गुणकारी आयोडिन

 गुणकारी आयोडिन

अछाम: 'विद्यार्थी भाइबहिनी, तिमीहरूलाई आयोडिन भनेको के हो थाहा छ ? ', उनले सबैभन्दा पहिले प्रश्न गरे। कसैको मुखबाट जवाफ आएन। सबै एकअर्कासँग मुखामुख गर्न थाले। 'भाइबहिनीहरू आयोडिन भनेको एक प्रकारको सूक्ष्म पोषण तत्व हो जुन नुनमा मात्र पाइन्छ।

सबैले बुझिराख्नु होला है त', हातमा माइक्रोफोन समातेर अगाडि उभिएका एक व्यक्तिले भने। विद्यालयको कम्पाउन्डभरि जम्मा भएका विद्यार्थीले एकै स्वरमा 'हुन्छ सर' भने।

'आज म तिमीहरूलाई आयोडिन भनेको के हो, यो कहाँ पाइन्छ, यो किन आवश्यक छ? भन्ने बारेमा जानकारी दिन यहाँ आएको हुँ, ध्यान दिएर सुन्नुहोला है त', ती अगाडि उभिएका व्यक्तिले भने। दिउँसोको करिब २ बज्नै लागेको थियो। करिब एक घन्टाको खाजा समय सकाएर विद्यार्थी कक्षामा जानै लाग्दा उनीहरूलाई विद्यालयको कम्पाउन्डमा जम्मा गराइएको थियो।

अछामको पूवी ढकारीस्थित गुरुकुल माविमा विद्यार्थीलाई आयोडिनबारे जानकारी दिन त्यहाँ पुगेका थिए साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सेती अञ्चल कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डे। मानिसलाई नभई नहुने नुनमा सरकारले नै आयोडिन मिसाएर पठाएकोले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उत्पादन गरेको दुई बालबालिकाको चिह्न अंकित धुलो नुनमात्रै प्रयोग गर्न पाण्डेले विद्यार्थीलाई सुझाव दिए।

कक्षा १ देखि १० सम्म अध्ययनरत करिव चार सय विद्यार्थीसामु उनले आयोडिनको कमीले गलगाँड हुने, मानसिक तथा बौद्धिक क्षमतामा कमी आउने, लाटो लठेब्रोपन र बालबालिकाको मृत्युसमेत हुने भएकाले मानिसले आयोडिनयुक्त नुन खानु अति नै आवश्यक रहेको उनले विद्यार्थीलाई जानकारी दिए।

बालबालिकाको दिमागको ८० प्रतिशत विकास दुई वर्षभित्र भइसक्ने भएकाले यो अवधिमा पनि आफ्ना भाइबहिनीलाई आयोडिनयुक्त नुन खुवाउन उनले विद्यार्थीलाई सल्लाह दिए। त्यसैगरी आमाले आयोडिन नखाएमा पेटमा रहेको गर्भ तुहिन पनि सक्ने हुनाले गर्भवती आमा र बालबालिकाको लागि आयोडिन नभई नहुने तत्व हो भन्ने कुरा परिवारमा पनि गएर अरूलाई बुझाउनुपर्नेमा पाण्डेले जोड दिए।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले अछाममा सरकारी अनुदानको आयोडिनयुक्त भानु नुनप्रति किलोग्राम नौ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ। यसअघि जिल्ला सदरमुकाममा मात्रै सीमित अनुदानको नुन अबदेखि ढकारीमै पठाउन लागिएकाले सोही नुन प्रयोग गर्न घरपरिवारलाई समेत आग्रह गर्न उनले विद्यार्थीलाई सुझाए।

पाण्डेले विद्यार्थीलाई आयोडिन नुनको प्रयोग गर्ने तरिका, प्रयोग गर्दा हुने फाइदा र यसलाई उड्न नदिने तरिकाको बारेमा पनि सम्झाए। 'सर यो धुलो नुन गाई भैंसीलाई खुवाउँदा केही बेफाइदा हुन्छ कि हुँदैन?'बीचबाट उठेर छात्र ईश्वर कुँवरले गरेको प्रश्नमा जवाफ दिँदै पाण्डेले भने, 'भाइले राम्रो प्रश्न गर्नुभयो।

मानिसलाई जस्तै गाईभैंसीलाई पनि आयोडिनको आवश्यकता हुने भएकाले खुवाउँदा धेरै फाइदा हुन्छ।' जिल्ला सदरमुकामबाट करिब पाँच घन्टाको कच्ची सडकमा गाडीको यात्राबाट साल्ट ट्रेडिङका अञ्चल प्रमुख पाण्डेसहितको टोली ढकारी पुगेको थियो।

साल्ट ट्रेडिङले इलाका नम्बर १२ का विभिन्न पाँच गाविसका नागरिकलाई सरकारी अनुदानको आयोडिनयुक्त नुनमा सहज पहुँच पुर्‍याउने उद्देश्यले ढकारीमा नुन बिक्री केन्द्र स्थापना गर्ने निर्णय गरेको हो। यही विषयमा विद्यार्थीमार्फत जानकारी दिँदा बढी प्रभावकारी हुने देखेर विद्यार्थीलाई आयोडिन शिक्षा दिइएको पाण्डेले प्रष्ट्याए।

सोही अवसरमा कक्षा ७ मा अध्ययनरत दुई छात्रले हास्यव्यंग्यमार्फत आयोडिन नुनको प्रयोगबाट हुने फाइदाबारे उत्कृष्ट नाटक प्रस्तुत गरे। यसबापत उनीहरूले नगद रु. पाँच÷पाँच सय पुरस्कारसमेत जिते। सरकारले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाउने नीति अनुरूप यहाँका विद्यार्थीलाई आयोडिन शिक्षा दिएको पनि पाण्डेले बताए।

एकातर्फ चेतनाको अभाव र अर्कोतर्फ न्यून आयस्तर भएका कारणले यहाँका अधिकांश मानिसले ढिकेनुन प्रयोग गरिरहेका बताउँदै गुरुकुल माविका प्रधानाध्यापक धनीराम भण्डारीले सरकारी अनुदानको प्रतिकिलोग्राम नौ रुपैयाँ पर्ने आयोडिन नुन गाउँमा आइपुग्दा उपभोक्तालाई निकै राहत हुने बताए। विद्यार्थीमार्फत छिटो सन्देश घरघरमा पुग्ने भएकाले विद्यालयमा गरिएको कार्यक्रम निकै लाभदायक भएको प्रतिक्रिया दिए।

यस्तै बाजुराको उत्तरी पाण्डुसेनस्थित सत्य मावि र नेपाल राष्ट्रिय मावि जडंगाका विद्यार्थीलाई पनि पाण्डेले आयोडिन शिक्षा दिए। शिक्षकले पढाएको २० देखि ३० प्रतिशतसम्मका विषय आफूले बिर्सनुको कारण आयोडिनको कमी भएको बुझेपछि विद्यार्थीले पनि अबका दिनमा आयोडिनयुक्त नुन खाने र अरूलाई पनि खान सल्लाह दिने एकै स्वरमा बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.