सुलसुले रोग

सुलसुले रोग

नेपाली सेनाबाट अवकाश प्राप्त क्याप्टेन रणध्वज गाउँमा बस्थे । सहरको घरमा उनका जेठो छोराको परिवार बस्थे । आफ्नो तीसवर्षे जागिरे जीवनमा उनले नेपालका विभिन्न सहरहरू घुमेका थिए । अवकाशपछि भने उनले गाउँले जीवन रोजे ।हरेक दिन बिहान उनी कसरत गर्थे । त्यसैले उनको ज्यान हृष्टपुष्ट र स्वस्थ्य थियो । बूढा भइकन पनि फुर्तिला थिए उनी ।

क्याप्टेन रणध्वजले पशुपन्छीलाई निकै माया गर्थे । घरमा हाँस, कुखुरा, परेवा र कुकुर थिए । तिनीहरूको हेरचाह क्याप्टेन आफैंले गर्थे । कति बेला तिनलाई पानी र आहार दिनुपर्छ ख्याल राख्थे उनी ।

तीनवटा कुखुरा पोथी थिए । एक दिन कालो पाथी ओथारो बस्यो । कुखुराका संख्या बढ्ने भएर उनी निकै खुसी थिए । अक्सर उनी कालो पोथी ओथारा बसेको ठाउँमा गई राख्थे । उसलाई चाहिने जति पानी र आहारा उनले त्यही नै लगिदिन्थे ।

कुखुराको खोरमा स्याउस्याउ सुलसुले थिए । जसमध्ये केही सुलसुले क्याप्टेनलाई सरे । ती शरीरको जताततै छाए । उनलाई शरीरमा केही चिज रगरग हिँडेको आभास भयो ।

'हेर त बूढी के हिँडेको छ, मेरो पिठ्यूँमा ?' क्याप्टेनले बूढीलाई भने ।
बूढीले राम्ररी नियालिन् तर केही देखिनन् र भनिन् 'केही पनि छैन ।'
'हेर न हेर, कस्तरी रगरग हिँडेको छ' क्याप्टेनले भने ।

बूढीले झन् राम्ररी हेरिन् । फेरि उनले दोहोर्‍याएर भनिन्, 'केही छैन क्या, बरु चिलाएको भए कन्याइदिन्छु नि त ।'
'हत्तेरिका चिलाएको हैन के, रगरग छालामा हिँडेको छ ' क्याप्टेनले अलिकता झर्केर भन्ने, 'त्यही पनि पिठ्युँमा कन्याइदेऊ त ।'
बूढीले पिठ्यूँको माथिल्लो भागमा कन्याउन थालिन् । 'अलि तल तल', क्याप्टेनले ढाड बंग्याउँदै भने ।
उनी फेरि तल कन्याउन थालिन् । 'अलि माथि, अलि माथि' क्याप्टेनले धीत नपरे जसरी भने ।
'गर्धनमा पनि सगसग गर्‍यो फेरि' उनले भने, 'कन्याएर कति भएन ।'

'कन्याएको लागेको छैन भने किन कन्याउनु त नि काम नपाए जसरी', बूढीले हाँस्दै भनिन् ।
'हाँस हाँस । अझ मज्जाले हाँस । मलाई जस्तो आफूलाई यस्तो भए पो चाल पाउँथ्यौ', क्याप्टेनले रिसाउँदै भने ।
क्याप्टेन रातभरि निदाउन सकेनन् । जति बेला पनि उनका शरीरमा छाएका सुलसुले धावक झैं दौडन्थे । त्यतिबेला उनलाई सगसगाउथ्यो, खपिनसक्नु हुन्थ्यो । के गरुँ कसो गरुँ हुन्थ्यो, घरि एकातिर सगसग गथ्र्यो, घरि अर्कोतिर सगसग गथ्र्यो । बिचरा ! क्याप्टेन बूढा आजित पर्थे ।

बिहानै बूढीले चिया टक्र्याइन् । 'तँ त सुतिस् बूढी म त रातभरि निदाइनँ । के दशा आइलाग्यो के दशा' क्याप्टेनले भने ।
'तपाईंलाई नसासम्बन्धी रोग लागेजस्तो छ, उहीँबेला पल्टनमा गरेको दुःख निस्केको होला । अस्पताल गएर जँचाउनु होस् । ढिला नगर्नोस खाना खाएर गइहाल्नोस्', उनले सम्झाइन् ।

क्याप्टेनलाई बूढीको सल्लाह उचित लाग्यो । अस्पतालमा उनले सम्पूर्ण शरीरको जाँच गरे । डाक्टरले भनेअनुसार रगत र पिसाब पनि जचाएँ । एक्सरे गरे । तर निरोगी क्याप्टेनको कुनै रोग देखिएन ।

'होइन डाक्टर सा'ब तपाईं केही रोग छैन भन्नुहुन्छ । म त खपिनसक्नु भएर आएको हुँ । सम्पूर्ण शरीर सगसग गर्छ । घरि पिठ्यूँतिर, घरि पेट तिर, घरि गर्दन तिर । कता कता हो, कताकता चिटचिट टोके जस्तो पनि हुन्छ । बरु म भर्ना गरेर अस्पतालमै बस्छु', क्याप्टेनले रुन्चे स्वरमा भने ।

अस्पतालको मुख्य डाक्टरले भन्यो, 'हामीले तपाईंको स्वास्थ्यमा केही गडबडी र खराबी देखेनौं । तैपनि एकदुई दिन यहीँ भर्ना भएर बस्नोस् हामी थप परीक्षण गर्छौं ।'

क्याप्टेन तीन दिनसम्म अस्पतालमा बसेँ । उनको स्वास्थ्यको थप परीक्षण हुँदै गयो । आफन्तहरू फलफूल र जुस लिएर भेट्न आए । निकै सान्त्वना र सहानुभूति प्रकट गरे । तर डाक्टरले कुनै रोग ठम्याउन सकेन । भन्नाले रोग नै पत्ता लागेन ।

यसरी अस्पतालमा बस्दा शरीरमा भएका सुलसुले घट्दै गए । क्याप्टेनलाई केही राहत महसुस आहारा र पानी हाल्न खोरमा गए । फेरि सुलसुले उनको शरीरमा सरे । पहिले जसरी सुलसुलेले सताउन थाले । क्याप्टेन असाध्यै चिन्तित भए । उनका आँखाबाट बर्रबर्ती आँसु झरे ।

हजुरबाको आँखामा आँसु देखेर छेउमा बसेकी नातिनीले सोधी, 'के भयो हजुरबा सञ्चो नभएर रुनु भएको हो ? '
क्याप्टेन केही बोलेनन् । 'भन्नोस् न हजुरबा के भयो ? ' नातिनीले कर गर्दै फेरि सोधिन् ।
'अँ नानी कत्ति सञ्चो भएन । अब म मर्छु कि क्या हो ? ', क्याप्टेनले निन्याउरो मुखले भने ।
'के हुन्छ, हजुरबा तपाईंलाई ?' नातिनीले जिज्ञासा राखिन् ।

क्याप्टेन भित्तामा पिठ्यूँ दलिरहेका थिए । नातिनीले अनुमान गरिन्, 'शरीर चिलाउँछ हो, हजुरबा ? '
'अँ नानी', उनले भित्तामा दलिँदै भने ।
'खोइ, म कन्याइदिन्छु', नातिनीले माया मान्दै भनिन् ।

क्याप्टेनले कमिज खोले । भेस्ट पनि खोले र नातिनीलाई कन्याइदिन भने । नातिनीले कन्याइदिन लाग्दा उनका तिखा आँखाले पिठ्यूँमा सुलसुले हिँडेको देखिन् । अनि आत्तिएर नातिनीले भनिन्, 'हजुर-बा, तपाईंको पिठ्यूँमा त सुलसुले परेका रहेछन् ।'

'के भन्छे यो', क्याप्टेनले चर्को स्वरमा भने, 'ओई बुढी नातिनीले के भन्छे ? हेर त । सुलसुले छन् अरे, पिठ्यूँमा ।'
क्याप्टेनकी पत्नी बाहिर आइन् । अनि चस्मा लगाएर नियालिन्, 'हो त, सुलसुले रहेछन् । तिनैले तपाईंलाई यति विधि सताएका रहेछन् ।'

'धत् बेकारमा अस्पतालमा गइएछ । डाक्टरको योग्यतालाई दोष दिइएछ । आँखिरमा सुलसुले पो रहेछन् । मेरी नातिनीले पत्ता लगाइन्, मलाई के भएको रहेछ' क्याप्टेनले नातिनीलाई प्रेमपूर्वक अगाल्र्दै भने ।

त्यसपछि तातोपानीले मिचिमिची नुहाए । तातोपानीले शरीरमा भएका सुलसुले पखाल्यो । अनि लगाइरहेका लुगा नलगाई उनले अर्को कपडा फेरे । त्यसपछि उनको शरीरमा सुलसुले रहेनन् । तब उनले स्वस्थ अनुभव गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.