गाउँमै ‘राइम्स'

गाउँमै ‘राइम्स'

विराटनगरः सहरका धेरै भाइबहिनीहरू आफ्नै स्कुलमा प्रोजेक्टरमा ‘राइम्स' हेर्दै लेखपढ गर्छन् । ‘राइम्स' का गीत सुन्दै साथीभाइसँगै पढ्दा कम्ता रमाइलो हुँदैन । वान टुका अंक र एबीसीडीका अक्षरहरू प्रोजेक्टरको पर्दामा आफैं दौडदै कुद्दै गरेको दृश्य पनि हेर्न पाइन्छ । सहरका ‘मन्टेश्वरी' स्कुलमा ‘मिस र म्याडमहरूले' गीत बजाउँदै नाच्दै र गाउँदै पढाए जस्तै गाउँमा पनि यस्तै विधिबाट पढाइन थालेको छ ।

सायद तिमीहरूलाई पनि यस्तो विधिबाट लेखपढ गराइँदा निकै रमाइलो लाग्छ होला ! जनावर, रङ, रूखबिरुवा आदि धेरै वस्तु दृश्यसहित चिन्न पाउँदा त रमाइलो हुने नै भयो । अझ नेपाली र अंग्रेजी भाषाका ‘राइम्स' हेर्दै नाच्न पाउँदा त तिमीहरू झनै मज्जा मान्छौं होला ।

सहरमा मात्र सीमित रहेको पढाउने यस्तो विधिबाट हिजोआज गाउँका भाइबहिनीले पनि फाइदा लिन थालेका छन् । मोरङका भित्री गाउँसम्म पनि लेखपढको यस्तो विधि पुगेको छ । त्यहाँका सामुदायिक÷सरकारी विद्यालयमा टाढाटाढाबाट आउने विद्यार्थीका लागि प्रोजेक्टरको व्यवस्था गरिएको छ । त्यसले भित्तामा अड्याइने सेतो पर्दामा उज्यालो प्रकाश फ्याँकेर भिडियो देखाउँछ । गाउँका भाइबहिनीले पनि हिजोआज ‘राइम्स' हेर्न पाएका छन् ।

केही अघिसम्म कतिले त कम्प्युटर र ल्यापटपको अनुहारसम्म देखेका थिएनन् । तर, अहिले भने पिछडिएका भनिने गाउँका धेरै समुदायका भाइबहिनीहरू कम्प्युटर खोल्न, गीत बजाउन र ‘राइम्स' गाउन जान्ने भएका छन्।

झोराहाटको सरस्वती उच्चमाविको कक्षा २ मा पढ्ने पवित्रा सापकोटालाई भिडियो हेर्दै पढ्न निकै रमाइलो लाग्छ । ‘म त राइम्सको कुनै पनि कक्षा छाड्दिनँ,' उनले भनिन्, ‘हामी ताली बजाएर र एकअर्काको हात समाउँदै घुम्दै नाचगान पनि गर्छौ ।' नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीलाई शिक्षक रामप्रसाद न्यौपानेले अंग्रेजी भाषा सिकाउँछन् । ‘राइम्स'मै लय हाल्दै गीत गाउँछन् । विद्यार्थीसँगै शिक्षक न्यौपानेले पनि कम्मर मर्काउँदै नाच्छन् । भाइबहिनीहरूले पनि ताली बजाउँछन् । विद्यालयमा इन्टरनेटको समेत सुविधा भएकोले कम्प्युटरमा ‘सेभ' गरिएका बाहेक यूट्यूबबाट पनि ‘राइम्स' देखाइन्छ ।

जिल्लाका गाउँमा अवस्थित थोरै विद्यालयले मात्र यस्तो विधिबाट पढाउन सकेका छन् । मोरङको कुरा गर्ने हो भने जम्माजम्मी सातवटा विद्यालयले कम्प्युटर र प्रोजेक्टर प्रयोग गर्छन् । यसरी पढाउन थालेको पनि धेरै समय भएको छैन् । सरस्वती उच्च मावि झोराहाट, जनता उमावि कोसीहरैंचा, लक्ष्मी निमावि सिध्राहा, बेगनलाल निमावि लखन्तरी, सरस्वती उमावि शिशवनी बडहरा, लक्ष्मी मावि डंग्राहा र सार्वजनिक मावि बैजनाथपुरमा निजी विद्यालयकै जस्तो सुविधा दिएर पढाउन थालिएको छ । ती विद्यालयका कक्षाकोठामा न्यानो कार्पेट बिच्छ्याइएको छ । कम्प्युटर ल्याब राखिएको छ । कक्षाकोठामा छिर्दा जुत्ताचप्पल बाहिरै खोल्नुपर्ने नियम लगाइएको छ।

सन् २०११ मा ती विद्यालयमा बालमैत्री अभियान थालनी भएयता नै तल्लो कक्षामा पनि अडियोभिडियोको माध्यमबाट पढाउन थालिएको हो । यस्तो कक्षा सञ्चालन गर्न वल्र्डभिजन नामक संस्थाले कम्प्युटर, प्रोजेक्टर,इन्भर्टर र सोलार सहयोग गरेको छ । संस्थाका पूर्वाञ्चल प्रमुख टंक सुवेदी भन्छन्, ‘सानो सहयोगले गाउँका धेरै विद्यार्थीले सहरमा दिइने जस्तै सुविधा पाएका छन् ।' जम्माजम्मी २८ वटा विद्यालयलाई सहयोग गरिए पनि थोरैले मात्र राम्रो गर्न सकेको सुवेदीले बताए ।

प्रोजेक्टरबाट तल्लो कक्षामा पढाउन थालिएपछि गाउँका विद्यालयमा पनि विद्यार्थीको थामिनसक्नुको भीड बढ्न थालेको छ । बेगनलाल निमाविका प्रधानाध्यापक कृष्णहरि घिमिरे भन्छन्, ‘धेरै आदिवासी जनजाति विद्यार्थीलाई विद्यालयसम्म तान्न यो अभियान निकै सहयोगी भएको छ । खेलकुदमा रमाउन र राइम्स हेर्दै पढ्नकै लागि पनि सानासान नानीहरू विद्यालयसम्म आउन थालेका छन् ।' लखन्तरीमा धेरैजसो पिछडिएको सरदार समुदायका विद्यार्थी पढ्न आउँछन् । पहिले पहिले त विद्यालय आएर पनि बीचैमा पढाइ छाड्नेहरू धेरै हुने गरेको प्रअ घिमिरेले बताए । ‘हिजोआज भने भिडियो कक्षाले धेरै विद्यार्थीलाई विद्यालयमा अड्याएको छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.