सन्दर्भः विश्व कुष्ठरोग दिवस-आत्मसम्मानको रक्षा

सन्दर्भः विश्व कुष्ठरोग दिवस-आत्मसम्मानको रक्षा

आज ६४ औं विश्व कुष्ठरोग दिवस । १९५४ बाट मनाउन थालिएको हो । यो दिवसको सम्बन्ध जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठप्रभावितप्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिबद्ध थिए गान्धी । फ्रान्सका प्रसिद्ध मानवतावादी एमआर फेलोरियोले गान्धीबाट प्रभावित भई उनकै प्रेरणाबाट कुष्ठरोग दिवस मनाउन थालेका थिए । यस दिवसको अभियानको उत्प्रेरणाले विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभावमा कमी हुँदै आइरहेको छ ।

यस वर्ष विश्व कुष्ठरोग दिवसको नारा 'समयमै कुष्ठरोगको उपचार गरौं, अपांगता हुनबाट बचौं' भन्ने रहेको छ । नेपालबाट पनि कुष्ठरोग निवारणको घोषणा गरिएको भए पनि निवारणको स्थितिबाट थप न्यूनीकरणतर्फ उन्मुख हुनु तथा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जानु अहिलेको चुनौती हो ।

विश्व स्वास्थ्य संगठनले यस रोगलाई विश्वका सबै राष्ट्रबाट प्रति दस हजार मानिसमा एकभन्दा कममा झारी निवारण गर्ने कार्यक्रम राखेकोमा पूर्णतः सफल भएको छ । नेपालमा सन् २०१६ सम्ममा एक लाख ७८ हजारभन्दा बढी कुष्ठरोग लागेका व्यक्तिले बहुऔषधि उपचार विधिबाट उपचार पूरा गरेका छन् । कुष्ठरोगको कारण हालसम्म करिब ३० हजारजना अपांग भएको अनुमान छ । यसैगरी आर्थिक वर्ष ०७२÷७३ सम्ममा नयाँ बिरामीको संख्या ३०५४ रहेको छ । यो संख्या प्रति दस हजारमा ०.८९ हो । कुष्ठरोग समयमै पत्ता लगाई उपचार गरेमा कुरूप तथा अंगभंग हुनबाट जोगिनुका साथै रोग निको हुनेमा सन्देह छैन ।

कुष्ठरोग बहुऔषधी उपचार विधिबाट निको हुने रोग हो । यसको नियन्त्रण र उल्मूलनतर्फ स्वास्थ्यकर्मी, यससँग सम्बद्ध संघसंस्था, समाजसेवी क्रियाशील रहँदै आए पनि लक्ष्यमा पुग्न अझै धेरै गर्न बाँकी छ । त्यसैले यस रोगलाई हेलचक्राईंको रूपमा नहेरी कार्यक्रम विस्तार गर्दै थप प्रतिफलउन्मुख बनाउन जरुरी छ ।

नेपाल कुष्ठरोग निवारण संघ विगत ४७ वर्षदेखि नेपालमा कुष्ठरोग नियन्त्रण, निवारण र न्यूनीकरण अभियानमा संलग्न रहँदै आएको छ । नेपाल सरकारको सहकार्यमा असक्त, असहाय, अपांग, विपन्न कुष्ठप्रभावितको लालनपालनमा गम्भीरतापूर्वक लागिरहेको छ । यस संस्थाले आफ्नै पहलमा तीन सय कुष्ठ प्रभावित र उनीहरूका परिवारलाई समाजमा पुनस्र्थापित गराइसकेको छ । त्यसैगरी उनीहरूका बालबालिकालाई छात्रावाससहितको निःशुल्क विद्यालय शिक्षा, प्राविधिक शिक्षा र व्यावसायिक तालिम प्रदान गर्दै आइरहेको छ ।

यसबाहेक संघले आफ्ना चारवटै क्षेत्रीय शाखामार्फत कुष्ठप्रभावितको विस्थापन, निरोध कार्यक्रम र कुष्ठरोग न्यूनीकरण गर्न स्किन क्याम्प, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको यहाँ स्मरणीय छ । संस्थाका कार्यक्रम दिगो बनाउन आन्तरिक स्रोत परिचालन गरी चारवटै क्षेत्रीय शाखालाई सक्षम र सक्रिय बनाई कुष्ठप्रभावित एवं तिनका परिवारलाई शिक्षाको माध्यमबाट आर्थिक रूपले सम्पन्न बनाई उनीहरूको हकअधिकार संरक्षणको लागि संघ क्रियाशील छ ।

अझै पनि देशका विभिन्न जिल्लामा कुष्ठरोगको प्रभाव देखिएकाले सोको नियन्त्रण र न्यूनीकरण गर्नु तथा विभिन्न भागमा रहेका विपन्न, असक्त, असहाय कुष्ठप्रभावितको लालनपालन, औषधोपचार, पुनस्र्थापना र उनीहरूका बालबालिकालाई प्राविधिक तथा उच्च शिक्षामा सहयोग गर्नुपर्ने आवश्यकता टड्कारो छ । कुष्ठप्रभावितको हीनताबोध र लघुताभासपूर्ण मनोवैज्ञानिक अवस्थामा परिवर्तन ल्याउनु आवश्यक छ । कसैले पनि आफ्नो अधिकार सुरक्षित गर्न हिच्किचाउनु हुँदैन ।

अतः कुष्ठप्रभावितको हकअधिकार रक्षा गर्दै यथासम्भव सहायता पुर्‍याउन तथा यस रोगको न्यूनीकरण र नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन संघ सबैसँग हातेमालो गर्न सदैव तयार छ । हाम्रो यो यात्रामा नेपाल सरकार, गैरसरकारी संघसंस्था विदेशी दातृ निकाय, समाजसेवी, स्थानीय दाता, बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार, राजनीतिकर्मी, शिक्षक, विद्यार्थीलगायत समस्त महानुभावसँग हामी विनम्रतापूर्वक आग्रह गर्दछौं ।

विश्वबाट कुष्ठरोग निर्मूल गरिए पनि अझै पूर्णरूपमा उल्मूलन हुन सकेको छैन । कुष्ठप्रभावित आर्थिक, मानसिक र शारीरिक रूपले अझै पीडित छन् । कुष्ठरोगको न्यूनीकरण तथा प्रभावितप्रतिको भेदभावको अन्त्य आजको आवश्यकता हो । चेतनामूलक कार्यक्रमको माध्ययमबाट यसको न्यूनीकरण गर्न सकिन्छ तर रोग लुकाउने र रोग लागेका व्यक्तिका परिवार पनि रुढिवाढी चिन्तनको पछि लागेर घरमा कुष्ठरोग लागेको व्यक्ति भएको बताउन नचाहने परम्पराले यसको उल्मूलनमा बाधा उत्पन्न भएको छ । आधुनिक औषधोपचारले कुष्ठरोग निको हुने भए पनि समाजमा यो रोगप्रतिको नकारात्मक धारणा, अन्धविश्वास र भ्रम अन्त्य गर्नु र उनीहरूलाई समाजमै पुनस्र्थापना गराउनु आजको चुनौती हो ।

कुष्ठरोग के हो ?

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला, स्नायुमा असर गर्दछ । यो प्राचीनकालदेखि नै मानिससँग परिचित भए पनि सन् १९८३ मा मात्र नर्वेका वैज्ञानिक डा. जीए ह्यान्सनले कुष्ठरोग किटाणुको कारणले हुने रोग भनी पत्ता लगाएका हुन् ।

कुष्ठरोगका लक्षण

शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै उक्त दागमा रौं झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षण हुन् । स्नायुमा असर पर्दा हातखुट्टा लगातार झमझम हुने गर्छन् । छालाको नमुनाबाट लिएको तन्तुको रस जाँच गर्दा यो रोगका किटाणु देखा पर्छन् । माथि उल्लिखित चिन्ह र लक्षणबाहेक अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका लक्षण हुन् । पछि गएर हातखुट्टाका औंला लाटो तथा कमजोर भई खुम्चिँदै गएर अन्त्यमा अंगभंग पनि हुन सक्छ ।

यस्ता लक्षण देखापरेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराई चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुन्छ र अंगभंग हुनबाट बच्न सकिन्छ । यस रोगको औषधी नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।

कुष्ठरोगको एक मात्रा औषधीले ९९ प्रतिशत किटाणु निष्क्रिय पार्ने भएकाले औषधी सेवन गरिसकेका बिरामीबाट यो रोग अरूलाई सर्दैन । यस्ता विषयलाई समाजमा उजागर गर्नु तथा कुष्ठप्रभावित व्यक्तिलाई समाजमा आदर सम्मानका साथ स्थापित गराउनुपर्छ । कुष्ठरोगीलाई कुनै पनि प्रकारका भेदभाव गर्नु हुँदैन । उनीहरूको हकअधिकारको संरक्षण गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्नु यस दिवसको मूल उद्देश्य हो ।

कुष्ठरोग निवारण संघले विगत चार दसकदेखि स्वयं कुष्ठप्रभावित तथा असक्त, असहाय कुष्ठप्रभावितका करिब १२ सय सन्ततिलाई निःशुल्क शैक्षिक तथा व्यावसायिक तालिम कार्यक्रमको माध्ययमबाट आत्मनिर्भर बनाउन सफल भएको छ । प्रभावितका सन्ततिले स्वदेश तथा विदेशमा समेत रोजगारका अवसर प्राप्त गरी आफ्ना असक्त, अपांगता भएका बाबुआमाको हेरचाह र स्याहार-सुसारमा सहयोग पुर्‍याउँदै आइरहेका छन् । संघले विगतमा कुष्ठरोगका कारण समाजबाट अपहेलित तथा बहिष्कृत करिब तीन सय कुष्ठप्रभावितलाई आबासको व्यवस्था गरी पुनर्बास गराएको छ ।

कुष्ठरोग निवारण संघ २०२६ सालमा स्थापित निस्वार्थ भावनाका स्वयंसेवी संलग्न सामाजिक संस्था हो । संघले नेपालमा कुष्ठरोग नियन्त्रण र न्यूनीकरण गर्ने अभियानमा नेपाल सरकारलाई साथ दिँदै पनि आइरहेको छ । वैदेशिक सहयोग रकम पूर्णरूपमा बन्द भएको सन्दर्भमा संस्थाले आफ्नो आन्तरिक स्रोत परिचालन गरी असक्त, असहाय, विपन्न कुष्ठप्रभावित तथा उनीहरूका बालबालिकाको निमित्त कल्याणकारी एवं शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यस्तो पवित्र उद्देश्यले क्रियाशील संस्थाप्रति सबैको सरोकार भएमा कुष्ठप्रभावितको सेवामा सहयोग पुग्नेछ ।

संघको मूल लक्ष्य र उद्देश्य भनेकै नेपालमा कुष्ठरोगको नियन्त्रण र न्यूनीकरण गर्ने सरकारको अभियानलाई सहयोग पुर्‍याउन आवश्यक योजना बनाई त्यसको कार्यान्वयन गर्ने-गराउने र असक्त, असहाय र विपन्न कुष्ठप्रभावितको कल्याणका निमित्त कार्यक्रम बनाई सहायता उपलब्ध गराउने रहेको छ । संघले यसै उद्देश्यअनुरूपका कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।

संघको धरान, पोखरा, नेपालगन्ज र धनगढी गरी चारवटा शाखाले पनि कुष्ठरोग नियन्त्रण, न्यूनीकरण तथा प्रभावितप्रतिको भेदभाव अन्त्यको लागि विभिन्न क्याम्पस, स्कुलहरूमा प्रशिक्षण दिनुका साथै सञ्चारमाध्यमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । त्यसैगरी प्रभावित जिल्लामा स्किन क्याम्पमार्फत कुष्ठरोगका बिरामीको पहिचान गरी उपचारमा सहजीकरण गर्दै आइरहेका छन् ।

तर रोग लुकाउने र रोग लागेका व्यक्तिका परिवार पनि रुढिवाढी चिन्तनको पछि लागेर घरमा कुष्ठरोग लागेको व्यक्ति भएको बताउन नचाहने परम्पराले यसको उन्मूलनमा वाधा उत्पन्न भएको छ । आधुनिक औषधोपचारले कुष्ठरोग निको हुने भए पनि समाजमा यो रोगप्रतिको नकारात्मक धारणा, अन्धविश्वास र भ्रम अन्त्य गर्नु र उनीहरूलाई समाजमै पुनस्र्थापना गराउनु आजको चुनौती हो । शैक्षिक कार्यक्रम तथा व्यावसायिक तालिमको माध्यमबाट कुष्ठप्रभावितको शारीरिक तथा आर्थिक उत्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ, साधन र स्रोतको पूर्णता हुन सकेमा । देशका कुना-कुनामा रहेका कुष्ठरोग लागेका व्यक्तिको पहिचान गरी उनीहरूको निःशुल्क उपचार र व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.