खोक्रो मेलमिलाप !

खोक्रो मेलमिलाप !

गत पुस महिनामा नेपाली कांग्रेसका पदाधिकारीले गर्ने वार्षिक श्राद्धमध्ये धेरैले मेलमिलाप र थोरैले किसुनजीका बारेमा बखान गर्दै आआफूलाई पृथक दर्जामा राख्ने प्रयत्न गर्न भ्याए । तर कांग्रेसमा मेलमिलापको गुदी खोतल्ने जमर्को कसैले पनि गर्दैनन् किनभने तिनीहरूले मेलमिलापको एकांश मात्र चर्चा गर्दछन् ।

वास्तवमा नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलापको कथित आदर्श रणनीतिको विधिवत् अन्त्य भइसकेको छ । किनभने कांग्रेस नेतृत्वले मेलमिलापको आदर्शअनुरूप न आफैंभित्रै प्रयोग गरेका थिए र छन्, न त कांग्रेस बाहिरका शक्तिहरूसँग नै । मेलमिलापको ऐतिहासिक समीक्षा गर्न ढिलाइ भइसकेको छ । कांग्रेसभित्र एउटा अमूक गोत्र विशेषभन्दा इतर व्यक्ति तत्वहरूप्रति पूर्णतया असहिष्णु बनेर कस्तो मेलमिलाप खोजिँदैछ ?

हुन त २०३३ सालदेखिको समययता पुस १६ लाई कांग्रेसको मेलमिलाप र पुस १ लाई कालो दिन मान्ने वर्तमान पुस्तालाई पुस २७ का बारेमा कांगे्रसको के धारणा ? वास्तवमा मेलमिलापको आवश्यकता र उद्घोषण २०१९ सालको बौद्धिक सभामा कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायले त्यतिखेर नै राजा महेन्द्रसमक्ष रोकेका थिए ।

किनभने पृष्ठभूमि २०१७ को घटना थियो र अधिकांश कांग्रेसको नेतृत्व जेलमा राखिएका थिए । २०१९ सालवरिपरिका राजा महेन्द्र र २०३३ सालदेखि राजा वीरेन्द्रसँग राजनीतिक मेलमिलाप हुन नदिने तत्वहरूसँगै कालान्तरमा कांगे्रसको नेतृत्वले सहयात्रा गर्न पुग्यो, कांगे्रसका धरोहरहरू जस्तै सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह एवं कृष्णप्रसाद भट्टराईलाई पार्टी पंक्तिबाट बाहिर धकेलेर ।

वर्तमान कांग्रेसको नेतृत्वले मेलमिलापको औचित्य र उपदेयता कहाँ र कसरी स्थापित गर्न खोज्दैछन् ? जबकि २०३३ सालमा विश्वेश्वरप्रसाद कोइराला स्वनिवार्सनबाट स्वदेशमा फर्केको एउटा पक्ष थियो भने कृष्णप्रसाद भट्टराईलगायतको कांग्रेसको अर्को पाटो जेलभित्र नै सडेर बसेको थियो । त्यसपछि ०३५÷३६ को जनमत संग्रहदेखि २०४२ को सत्याग्रह हुँदै ०४५÷४६ को पहिलो जनआन्दोलनपश्चात् २०४७ को संविधानले ‘संवैधानिक मेलमिलाप' को गाँठो बाँधेको ऐतिहासिक यथार्थ हो ।

तर कांग्रेसको मेलमिलापको आदर्श केही व्यक्तिहरूको स्वार्थका निम्तिमात्र प्रयोग हुन पुग्यो । किनभने आर्थिक क्रान्तिका कुरा गर्दै जाँदा गणेशमान सिंह बहिष्कृत गरिनुभयो र किसुनजीलाई सत्ताको जालमा बलिको बोका बनाउँदै गिरिजाप्रसाद कोइरालाले कांग्रेस पार्टी पूर्णतया कब्जा गरेपछि कांगे्रसजनहरूको मेलमिलाप सत्ता र स्वार्थमा गिरिजाबाबुसँग सम्झौता गर्ने माध्यम बन्यो ।

तत्पश्चात् २०४७ को संवैधानिक मेलमिलापलाई कार्यान्वयन हुन नदिने शक्तिसँग अन्ततोगत्वा गिरिजाबाबुले २०६२ मंसिर ७ मा दिल्लीमा बाह्रबुँदे सम्झौता गरेको वर्तमान पृष्ठभूमिमा मेलमिलापको मूलभूत उद्देश्य के भन्ने ? अब मेलमिलापको कोसँग के प्रयोजनका निम्ति ? अहिले आएर १० वर्षपछि बाबुराम भट्टराईले दिल्लीमा भएको बाह्रबुँदे सम्झौता गल्ती भएको भन्नु न्याउरी मारी पछुताउनुभन्दा बढी फरक छ र ?

कांग्रेसले कथित मेलमिलापको औचित्य स्थापित गर्न चुकेको प्रशस्त उदाहरण छन् । उदाहरणको निम्ति नेपालको संविधान २०७२ अन्तर्गत संघीयता र धर्मको बारेमा कांग्रेसले गुमेको संवैधानिक मेलमिलाप स्थापित गर्न पहलसम्म पनि गरेन र आमनागरिकलाई ‘म भन्छु तँ गर' भन्दामाथि राख्न चाहेन ।

प्रजातन्त्रको निम्ति कात्रो बोकेर हिँड्ने पुस्ताका अगाडि त्यसको नेतृत्वले संवैधानिक राजतन्त्र, धर्म र संघीयताका बारेमा न जनसमक्ष आफ्नो औपचारिक धारणा राख्यो न त विधिवत् निर्णय नै गर्न चाह्यो ।

अहिले आएर रामचन्द्र पौडेल अथवा शेरबहादुर देउवाले मेलमिलापको राग अलप्नुमा कुनै तुक छैन, किनभने पार्टीभित्रको विग्रहमा तिनीहरू पनि कारकमध्ये एक-एक कारकहरू थिए । त्यसका अलावा शेरबहादुर कांग्रेसकै भूमिगत गिरोहबाट सञ्चालित छन्, जुन गिरोहले विगत २० वर्षदेखि काम गरिराखेको छ । त्यसको एउटै उद्देश्य सत्ता हो ।

यदि मेलमिलाप खोक्रो नारा होइन भने त्यसलाई व्यवहारमा उतार्ने हैसियत कांग्रेससँग बाँकी छ ? दिल्लीमा पुगेर बाह्रबुँदे सहमति गरिसकेपछि कांग्रेसलगायतका अन्य पार्टीहरूले राष्ट्रियतामा जेजति चर्का भाषण गरे पनि तिनीहरूले आफ्नो धरातल, यश र जश गुमाइसकेका छन् ।

त्यस्तै कांग्रेसको समाजवाद अब वामपन्थीहरूको पेवा भइसकेको छ र त्यो पनि संविधानमा उल्लेख गरिदिएपछि त्यसको कुनै समस्या नै रहेन । चाहे दुईतिहाइ जनता कुपोषणमा परून्, कथित सत्ताधारी समाजवादीहरूको अजीर्णको उपचार विदेशमा हुने भएपछि अरू के समाजवाद चाहिन्छ ?

बाँकी रह्यो प्रजातन्त्र । जनस्तरमा आंशिक तर माथिल्लो स्तरमा कुलीनतन्त्रीय नेपाली समाजमा संविधानप्रदत्त मौलिक अधिकारहरूको निर्वाध प्रयोग गर्न पनि नागरिकले विभिन्न दलहरूको ‘आज्ञाकारी नागरिक' बन्नुपर्ने भएको छ । त्यतिले नपुगेर एक वर्षअघि मात्रै संविधानमा ल्याप्चे लगाउनेहरूमध्येबाट नयाँ भाका सुनिन थालिएको छ कि अब प्रधानमन्त्री संसदीय होइन, राष्ट्रपतीय प्रणालीमा जानुपर्छ ।

नेपाली पेसेवर राजनीतिक परिदृश्यमा २०७२ को संविधान जोसेफ सुम्पेटरले पुँजीवादको अवशानका निम्ति भनेजस्तै ‘सिर्जनात्मक विध्वंस' को बाटो समात्दैछ । एकातिर जसका निम्ति दोस्रो संशोधन गर्न खोजिएको हो, तिनीहरूले त्यसको अपनत्व स्विकार्दैनन् भने अर्कोतिर संशोधनको औचित्य के भनेर प्रश्न गर्नेहरूको भीड नै रामै्रै छ । त्यतिले नपुगेर टाउको दुखेको व्यथाको औषधी नाभितिर गरिँदैछ ।

किनभने नेपालको संघीयता भनेको २/४ ठालुहरूको बिर्ता हो, त्यसैले तिनीहरूको इच्छाअनुसार देश र जनता चल्नुपर्छ । यी यावत् अवयवहरूको निदान संविधान घोषणा गर्नुभन्दा अगाडि नगरेर तदर्थवादमा जकडिएको राजनीतिले समग्र देशको भविष्यको निम्ति सामान्य सैद्धान्तिक संवैधानिक मेलमिलाप गर्न सकेनन् । सबैथरिले आआफ्नो स्वार्थ र वर्चस्वका खातिर संविधानलाई शून्यको खेल बनाउने प्रवृत्तिको स्थापित हुन पुग्यो ।

मेलमिलापलाई व्यवहारमा उतार्ने हैसियत कांग्रेससँग बाँकी छैन । दिल्लीमा पुगेर बाह्रबुँदे सहमति गरिसकेपछि कांग्रेसलगायतका अन्य पार्टीहरूले राष्ट्रियतामा जेजति चर्का भाषण गरे पनि तिनीहरूले आफ्नो धरातल, यश र जश गुमाइसकेका छन् ।समाजवादलाई संविधानमा उल्लेख गरिदिएपछि त्यसको कुनै समस्या नै रहेन । चाहे दुईतिहाइ जनता कुपोषणमा परून्, कथित सत्ताधारी समाजवादीहरूको अजीर्णको उपचार विदेशमा हुने भएपछि अरू के समाजवाद चाहिन्छ ?

२००७ सालदेखि प्रजातन्त्रको माग बढ्दै गए पनि आज करिब ७५ वर्षको दरम्यानमा कांग्रेस कमजोर र दुब्लाउँदै गएको छ किनभने त्यो दलको नेतृत्वले कसरी प्रजातन्त्र संस्थागत गर्ने भनेर जनतासँग आत्मसात् गर्न चाहेन ।

खासगरी २०४७ को संविधानपछि आपसी विग्रह र घातप्रतिघातमा जति ऊर्जा खर्च गरियो, त्यसको नकारात्मक प्रवृत्ति एवं उपलब्धिले प्रजातान्त्रिक मूल्य एवं मान्यतालाई मसानघाटमा पुर्‍याएको छ । विगत बीस वर्षमा कांग्रेसभित्र नीतिगत बहसको सट्टामा व्यक्तिविशेषको स्तुति र भजन गाइयो र त्यसको अवशेषले वर्तमान नेतृत्व पूर्णतः जकडिएको छ । त्यसैले अब मेलमिलाप भनेको गुणगान र स्तुति भन्ने बुझिन्छ ।

कांग्रेसकै सरकारको नेतृत्व हुँदा पनि २०७२ को नेपालको संविधानले २०४७ को संविधानमा जति पनि न्यूनतम सैद्धान्तिक मेलमिलाप गर्न सकेन । आखिर सैद्धान्तिक मेलमिलापको अभीष्ट भनेको सबैथरीको भावनात्मक सम्बन्ध स्थापित गरी आत्मसम्मान दिगो राख्नु नै थियो होला तर अपशोच अहिले एकथरी नेपाली जितुवा र अर्काथरी हरुवाजस्तो भइराखेका छन् ।

लोकतन्त्र भनिन्छ, तर विभिन्न दलका पदाधिकारीहरू जनतालाई आज्ञाकारी बन भन्दै उनीहरूका भावना वर्तमान र भविष्यलाई ठेस पुग्ने गरी झूटो आश्वासन दान दिँदैछन् । प्रधानमन्त्री पदमै बहाली रहँदा नै आमचुनाव हारेपछि नियतिलाई दोष दिने किसुनजीको एउटा भनाइ थियो— प्रजातन्त्र पद्धतिभन्दा पनि सोचमा निर्भर हुन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाका अहिलेका कथित अनुयायी एवं हिजोका भाइभारदारहरूले मेलमिलापको धर्म र कर्म पोलिसकेकाले कांग्रेसभित्र मेलमिलापको गुदी छैन । युवा पुस्ता (? ) ले मेलमिलापको समग्र ऐतिहासिक पक्षको पूर्व विवेचना समीक्षा गर्नु आवश्यक छ । सत्ता र पदको भद्र हेराइ सर्प, बिच्छी र भ्यागुतोको जस्तो मेलमिलापको कुनै औचित्य छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.