विद्यार्थीलाई उद्धार अभ्यास

विद्यार्थीलाई उद्धार अभ्यास

भक्तपुर: माघ १८ गतेका दिन। मध्यान्ह ११ बजे। एभरेस्ट इङ्लिस स्कुल मिवाछें परिसरबीचमा परालले छाएको एउटा टहरा। टहरामा अचानक आगलागी भएपछि १०१ नम्बरमा फोन गरेर दमकललाई बोलाइयो।

आगलागी भएको टहरामा दुईजना विद्यार्थी पनि थिए। त्यसैगरी स्वप्नील प्रधान, पृथ्वीराज चापागार्इं र यमन मुनंकर्मी आगोको रापले बेहोससमेत भएका थिए। विद्यालयमा लागेको आगो असली नभई नक्कली थियो।

विद्यार्थीलाई आगलागीको अवस्थामा गरिने उद्धार र दमकलको कामको बारेमा जानकारी दिन यो प्रयोग गरिएको थियो। त्यसैले आगलागी भएको टहरामा विद्यार्थी नभई परालबाट बनाइएका विद्यालय पोसाक लगाएका दुईवटा डमी (नक्कली विद्यार्थी) राखिएको थियो।

आगलागीपछिको उद्धारका लागि सँगै हेल्मेट तथा सुरक्षात्मक ज्याकेट, आगो निभाउने हातेयन्त्र (फायर इस्टिंगुइसर), भिजाइएको कम्बल, घाइतेलाई बोक्ने स्ट्रेचर र घाइतेको उद्धार गर्न केही थान डोरी पनि राखिएको थियो। आगलागी पछि एभरेस्ट स्काउट ट्रुपका स्काउट, एभरेस्ट जुनियर रेडक्रस सर्कलका स्वयंसेवक तथा एभरेस्ट इन्टरयाक्ट क्लबमा आबद्ध विद्यार्थी उद्धार कार्यमा खटिएका थिए।

आगलागी हुने कारण, आगलागी भएपछि नियन्त्रण, आगलागीमा परेकाहरूको उद्धार, तत्काल उपचार तथा राहतका लागि विद्यार्थीलाई व्यावहारिक रूपमै कसरी सक्षम बनाउने भन्ने उद्देश्यले गरिएको यस कार्यक्रममा उद्धार टोलीलाई जुद्ध वारुणयन्त्रको दमकल, मोटरसाइकल दमकल, अग्नि नियन्त्रक, सेना र भक्तपुर रेडक्रस सोसाइटीका स्वयंसेवकले पनि सहयोग गरिरहेका थिए।

यसरी अचानक आगलागी भएमा कसरी उद्धार गर्ने भनेर विद्यार्थीले गरेको प्रयोगलाई प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जुद्ध वारुणयन्त्र भक्तपुरका प्रमुख विजय धौभडेल, महानगरीय प्रहरी वृत्त जगातीका डीएसपी मित्रबन्धु शर्मा, परिसरका निरीक्षक मदन केसी, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री परशुराम पाण्डे, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, भाइसप्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यलगायत अभिभावक तथा करिव एक हजार पाँच सय विद्यार्थी एवं विभिन्न सञ्चारमाध्यमका पत्रकारले पनि अवलोकन गरिरहेका थिए।

आगलागीमा परेकाहरूलाई उद्धार गर्न सिकाउन, आगलागी नियन्त्रक हातेयन्त्र (फायर इस्टिंगुइसर) को प्रयोग, तीनतला माथि रहेका घाइतेहरूलाई डोरीको प्रयोग गरी तत्काल जमिनमा झारेर गरिने उद्धार तथा घाइतेको उपचारको लागि अस्पताल लैजान प्रयोग गरिने अस्थायी स्ट्रेचर बनाउने तरिकालगायतका विषयमा विद्यार्थीलाई व्यावहारिक ज्ञान दिइएको थियो।

सानोतिनो लापरबाहीले आगलागी जुनसुकै समयमा लाग्ने भएकोले आफ्नो घरटोलमा साँच्चै आगलागी हुँदा नआत्तिकन नियन्त्रण र उद्धारका लागि खट्न विद्यार्थीलाई ज्ञान र हौसला दिन विद्यालयमा मात्रै नभई भक्तपुरमै पहिलोपटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए।

एमरजेन्सी रेस्पोन्डर अरुण सैंजूको समन्वयमा सञ्चालित सो कार्यक्रमको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल तथा जुद्ध वारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रजिअ पोखरेललाई मायाको चिनो प्रदान गरे।

अभ्यासमूलक कार्यक्रम समापनपछि विद्यार्थीले आगलागीबाट बच्न विभिन्न जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड बोकेर भक्तपुर नगरको परिक्रमा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.