राप्रपाको भविष्य

राप्रपाको भविष्य

आदर्श र सिद्धान्तको राजनीति ‘व्यावहारिक राजनीति' बाट विस्थापित हुँदैछ । कतिपय राजनीतिक चिन्तकले राजनीतिमा आदर्श र सिद्धान्तवादले मृत्युवरण गरेको अथवा त्यो असान्दर्भिक बनिसकेको घोषणासमेत गरेका छन् । निश्चय पनि राजनीति, राज्य सञ्चालन र जनताको आकांक्षा पूर्तिको साधन या माध्यम भएकाले त्यसलाई व्यावहारिकताको कसीमा हेरिनैपर्छ, तर ‘व्यवहारवाद' को संकीर्ण र स्वच्छन्द अनि व्यक्तिपरक कसीमा मात्र राजनीति सञ्चालन गर्ने हो भने त्यो सत्ता प्राप्तिको सिँढी मात्र बन्न जान्छ । अनि राजनीतिक नेतृत्व स्वच्छन्द बन्न जान्छन् ।

नेपालमा संक्रमणकालीन राजनीति शुद्ध रूपले सत्ताकेन्द्रित र परचालित बन्न पुगेका छ । नीति, सिद्धान्त र आदर्श या आस्था बोकेर देखा परेका दलहरू पानीको फोकाजसरी फुट्दै विलिन हुन थालेका छन् । नारायणमान बिजुक्छे खुलेरै विदेशी हस्तक्षेपको विरोध गर्छन्, तर बाह्रबुँदेलाई अस्वीकार गर्नुपर्छ र त्यसबाट परचालित बन्न पुगेको नेपालको सत्ता र राजनीतिबारे अन्तिम निर्णयको अधिकार नेपाली जनतालाई तत्काल सुम्पिनुपर्छ भन्न सक्दैनन् । चित्रबहादुर केसी संघीयताको विरोध गर्दा अग्रपंक्तिमा देखा पर्छन्, तर संघीयता बोकेको संविधानअन्तर्गत मन्त्री पद स्विकार्छन् ।

०६३ को परिवर्तनलगत्तै सत्ताको प्रतिशोधको निशाना बनेका कमल थापाले आन्तरिक र बाह्य अनुमोदनमा सिर्जित तत्कालीन लहरविरुद्ध उभिँदै दोस्रो संविधानसभामा संवैधानिक राजतन्त्र, विकेन्द्रीकृत शासन व्यवस्था तथा सनातनी हिन्दु राष्ट्रका नाममा मत मागे, जनताले चौथो ठूलो दलका रूपमा स्थापित गरे, उनकै राप्रपा नेपाललाई । त्यसको दुई वर्षपछि पूर्वपञ्चहरूकै नियन्त्रणमा रहेको तर ‘गणतन्त्र' अपनाएको राप्रपासँग एकाकार भई पार्टीको आकारलाई व्यापकता दिन सफल भए र त्यो विस्तारित दलले पनि नेता स्वीकार गर्‍यो उनलाई ।

राजतन्त्रलगायतका नीतिगत विषयमा एकीकृत दलको संस्थागत धारणा आउन बाँकी नै छ, तर पार्टीको एकीकरण र केन्द्रीय समितिलगायत आन्तरिक निर्वाचनमा विजयीहरूको मान्यता र सूची हेर्दा चार वर्षअघि जनतासमक्ष राप्रपा नेपालले प्रस्तुत गरेका मान्यता रुचाउनेहरूको बहुमत स्पष्ट देख्न सकिन्छ त्यसमा । तर ती नीतिसँगै नेतृत्व तहको कार्यशैली, आन्तरिक प्रजातन्त्रको अभ्यास र नेता या नेतृत्वभन्दा माथि दलीय र राष्ट्रिय स्वार्थको प्रधानता देखिएन भने ०६३ यताको राजनीतिमा देखिएको विकृति सुधारिने छैन ।

राप्रपाले एउटा वैकल्पिक मान्यता र चरित्र अँगालेर आफूलाई प्रस्तुत गरेको थियो तीन वर्षअघि, तर त्यो छवि कायम छ अब ? एकतापछि राप्रपाको निर्णय चुनौतीपूर्ण बनेको थियो- राप्रपाका तर्फबाट मन्त्रिपरिषद्मा रहिआएकालाई फिर्ता बोलाउने या राप्रपा नेपाल पृष्ठभूमिबाट आएकाको लागि थप कोटा माग्ने ? शुक्रबार थापा र दिलनाथ गिरी मन्त्रिपरिषद्मा प्रवेशपछि राप्रपा बुझिँदो रूपमा संघीय, गणतान्त्रिक, धर्म निरपेक्ष संविधानको बफादार अंश बन्न पुगेको छ । आदर्श र मान्यता ‘व्यवहारवाद' को खोलमा विलिन भएका छन् ।

तर कुनै पनि पार्टी आन्तरिक प्रजातान्त्रिक अभ्यासबिना ‘गणतान्त्रिक' बन्न सक्दैन । किनकि गणतन्त्रले सामूहिक आत्मनिर्णयमार्फत जनतालाई सशक्त बनाउने प्रक्रिया र मान्यतामा सम्झौता गर्दैन । राप्रपाकै संस्थापक नेता र प्रबुद्ध व्यक्तित्व डा. प्रकाशचन्द्र लोहनीले एकतापछि एकतर्फी रूपमा थापाले मन्त्रिपरिषद्मा जाने निर्णय गरेको आरोपका साथ पार्टी परित्याग गरेका छन् । सम्भवतः यो मान्यता बोक्नेमा उनी एक्ला छैनन् पार्टीमा । सिद्धान्तमाथिको सम्झौताले पद दिन सक्छ, तर दीर्घकालमा प्रतिष्ठा र स्वीकार्यता दिने छैन पार्टी र उसको नेतृत्वलाई ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.