनावमा करिब सबै धर्म, वर्ग, लिंग, जातजाति, क्षेत्र आदिको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ, तसर्थ कुनै तप्काको प्रतिनिधित्व नहोला भन्नुभन्दा पनि विभिन्न तप्काभित्र पनि सही व्यक्ति चयन हुनु सान्दर्भिक विषय हो । सान्दर्भिक यस मानेमा कि ऊ आफ्नो धर्म, वर्ग, क्षेत्र, क्षेत्रका जनता र समग्रमा देशको बृहत् हितमा काम गर्ने क्षमता भएको इमानदार व्यक्ति हुन जरुरी छ ।

एउटा विद्वत् समूहको तर्कअनुसार नेपालमा अझै प्रजातन्त्र आउने बेला भएको थिएन कि भन्ने छ । धेरै जनता सुशिक्षित नभएकोले आफैं गहन विषयहरूमा सही निर्णय लिन सक्दैनन्, तसर्थ अरूको सहयोग लिनुपर्नेछ । किनकि यस्तो परिस्थिति आम जनतालाई भ्रमित गरी आफ्नो व्यक्तिगत वा संस्थागत फाइदा नेतृत्वले लिएकै कारण प्रजातन्त्रको प्रतिफल वास्तविक गरिब र निमुखा जनताले पाउन सकेनन्, उनीहरूका नाममा केही टाठाबाठा छट्टुहरूले लिइरहेका छन् ।

अब हामीले विवेक प्रयोग गर्ने बेला आएको छ । आगामी निर्वाचनमा सही नेतृत्व चुन्न सकेनौं भने प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र कमजोर भएको परिणाम पनि हाम्रै कारण भएको हो भन्ने सन्देश जानेछ विश्वसामु । त्यसैले समयानुकुल चल्न सक्ने सक्षम र इमानदार नेतृत्वको चयन गर्ने जिम्मा हाम्रै काँधमा आएको छ- अब सही नेतृत्व छान्ने कि असक्षम, डाँका, फटाहा, गुन्डा, अपराधी, हत्यारा, भ्रष्ट, छद्मभेषी र जनताको स्वाभिमान विदेशीलाई बेच्ने खालका नेतृत्व चुन्ने ? निर्णय हामै्र हातमा छ ।

कुनै पनि कार्यको नतिजा शतप्रतिशत आशा गरेबमोजिम नहुन पनि सक्छ, तर विवेकशील भएर सावधानीपूर्वक गरेको कामको प्रतिफल अवश्य पनि निराशाजनक हुँदैन । तसर्थ लोकतन्त्रको एक महत्त्वपूर्ण कसी मानिने निर्वाचनमा हामीले सही नेतृत्व चयन गर्न चुक्नु हुँदैन ।

विभिन्न राजनीतिक पार्टीहरूले पनि आउने निर्वाचनमा उम्मेदवारी दिँदा नातावाद, कृपावाद, पैसावाद, विदेशीको पैसा र राजनीतिक दबाबभन्दा माथि उठ्न सक्नुपर्छ । त्यसको विपरीत राष्ट्र र जनताको सुखदुःख देख्ने व्यक्तिलाई उम्मेदवारी दिन लगाउनुपर्छ । हामी एक सफल प्रजातान्त्रिक देश हुने सँघारमा छौं, सफल हुने कि नहुने भन्ने निर्णय पनि हामीले नै गर्ने हो । प्रजातन्त्रको उद्देश्य एउटै भए पनि त्यसको स्वरूप देशैपिच्छे फरक हुन्छ ।

नेपालको प्रजातान्त्रिक अभ्यास पनि आफैंमा फरक छ, एउटा विशेष आयाम र परिवेश बोकेको छ । तसर्थ धर्म, वर्ण, जातजाति, समुदाय, नातागोता, सञ्जालबाट माथि उठी जनहितमा अघि बढ्ने मौका पनि दललाई आएको छ, त्यसको कति सदुपयोग गर्ने भन्ने उनीहरूकै कार्यशैलीमा भर पर्छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.