बलियो राष्ट्रवाद कसरी ?

बलियो राष्ट्रवाद कसरी ?

आधुनिक समाजमा राष्ट्रवादलाई लिएर असीमित र अपरिमित चर्चा हुन्छ । झगडा र मिलापको सबैभन्दा शक्तिशाली माध्यम राष्ट्रवादै हो । यो नै बृहत्तर मानव विकासको सेतु हो भन्ने तथ्य प्रमाणित गर्ने मुलुकको संख्याचाहिँ संसारमा सीमित छ । प्रायः परिवेशमा राष्ट्रवादलाई धरातलीय व्यवहारभन्दा एकदम पृथक भावनात्मक ऊर्जाको रूपमा मात्र अंगीकार गरिएको पाइन्छ । जुन विवेकपूर्ण मार्गमा अगाडि नबढ्दा प्रत्यक्ष सामाजिक जीवनलाई सप्ठ्यारो नपार्ने खालको अझ भनौं करिब खोक्रै भइदिन्छ । त्यसको इतिहासका विभिन्न कालखण्डमा निरन्तर त्यही किसिमले अभ्यास भइरहँदा राष्ट्रवाद एक किसिमको मनोवैज्ञानिक उल्झनमा मात्र सीमित हुन्छ । राष्ट्रवादका अभिन्न मूल्य हराइसकेका हुन्छन्, जनव्यवहारबाट राष्ट्र आफैं पीडित भइरहेको हुन्छ ।

dhurbabahadur-pradhan

नेपालमा राष्ट्रवादको संघर्ष खासगरी आधुनिक नेपाल एकीकरणको चरणयता सुरु हुन्छ । पृथ्वीनारायण शाहको दिव्योपदेश आजसम्मकै सबैभन्दा उत्कृष्ट राष्ट्रवादी दस्ताबेज हो भन्नुमा कुनै कन्जुस्याईं गर्नुपर्ने देखिँदैन । त्यति दूरदर्शी सोच र राष्ट्रप्रेमकै कारण आधुनिक नेपालको निर्माण भएको हो अनि आज हामीले आफूलाई नेपाली भन्न पाएका छौं । पृथ्वीनारायणले साँच्चै जानेरै दुई ढुंगाबीचको तरुल भन्ने आख्यानात्मक बिम्ब दिए । हरेक विम्बले प्रकृति स्रोतका गुणवत्ता धारण गरेका हुन्छन् । नेपाल तरुल हो, उत्तर र दक्षिणका दुई विशाल मुलुक ढुंगा हुन् भन्नुको अर्थतिर कमैले विचार पुर्‍याएको पाइन्छ । खासमा यो अवस्थितिलाई इंगित गर्ने खालको विम्ब मात्र होइन । ढुंगाहरूबीच जोगिएर फल्छ तरुल अनि त्यसलाई जतनपूर्वक खनेर उपभोग गर्दा त्यसको स्वाद र लाभ सायद कुनै अन्नभन्दा कम हुन्न । नेपाल देशको अस्तित्व नेपाली जातिको लागि ठ्याक्कै त्यही बराबर छ । नेपाली राष्ट्रवाद पनि त्यत्तिकै संवेदनशील छ ।

परन्तु, प्रश्नहरू व्यवहारजन्य छन् । नेपाल कहिल्यै बिग्रेको छैन । नेपालको राष्ट्रियता नेपाली जाति रहेसम्म कदापि नामेट हुन सक्दैन । तर राष्ट्रवाद ? जनताले राष्ट्रलाई व्यवहार गर्ने सोच, संस्कार र शैलीको समग्रता राष्ट्रवाद हो भने अब यसमा पास कि फेल भन्ने अवस्था आइसक्यो । नेपालमा खोक्रो राष्ट्रवाद हाबी भएर अब सक्कली राष्ट्रवाद खोज्न अर्को कुनै महाविपत्ति कुर्नुपर्ने हो कि भन्ने भइसक्यो । पछिल्लो कालखण्डका केही विशेष आपत्हरूमा नेपालीहरूको सक्कली राष्ट्रवाद भुल्किन खोजको भान हुन्छ ।

यसो भनेर नेपाली जनताको असलपनमाथि प्रश्न गर्न खोजिएको होइन । यहाँ सबै बद्मास भइसके भन्ने अर्थ पटक्कै दिन खोजिएको होइन । नेपालीहरू त्यति नै सोझा छन्, जति पृथ्वीनारायणले सोचे, दिव्योपदेश दिँदा । वास्तवमा नेपाली जनतामा एक किसिमको संक्रमणचाहिँ भएको देखिन्छ । त्यो राजनीतिक माध्यमको संक्रमण हो । राजनीतिले जनतालाई नराम्रोसँग विभाजन गर्ने काम गरेको छ । गरिब र निमुखा जनतालाई कुत्सित राजनीतिले प्रशस्तै गुमराहमा पारेको छ । दसक लामो हिंसात्मक युद्ध र त्यसयताको राजनीतिक वृत्तमै व्याप्त लगातारको हिंसा आसक्तिका कारण नेपाली जनताले शान्त र विवेकपूर्ण राजनीतिक अभ्यासको अनुभव लिन पाएका छैनन् ।

मुलुकको आन्तरिक एकता बलियो हुनुपर्छ अनि आफ्नो सामथ्र्यमा अडिग हुनुपर्छ । आफू छिन्नभिन्न भएर प्रतिकुलतामा मात्र उत्पन्न हुने मनोवैज्ञानिक आवेगले कहिल्यै राम्रो काम गर्दैन ।

राजनीति मूल्यमान्यता, समाज हित, मानव कल्याण, समृद्धि र राष्ट्रवादका मानकहरूलाई नाघेर दलीय बिल्लाहरूमा झुन्डिन पुगेको छ । त्यसले गर्दा नेपाली मानिस स्वतन्त्र, विवेकशील र राजनीतिक रूपले सचेत नागरिक बन्ने क्रम घट्दै गएको छ । कार्यकर्ताका विशाल झुण्डहरू सिर्जना गरेर त्यसकै आधारमा तल्लो तहसम्म सिन्डिकेट निर्माण गर्ने अनि तिनीहरूमै हानथापबीच आम मनोवैज्ञानिक स्तरमा कुण्ठा मात्र प्रवाह गर्ने मेसोमा नेपालका राजनीतिक दलहरू सक्रिय छन् । फलतः मतपत्रमार्फत प्रकट गरिने राजनीतिक निर्णयहरू बिल्लाहरूमा गएर टाँसिने उपक्रममा सीमित भएको छ । त्यहाँ लगाइने छापले प्रकारान्तरमा मुलुकको भविष्य बन्ने हो भन्ने आभास लुप्त बन्दै गएको छ । आजको दिनमा हरेक मुलुकका जनताले खोज्ने भविष्य भनेको आत्मगौरवपूर्ण समृद्धि हो । राष्ट्रवादको लाइफलाइन पनि त्यही हो ।

आजको एउटा युवाले प्रायः निराशा मात्र अनुभूत हुने समकालीन समयमा कहाँनेर राष्ट्रवाद जाग्ने अवस्था देख्यो ? ऊ सानो छँदा युद्ध चल्दै थियो, त्यसपछि लोकतन्त्र आयो अनि के ? के लोकतन्त्र लोकको इच्छाअनुसार चलेको छ ? के आफ्नै देशमा बस्नुपर्छ भन्ने उत्साह कुनै सूचकबाट मिलेको छ ? आफ्ना अग्रजबाट उसले लोकतन्त्रको संरक्षण र समाज परिवर्तनको निम्ति विवेकपूर्ण निर्णयहरू भएको देखेको छ ? दलहरूले उसलाई स्वतन्त्र र विवेकशील बन्ने अनुशिक्षण दिएका छन् ? के ऊ फेरि क्रान्तिकारी बन्नुपर्ने हो ?

मानिस हरेक युगमा क्रान्तिकारी बनेर बस्न सक्दैन । सम्भव छैन । समयको बर्बादी हो यो । मानिस प्रजातान्त्रिक र संयम बन्ने अवस्थामा मात्र समाजको उन्नयन सम्भव छ । आज युवाहरूलाई फगत भीडमा हुल्ने र कर्मण्यताबाट विमुख गराउने काममा आम राजनीतिक नेतृत्व अग्रसर छ । मुलुकको युवा ऊर्जालाई न्यायपूर्ण र विवेकशील मार्गमा प्रयोग हुने वातावरण दिने हो भने केही वर्षमा देश बन्छ । देशको राजनीति स्वेच्छाशक्तिबाट स्थानान्तरित हुन्छ । कल्पना गरौं, त्यतिबेलाको नेपाली राष्ट्रवादको तागत ।

तर यो लक्ष्यको सुरुआत, कार्यान्वयन र प्राप्ति कसरी ? शाब्दिक विन्यासमा नेपाली नेता र कार्यकर्ता एक से एक छन् । व्यवहारमा यो लक्ष्यतर्फ आमसमाजलाई अगाडि बढाउने साहस कसले जुटाउने ? यसमा जुन राजनीतिक शक्तिले आँट पुर्‍याउंँछ, त्यो चिरकालको लागि नेपालमा लोकप्रिय र सफल बन्ने पक्का छ । उदाहरणको लागि, राष्ट्रिय प्रजातन्त्र पार्टी यतिबेला आफ्नो एकीकृत महाधिवेशनको माहोलमा छ । मुलुकको परम्परागत मूल्यहरूलाई समेत आत्मसात गरी राष्ट्रवाद र समृद्धिलाई अगाडि बढाउने शक्तिका रूपमा आफ्नो चरित्र निर्माण गर्न खोजिरहेको यो पार्टीले यतिखेर आफ्नो जीवनकालकै सबैभन्दा ठूलो अवसर र चुनौती पाउँदै गरेको देख्न सकिन्छ । एकीकरण त्यसको एउटा निर्णायक ऊर्जाबिन्दु हो ।

नेपाली राष्ट्रवादका महŒवपूर्ण अंगहरूमाथि भएका आक्रमणलाई पहिचान गर्न सक्नु राप्रपाको समकालीन समयको सबैभन्दा ठूलो सामथ्र्य हो । हिन्दु राष्ट्रको हरण अनि राष्ट्रिय एकताको प्रतीकको रूपमा रहेको राजसंस्थाको असंगतिपूर्ण तवरमा गरिएको अन्त्यको कारण यतिखेर मुलुक सबैखाले स्वार्थ समूहको क्रीडास्थल बन्न पुगेको छ । जनताले ताजा इतिहासका ती विसंगति आफूमाथिका धोका थिए भन्ने बुझिरहेका छन् । यस अर्थमा एकीकृत राप्रपाको एजेन्डा समयानुकुल छन् । तर त्यसनिम्ति गर्नुपर्ने मेहनत र संघर्ष सजिलो छैन । सर्वप्रथम एउटा राजनीतिक दलकै रूपमा यसले आफूलाई जनुमुखी, इमानदार र चरित्रवान् बनाउन सक्नुपर्छ । यो एउटा परीक्षा नै हो, जसमा उत्तीर्ण शक्तिलाई जनताले आँखा चिम्लेर साथ दिने धु्रवसत्य छ । नेपाली जनमानसले अहिलेसम्म जोगाएको सत्व यही हो । यसकै आधारमा जनताले पाएको साथलाई अहिलेसम्मका प्रमुख दलहरूले दुरुपयोग मात्र गरेका छन् । शान्तिको चाहबाट जनताले उठाएको माओवादी अब शिला खोज्नुपर्ने अवस्थामा पुग्दैछ । कांग्रेस र एमाले आफ्नो ऐतिहासिक साखमा मात्र टिकेका छन् । अब अवसर राप्रपाको लागि हो ।

हामीकहाँ कोही दल अराष्ट्रवादी छैनन्, सिद्धान्ततः । राष्ट्रवादको व्यापक अर्थ अब घरेलु मुद्दाहरूबाट मात्र बन्दैन । समकालीन विश्वमा एउटा मुलुक एकलकाँटे भएर अगाडि बढ्न सक्दैन । विश्वमञ्चमा खेल्ने भूमिका, क्षेत्रीय सम्बन्धहरूलाई समन्वयमा राख्ने र छिमेकीहरूसँग समझदारीमा रहने चुनौती कुनै पनि मुलुकको अस्तित्व र समृद्धिसँग अन्योया िश्रत रूपले जोडिएका हुन्छन् । यी चुनौतीलाई खरो सामना गर्न मुलुकको आन्तरिक एकता बलियो हुनुपर्छ अनि आफ्नो सामथ्र्यमा अडिग हुनुपर्छ । आफू छिन्नभिन्न भएर प्रतिकुलतामा मात्र उत्पन्न हुने मनोवैज्ञानिक आवेगले कहिल्यै राम्रो काम गर्दैन । भूमण्डलीकरण र सूचना प्रविधि क्रान्तिको यो युगमा आवश्यक पर्ने परराष्ट्र सम्बन्ध क्षमता आजभन्दा ३० वर्षअघिको अवस्थाभन्दा विल्कुल फरक छ । संसारमा आज सूचना र उत्पादन प्रवाहलाई परम्परागत राज्य सञ्चालनका हतियारबाट नियन्त्रित गर्न सकिने परिस्थिति छैन । विज्ञानका देनलाई मानव स्वार्थअनुकुल बनाउन विज्ञान नै चाहिन्छ । यो विषयप्रति सबैभन्दा सचेत हुनुपर्ने राजनीतिक नेतृत्व नै हो ।

बहुमुखी मानव विकासमा सफल र निरन्तर अग्रसर मुलुकहरूले आफ्नो राष्ट्रिय चरित्रलाई सुस्पष्ट तुल्याएका छन् । समाज, राजनीति, वाणिज्य, उद्यम र विज्ञानलाई दीर्घकालीन योजना र अनुसन्धानमा आधारित गराई अगाडि बढाउन उनीहरू सफल छन् । यसैकारण उनीहरू उन्नत छन्, उनीहरूको राष्ट्रवाद प्रगतिशील छ । हामी उल्लिखित सूचकहरूमा विभिन्न हिसाबले कमजोर भए पनि राष्ट्रवादलाई सुदृढ पार्ने पहिलो खुट्किलो निष्ठा हो, मुलुकप्रतिको निष्ठा ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.