प्रतीकात्मक अबिर र रस होली

प्रतीकात्मक अबिर र रस होली

होली पर्वको सन्दर्भमा अबिर रङ प्रतीक बन्छ । प्रतीक यस निमित्त बन्छ कि अबिरले वसन्त बहारलाई मनग्य प्रतिनिधित्व गर्छ । वस्तुतत्ववलाई प्रतिनिधित्व गर्नु प्रतीकको धर्म बन्छ । प्रतीकको धर्म भन्नु कुनै आस्थाः हिन्दु, बौद्ध, जैन मतले अँगालेका ईश्वरप्रतिका समर्पण होइनन्; हुन सकोइन पनि । आंगलीय भाषाले अपनाएको ‘रेलिजन' शब्दले वैदिक धर्मलाई सांगोपांगो रूपमा अँगाल्न सक्दैन निश्चय पनि ।

वैदिक परम्परा जीवन संस्कारमूलक दर्शनमा आधारित छ । जीवन संस्कारमूलक दर्शनले समग्रतालाई समेट्छ, अँगाल्छ । धर्म शब्द हाम्रामा संकुचित र सीमित रहन्न, छैन । जीवनका अनेक परिप्रेक्ष्यमूलक कुनै कार्य-सुकार्य, सत्कार्य, सुकर्म जीवन धर्म हो । कर्तव्य परायण बन्नु, हुनु धर्म हो । जिम्मेवारी वहन नगरी गैरजिम्मेवार रहनु अधर्म बन्छ, हुन्छ ।

विश्व वातावरणअनुसारका अनेक स्थानगत चाडपर्व मनाउनु पनि धर्म बन्छ । आंगलीय रेलिजन शब्दले दैवी आस्थाको मतमान्यतालाई मात्र प्रतिनिधित्व गर्दछ । पूर्वीय वैदिक परम्पराका मान्यता एकलकाँटे र निश्चित घेरामा सीमित छैन, व्यापक छ । होली पर्वका रङ चाड प्राकृतिक पर्यावरण अनुरूपका मौसमी ऋतु वसन्त बहार बनेर आउँछ प्रतिवर्ष रसरंगका उमंगपूर्ण तराना बोकेर । रसरंगका तराना तरंग्याउनु वासन्ती धर्म बन्छ होलीका रङको !

अबिरका होली उमंगपूर्ण रसको रंगीन चाड हो । वसन्त बहार हो जैविक जीवन तरंगको । जैविक जीवनले प्राणधारी यावत्÷आमूल प्राकृतिक स्थावर-जंगम तत्वव-पदार्थलाई बुझाउँछ, सँगाल्छ । भूगर्भबाटै चोसिएर उठेका पत्थरिला सिंगमरमर, स्फटिक, हीरा, पन्ना, नीर आदि पनि वसन्तसित पलाएर उमंगित तराना अन्तरमुखी बनेर चुलिँदा हुन् । अनि त पहाड-पर्वत सुकिला भरिला हृष्टपुष्ट बन्दा हुन् । नांगिएका वृक्ष र बोटहरू चिचिलाउन थाल्छन् । मुना बन्छन् । मुनाबाट कोपिलाउँदै पातमा परिणत हुन्छन् । यी तहगत प्रक्रिया भनौं प्रक्रियागत तहहरू वसन्तका बहार बन्छन् । वसन्तको यो बहार प्रत्येक जैविक जीवनका अन्तरंगदेखि बाहिरिएर बहिरंगबहार बन्छन् । सबै सबै बहिरंगका यी र यस्ता बहारहरू जैविक जीवनका अन्तरंगका प्रस्फुटन हुन् ।

बहुरंगी बहारहरू सबैसबै अन्तरंगका प्रक्षेपण हुन्, बहिरआगमन हुन् । जैविक जीवनका अन्तर अंगहरू शरीरका भित्री भागहरूमा रहेका मुटु, फोक्सो, आन्द्राभुँडी, कलेजो, मिर्गौला, रक्तनलीजन्य स्नायुहरू सबै हुन् । सद्दे, सहिसलामत अवस्थाका अंगप्रत्यंग जैविक जीवनका वसन्तबहार बनेर टुसाउँछन्, पलाउँछन्, बढ्छन्, लहलहाउँछन् । पवन, समीर, हावा जे भनिए तापनि यी नवपल्लवहरूसित कुचुकमुचुक काउकुती लगाउँछन् । बोटबिरुवाहरू झुमझुमी लहसिन्छन् । वसन्तबहारका भावुक अभिव्यक्ति बन्छन् । अनि त हामी आपसमा लहसिन्छौं रङका रस छर्दै छर्कंदै- अलिअलि गालामा, यतियति निधारमा, अलिकति आङभरिका दलदल दलानका नरमनरम स्पर्शहरूमा ! मदहोस वसन्त बहारका उमंगहरूका .... ! कति रोमाञ्चक यो होली पर्व ..... !!

प्रत्येक वसन्त बहारसँगै लहसिएर आउँछ प्रतीकात्मक अबिर रङका होली ! दुलहीलाई स्नेही मनका भावनात्मक डोली चढाएर रङमय लालीमा भनौं लालीमामय रंगीन स्पर्शसाथ आलिंगन भर्छ । मनको तन्नेरीपन व्यक्त गर्ने अवसर हो यो रंगीन संस्कृति हामी सबैसबैका सामूहिक साझा पर्व सम्पदा ! सम्पदा भौतिक वस्तुतत्ववमा मात्र सीमित रहन्न । मनका चेतन तत्वव, दर्शनेन्द्रीयका अवलोकन तत्वव र दैहिक जीवनका जैविक तत्ववसित पनि उत्तिकै सारगर्भित सापेक्ष रहन्छ ।आफ्नै सेरोफेरो सापेक्ष रहेर रङ रश्मिमय होलीका डोली बोक्छु, चढ्छु पनि यहाँ । न उत्ताउलोपन हुन्छ ममा न भड्किलोपन नै त्यहाँ । हुन त केवल श्वान्त सुखाय मात्र । श्वान्त सुखाय अवस्था त्यहाँ सिर्जिन्छ जहाँ सरल, शान्त मनस्थितिजन्य समदर्शी भाव ओतप्रोत भइन्छ । वसन्त बहार समदर्शन भावना तरंगिने आनन्दी मनमोहकताका तरेली भन्न मन लाग्छ मलाई !

आंगलीय रेलिजन शब्दले दैवी आस्थाको मतमान्यतालाई मात्र प्रतिनिधित्व गर्दछ । पूर्वीय वैदिक परम्पराका मान्यता एकलकाँटे र निश्चित घेरामा सीमित छैन, व्यापक छ । होली पर्वका रङ चाड प्राकृतिक पर्यावरण अनुरूपका मौसमी ऋतु वसन्त बहार बनेर आउँछ प्रतिवर्ष रसरंगका उमंगपूर्ण तराना बोकेर।

जतिकै प्रतीकात्मक छ यो अबिरका रंगीन होली उत्तिकै आख्यानिक रहेको छ पनि । एक होइन अनेक आख्यानिक अवधारणा जडित छन् यो प्रतीकात्मक अबिर रंगीन होली उत्तिकै आख्यानिक रहेको छ पनि । एक होइन अनेक आख्यानिक अवधारणाजडित छन् यो प्रतीकात्मक अबिर रङका होली साथ । फाल्गुन शुक्ल अष्टमीका दिन प्रतिस्थापन गरिने होली पर्वका चीर गाड्ने क्रियादेखि चीरदहनसम्मकैमा पौराणिक सन्दर्भहरू जोडिएका छन् । चीर ठड्याइएको लिंगो, त्यसको टुप्पोमा जडिएका चाक्लो गोलाकार घेरो आफैंमा प्रतीक बनेको छ । चाक्लो गोलाकार घेरो पृथ्वीको प्रतीक बन्छ । गोलाकार तत्वव गड्छ, आफैं परिक्रमा गर्छ । पृथ्वी सूर्यको वरिपरि घुम्छ । परिक्रमा गर्छ सूर्य वरिपरि । तिनै परिभ्रमण÷परिक्रमाले समय परिवर्तनशील बन्छ । दिनरातमा परिणत हुन्छ तिनैसाथ ।

पृथ्वीकै गतिमान चालमा मौसम परिवर्तन हुन्छ । मौसमी परिवर्तनको कारण ऋतु फेरिन्छन् । ऋतु फेरिँदा आएको वसन्त उमंगका तराना हाल्दछन् । नवपल्लव पल्लवित भएर प्राणीमात्रका मनोभाव वासन्ती बन्छ, उमंगित हुन्छ । हामी होली पर्व मनाउँछौं, रमाउँछौं । चीर गाड्दाको स्तम्भका घेराभरि जडिएका फिरफिरे रंगीन वस्त्रका टुक्राहरू÷त्यान्द्रोहरू वासन्ती रङ विनोदका रंगीन उमंगका तरंग बन्छन् । तिनै अन्तरंगका सादृश रंगीन वस्त्रका त्यान्द्रोहरू वसन्तले उभारिएका प्रत्येक जीवन-यौवनका अन्तरउमंगका प्रतीक बन्छन् । रंगीन वस्त्रका धुजाहरू फिरफिराउँछन् । तिनै रंगीन धुजाहरू वासन्ती ऋतु-पर्वका रसिला प्रतीक बन्छन् । जीवन-यौवनको स्नेहमयी उल्लासलाई प्रतिविम्बित गर्दो लयदार वासन्ती ऋतुगानका मौसमी गीत गाएर साथी-संगिनीका जमात जमातमा ।

यति नै मात्र कहाँ हो र ! ती रंगीन वस्त्रका धुजाहरू अरू महाभारतकालीन कृष्ण-गोपिनीहरूसितका चर्तिकलाका आख्यान बोक्छन् । ती रंगीन धुजाहरू यस सन्दर्भमा गोपिनीहरू निरवस्त्र गंगास्नान गर्दा नदीकिनारमा राखिएका विचरीहरूका गुन्यू, सारी पछ्यौरीहरू उत्ताउलो कृष्णका उत्पट्यांगे लीलाका प्रतीक बन्छ । कृष्णले नदीका घाटमा राखिएका गोपिनी-यौवनाहरूका सारी रूखमा झुन्ड्याइएको आख्यानका मर्मबोधक प्रतीक बन्छन्- चीर स्तम्भका रंगीचंगी धुजाहरू । लाग्छ कृष्ण त यौवनमत्ता गोपिनीहरूका नांगो-निर्वस्त्र अंगप्रत्यंग अवलोकन गर्न चाहने यौनसाधक पो रहेछ- नकचरो कृष्ण..... ! गोपिनी मैयाँहरूलाई कति आछुआछु पर्‍यो होला ? नदी स्नानबाट बाहिरिँदा आफ्ना वस्त्र भेट्टाउन गोपिनीहरूलाई ! यताउति चहार्दाचहार्दै वस्त्र रूखमाथि देख्छन् एकसाथ झुन्डिएका गुन्यू-सारीहरू । साथै गुन्डागिरीका नाइके- कृष्ण ! (त्यसबेला के गर्ने ? अहिले भए सरकारवादी मुद्दामा जेलमा कोचिदिन्थे मानहानी दफा लगाएर । यी त भए होलीभित्रका प्रतीकात्मक बखानका झोली ।) यत्तिमै टुंगिन्न होलीसितका प्रतीकात्मक आख्यान । अनुमान गरौं..... कति आत्तिए होलान् विचरी गोपिनीहरू.... ? भौंतारिँदै वस्त्र खोज्दै गर्दा रूखमाथि जब आफ्ना वस्त्रहरू साथ कृष्ण देख्दा बिचरीहरूलाई आछुआछु परेथ्यो.....! नितम्ब जोड्दै बायाँ हात अगाडि, दायाँ अगाडि धकिना बनाउँदै हविगत भएथे....!

होलीको प्रतीकात्मक आख्यान त्यसभन्दा अझै बढ्छ अर्को पाटो बोकेर ! हिरण्यकश्यपका छोरा प्रल्हाद पिताको मार्गपन्थी नभई विष्णु÷नारायणपन्थी बनेछन् । प्रल्हादका यस्ता क्रियाकलापदेखि अपच भएर हिरण्यकश्यपले छोरोलाई षड्यन्त्र गरी जीवनहरण गर्ने चक्रब्यूह रच्छन् । होलिका दाजु हिरण्यकश्यपलाई तनमनले साथ दिन्छे । षड्यन्त्रको कुचक्र यसरी रच्छन् कि होलिकाले आफ्नै काखमा च्यापी प्रल्हादलाई दहन गर्ने । होलिका अग्नि संस्कारमा निपुण थिई सायद । प्रल्हादलाई काखी च्यापी दहन गर्ने चक्रब्यूह चल्छ, बढ्छ । अग्नि दहन संस्कार अगाडि बढ्छ । आगो बाल्छन् । संयोगले भवितव्य उल्टो बन्छ । होलिका आफैं डढेर भस्मिन्छे । प्रल्हाद कुत्सित दहन षड्यन्त्र मुक्त हुन्छन् । तन्दुरुस्त बन्छन् प्रल्हाद ।

आख्यानिक लोकवार्ता बनेको छ यो । अचेल यी लोकवार्ता स्वैरकल्पनामा आधारित आख्यान झैं लाग्नु स्वाभाविक छ । यो त विज्ञानको युग हो । विज्ञान स्वैरकल्पनामा उडेको छैन । विश्वास पनि गर्दैन । विज्ञानले विधि-प्रविधिपूर्ण परीक्षणको नतिजा अँगाल्छ । तथापि यी पौराणिक आख्यानमा आधारित होलिका दहन; उनी र उनका दाजु हिरण्यकश्यपका कुत्सित मनोतन्त्र निकै विवेच्य लाग्छ । सम्भवतः उसबेला प्राकृत जडीबुटीमा आधारित औषधि उपचार विज्ञानको युग थियो । त्यसको निरन्तर गति यो एक्काईसौं शताब्दी पर्यन्त अटुट छ । हामी मृत्युञ्जय बुटीको आख्यान सुन्छौं, बाँच्छौं । यिनैसित गाँसिएका अनेक कथन र कथाहरू सुनिन्छन्, सुन्छौं । प्रामाणिक नभएर पनि सोच्न मन लाग्छ । कि प्रकृतिले कुनै त्यस्ता बुटी सर्जेका छन् कि ..... ? होलिका त्यसमा प्रवीण थिई । बुटी या त्यसको रस जिउभरि दल्दा आगोले जलाउँदैनथ्यो कि ? यो स्वैरकल्पनामय आख्यानिक लोकवार्ता माथि बरु अब वैज्ञानिक खोज, सोध र अनुसन्धान पो बढाउनुपर्दो हो कि ?

अर्को पक्ष छ प्रल्हाद सान्दर्भिक सम्बन्ध । जत्ति नै पिता हिरण्यकश्यपका मनोचिन्तनसित लाग्न नचाहेका भएर पनि उनमा वंशानुगत कुलघरानका आनीबानी र घरघरानका बन्दोबस्तीको ज्ञान छ । होलिकाले कुन चिज कहाँ राख्छे उनलाई थाहा थियो । सम्भवतः प्रल्हादले होलिकाले सुरक्षित लुकाइराखेको अग्निदहन निवारक औषधिमुलो जडीबुटी आफूले लेपन गरे । सक्कलीको ठाउँमा नक्कली जडीबुटीमुलो राखे होलान् प्रल्हादले । मानिसले जीवन जिउन जे पनि गर्दो हुन्छ । फलतः प्रल्हाद डढेनन् । होलिका डढिन् । आठ दिनव्यापी होली पर्वको समापन चीर दाहसँगै सकिन्छ । होली पर्वको गर्भगृह निरर्थक होइन ठान्छु । यस्ता लोकधारणामा अन्वेषक चिन्तक वर्गका लागि प्रचुर आयामिक अवसर प्रदान गर्छ; सोचेको ढोका उघार्न घच्घच्याउँछ ।

प्रत्येक चाडपर्वसित यसरी नै थरीथरीका लोकवार्ताहरू गाँसिएका छन् । लोकधारणाभित्र अनेक पक्षहरू सटेका हुन्छन् । चिन्तक विश्लेषक संस्कृतिका हिमायतीहरूले सकारात्मक विवेचना-विश्लेषण गर्न सक्दा संस्कृतिसित जडिएका जीवनमूलक तथ्यहरू हात लाग्न सक्छन् । यसबाटै हाम्रा मानवीय संस्कृतिका संरक्षण र संवद्र्धन गर्नुपर्ने चेतका क्षितिज उघ्रन थाल्छन् । संस्कृतिसित सटेका अनेक लोकवार्ता र कथनलाई सकारात्मक मनमस्तिष्क लगाएर केलाउनु जरुरी हुन्छ । केलाइबाट उपलब्ध हात लागीलाई समाज, राष्ट्र र अन्तर्राष्ट्रलाई उपहार गर्नु पनि उत्तिकै आवश्यक ठान्छु । वासन्ती होली पर्वको आगमनले यो ८२ वर्षे जवानीका रोमाञ्चक भावका शब्दबहार उपहार पाएर प्रिय पाठकका सम्मानमा अर्पने अवसर यो होली पर्व मेरो.... !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.