विकास र आत्मनिर्भर

विकास र आत्मनिर्भर

नेपालमा योजनाबद्व विकासको सुरुआत भएको ६ दसक भएको छ । विकास एउटा नियमित प्रक्रिया हो । देश, काल, परिस्थितिअनुसार विकासको परिभाषामा परिवर्तन भइरहेको छ । कुनै बेला गाउँ फर्र्क राष्ट्रिय अभियानको नाममा परम्परादेखि पहाडको उकालो बाटो सजिलोसँग हिँड्नको लागि बाबुबाजेले बनाएको ढुंगाका सिँढी र वरपीपलका चौतारी भत्काएर ग्रेडिङ नमिलेको ठाडो मोटर बाटो बनाउनेलाई विकास मानिन्थ्यो ।

अहिले काठमाडौंका साँघुरा सडकलाई चौडा बनाउने नाममा करोडौं मूल्यका भवन भत्काउने र शान्तिपूर्वक व्यापार-व्यवसाय गरेर बसेकालाई विस्थापित गर्नु पनि विकास नै मानिएको छ ।

'काशी-कश्मीर अजब नेपाल' भनेजस्तै विश्वमा नेपाल मात्र यस्तो देश हो, जहाँ घर भत्काएर घरवारविहीन भएर सुकुम्बासी भएकालाई पनि यो विकास तिमीहरूकै लागि हो भनिन्छ । बनिरहेका पूर्वाधारहरू शिक्षा, स्वास्थ्य, खानेपानी आयोजना ध्वस्त पारेर, झोलुंगे पुलमा नदी तरिरहेकालाई तुहिन वा डुंगा प्रयोग गर्न लगाउनु पनि जनताकै लागि भन्ने गरिएको छ ।

त्यस्तै सडक, सिँचाइ, जलविद्युत् आदि योजना कार्यान्वयन गर्दा स्थानीयलाई विस्थापित गरिन्छ । जलविद्युत् योजनामा केही मुआब्जाको व्यवस्था गरिएको छ भने सडक र सिँचाइमा बिना मुआब्जा जग्गा लिने पनि गरिएको छ । विकास योजना कार्यान्वयन भएका क्षेत्रका जनतालाई विस्थापित गरेर तिनीहरूलाई उचित बसोवासको व्यवस्था नगरी गरिएको विकास स्थानीयको लागि विनाश हो भने त्यसको फाइदा लिने टाठाबाठाको लागि विकास हो । अब विकास र विनाश कुन बाटोमा लाग्ने हो योजनाबद्व विकास चाहनेले गहिरिएर सोच्नुपर्ने बेला आएको छ ।

नेपालमा आधुनिक विकासको सुरुआत चन्द्रशमशेरको पालादेखि भएको हो । चन्द्रशमशेरले बनाएको सिंहदरबार जुन उनले सरकारलाई दुई करोड रुपैयाँमा बेचेका थिए भनिन्छ, जहाँ अहिलेसम्म पनि सरकारको प्रमुख सचिवालय रहेको छ । राणाकाल हटे पनि त्यसपछि सत्तामा पुगेका सबैले आफूलाई नवराणामा परिवर्तन गरेको पाइयो । चन्द्रज्योति फर्पिङ र सुन्दरीजल जलविद्युत् योजना, चन्द्रनहर सप्तरी, अमलेखगन्ज रक्सौल र जनकपुर जयनगर रेल वे महत्त्वपूर्ण मानिन्छ ।

त्यस्तै वीरशमशेरले काठमाडौंमा वीर कलधारा खानेपानी योजना र घण्टाघर निर्माण र जुद्धशमेशरले विराटनगर जुट मिल, कटन मिललगायत आधुनिक उद्योगको जग हालेका थिए । राणाकालमा सुगौली सन्धि विस्थापित गरेर बेलायत सरकारले सन् १९२३ को सन्धिले नेपालको सार्वभौमसत्तालाई मान्यता दिलाउनु र सन् १९५० को नेपाल-भारत मैत्री सन्धिले सन् १९२३ को सन्धिलाई प्रतिस्थापन गर्नुका साथै स्वतन्त्र भारतले पनि नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको प्रत्याभूति गरेको छ ।

१९१० सालमा जंगबहादुर राणाले पहिलोपटक मुलुकी ऐन लागू गरेर सतीप्रथाको अन्त्य र चन्द्रशमशेरले दासहरूको अमलेख गरेर चन्द्रनिगाहपुर र अमलेखगन्ज जस्ता बस्ती बसालेका थिए । मधेस गोश्वाराहरूको स्थापना गरेर तराई-मधेसका मेचीदेखि महाकालीसम्मका जिल्लामा विराटनगर, राजविराज, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी जस्ता सहरहरू बसाले ।

त्यस्तै पद्म शमशेरले 'म जनताको नोकर हुँ' भनेर पहिलो अन्तरिम संविधान २००४ जारी गर्नुका साथै कलेज र विद्यालयसमेत स्थापना गरेका थिए । राणाकालमा देशको आयव्यय सार्वजनिक गर्ने चलन थिएन । 'कच्चा नछोड्नू, पक्का नजोड्नू' अर्थात् जिल्लाहरूबाट उठाउने रकम कलम नछोड्नू तर एकमुष्ट रकम नजोड्नू भन्ने कडा निर्देश जारी गरिएको थियो । राज्यको ढुकुटी राणाहरूले निजी रूपमा प्रयोग गर्ने गरेका थिए ।

राणाकालमा नगन्य विकास निर्माण कार्य भएको थियो । त्यसबेला सरकारको काम भनेको शान्तिसुरक्षा कायम गर्नु र राजस्व संकलन गर्नु मात्र रहेको थियो । मुलुक आयात-निर्यात र अन्य कार्यमा आत्मर्निभर थियो । बाह्य हस्तक्षेप र वैदेशिक सहयोगको आवश्यकता महसुस गरिएको थिएन । १९९० सालको भुइँचालोमा वैदेशिक सहयोग अस्वीकार गरेर जुद्वशमशेरले भूकम्पपीडित जनतालाई घर बनाउन ऋण उपलब्ध गराएका । पछि उनले सो ऋण मिनाहा पनि गरेका थिए ।

२००७ सालको राजनीतिक परिवर्तनपछि पहिलोपटक २००८ सालमा आयव्यय अर्थात् बजेट प्रस्तुत गरियो । राजनीतिक अस्थिरताले २०१७ सालसम्म बजेट लाखमा प्रस्तुत गरिन्थ्यो र वार्षिक बजेट करोडभन्दा तलै हुन्थ्यो । २०१३ सालमा पहिलो पञ्चवर्षीय योजना लागू गरियो । त्यस दसकमा विकास निर्माणका सामान्य कार्य भए पनि आयव्ययको सन्तुलित व्यवस्था रहेको र देश आत्मनिर्भर नै रहेको थियो ।

२०१७ देखि २०४७ सालसम्म पञ्चायती शासन व्यवस्थामा राजनीतिक स्वतन्त्रतामा बन्देज लागे पनि अन्य विकास निर्माण कार्य र वैदेशिक सहयोग तथा सम्बन्धमा उल्लेखनीय प्रगति भएको थियो । पूर्व-पश्चिम र उत्तर-दक्षिण राजमार्गहरू, जलविद्युत् आयोजनाहरू, उद्योग तथा कलकारखाना, शिक्षा, स्वास्थ्य, १४ अञ्चल ७५ जिल्ला, चार हजार गाविस, नगरपालिका र पाँच विकास क्षेत्र त्यही बेला कायम भएका हुन् ।

पञ्चायतकालमा देश खाद्यान्नमा आत्मर्निभर मात्र होइन, धान-चामल निर्यात कम्पनी खोलेर कोरिया, बंगलादेश, श्रीलंका र भारतमा नेपालको चामल निर्यात गरिन्थ्यो । त्यो बेला बजेट करोडमा पेस गरिन्थ्यो र वार्षिक बजेट अर्बभन्दा कम नै रहेको र आयव्ययको सन्तुलनले नुन-तेलबाहेक अन्यमा देश आत्मर्निभर नै रहेको थियो ।

२०४७ सालको राजनीतिक परिवर्तनपछि ०६२÷६३ सम्म देशमा बाह्य हस्तक्षेप र सहयोगको मात्रा बढ्न गयो । खुला वातावरण र निजीकण र उदारीकरणको नाममा सरकारी क्षेत्रमा रहेका उद्योग, कलकारखानाहरू निजी क्षेत्रलाई अपारदर्शी किसिमले हस्तान्तरण गरियो । यो अवधिमा कार्पेट, गलैंचा, निजी वायु सेवा र बैंक तथा वित्तीय संस्थाहरू खुल्नुका साथै विकृतिको पनि प्रवेश हुन गयो ।

वार्षिक बजेट अर्बौं रुपैयाँमा पेस गर्ने चलन सुरु गरियो । कार्यान्वयनमा हरेक वर्ष खर्च गर्ने अनुपात घट्दै गयो । भ्रष्टाचार र विकृति बढेको र आर्थिक अनुशासन कुन चराको नाम हो खोज्नुपर्ने अवस्था देखियो । यसपछि देश आत्मर्निभरबाट परनिर्भरतर्फ लाग्न थाल्यो । खाद्यान्न निर्यातबाट आयात गर्ने मुलुकमा परिणत भयो । आयात-निर्यात असन्तुलन भएर वैदेशिक सहयोगले मात्र शोधनान्तर स्थितिलाई सन्तुलनमा राख्नुपर्ने अवस्था भयो ।

पहिलोपटक यो अवधिमा देश परनिर्भर हुन गयो । यसै अवधिमा माओवादी सशस्त्र संघर्षको नाममा पानी, बिजुली, शिक्षा, स्वास्थ्य, बाटोघाटो पुगेर सम्पन्नतातर्फ लागेका पहाडी क्षेत्रका गाउँलाई हिंसात्मक रणभूमिमा परिवर्तन गरियो । त्यसबेला उजाड भएका गाउँहरू अझै पुनस्र्थापित हुन सकेका छैनन् । त्यस्तै मधेस आन्दोलनले तराई-मधेसका गाउँ उजाड र रित्तो बनाउनमा सहयोग पुर्‍याएको छ । युवा शक्तिको गाउँबाट भएको पलायनले निकट भविष्यमा गाउँहरू पुरानै चहलपहलको अवस्थामा फर्कने सम्भावना पनि देखिएको छैन ।

२०६३ सालको राजनीतिक परिवर्तनपछि देशमा राजनीतिक र आर्थिक दुवै क्षेत्रमा परनिर्भरताको युग सुरु भयो । बाह्रबुँदे सम्झौताबाट सुरु भएको यो बाह्य हस्तक्षेप अहिले संविधान संशोधनसम्म यथावत् छ । राजनीतिक अस्थिरता र संक्रमणकालको नाममा अधिकांश उद्योग तथा कलकारखाना बन्द हुन गई रौजगारको अभावमा लाखौं युवाहरू रोजगारको लागि बाहिरिएका छन् ।

विकास बजेट खर्बौं रुपैयाँको पेस हुन्छ, साधारण खर्चमा लक्षभन्दा बढी खर्च हुन्छ भने विकास बजेट मुस्किलले २५ प्रतिशत खर्च हुन्छ । विकास निर्माणका कार्य 'हिँड्दैछ पाइला मेट्दैछ' भनेजस्तो छ । देशको राजस्वको सम्पूर्ण भाग साधारण खर्चमा ठिक्क हुने र विकास बजेटको लागि वैदेशिक ऋण र सहायतामा निर्भर हुँदा देश पूर्ण परनिर्भर र लम्पसारवादमा परिणत भएको छ । प्रमुख द्विपक्षीय र बहुपक्षीय दाताले नेपाललाई अनुदान प्राप्त गर्ने मुलुकको सूचीबाट हटाउने तयारी गरेपछि सरकारले चालू योजना अवधिभित्र वैदेशिक अनुदानको तुलनामा दोब्बर ऋण लिने निर्णय गरेको खबर सञ्चारमाध्यममा आइरहेको छ ।


विकास र आत्मनिर्भरतालाई सँगसँगै लैजानको लागि विगतको पुनरावलोकन गरी मुलुकमा कानुनको शासन, स्वच्छ, नैतिक, इमानदार र जवाफदेही राजनीतिको सुरुआत गर्ने र देशको लागि केही गर्छु भन्ने युवा पुस्तालाई जिम्मेवारी दिनु या जिम्मेवार बनाउनु अहिलेको एकमात्र विकल्प हो ।

सरकारी सञ्चारमाध्यममा राजनीतिक नेतृत्वदेखि प्रशासनका सबै निकाय विकास निर्माणमा अहोरात्र खटिएको आभास हुन्छ । बिचराहरूलाई दुई गाँस खान र ढाड सोझो पारेर एक निद्रा पुर्‍याउन पनि पाएका छैनन्को आभास पारिएको छ । ओखलमा भुस हालेर जति ढिकी कुटे पनि चामल आउने होइन, खालि ढिकीको आवाज मात्र आउने हो । देशका भौतिक पूर्वाधार लथालिंग भताभुंग सम्हाल्नै नसक्ने अवस्थामा पुर्‍याइएको छ ।

देशलाई अँधेरोबाट उज्यालोतिर डोर्‍याउने भनेर लोडसेडिङमुक्तको खुब हल्ला चलेको छ । 'मामाको घोडी मेरी हीही' भनेजस्तै पञ्चायतकालमा नेपाललाई एसियाली मापदण्डमा पुर्‍याउने भनेजस्तै हो । भारतले आफूकहाँ लोडसेडिङ गरेर नेपाललाई बिजुली दिएकाले मात्र अहिले लोडसेडिङ हटेको हो । जब आफैंले उपयोग गरेर नेपालमा बिजुली आपूर्ति रोकिन्छ त्यो बेला अहिलेका लोडसेडिङ हटाउने नायकहरूलाई लाइट बालेर खोज्नुपर्ने हुन सक्छ ।

२०४४ सालमा नेपालमा पहिलोपटक सार्क सिखर सम्मेलन आयोजना गर्दा राजा वीरेन्द्रले काठमाडौंका सडकमा उज्यालोको लागि भेपर ल्याम्प, सफा र चिल्ला सडक, ट्राफिक लाइट आदिको व्यवस्था गरेका थिए । यस बेला ६ महिना काठमाडौंबाट बाहिर गएर फर्केकाहरूले युरोप अमेरिकाको सहरमा पुगेको अनुभूति भयो भनेको हिजोजस्तो लाग्छ । गत वर्ष भएको अन्तिम(? ) सार्क सिखर सम्मेलनमा भेपर ल्याम्पको बल्ब फेर्नुको बदला कमिसनको लोभमा सोलार बत्ती राखेर दुई महिना झिलिमिली पारियो तर अहिले बिहान काठमाडौंका सडकमा हिँड्दा लाइट हातमा लिएर हिँड्नुपर्छ, सफाइ र ट्राफिक लाइटको त के कुरा गर्नु र ?

नेपालका ग्रामीण क्षेत्र मानवविहीन हुन लागिसके । खाद्यान्न, तरकारीदेखि सम्पूर्ण उपभोग्य सामग्रीको लागि परनिर्भरता बढ्दो छ । विकास निर्माण कार्यको लागि जनशक्तिको अभाव छ । भूकम्पपीडित पैसा हातमा लिएर बसेका छन् । खाडीका मरुभूमिमा रगत-पसिना बगाइरहेको हाम्रा युवाहरू परिवार र देशको लागि रेमिटेन्स पठाइरहेका छन् । रेमिटेन्सका आधारमा अडिएको अर्थतन्त्र भारतको निगाह र कृपामा लोडसेडिङ हटाएको जस्तै नेपाली जनताका आँखामा छारो हालेको मात्र हो । वास्तविकताबाट एक दिन सामना नगरी सुखै छैन । मितव्ययी, कडा मेहनत, लगनशीलता, धैर्य, इमानदारी र कानुनी शासन नभई कुनै देश पनि विकास र आत्मनिर्भर हुन सक्दैन ।

विकास र आत्मनिर्भरतालाई सँगसँगै लैजानको लागि विगतको पुनरावलोकन गरी मुलुकमा कानुनको शासन, स्वच्छ, नैतिक, इमानदार र जवाफदेही राजनीतिको सुरुआत गर्ने र देशको लागि केही गर्छु भन्ने युवा पुस्तालाई जिम्मेवारी दिनु या जिम्मेवार बनाउनु अहिलेको एकमात्र विकल्प हो । छिमेकी मित्रराष्ट्रहरूको सद्भाव र सहयोग प्राप्त गरेर, विगतमा भएका गल्तीबाट शिक्षा लिएर अनि आफ्नै बलबुतामा दिगो विकास गर्दै मुलुकलाई आत्मनिर्भर र स्वावलम्बी राष्ट्र बनाउने सद्बुद्वि सबैलाई प्राप्त होस्, शुभकामना !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.