‘होटेल व्यवसायले धानेको पर्यटन’
प्युठान: मुलुकको पर्यटन होटेल क्षेत्रले धानेको होटेल व्यवसायीको दाबी छ । पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका होटेल व्यवसायले खेलेको भए पनि राज्यले यस क्षेत्रको विकासमा चासो नदेखाएको उनीहरूले गुनासो गरे।
ग्रामीण क्षेत्रमा पर्यटनको बलियो सम्भावना भए पनि राज्यको नजर अझै नपुगेको होटेल व्यवसायी महासंघका कोषाध्यक्ष शिवबहादुर पुलामीले बताए । ‘चितवनको सौराह, पोखरा र लुम्बिनीमा मात्रै पर्यटनका कार्यक्रम केन्द्रित छन्’, उनले भने, ‘ग्रामीण पर्यटनको विकासमा राज्यले ध्यान दिनुपर्छ ।’शनिबार होटेल व्यवसायी संघ प्युठानको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पुलामीले बढ्दो होटेल व्यवसायकै कारण मुलुकको पर्यटन क्षेत्र धानिएको दाबी गरे । देशभर ६१ हजार सानाठूला होटेल व्यवसाय सञ्चालनमा रहेको उनले जानकारी गराए ।
जिल्लामा पुग्ने पर्यटकलाई आतिथ्यतासँगै उनीहरूको बसाइँ लम्ब्याउने भूमिका होटेल क्षेत्रले खेलेको उनको भनाइ छ । ‘धेरै होटेलमा दक्ष जनशक्तिको अभाव खड्किएको छ’, पुलामीले भने, ‘महासंघको पहलमा देशका पाँच स्थानमा व्यवसायीका लागि सिपमूलक तालिम सञ्चालन गर्दैछौं ।’ महासंघको पहलमा दाङ, नेपालगन्ज, चितवन, झापा र काठमाडौंमा सीटीईभीटीको सहकार्यमा तालिम केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी गराए । उनका अनुसार देशभर सानाठूला गरी ६१ हजार होटेल सञ्चालनमा छन् ।
पर्यटनको क्षेत्रमा जिल्लामा हुने गतिविधि एवं विषयगत समितिमा होटेल व्यवसायीलाई उपेक्षा गरिएको संघका निवर्तमान अध्यक्ष दधिराम भण्डारीले गुनासो पोखे । ‘होटेललाई आमा व्यवसाय भनिन्छ’, उनले भने, ‘थुप्रै बजेट पर्यटनमा खर्च हुन्छ । हामीलाई सहभागिता गराइँदैन ।’ होटल, सञ्चार र यातायात पर्यटन प्रवद्र्धनको मेरुदन्ड भएकाले यी क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने उनको माग छ ।
जिल्लामा आउने पाहुनालाई आतिथ्य सत्कारले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने भएकाले होटेल व्यवसायलाई सुरक्षित महशुस हुने खालको वातावरण बनाउनु पर्ने कार्यक्रममा बोल्ने अतिथिले सुझाएका थिए । सानाठूला गरी प्युठानभर झन्डै ५ सयभन्दा बढी होटेल सञ्चालनमा रहेको अध्यक्ष चन्द्रलाल न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !