डेन्टल टुरिजम
विदेशी भित्र्याउने लक्ष्यका साथ देशका विभिन्न भागमा दीप प्रज्ज्वलन, सानाठूला महोत्सव, छलफल, गोष्ठीलगायत सांस्कृतिक झाँकी तथा प्याराग्लाइडिङ र स्काई शो जस्ता खेलकुद हुन्छन्। आर्थिक मेरुदण्डको रूपमा रहेको पर्यटनलाई मनोरञ्जन क्षेत्रमा मात्र सीमित गरिएको छ। त्यसैमा पर्यटन वर्ष मनाउँदा पनि बारम्बार छुटेको क्षेत्र भनेको सेवामूलक चिकित्सा क्षेत्र हो ।
दक्षिण एसियामा आँखा र मुटु उपचारमा चर्चित नेपाललाई दन्त चिकित्सा उपचारका रूपमा पनि प्रसिद्ध बनाउन सकिने प्रशस्त सम्भावना छन् । हुन त विश्वमा पर्यटक अाकर्षित गर्न कतै समुद्र किनार, कतै जुवाघर, ट्रेकिङ, दृश्यावलोकन त कतै रात्रिजीवन, यौन व्यवसायको विकास गरेको पाइन्छ । दुई दसकको अन्तरालमा नेपाली दन्तचिकित्साले निकै फट्को मारिसकेको छ । नेपालको दन्तचिकित्सामा हुने निदान, उपचारको लागि आवश्यक सरसामान युरोप, अमेरिकाबाटै ल्याइए पनि उपचार पद्धति सस्तो, गुणस्तरीय छ केवल हात मात्रै नेपाली दन्तचिकित्सकको छ । त्यसैले होला नेपालको दन्तचिकित्सा क्षेत्रप्रति केही नेपालीको त कुरा छोडौं, विदेशीको समेत विश्वास लिई ध्यान केन्द्रित गर्न सफल भएको पाइन्छ ।
हलिउड त हैन, बलिउडजत्तिकै तथा कलकत्ता, दिल्लीभन्दा उच्च गुणस्तरको दन्त उपचार कलिउडमा उपलब्ध छ। वार्षिक जापानी, अमेरिकी, जर्मनीलगायतका पुगनपुग पाँच हजार विदेशीले नेपालमा सामान्य तथा कस्मेटिक उपचार गराउँछन् भने आकस्मिक दन्त उपचार त २० हजारजतिले लिने गरेको अनुमान छ।
विश्वमा उपलब्ध ९९ प्रतिशत बढी दन्त सेवा नेपालमै उपलब्ध भइसकेका छन् । सहरमा सुन्दरताको चाहना राख्ने र स्वास्थ्य जनचेतना भएका ग्राहक र बिरामी बढी हुने भएकाले आधुनिक दन्त उपचारका ९० देखि ९५ प्रतिशत उपचार सहरकेन्द्रित छन्, जसमा सौन्दर्यसम्बन्धी उपचार तथा उच्च गुणस्तरका दाँत राख्ने बढी छन् । जति महँगो त्यति राम्रो भन्ने कुरा सौन्दर्यको रूपमा होला, तर कम पैसामा उपलब्ध हुने उपचार विधि प्रयोग गर्दैमा त्यो कमसल हुन्छ भन्ने हुँदैन भन्ने दाँतमा चाँदी भराइमा लागू हुन्छ।
आधारभूत दन्त उपचार दाँत निकाल्ने, भर्ने, सफा गर्ने र राख्ने झिक्ने खालका सामान्य नक्कली दाँत जस्ता उपचार गाउँघरमै दक्ष, अर्धदक्ष र अदक्षद्वारा भए पनि उपलब्ध भइरहेका छन् । नजानेर, जानेर र नेपाली चिकित्सकप्रति विश्वास नभएर तथा आफू ठूलो र सम्पन्न भएको देखाउन पनि विदेश जाने वर्ग पनि छन्, जसलाई सायद हामीले कहिल्यै रोक्न सक्दैनौं पनि । हामीकहाँ पनि मेडिकल टुरिजमको सम्भाव्यता हुँदाहुँदै न त योजना छ न त पहल नै गरिएको छ । नेपालमा चिकित्सा क्षेत्रमा अध्ययनको लागि विदेशीहरू आइरहे पनि त्यसमा छिमेकी मुलुकका मात्र छन् ।
यहाँका प्रशासनिक उल्झन, राजनीतिक अस्थिरता तथा सांगठनिक विचलनले सोचेजस्तै विदेशी विद्यार्थीहरू आकर्षण गर्न सकिएको छैन । त्यस्तै पर्यटन आकर्षण गर्न सक्ने सम्भाव्य भएको दन्त चिकित्सा सबैबाट ओझेलमा छ, जसको जानकारी उपलब्ध गराउन सके खासगरी युरोपियन, अमेरिकन र पश्चिमालाई आकर्षण गर्न सकिन्थ्यो भन्नेमा सरोकारवालाहरू सबैको दाबी छ, जुन शतप्रतिशत सत्य पनि हो ।सरकारले पूर्वाधार विकास, तालिम, अध्ययन, पुनर्ताजगी र नियमन एकातिर गर्नुपर्छ भने अर्काेतिर विदेशमा तथा आएका पर्यटकमा यहाँ उपलब्ध सेवाको विशेषताका बारेमा प्रचार–प्रसार गर्नुपर्छ । परिणामतः देशको स्वास्थ्य सेवा र आर्थिक क्षेत्रमा टेवा पुग्नेमा कसैको दुईमत छैन ।
थाइल्यान्डको अद्वितीय नमुनाको रूपमा रहेको मेडिकल टुरिजम विश्व प्रसिद्ध नै छ । बैंकक, बम्बै, भेलोर, दिल्ली, सिगांपुरमा प्याकेजमा तुलनात्मक सस्तो लागे पनि जाने–आउने टिकट, त्यहाँ उपचार र भर्ना भई अस्पतालमा बस्दा लाग्ने खर्च नेपालका सबैभन्दा महँगा अस्पतालमा लाग्ने खर्चभन्दा कम महँगा हुनै सक्दैन । हङकङ र सिंगापुरले यस्ताखाले पर्यटकलाई व्यावसायिकरूपले अाकर्षित गर्न दन्त चिकित्सा उपचारमार्फत मेडिकल टुरिजम विस्तार गर्न थालिसकेका छन् ।
नेपालको दन्त उपचार सेवा अत्यन्त सस्तो, किफायती, विश्वसनीय र भरपर्दाे त छ नै, त्यसैमा हरेक सेवामा सहजता र नेपाली कलात्मक हात पनि छ । विदेशमा लिइने दन्तसेवाको शुल्क र नेपालमा लिनेको अन्तर आकाश–जमिनको छ भन्ने साक्षीको रूपमा विदेशमा बस्ने नेपाली, गैरआवासीय नेपाली तथा यहाँ उपचार गराएका हजारौं विदेशी छन् । उनीहरूका अनुसार विदेशको लाग्ने उपचार खर्चमा त यहा“ दा“तको उपचारको अलावा आउनेजाने तथा नेपालमा भेटघाट गर्न पुग्छ । हाल सरकारको उपयुक्त भौतिक संरचना, नीति नियमन, निजी क्षेत्रको लगानी र दन्त चिकित्सकको सेवा र तत्परता एकैसाथ भए पर्यटकलाई मनोरञ्जनको लागि मात्र नभई सेवाका कारणले पनि पशुपतिको जात्रा सिद्राको व्यापारको रूपमा निम्त्याउन सकिन्छ ।
निजी अस्पताल र क्लिनिकहरूको बाहुल्य तथा नेपाल मेडिकल काउिन्सलमा दर्ता भएका १९ सय बढीमध्ये आधा मात्र नेपाल र ९० प्रतिशत काठमाडौं उपत्यकामै सीमित रहँदा त यस्तो छ भने ब्रेन ड्रेन रोके तथा सर्वसुलभ, सक्षम छुट्टै दाँतको सरकारी अस्पताल खोल्न सके सरकारबाट नीतिगत सहयोग र निरन्तर निगरानी भए झनै धेरै पर्यटक र विदेशी पैसा भिœयाउन सकिन्थ्यो । डेन्टल टुरिजमको अवधारणा ल्याए पर्यटक भिœयाई पर्यटन व्यवसायमा थप टेवा अवश्य पनि पुग्ने थियो ।
विश्व मुख स्वास्थ्य दिवस मार्च २० लाई सप्ताहव्यापी मनाउने क्रममा न त सरकार न त डेन्टल एसोसिएसन तथा सरोकारवाला कसैले दन्त पर्यटनको उजागर नगरेको देख्दा नजिकको तीर्थ हेंला भनेजस्तै नेपाली दन्त चिकित्सा सेवामा रहेको गहना तथा महत्वलाई चिन्न नसकेको जस्तो आभास भएको छ । तसर्थ एक दिन, सप्ताह नभई वर्षैेभरि निरन्तर जानकारी तथा दबाबको जरुरी छ ।
–वीर अस्पताल काठमाडौंका वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुनुहुन्छ ।