कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन पाैडेल पक्षको दबाब

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन पाैडेल पक्षको दबाब

काठमाडौं : कांग्रेस नेता रामचन्द्र पौडेलपक्षीय केन्द्रीय सदस्यले पार्टी सञ्चालन र सरकारको कार्यशैलीप्रति गम्भीर असहमति राख्दै समसामयिक विभिन्न विषयमा छलफल गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।

शनिबार बिहान महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा भएको पौडेल पक्षका केन्द्रीय सदस्यको भेलाले संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत विषयमा औपचारिक धारणा निर्माणका लागि पार्टीभित्र छलफल गर्न सभापतिसँग बैठक बोलाउन आग्रह गर्दै पत्र लेख्ने निर्णय गरेको हो।

भेलापछि दिउँसो पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति र संसदीय दलको बैठक अविलम्ब बोलाउन माग गर्दै पत्र बुझाएका छन्। पत्रमा तीन तहको निवार्चनमा पार्टीले नेतृत्व लिनुपर्ने, भ्रातृ संस्था सन्तुलित रूपमा क्रियाशील गराउनुपर्ने, सत्ता साझेदार भएकाले सरकार सञ्चालन प्रभावकारी बनाउनुपर्ने र राजनीतिक नियुक्तिमा भएका विवादास्पद निर्णयले कार्यकर्तालाई चिन्तित बनाएकाले अविलम्ब बैठक बोलाउनुपर्ने माग गरिएको छ।

‘संविधान संशोधन, स्थानीय तहको निर्वाचन, भ्रातृ संस्थाको सञ्चालनलगायत विषयमा छलफल गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापतिसँग लिखित आग्रह गर्ने निष्कर्ष भेलाले निकालेको छ’, केन्द्रीय सदस्य मीनेन्द्र रिजालले अन्नपूर्णसँग भने, ‘सभापतिलाई औपचारिक पत्र लेख्ने जिम्मा भेलाले नेता पौडेललाई दिएको छ।’

संविधान संशोधन संसद्मा अड्किएको लामो समयसम्म पनि त्यसमाथि पार्टीभित्र छलफल नभएको भन्दै पौडेल पक्षका नेताहरूले सभापतिको आलोचना गरेका छन्। उनीहरूले अधिवेशन सम्पन्न भएका भ्रातृ संस्थामा अन्य पदाधिकारी मनोनीत हुन नसकेको र केही भ्रातृ संस्थाको अधिवेशनमा देखिएको विवादसम्बन्धमा पनि केन्द्रीय समितिमा छलफल गर्नुपर्ने बताएका छन्।

नेविसंघ र तरुण दलमा अधिवेशन भएको लामो समयसम्म पनि सदस्य र पदाधिकारी मनोनयन हुनसकेको छैन। ‘लामो समयसम्म भ्रातृ संस्थामा पदाधिकारी मनोनयन हुन सकेको छैन’, रिजालले भने, ‘त्यस्तो किन भयो ? के अप्ठ्यारो छ, छलफल गरौं भन्ने हाम्रो धारणा हो।’

भेलामा सरकारले गर्ने राजनीतिक नियुक्तिमा पार्टीभित्र कुनै परामर्श नभएको सम्बन्धमा पनि गम्भीर आपत्ति जनाइएको थियो। भेलामा उपस्थित सदस्यले भर्खरै गरिएको राजदूत सिफारिसमा कांग्रेसको कोटामा परेकाहरूको पनि विरोध गरेका छन्। विशेषगरी संयुक्त अरब इमिरेट्सको राजदूतमा सिफारिस भएकी आशा लामाको उनीहरूले चर्को विरोध गरेका छन्।

पौडेल पक्षका नेताहरूले यसअघि काठमाडौं क्षेत्र नम्बर ४ मा जनमोर्चाबाट उम्मेदवारी दिएकी लामा कसरी कांग्रेसको कोटाबाट राजदूत सिफारिस भइन् भन्ने विषयमा सभापतिले प्रस्ट पार्नुपर्ने बैठकमा भनेका थिए। त्यस्तै कतारका लागि राजदूत सिफारिस भएका रमेश कोइराला र श्रीलंकाका लागि राजदूत सिफारिस भएका भीम उदासका नाममा पनि उनीहरूले असहमति जनाएका छन्।

भेलामा नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, बलबहादुर केसी, रामशरण महत, कल्याण गुरुङ, गुरुराज घिमिरे, जीवन परियार, रत्ना शेरचन, सरिता प्रसाईं, दिलेन्दप्रसाद बडु, गोविन्द भट्टराईलगायत २० जना सहभागी थिए। बैठकमा वाणिज्यमन्त्री रोमी गौचन र खानेपानीराज्यमन्त्री दीपक खड्का पनि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.