सप्तरी घटना नदोहोरियोस

 सप्तरी घटना नदोहोरियोस

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि तराई-मधेसमा हिंसाको कारणले धेरैको मृत्यु हुन गयो । सर्वसाधारणदेखि सुरक्षाकर्मीसमेत गरी दर्जनौं नागरिक निर्मम रूपमा मारिए । तराईका गौर, सिराहा, कैलाली हुँदै पछिल्लो हिंसात्मक घटना सप्तरीको राजविराजमा भएको छ । राजनीतिक पार्टीहरूका विरोध कार्यक्रममा हिंसा भडकिँदा सुरक्षाकर्मीको कारबाहीमा परेर राजनीतिक पार्टीसँग कुनै सरोकारै नभएका सर्वसाधारणले ज्यान गुमाउने गर्छन् । त्यसो त कसैले पनि ज्यान गुमाउनु हुन्न ।

अहिंसात्मक या शान्तिपूर्ण विरोध कार्यक्रममा बन्दुक चल्नुपर्ने स्थिति किन पैदा हुन्छ ? सप्तरी घटना नियाल्दा के त्यसरी बन्दुक चलाउने स्थिति सिर्जना भएको थियो ? के गृहमन्त्री, सुरक्षा निकाय र एमालेले दाबी गरेअनुसार बल प्रयोग नगरिएको भए गौर घटना हुन सक्थ्यो ? यी दुवै फगत आशंका र बहाना मात्रै थिए कि तथ्यमा पनि आधारित ? पंक्तिकार चिकित्सक भएको नाताले उसको हृदयलाई व्यक्ति अनाहकमा मारिनु, अपांग हुनुले व्यथित तुल्याउँछ ।

पार्टीहरू खेलको नियमभन्दा अलग किसिमले सत्ता प्राप्तिमा उद्यत् हुँदा पनि हिंसा भड्केर निर्दोषले ज्यान गुमाउने गरेका छन् । सत्तामा रहनेहरूमा पनि सर्वसत्तावादी सोचाइ हाबी हुनु अनि लोकतान्त्रिक पद्धतिबाट जनताको विश्वास आर्जन गर्नुभन्दा अरू नै उपायद्वारा सत्तामा टिकिरहने प्रवृत्ति विद्यमान देखिन्छ ।

शान्तिपूर्ण भनी घोषित आन्दोलनले हिंसात्मक रूप लिई उत्तेजना फैलिँदा, अनाहकमा व्यक्तिको ज्यान जाँदा र तिनको मृत्यु सम्बद्ध पार्टीका निम्ति राजनीतिक मसला बनिदिँदा स्थिति झन् जटिल बन्ने गर्छ । थप आन्दोलन या बन्द-हडताल आह्वानका निम्ति त्यो कारण बनिदिन्छ । घटनाले आगोमा घिउको काम गरिदिन्छ, झनै उत्तेजना र आक्रोश पैदा हुन्छ । सर्वसाधारण र निहत्था व्यक्ति जो अरूमाथि आक्रमणमा उद्यत् नै छैनन्, स्वास्थ्यकर्मी र निर्दोष प्रहरी अधिकृत या जवान जो आफ्नै सहकर्मी या मातहतबाट कसैको मृत्यु नहोस् भनेर क्रियाशील हुन्छन्, तिनीहरूकै मृत्यु हुनु सबैभन्दा दुःखद् पक्ष हो ।

राज्य र व्यक्तिहरूको लागि अरूको जीवनको मूल्य कम हुन जाँदा पनि अनाहकमा ज्यान जाने गर्छ । सुरक्षाकर्मीहरूलाई गोली चलाउने आवश्यकता सिर्जना हुन जाँदा पनि शरीर छलनी नगर्ने सकभर चोट मात्रै पुग्ने गोलीको प्रयोग सम्भव हुन सक्छ कि ? यतातिर सोच्न आवश्यक छ । प्रहरीले लाठीचार्ज गर्दाका क्रममा एउटा उदेकलाग्दो दृश्य देखिन्छ— एकजना निहत्था प्रदर्शनकारी या बटुवालाई घेरेर धेरैले एकैपटक प्रहार गर्छन् ।
एमालेको मेची महाकाली अभियान आफैंमा उपयुक्त र जायज हुन सक्छ, तर स्थितिको पूर्व जानकारी हुँदाहँदै राजविराजमा त्यो कार्यक्रम उपयुक्त हुन्थ्यो कि हुन्थेन ? त्यसैगरी मोर्चाले पनि सोच्नुपथ्र्यो । त्यो कार्यक्रममा दोहोरो झडप भई त्यो नरोकिएको भए उसका लागि त्यो झनै प्रत्युत्पादक पो बन्थ्यो कि ? एमालेको हजारौंको जुलुसमा पनि आखिर तराई-मधेसकै जनता पनि थिए । लडाइँ तराई-मधेसवादीबीच पनि चल्न सक्थ्यो, जुन दुवै पक्षको लागि दुर्भाग्यपूर्ण बन्न सक्थ्यो ।

तराईमा आर्थिक शोषण छ, भेदभाव छ, असमानता छ, भ्रष्टाचार या त्यहाँ कुशासन व्याप्त छ, जबकि त्यहाँका राज्यका एकाइहरूमा तराई-मधेसकै नागरिक ज्यादा छन्, बहुसंख्यक प्रशासक, इन्जिनियर, चिकित्सकहरू सबैजसो तराईकै छन् । सामाजिक न्यायको स्थिति झनै कमजोर छ, अझै पनि जातीय उत्पीडन कायम छ । एक्काइसौं शताब्दीमा पनि अभिशापको रूपमा रहेका दुई विकृति सुदूरपश्चिममा छाउपडी अझै पनि कायम भएजस्तै तराईमा दहेज प्रथा हट्न सकेको छैन ।

दुई दसकपछि नयाँ स्वरूपसँगै सम्पन्न हुन लागेको स्थानीय चुनावमा तराई एवं मधेसवादीले भाग लिनु नै उनीहरूको हितमा हुनेछ । अब तराईका जनताका निम्ति सुशासन अपरिहार्य छ ।

जमिन समथर भएकाले यातायातलगायतका पूर्वाधार निर्माण कार्य तराईमा सहज हुनुपर्ने हो । तराई-मधेसका सहरको फोहोरमैला निस्कासन, सरसफाइ, बाटोघाटो जस्ता विषयमा पनि अपेक्षित विकास हुन नसक्नुमा दोषी को छ ? यसको लागि जिम्मेवारहरूको अकर्मण्यता र भ्रष्ट प्रवृत्ति जिम्मेवार छ । तराई-मधेसमा जनसंख्याको चापसँगै रोगको प्रकोप पनि बढी छ, तर सो अनुपातमा किन सार्वजनिक अस्पताल या स्वास्थ्य संस्थाहरू विकसित हुन सकेनन् ? किन जनताका पक्षमा जारी हुने नीति-निर्देशन त्यहाँ लागू हुँदैनन् ? आफ्नो सार्वजनिक कार्यस्थलको सुधारमा किन त्यहाँ कार्यरत जनशक्तिहरूको चासो रहन्न ? किन मानवीय संवेदना तिरोहित झै प्रतीत हुन्छ ? किन त्यहाँ दातृ निकायबाट जनताका निम्ति प्रदानित सेवाका साधनहरूको सदुपयोग हुन्न ?

तराई-मधेसवादको नेतृत्व गर्ने नेताहरू विखण्डनकारी छैनन्, उनीहरूमा राजधानी काठमाडौंप्रतिको आकर्षण छ भन्ने बलियो प्रमाण पनि प्रस्तुत गर्न सकिन्छ । उनीहरूमध्येका प्रशस्त सम्पत्ति आर्जन गर्नेहरूले राजधानीमा बहुमूल्य घरघडेरी या चल-अचल सम्पत्ति जोडेका छन् । उहाँहरूमा विखण्डनकारी प्रवृत्ति रहेको भए सायद उनीहरूले राजधानीमा त्यत्रा विशाल सम्पत्ति जोड्ने थिएनन् होला । पंक्तिकारले प्रवृत्तिमा उनीहरू मात्रै अलग रहुन् भन्ने पनि अपेक्षा राख्दैन । देश र जनतालाई केन्द्रमा राख्नभन्दा व्यक्तिगत या निहित स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्ति राष्ट्रिय पार्टीका नेताहरूमा नरहेको हँदो हो त मुलुक कहाँ पुगिसकेको हुने थियो ।

संघीयता नेपालको लागि उपयुक्त हुन पनि सक्छ । तर संघीयताको नाममा मुलुक कहिलेसम्म अस्थिरताको बन्धक बनिरहने ? कहिलेसम्म निर्वाचित स्थानीय निकायको अभावमा विकास र निर्माण अवरुद्ध भइरहने ? कहिलेसम्म शान्ति समिति, सर्वदलीय समितिको नाममा जनताबाट उठाइएको कर निहित स्वार्थका लागि दुरुपयोग हुन दिने ? तर संघीयता अबको मुलुकको वास्तविकता भइसकेको र स्थानीय संरचनासहित स्थानीय संरचनाको चुनावको घोषणासमेत भइसकेको स्थितिमा संसारकै उच्चतम् लोकतान्त्रिक अभ्यास स्थानीय एकाइको चुनावमा भाग लिनु नै सबै भौगोलिक क्षेत्रका जनताको हितमा हुन्छ । तराई- मधेसका निम्ति त स्थानीय निर्वाचित निकायको जरुरत झन् बढी छ ।

स्थानीय एकाइहरू प्रशासनिक, न्यायिक र विकाससम्बन्धी अधिकारले सम्पन्न हुन गए त तराईभाषीले भोग्नुपरेको भाषिकलगायतका अप्ठ्याराहरू हट्न गई वैयक्तिक एवं सामूहिक काम गर्न सहजता मिल्नेछ । नागरिकता, मालपोत, भूमिसुधारसम्बन्धी कार्यहरूमा सहजता मिल्नेछ । अहिलेसम्म कायम भएको ७५ जिल्लाहरूको सट्टा ७४४ कायम हुँदा जनतालाई धेरै नै अनुकुलता मिल्नेछ ।

जहाँसम्म मधेसी मोर्चाहरूले माग गरेको संविधान संशोधनको सबाल छ, स्थानीय एकाइको निर्वाचनमा उनीहरूको सहभागिताले त्यसको झनै पुष्टि गर्नेछ । तराई-मधेसमा सम्पन्न हुने स्थानीय चुनावमा व्यापक सहभागिताबाट तराई-मधेस जनताको भावना मुखरित हुन सक्छ । आखिर संविधान गतिशील हुन्छ, आवश्यकताअनुसार त्यसमा संशोधनको पनि गुन्जायस पनि रहन्छ ।

तराई-मधेसमा सम्पन्न हुने स्थानीय चुनावको माध्यमबाट जनताका निम्ति सुशासन र सहजता मात्रै हासिल हुने होइन, संविधानमा आवश्यक पर्ने संशोधनका निम्ति जनमत तयार गर्ने अवसर पनि मिल्छ । दुई दसकपछि नयाँ स्वरूपसँगै सम्पन्न हुन लागेको स्थानीय चुनावमा तराई एवं मधेसवादीले भाग लिनु नै उनीहरूको हितमा हुनेछ । अब तराईका जनताका निम्ति सुशासन अपरिहार्य छ । आखिर उनीहरूले अहिले कायम उच्चतम् राजनीतिक व्यवस्थाको विकल्प खोजेका पनि होइनन् । सप्तरीको जस्तो घटना अब नदोहोरियोस्, मानवता उजागर होस् । सबैमा विवेक जागृत होस् ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.