योगको मर्मको खोजी

योगको मर्मको खोजी

योगको उत्पत्ति संस्कृत शब्द 'युज' बाट भएको हो । युजको अर्थ हो 'जोड्नु' वा 'मिलाउनु' । यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माका बीचमा संयोग स्थापित गर्नु नै योगको उद्देश्य हो ।

तर के यस्तो हुन सकिरहेको छ त ? यो कुराप्रति कुनै सन्देह छैन कि आज विश्वभर लाखौं मानिसहरू योगसँग जोडिएका छन् । देश, धर्म, रंग, भाषा, जातिको भेद नराखी यस आदिकालीन प्रणालीलाई मानिसहरूले स्वास्थ्यलाभ र फिटनेसको लागि प्रयोग गरिरहेका छन् । शरीर दुरुस्त राख्न र अनेक रोग/व्याधीबाट छुटकारा पाउन योगको विभिन्न प्रचलित रीतिहरूलाई वर्तमानमा प्रयोग गरिँदै आइएको छ । चिन्ता, अवसाद आदि मानसिक रोगहरूको निदानका लागि पनि मानिसहरूले योगको सहारा लिइरहेको पाइन्छ ।

पश्चिमी समाजको अभिजात्य वर्गमा त योग आफ्नो मूल स्थानमा भन्दा अझै लोकप्रिय छ । योगको आदिग्रन्थ पतञ्जली सूत्रको रचना हजारौं वर्षपहिले विद्याञ्चलमा भएको थियो । हिमालय र त्यस भेगसँग जोडिएका क्षेत्रमा योगको प्रार्दुभाव भएको हो । शनैःशनैः योग हाम्रो जीवनशैलीको अंग बन्यो । ऋषिमुनी एवं अनेकानेक साधुहरूले समाजमा योगको महत्त्वलाई मजबुती प्रदान गरे ।

योगका नयाँनयाँ शैलीहरू विकसित भए र जनमानसमा स्थापित पनि भए । दूर-सुदूरसम्म यसको प्रचार-प्रसार भयो । योग एउटा यस्तो वैज्ञानिक विद्याको रूपमा प्रकट भयो, जसको प्रयोगले रोग/व्याधीबाट बच्न सकियो । तर योभन्दा पनि कैयौं गुणा महत्त्वपूर्ण थियो, योगको आध्यात्मिक पक्ष । प्रत्येक जीवमा ब्रह्मको दर्शन एवं ब्रहमाण्डको समग्रता बुझ्न र त्यसलाई आत्मसात गर्नु योगको प्रमुख ध्येय तथा आश्चर्यजनक योगदान थियो ।

योग सामाजिक सौहार्दताको प्रणेता र पोषक बन्यो । भयो सहिष्णुताको प्रसार । मानव स्थित प्रज्ञतातर्फ अघि बढ्यो । मानसिक स्थिरता योगीहरूको पहिचान बन्यो । 'योगः चित्त वृत्तिनिरोधः'- पतञ्जलीको यो उद्घोष सार्थक भयो । मनको बेरोकटोक गतिमाथि नियन्त्रणको क्षमता योगाभ्यासीहरूले आर्जित गरे ।

तर समय सधैं गतिमान छ । निरन्तरतामा परिवर्तन पनि निहित छ । यद्यपि परिवर्तन एउटा सीधा रेखाजस्तो हुँदैन । त्यसमा उतार र चढाव दुवै हुन्छ । प्रगति छ भने अधोगति, उत्थान र पतन पनि छ । समयको चक्र अनिश्चित हुन्छ र असयंमित पनि ।

यस्तो समय आयो कि जब भौतिकवादले अध्यात्मलाई पछाडि धकेलिदियो । धनले मनलाई परास्त गरिदियो । बजारको चमकधमकको अगाडि आत्माको दियो मधुरो लाग्न थाल्यो । आफ्नो संस्कृति र जीवनशैलीप्रति आफैंमा हेय भाव उत्पन्न भयो । आत्मवितृष्णाबाट ग्रस्त हामीले आफ्नो गौरवशाली अतीतलाई नै भुल्यौं । साथै आत्मविश्वास र ऊर्जालाई पनि गुमायौं, जसको कारणले परिवर्तित समयमा जे श्रेष्ठ र ग्राह्य थियो, त्यसलाई अपनाउन सक्थ्यौं । धेरै थोक गुमायौं ।

र पायौं अनि अपनायौं कहिले ? जब त्यसमा भौतिकवादीहरूले आफ्नो मोहर लगाए । योग विद्याका जनकहरूले आफ्नो सनातन परम्परालाई विगत केही दसकदेखि पुनः समेट्ने प्रयास गरिरहेका छन् किनभने पाश्चात्य सभ्यताले अब योगलाई प्रामाणिकता दिइसकेको छ । तर यस्तो चमत्कार भयो कसरी ? किनभने भौतिक सफलता र विलासिताको सीमा मापनपश्चात् पनि पश्चिमाहरूलाई मनको शान्ति प्राप्त भएन, मनको अन्धकार हटेन, जीवनमा रिक्तता व्याप्त बनिरह्यो । माया प्राप्त भयो तर आनन्द आएन । यही नै त माया हो ।

थकित-पराजित भएर पश्चिमले पूर्वको लुकेको शक्ति खोजे । योग अपनाए । हामीले भन्दा धेरै अपनाए । कहाँसम्म भने कैयौंको लागि यो अभूतपूर्व व्यवसाय बनेको छ । पाखण्ड र अपरिपक्व ज्ञानको प्रयोग गरेर अनेकौं तथाकथित योगीहरूले आफ्नो ढुकुटी भरिरहेका छन् । यस्तो हुनु दुर्भाग्यपूर्ण हो । तर मलाई विश्वास छ, वास्तविक र सच्चा योग साधनामात्रै शिखरसम्म पुग्न सक्छ ।

यद्यपि खुसीको विषय के छ भने हामी सबैले हिमालय एवं उपमहाद्वीपको प्राचीन योग विज्ञानलाई पुनः पहिचान गर्न थालेका छौं । तर जसरी प्रायः हुने गर्छ, बिर्सिएका परम्पराको पुनर्जन्म हुँदा पनि हामी त्यो शाश्वत विद्याको सम्पूर्ण रूपमा वा उचित लाभ उठाउन सक्दैनौं ।

धेरैजसो मानिसका लागि आज योग विद्या केवल केही आसनहरूको संग्रहमात्र हो, जसको माध्यमबाट शारीरिक स्वास्थ्य बनाइराख्न चाहन्छौं । ध्यानक्रियाहरूको मद्दतले हामी केही मानसिक विग्रहको उपचार पनि खोजी गर्छौं । निसन्देह, यसरी लगातार गरिने प्रयास लाभप्रद हुन्छ र हामी निरोगी कायाको दिशामा अघि बढ्छौं । आरोग्य जीवन बनाउने प्रयास गर्छौं ।

तर के मानव जीवन शरीर मात्र हो ? वास्तविक जीवन त देहमा निहित छैन, त्यसबाहेक छ । आनन्द, उल्लास र आत्मीयता त सच्चा चित्तमा मात्रै विराजमान हुन्छ । ईश्वरको एउटा नाम 'सच्चिदानन्द' त्यसै भएको होइन । त्यसमा मानव जीवनको मर्म समाहित छ । भवसागरमा फसेको डुंगाको लागि त्यही नै किनारा हो । त्यही मात्र एक मात्र र अन्तिम सत्य हो । जसले त्यो सत्यलाई बुझ्यो, उसले सबलाई अपनायो । म रहिनँ, तिमी रहेनौ । सबै एउटै परमको अंश बन्यौं । फेरि किन छल, केको लोभ, किन प्रपञ्च ? स्वयंलाई किन धोखा ? बस, आनन्द नै आनन्द ।

यही नै हो योगको वास्तविक गन्तव्य । अंगप्रत्यंगको आसनभन्दा अघि बढेर आफ्नो चैतन्य खोज्नु हो, विवेकको साधना हो, मनको विग्रह नियन्त्रित गर्नु हो, आत्मसाक्षात्कार गर्नु हो योग । आउनुस् सच्चा योगको मार्गमा अग्रसर बनौं ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.