कांग्रेस, राजसंस्था र राप्रपा

 कांग्रेस, राजसंस्था र राप्रपा

नेपालमा राजनीतिक दलहरू प्रतिबन्धित रहेको समयमा नेपाली कांग्रेसको र मूलतः बीपी कोइराला रहुन्जेल उहाँको मुखपत्रको रूपमा रहेको राष्ट्रपुकार साप्ताहिकका प्रधानसम्पादक, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता होमनाथ दाहालले यसै दैनिकमा २२ फागुन २०७३ मा लेखमार्फत उद्घाटित केही महत्ववपूर्ण ऐतिहासिक प्रसंगभित्रको अन्तर्वेदना र सन्देशले दिएको शिक्षा अत्यन्तै मननीय छन् । आफ्नो इतिहासको बलमा आफ्नै आदर्शको खुट्टामा उभिँदाको नेपाली राजनीतिको निर्णायक शक्ति नेपाली कांग्रेस आफ्नो इतिहासप्रति गर्व नगर्ने अरूको विचार र कार्यदिशाको पछुवा बन्दा प्रभावहीन बन्दैछ।

राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बीपी २०३३ सालमा नेपाल फर्कनुभएपछिको समय र घटनाहरूको व्याख्या, २०३६ सालको जनमत संग्रहमा बहुदलको अप्रत्याशित पराजय र बीपीका अन्तिम दिनहरूको सन्दर्भ जोड्दै दाहालले २०३९ वैशाख अन्तिम वा जेठको सुरुमा चाबहिलमा बीपीसँग भएको एउटा महत्ववपूर्ण भेटघाटको चर्चा गर्नुभएको छ । सदा झैं भेटघाटपछि निस्कन लाग्दा शिवध्वज बस्नेतले बीपीले माथि आउन भन्नुभएको छ भनी उहाँलगायत शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विपिन कोइराला र अरू केहीलाई बोलाई ‘मेरो अब धेरै दिन छैन, रोगले च्याप्दै ल्याएको छ' भन्दै भविष्यको नेपाल र नेपाली कांग्रेसको राजनीतिले भुल्न नहुने व्यावहारिक पक्षबारे भविष्यवाणी मिश्रित व्याख्या गर्दै ‘म पछि पार्टीलाई आन्दोलनमा लैजान अनेक कोसिस हुनेछ ।

आन्दोलन गर्नुभन्दा पहिले तिमीहरूले गम्भीर विचार गर्नू । विचार नपुर्‍याई आन्दोलन सुरु भयो भने त्यही आन्दोलनभित्र घुसेर हामी र राजतन्त्र समाप्त गर्ने कोसिस हुनेछ, बाह्य शक्तिलाई राजासँगको हाम्रो मेलमिलाप मन परेको छैन । यसलाई समाप्त गर्न अनेक प्रलोभन देखाइनेछ, तिमीहरू सतर्क रहनू ।' भन्नुभएको उल्लेख गर्नुभएको छ ।

सबैभन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ताको हत्या गर्ने माओवादीलाई अगाडि सारेर राजतन्त्र समाप्त पारेपछि काम सकिएको माओवादीसँगै कांग्रेसलाई निष्प्रभावी पार्ने खेल अब अन्तिम चरणमा प्रवेश गराइएको आभास धेरैलाई छ । बीपीले व्यक्त गर्नुभएको झन्डै ३४ वर्ष पुरानो भविष्यवाणी यथार्थमा पुग्न लागेको देखेर त्यसका प्रत्यक्ष साक्षी दाहाललाई असह्य भएर त्यो घटना बाहिर ल्याउनुभएको बुझ्न सकिन्छ ।

हुन त २०३३ सालपछिका बीपीका भाषण, बक्तव्य, अन्तर्वार्ता र पुस्तकहरूमा यो प्रसंग जताततै भेटिए पनि यहाँ उल्लिखित प्रसंगमा दाहाल स्वयं र उहाँसँगै आजका कांग्रेस सभापति र वरिष्ठ नेतासमेत उपस्थित रहनुभएको र यी सबै पात्र सक्रिय रहेको परिप्रेक्ष्यमा बीपीले त्यति महत्वव र भरोसा गरेर दिनुभएको निर्देशनको उल्लंघन किन गरियो भन्ने प्रश्न संगीन रूपमा सबैसामु उपस्थित छ । दाहालले देश र कांग्रेस कहाँ पुगेको छ भनी इतिहास सम्झाउने प्रयास गर्नुभएको छ।

होमनाथ दाहाल आफैंमा एउटा जिम्मेवार र परिपक्क व्यक्तिले यति लामो समयपछि अहिले यो सन्दर्भ उपस्थित व्यक्तिहरूको नामै उल्लेख गरेर राख्नुको पछाडि मुलुक र कांग्रेसको अस्तित्वमाथि मडारिरहेका कालो बादलको प्रत्यक्ष अनुभूति गरेर कांग्रेसलाई आफ्नो गलत नीति र मार्गको आभास गराई सोमा पुनर्विचार गर्न अभिप्रेरित गर्नेतर्फ समेत लक्षित रहेको हुनुपर्छ । उल्लिखित अभिव्यक्ति हेर्दा बीपी प्रजातन्त्र प्राप्तिको लागि कहिल्यै आन्दोलन गर्नुहुन्न भन्ने पक्षमा रहेको भन्न मिल्दैन ।

तर नेपालको जटिल भूराजनीतिक अवस्थितिका कारण बाह्य चलखेललाई प्रत्यक्ष अनुभव गर्नुभएका बीपी आन्दोलनमा बाह्य घूसपैठ, प्रलोभन र राजा र आफूबीच लडाउने प्रपञ्चसँग बढी नै चिन्तित देखिनुहुन्छ । यस्तो प्रलोभन र प्रपञ्च आफ्नो अगाडि राखिएको र आफू कसरी जोगिएको र सोही धैर्य आफूपछि कांग्रेसको नेतृत्वमा नरहला कि भन्ने चिन्ताका कारण कांग्रेसको भावी नेतृत्व सम्हाल्ने युवालाई सामूहिक रूपमा अगाडि राखेर उहाँले निर्देशन दिनु धेरै अर्थपूर्ण रहेको मान्नुपर्छ ।

दाहालको लेखको दुई दिनअगाडि २० फागुन २०७३ मा पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका (पूर्व) वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी यसै दैनिकमार्फत बीपीका जीवनभरका संघर्ष र अनुभवबाट आर्जित पुँजीको व्याख्यामा केन्द्रित रहँदै उहाँको अनुभवजन्य मार्गदर्शन सम्हाल्नुपर्ने बेला कांग्रेस त्यसबाट धेरै टाढा पुगी पूर्वपञ्चहरूको नेतृत्वमा रहेको आफूसंलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी त्यो स्थानमा आइपुगेको अनौठो संयोगको चर्चा गर्नुहुन्छ । डा. लोहनीले ०३४÷३५ सालतिरको बीपीसँगको भेटको स्मरण गर्दै ‘राजाले तपाईंलाई धेरै दुःख दिए किन फेरि मिल्ने कुरा गर्नुहुन्छ ? ' भनेर सोध्दा बीपीको जवाफ बढो सीधा र सरल थियो भन्दै, ‘राष्ट्रिय एकता गर्न राष्ट्रिय चरित्र भएका संस्था चाहिन्छ' भन्नुभएको उल्लेख गर्नुभएको छ । यसैसँग मिल्ने धेरै अभिव्यक्ति बीपीले दिनुभएको छ ।

जनमत संग्रहपछाडि सुविख्यात भारतीय पत्रकार भोला चटर्जीलाई दिनुभएको लामो अन्तर्वार्तामा उहाँ भन्नुहुन्छ, ‘मैले राजासँग र सार्वजनिक रूपमा पनि आफू राजावादी हुँ भन्ने गरेको छु र यो कुरा न म चाटुकार भएर भनेको हुँ न त कसैको डरधाकमा परेरै भनेको हुँ । राजाबाट ममाथि हुन सक्नेसम्मको खराबी भइसकेको छ । त्यसैले म निर्भय छु, राजासँग डराउनुपर्ने केही छैन । प्रलोभनको त कुरै भएन । राजाले मलाई के पुरस्कार के उपहार दिन सकिबक्सन्छ र ? प्रधानमन्त्रीको पद ? त्यसरी दिइएको प्रधानमन्त्रीत्व स्विकार्न म तयार छैन । पदको प्रलोभन अथवा फेरि जेल पर्ने खतरा या कुनै अझ ठूलो विपत्ति आइपर्ने डरले म राजाको पक्षमा भएको होइन । मैले राजाकै कारण अनेक किसिमको दुःख भोगेको छु । तैपनि म राजावादी नै छु किनभने राष्ट्रको रक्षा गर्न, देश बनाउन र प्रजातान्त्रिक राजनीतिक प्रणाली कायम गर्नसमेत हामीलाई राजाको सहयोग आवश्यक हुन्छ ।' (बीपी कोइरालाः एक क्रान्तिकारी व्यक्तित्व, पृष्ठ १३४) ।

बीपीबाट व्यक्त राष्ट्रप्रेम र त्यसको लागि जस्तोसुकै आलोचना र कष्ठ सहजै स्विकार्ने उच्च नैतिक र राजनीतिक चरित्रको पूर्णरूपेण खडेरी किसुनजीको अवसानपछि नेपाली राजनीतिमा व्याप्त छ भन्दा अतिशयोक्ति नहोला । देश बनाउँछु भन्ने जोकोहीको लागि वास्तवमा राष्ट्रिय स्वार्थभन्दा अर्को कुनै स्वार्थ रहनु हुँदैन किनकि राष्ट्रको स्वार्थभन्दा अरू स्वार्थ ठूलो ठान्नेले राजनीतिलाई बिनामेहनत र लगानीको व्यापार बनाएर छोड्छन् । देश बनाउने चाहनालाई तुच्छ सम्झिएर म, मेरो परिवार, मेरो गुट, पैसा, सत्ता र यसको लागि अरू सम्पूर्ण विषयलाई गौण बनाएर पार्टी, यसका कार्यकर्ता र मतदाताको चाहना र ताकतको चरम दुरुपयोग भइरहेको आजको नेपालमा माथि उल्लिखित बीपीका विचार दन्त्यकथा भएका छन् ।

लोहनीले ‘बीपीको विचारलाई समात्ने दल नेपाली कांग्रेस नभएर राप्रपा हुन पुगेको छ' भन्नेसमेत उल्लेख गर्नुभएको छ । सतहीमा हेर्दा त्यसमा सत्यताको अंश भेटिन्छ र राप्रपाको ठूलो कार्यकर्तापंक्ति र मतदाता इमानदारपूर्वक त्यसमा विश्वास गर्दछन् । तर यथार्थमा आजको राप्रपाले भन्ने गरेको राजसंस्था र देश बचाउनको लागि संविधानको परिधि र नियन्त्रणभित्रको बीपीको आस्थाको राजसंस्थाको बीचमा ‘हात्ती र हात्ती छाप चप्पल उस्तै-उस्तै हो' भनेजत्तिकै समानत र फरक रहेको व्यवहारले देखाउँछ ।

लोहनीले २० फागुनको आफ्नो लेख छापिएको मात्र नौ दिनपछाडि राप्रपाबाट आफू पूर्णरूपेण अलग हुँदै दिनुभएको वक्तव्यले समेत यसलाई पुष्टि गरेको छ, जसमा उहाँले ‘अवसरवादी र अराजक प्रवृत्तिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुँदै गएको छ । एकता अधिवेशनपछिको राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झुन्डको रूपमा मात्र प्रयोग हुन थालेको छ । राजसंस्था र हिन्दु धर्मप्रतिको भावनात्मक समर्थन सत्ता स्वार्थको लागि मात्र प्रयोग हुँदैछ । भ्रष्टाचारप्रति आँखा चिम्लिने संस्कारले जग बसाल्ने प्रयास भइरहेको छ' उल्लेख गर्नुभएको छ ।

देश बनाउँछु भन्ने जोकोहीको लागि राष्ट्रिय स्वार्थभन्दा अर्को कुनै स्वार्थ रहनु हुँदैन । किनकि राष्ट्रको स्वार्थभन्दा अरू स्वार्थ ठूलो ठान्नेले राजनीतिलाई बिनामेहनत र लगानीको व्यापार बनाएर छोड्छन् ।

आज राप्रपाको नेतृत्वमा रहेका पूर्वपञ्चहरूसँग बीपी र कांग्रेसले बहुदलीय प्रजातन्त्रको लागि लामो र कठिन संघर्ष गर्नुपरेको थियो । निर्दलीयता निर्विकल्प छ भनी राजालाई उचालेर सत्ताको लागि मात्र राजनीति गरेका उनीहरूमध्येका आजका राप्रपा अध्यक्ष झनै अनुदार मानिनुहुन्छ । किनकि उहाँले २०४७ सालको संविधानपछिको राजाको असंवैधानिक शासनमा समेत आाफूलाई सत्तामा पुर्‍याउनुभएको थियो भने लोहनीलगायत धेरैले त्यसको विरोध गर्नुभयो । दोस्रो संविधानसभामा राप्रपा (नेपाल) ले जारी गरेको घोषणापत्रमा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको स्थापना आफ्नो बटमलाइन रहेको र पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ लाई सार्वजनिक बिदासहित राष्ट्रिय एकता दिवस कायम गरिने प्रतिबद्धता जनाइएका कारण संविधानसभाको चौथो शक्ति बन्न सफल भएको थियो । एकमत गाछी र एकमत बाछीमा भन्दै सदा कांग्रेसलाई मत दिने धेरै मतदाताले समेत समानुपातिकमा उसलाई मत दिए । तर निर्वाचनपछि बनेको सरकारमा शक्तिशाली उपप्रधानमन्त्री हुँदासमेत पुस २७ लाई सम्मान गराउने दृढता देखाइएन।

सिद्धान्तप्रतिको आस्था भएको भए पुस २७ को सम्मान नभए सरकारबाट राजीनामा गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्नुपर्थ्याे । २०४३ को काठमाडौं नगरपञ्चायतको निर्वाचनमा मेयर र उपमेयरमा विजयी कांग्रेसका उम्मेदवार हरिबोल भट्टराई र तीर्थराम डंगोलले पुस १ गते कालो दिन भएकाले पञ्चायती जयन्ती मान्न नसक्ने घोषणा गरेर आफ्नो पद गुमाएको उदाहरण हाम्रो अगाडि नै छ । आस्थाभन्दा ठूलो पद होइन भन्ने अनुपम उदाहरण यसलाई मान्न सकिन्छ ।

त्यसैगरी हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनमा प्रस्तावित विधानमा राजसंस्थाको एक शब्द उच्चारित थिएन भने हिन्दु राष्ट्र स्थापनालाई समेत हटाई ‘सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको नेपाललाई सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने' भन्ने मात्र उल्लिखित थियो । महाधिवेशनमा देशव्यापी रूपमा आएका कार्यकर्ताको व्यापक आलोचना र संशोधन मागपछि मात्र प्रस्तावनामा यी विषयहरू उल्लेख गरिएबाट कार्यकर्ता एकातिर र नेता अर्कोतिरको अवस्था राप्रपामा देखिन्छ ।

हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाका कारण निर्वाचनमा मत पाएको र महाधिवेशनमा कार्यकर्ताको यति ठूलो माग देखिएपछि यसको प्राप्ति सत्तारोहणको अनिवार्य सर्त बनाउनुपर्नेमा विशुद्ध सत्तासुखमा मात्र पुनः अर्जुनदृष्टि पुर्‍याइएको छ । नेपालको संविधानको धारा २७५ बमोजिम जनमत संग्रहबाट यसको टुंगो लगाउनुपर्ने र पुस २७ को विषयलाई सर्तको रूपमा अघि सार्न सकिन्थ्यो । तर राप्रपा नेतृत्वले त्यो मुख्र्याईं कहिल्यै गर्दैन किनकि यी दुई विषयको प्राप्ति वा निरोपणले उसको भोट पाउने भाँडो बन्द गरिदिन्छ । त्यसैले राप्रपालाई दुईतिहाइ बहुमत दिनुस् यी दुवै एजेन्डा संविधानमा प्रवेश गराउँछौं भन्ने आकाशको फल आँखा तरी मरको गीत उसले गाइरहन्छ ।

कांग्रेसभित्र ठूलो जनमत उल्लिखित दुई विषयको पक्षमा भएकाले कार्यकर्ताको तहमा छलफलै नगराई चलाखीपूर्ण ढंगले यी विषय थोपर्ने काम भएको हो । कांग्रेसको भर्खरै सम्पन्न अधिवेशन अगाडिदेखि नै प्रस्ट या सांकेतिक रूपमा कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइरालाका अभिव्यक्ति र उहाँहरूले पाउनुभएको कार्यकर्ताको अपार समर्थनबाट समेत त्यसको पुनर्पुष्टि भइरहेको छ । होमनाथ दाहालको लेखमा उल्लिखित बीपीका भनाइ त्यहाँ उपस्थित अरूलाई सम्झना छ कि छैन ? छ भने के प्रतिक्रिया होला ?

के उहाँहरूले आज अवलम्बन गरिरहेको मार्ग बीपीको मार्गदर्शनअनुरूपको छ ? नढाँटी भन्नुपर्दा आज अवलम्बन गरेको मार्गले देश र पार्टी हिजोभन्दा आज बलियो छ त ? वा अब विभिन्न प्रतिबद्धताका कारण पछि फर्किन नसक्ने अवस्थामा पुगियो भन्ने लाचारी मात्र छ ? कूतुहलता हामी सबैमा जागेको छ, किनकि कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलले मात्र दाहालले स्मरण गराउन चाहनुभएको बीपीसँगको उल्लिखित प्रसंग सम्झनुभएमा कांग्रेसको मात्र होइन, नेपालको भविष्यले आजको अनिश्चतता र अराजकताबाट मुक्तिको यात्रा मात्र तय गर्ने छैन, यसको मौलिकतासहितको आत्मगौरवको पनि पुनस्र्थापना हुनेछ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.