प्रतिष्ठामा आघात
विगत २५ वर्षदेखि काम गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी छोड्नुपर्दा मलाई दुःख लागेको छ । २०४७ सालमा अन्य दलहरूबाट विभिन्न भौतिक र सांघातिक आक्रमणसमेत सहेर पार्टी स्थापनामा सहभागी भएको हुँ । त्यस्तै यो पार्टीका थुप्रै दस्ताबेजहरू विगतका वर्षहरूमा मैले तयार गरेको हुँ । हालै मात्र पनि पार्टी एकता अधिवेशनमा पेस भएको एउटा महत्ववपूर्ण कार्यपत्र मैले नै तयार गरेको हुँ ।
तर पार्टीभित्र एकता महाधिवेशनपश्चात् पार्टी विधानलाई उपेक्षा गर्ने, महाधिवेशनका क्रममा भएका समझदारी लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र अन्य स्वार्थपूर्तिको औजार मात्र बनाउने प्रवृत्ति हावी भएको छ । यस्ता हर्कत स्वीकार गरेर पार्टीभित्र बस्न सकिनँ ।
एकता महाधिवेशनबाट पारित विधानमा पार्टीको नीति निर्माण गर्न र महत्ववपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन हुनुपर्ने र सो समितिमा सल्लाह र समझदारी गर्नु अनिवार्य थियो । एकता महाधिवेशनअगाडि निर्देशन समितिको गठन नयाँ केन्द्रीय समितिको पहिलो बैठकबाटै हुने समझदारी भएको हो ।
तर निर्देशन समिति गठन गरिएन र पदाधिकारी चयनलगायत मन्त्रिपरिषद्मा जाने औचित्यबारे पनि कुनै छलफल गरिएन । यथार्थमा विधानको यो प्रावधानलाई जानीजानी उपेक्षा गरियो । पार्टीलाई एक व्यक्तिको वा एउटा सानो झुन्डको स्वार्थपूर्ति गर्ने हतियारको रूपमा मात्र प्रयोग गर्न खोजेको स्पष्ट छ । यस्तो विधानविपरीतका अधिनायकवादी क्रियाकलापसँग मेरो पूर्ण असहमति छ ।
पार्टी एकीकरणअगाडि नयाँ पार्टीको झन्डा राप्रपा (नेपाल) को हुनेछ र चुनाव चिन्ह ‘हलो’ हुने समझदारी भएको हो । यो प्रतिबद्धतालाई पनि ठाडै लत्याइएको छ । पार्टीले प्रचण्ड सरकारले पेस गरेको संविधान संशोधन विधेयकप्रति असन्तोष व्यक्त गर्दै आएको हो, आवश्यक परे सरकारबाट बाहिरिने स्पष्ट गरेको थियो । राप्रपाका मन्त्रीहरूले समेत यही दृष्टिकोण जनतासमक्ष पेस गरेका हुन् । अचानक यी सबै बुँदामा पार्टीभित्र छलफलै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनियो । यसबाट के स्पष्ट हुन्छ भने पार्टी अध्यक्षले मधेस समस्यालाई आफूमा पदमा पुग्ने हतियारको रूपमा प्रयोग गरेका छन् ।
हाम्रो देशको इतिहासमा नेपालको राष्ट्रियताको जगेर्ना गर्न, देशमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न र नेपाली जनताको स्वाभिमान र आत्मसम्मान कायम राख्न नेपाली मधेसीहरूको ठूलो बलिदान र योगदान छ । तर मधेसकेन्द्रित दलहरूले आफ्नो मागको सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाई प्राथमिकता दिनु दुर्भाग्यपूर्ण छ ।
आज देश अशान्त छ । राजनीतिक भिडन्तमा सर्वसाधारण मरेका छन् । देशको सीमामा समेत नेपाली मारिएका छन् । यसबारे केन्द्रीय समितिको बैठक तत्काल बोलाई पार्टीमा व्यापक छलफल गर्नुको सट्टा संकटको फाइदा उठाई सरकारमा स्थान जमाउन र सरकार टिकाउन तयार हुन अवसरवादी चरित्र हो । देशमा संकट देखेपछि त्यसलाई सत्तामा हालीमुहाली गर्ने मौकाको रूपमा प्रयोग गर्न उद्धृत संस्कार र प्रवृत्तिप्रति गम्भीर असहमति छ ।
अवसरवादी र अराजक प्रवृत्तिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुँदै गइरहेको छ । एकता अधिवेशनपछिको राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झुण्डको रूपमा मात्र प्रयोग हुन थालेको छ । राजसंस्था र हिन्दु धर्मप्रतिको भावनात्मक समर्थन सत्ता स्वार्थको लागि मात्र प्रयोग हुँदैछ । भ्रष्टाचारप्रति आँखा चिम्लने संस्कारको जग बसाल्ने प्रयास भइरहेको छ ।
एकता अधिवेशनपछिको थोरै समयमा पनि देशमा महत्ववपूर्ण मुद्दाहरू देखिएका छन् । एनसेल कम्पनीको कारोबारसँग गाँसिएको ३५ अर्ब राजस्व उठेको छैन । आज तामाकोसीको विद्युत् सालाखाला एक मेगावाटको लागि १६ करोड रुपैयाँ पर्छ । यसको अर्थ नेपालमा ३५ अर्बले दुई सय मेगावाटको विद्युत् उत्पादन हुन्छ र प्रचण्ड सरकार यो गुमाउन तयार देखिन्छ । यसबारे हालै क्याबिनेटमा अर्थमन्त्रीको मौखिक प्रस्तावबारे हाम्रो पार्टीको भनाइ के रह्यो (? ) भन्ने हामीलाई थाहा छैन ।
के हामी यो नांगो भ्रष्टाचारको समर्थन गर्न सत्तामा जान खोजेका हौं ? कर अधिकृतस्तरले गर्ने निर्णय मन्त्रिपरिषद्बाट संसारमा कहीं नभएको मौखिक प्रस्ताव लगेर अख्तियारबाट बच्ने कामलाई समर्थन गर्न के हाम्रो पार्टी सरकारमा गएको हो ? हाम्रो पार्टीका मन्त्रीहरू यसबारे मौन छन् भने पार्टीभित्र यसबारे कुनै छलफल भएको छैन । तर हालको नेतृत्व सत्तामा नयाँ पद पाउनेबित्तिकै हामफाल्न तयार भयो । जुन कारण र नियतले माओवादीका अर्थमन्त्रीले संसदीय समितिको निर्देशनसमेत नमानेर मौखिक ठाडो प्रस्ताव ल्याए त्यसमा हामी किन मतियार हुने र सत्तामा हामफाल्नेहरूको नियत के हो ? यस्ता प्रश्नलाई उपेक्षा गरेर सत्ता नै सबैथोक हो भन्ने मान्यतासँग मेरो सहमति छैन ।
राजदूत नियुक्तिबारे पनि नेतृत्वको कार्यशैली निराशाजनक छ । परराष्ट्र मन्त्रालयलाई समेत थाहा नभई हाम्रो सहभागिता रहेको प्रचण्ड सरकारले राजदूत घोषणा गर्यो । भ्रष्टाचारको आरोप लागेकालाई फेरि फिर्ता लियो र त्यसपछि पनि परिवर्तन गर्यो । हाम्रो पार्टी सत्तामा छ, तर किन मौन भएर बस्छ ? के यो अराजकता र अनियमिततालाई हाम्रो पार्टीको समर्थन छ ?
हाम्रो पार्टीले तीन राजदूतको नाम पठायो, तर यसबारे पार्टीको कुनै निकायमा अध्यक्षले छलफल गरेका छैनन् । यसको मतलब राप्रपा के अध्यक्षको घरायसी अड्डा हो ? अचम्म के छ भने राष्ट्रिय छापामा आएअनुरूप हामीले राजदूत राख्ने भनेको देशले राजदूतावास राख्न स्वीकृति पनि दिएको छैन । विवाहको कुरो छिनिएको छैन, तर त्योभन्दा अगाडि जन्ती लिएर जाने ?
यस्तो अवस्थामा हामीले पार्टीको तर्फबाट भनी राजदूत सिफारिस गर्नु हास्यास्पद र लज्जास्पद हो । अझ यसबारे पार्टीमा कुनै छलफलै भएको छैन । पार्टीलाई दासहरूको जमातजस्तो व्यवहार गर्ने वर्तमान नेतृत्वको शैली र संस्कार मान्य छैन । एकता अधिवेशनपछिको राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झुण्डको रूपमा मात्र प्रयोग हुन थालेको छ । राजसंस्था र हिन्दु धर्मप्रतिको भावनात्मक समर्थन सत्ता स्वार्थको लागि मात्र प्रयोग हुँदैछ । भ्रष्टाचारप्रति आँखा चिम्लिने संस्कारको जग बसाल्ने प्रयास भइरहेको छ । यो प्रवृत्ति मान्य छैन । त्यसैले म आजबाट राप्रपाबाट अलग भएको हुँ।
राप्रपामा देखिएको नितान्त अवसरवादी र अराजक प्रवृत्तिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुँदै गइरहेको छ । यो नेतृत्वबाट राष्ट्रियताको संवद्र्धन हुँदैन, भ्रष्टाचारमाथि नियन्त्रण हुँदैन र नेपाली जनताको समृद्धिको लागि कुनै योगदान हुँदैन । देश र जनताको हितको लागि कार्य गर्न नसक्ने नेतृत्व रहेको पार्टीमा आबद्ध भइरहनु देश र जनताप्रति विश्वासघात गर्नु हो । यसर्थ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुनुपरेको हो । भविष्यमा देशमा समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र, प्रगतिशील उदारवाद, हिन्दु पहिचान र संसद्द्वारा अनुमोदित राजसंस्थाप्रति प्रतिबद्ध रहेर देश र जनताको हकहित, अधिकार र स्वामिमानको संरक्षण गर्दै देश विकासमा निरन्तर सक्रिय रहनेछु ।
-डा. लोहनीले राप्रपाको साधारण सदस्यतासमेत नरहेको जानकारीसहित अध्यक्ष कमल थापालाई बुझाएको पत्रको सम्पादित अंश ।