सात महिनामै ७५ अर्बको कृषिजन्य वस्तु आयात

सात महिनामै ७५ अर्बको कृषिजन्य वस्तु आयात

काठमाडौं: पछिल्लो सात महिनाको अवधिमा विभिन्न मुलुकबाट ७५ अर्ब रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ । कृषि प्रधान मुलुक भनेर चिनिने नेपालमा कृषिजन्य वस्तुको यो आयात अवस्था अत्यधिक हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो सात महिनाको अवधिमा सबैभन्दा बढी खाद्यान्न (चामल, मकै, गहुँ, कोदोलगायत) वस्तु आयात भएको छ । यो अवधिमा करिब २४ अर्ब १९ करोड रुपैयाँ बराबरको खाद्यान्न भारत र तेस्रो मुलुकबाट आयात भएको छ ।

यसै वर्ष नेपालमा इतिहासमै सर्वाधिक करिब एक खर्ब चार अर्ब मूल्य बराबरको ५२ लाख मेट्रिक टन फलेको छ । सबैभन्दा बढी धान यो वर्ष फले पनि यही वर्षको सात महिना अवधिमा ठूलो परिमाणमा खाद्यान्न आयात भएको छ । आयात हुने कृषिजन्य वस्तुको दोस्रो नम्बरमा तरकारी र गेडागुडी परेको छ । यो अवधिमा १३ अर्ब ७३ करोड मूल्य बराबरको हरियो तरकारी र गेडागुडी आयात भएको छ । काउली, प्याज, च्याउ, बन्दा, भेडे खुर्सानी, आलु, भान्टालगायत तरकारी आयात उच्च छ । तरकारीमा सबैभन्दा बढी प्याज र लसुन आयात भएको छ । सात महिनाको अवधिमा फलफूल ६ अर्ब ४८ करोड मूल्य बराबरको आयात भएको छ । स्याउ, अंगुर, नरिवल, सुन्तला, मेवा, काजु, किसमिस, केरा, अनारलगायत फलफूल आयात निकै उच्च छ ।

सरकारले कृषि क्षेत्रको विकासका लागि बर्सेनि बजेट वृद्धि गरे पनि सदुपयोग नहुँदा ठूलो परिमाणमा कृषिजन्य वस्तु आयात हुँदै आएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले ३२ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि बर्सेनि बजेट वृद्धि गरे पनि सदुपयोग नहुँदा ठूलो परिमाणमा कृषिजन्य वस्तु आयात हुँदै आएको छ । ठूलो परिमाणमा कृषिजन्य वस्तु आयात भइरहे पनि कृषि विकास मन्त्रालयले भने अबको केही वर्षमा कृषिका केही महत्वपूर्ण क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन लागिएको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले आगामी आर्थिक वर्ष मुलुकलाई ताजा तरकारी र माछामा आत्मनिर्भर बनाउन लागिएको दाबी गरे ।

‘आगामी वर्षमा ताजा तरकारी र माछामा मुलुकलाई पूर्णरूपमा आत्मनिर्भर बनाएर निर्यात गर्ने हाम्रो योजना छ’, कार्कीले भने,‘यस्तै आगामी एक वर्षमा धान र गहुँ, दुई वर्षमा मकै, सात वर्षमा फलफूलमा पनि मुलुकलाई आत्मनिर्भर बनाउँदैछौं । त्यसपछि नेपालबाट अन्य मुलुकमा कृषिजन्य वस्तु निर्यात हुनेछ ।’ कृषिमा हरेक वर्ष बजेट वृद्धि भएसँगै निरासाजनक रूपमा कृषिको वार्षिक वृद्धिदर पनि घट्दै गएको छ । बजेटको दुरुपयोगका कारण एकातर्फ आयात दर बढ्दै गएको छ भने अर्कोतर्फ कृषिको वार्षिक वृद्धिदर पनि खुम्चिँदै गएको छ ।

चालू आर्थिक वर्ष सरकारले कृषि क्षेत्रको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासहित २७ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि पाँच अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ । कृषिमा विनियोजित बजेट पारदर्शी रूपमा सदुपयोग हुन नसक्दा कृषिका हरेक उपजमा नेपाल परनिर्भर बनेको छ । सरकारले धान र तरकारीमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेको हो । तर, कृषि विज्ञका अनुसार यो परियोजनाले पनि लक्ष्य पूरा गर्न कठिन छ ।

बजेट बाँडफाँट र अनुदान वितरणमा पारदर्शी प्रक्रिया अपनाउन नसक्दा नेपालको कृषि क्षेत्र आत्मनिर्भरभन्दा परनिर्भर बन्दै गएको हो । गत आर्थिक वर्ष २०७१/७२ वार्षिक वृद्धि दर २.१९ रहेकोमा पछिल्लो आर्थिक वर्ष २०७२/७३ मा १.९० प्रतिशतमा वार्षिक वृद्धि दर खुम्चिएको थियो । सात महिनाको अवधिमा खाद्यान्न, तरकारी, दलहन र तेलहनको गरी करिब ६ अर्ब २० करोड मूल्य बराबरको बिउ नेपालमा आयात भएको छ । यस्तै मसलातर्फ (अदुवा, लहसुन, बेसार, धनियाँ, मरिच, सुकुमेल, इलाइची, ल्वांग, तोरीलगायत) तीन अर्ब २३ करोड मूल्य बराबरको आयात भएको छ ।

कृषिजन्य वस्तुको आयात यतिमै सीमित छैन । दुई अर्ब २० करोड मूल्य बराबरको माछा र मासुजन्य वस्तु विभिन्न मुलुकबाट आयात भएको छ । मुख्य गरी ताजा माछा, सुकाएको माछा, तयारी माछा, राँगाभैंसी, खसी, कुखुरा, हाँस, घोडा, अस्ट्रिजलगायतको मासु नेपालमा भित्रिँदै आएको छ ।दूधमा आत्मनिर्भर उन्मुख बनेको नेपालमा दूध र दुग्धजन्य पदार्थ पनि ठूलो परिमाणमा आयात हुँदै आएको छ । दुग्धजन्यतर्फ एक अर्ब २२ करोड मूल्य बराबरको चिज, वटर, धुलो दूध, क्रिम, तयारी फ्लेवर दूधलगायतका वस्तु आयात भएको छ । यो अवधिमा आठ करोड ८१ लाख मूल्य बराबरको प्रशोधित र अप्रशोधित चिया तथा कफी पनि नेपालमा भित्रिएको छ । यस्तै आठ करोड ३७ लाख मूल्य बराबरको मह पनि भित्रिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.