मधेसको असफलता

मधेसको असफलता

हरेक पाँच वर्षमा स्थानीय निकायको निर्वाचन हुनैपर्ने लोकतान्त्रिक मान्यता छ, तर पनि हामीकहाँ स्थानीय निर्वाचन नभएको लगभग २० वर्ष पुगिसकेको छ । यस अवधिमा मुलुकमा निर्वाचन गर्न नसके पनि महत्वपूर्ण काम भने भएका छन् । बाह्रबर्से द्वन्द्व समाधान गर्नुका साथै संविधानसभामार्फत संविधान निर्माण भयो । अढाई सय वर्षीय राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना भयो । मुलुकमा एकात्मकबाट संघात्मक व्यवस्था कायम भयो । आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन तोकिएको छ । मधेसी मोर्चाले संविधान संशोधन नभई चुनाव हुन नदिने अडान राख्दै आएको छ, तर सरकार चुनाव गर्ने मनस्थितिमा छ । सरकार र विपक्षी दलको यो रस्साकस्सीले स्थानीय चुनाव होला र नहोलाको दोसाँधमा पुगेको छ ।

मधेसवादी दलहरूले विरोधसँगै उम्मेदवार चयन, दल दर्ता, संगठन विस्तार आदि काम गरिरहेका छन्, जुन अन्यथा होइन । लोकतन्त्रमा विश्वास गर्ने शक्ति चुनावबाट भाग्न मिल्दैन । चुनाव नजिकिँदै जाँदा दलहरूका बीचमा चलेको सकारात्मक छलफलले चुनाव हुने सम्भावना बढाएको छ । अहिले उपेन्द्र यादवजस्ता प्रमुख नेताले बलियो संघीय आयोगमा लचिलो देखेपछि अब चुनावको मुख्य अवरोध हट्ने संकेत देखिन्छ । किनभने संघीय आयोग बनाउनमा न सरकारलाई कुनै समस्या छ न त विपक्षी दललाई नै ।

संघीय आयोग बनाउनु संविधान कार्यान्वयनको एउटा पाटो हो । चुनावबाट पनि संविधान कार्यान्वयन हुन्छ भने संघीय आयोग गठनबाट पनि संविधानको कार्यान्वयन नै हुन्छ । संविधान कार्यान्वयन हुनु र चुनाव हुन निकै सकारात्मक हो तर चुनावको कारणले मधेसको माग ओझेलमा नपरोस् र मधेसमा पुन: आन्दोलन एवं विद्रोहको अवस्था नआओस् भन्नेतर्फ सबै पक्ष गम्भीर बन्नैपर्छ ।

मधेसका जनजनबाट अधिकारको आवाज उठेको छ । यसलाई बलपूर्वक दबाइएको वा नेताहरूले बिर्सेको सन्देशका रूपमा नजाओस् । जनतामा निराशा एवं वितृष्णा सिर्जना हुने काम हुनु हँदैन । मधेस हारेकाले मधेसको मुद्दा सम्बोधन गरिएन भन्ने आवाज उठ्नु हँदैन । किनभने मधेस हार्नु भनेको मुलुक हार्नु हो ।
संशोधन वा संविधानको पुनर्लेखनबिना केही पनि गर्न नसकिने अडानमा रहेका मधेसवादीहरूलाई संशोधनबिना नै चुनावमा सरिक गराउन सक्नु सरकारको ठूलो सफलता हो । सरकारको यो सफलतामा मधेसवादीहरूको ठूलो भूमिका रहेकाले सरकारले पछि मधेसवादीको आवाजको बेवास्ता गर्नु हँदैन ।

संविधानले मुलुकमा सात प्रदेश र हरेक प्रदेशमा रहने जिल्लासमेत किटान गरिसकेकाले त्यसको फेरबदल संसद्बाहेक अरूले गर्न सक्ने देखिन्न । आयोगको अधिकार के संसद्भन्दा बढी दिएर शक्तिशाली बनाउने हो कि आयोगलाई अर्को संसद्को रूपमा स्थान दिने हो ? आयोगमा प्रतिनिधित्वको सवाल पनि महत्वपूर्ण छ । संसद्मा जस्तै आयोगमा पनि मधेस मुद्दाको सन्दर्भमा विपक्षी गठबन्धन निर्णायक भयो भने अहिलेको समस्या ज्यूँको त्यूँ नै रहनेछ । यसर्थ एउटा समस्या समाधानको खातिर अर्को समस्याको वीजारोपण गर्नु किमार्थ उचित छैन । समस्याको झारो टराइले समस्या समाधान हुँदैन।


आगामी चुनावबाट मधेसवादीका लागि अवसर कम र चुनौती बढी छ । नराम्रो हार भयो भने मधेस मुद्दा थप चेपुवामा पर्नेछ । यस अवस्थामा उनीहरूले कार्यगत एकता गर्नैपर्छ ।

मधेसको माग संसद्मा गइसकेको छ । संसद् शक्तिशाली निकाय भएकाले उसको निर्णय सबैले मान्नुपर्छ । माग जायज हो भने संसद्बाट अनुमोदन गर्नुपर्छ, नाजायज छ भने संसद्बाट परास्त गर्नुपर्छ । या त सहमतिले बीचको मार्ग निकाली पूरा गर्नुपर्छ । समस्यालाई थाँती राखेर समाधान हँदैन । मधेसवादी आयोगमा सहमति गर्नुको तुक छैन । मधेसवादी चुनावमा जान चाहनु राम्रो हो, तर चुनावमा एकताबद्ध भएर जानुपर्छ होइन भने ०७० को चुनावजस्तो अलग-अलग गयो भने राष्ट्रिय दल पनि बन्न सक्दैनन् ।

पछि अझ ठूलो दमन हुन सक्छ । मधेससित विभेद हुन सक्छ । यसर्थ आगामी चुनावले मधेसवादीको लागि अवसर कम र चुनौती बढी सिर्जना गर्न सक्छ । राम्रो स्थान आयो भने आफ्ना माग पूरा गराउन दबाब पर्ला तर नराम्रो हार भयो भने मधेस मुद्दा थप चेपुवामा पर्नेछ । यसर्थ मधेसवादीहरू कम से कम चुनावको लागि कार्यगत एकता गरेर चुनावमा जानुपर्छ । एक क्षेत्रमा एउटा मधेसवादीको उम्मेदवार मात्र खडा गर्नुपर्छ । एकले अर्कालाई हृदय खोली सहयोग गर्न सक्नुपर्छ ।

संविधानले संघीयता स्वीकार गरे पनि संघीय संरचना र कार्यान्वयन अन्योलमा थियो, तर स्थानीय निकायको निर्वाचनको घोषणाले केही हदसम्म अन्योल चिरेको छ । प्रथमत: यसले संघीय कानुन बनाउन बाध्य पार्यो भने संघीयताको पहिलो तहको कार्यपालिका र व्यवस्थापिकाको निर्माण गर्नेछ । अरू केही नभए पनि स्थानीय चुनावपछि केन्द्रीय स्थानीय सरकारको निर्माण हुनेछ, जसले संघीयता पूर्णरूपले लिनेछ । अब हुने निर्वाचनले जिल्ला विकास समिति, गाउँ विकास समिति विघटन गरिदिएको छ । गाउँपालिका तथा नगरपालिकाको निर्माण गरेको छ, जुन वास्तवमा संघीयताको पुनर्संरचनाको एउटा हिस्सा हो ।

यसको पहिलो सकारात्मक पक्ष के हो भने गाउँपालिकाको चुनावपछि गाउँको विकासको लागि चाहिने नीतिनियम कानुन गाउँकै जनप्रतिनिधिले बनाउने हो । स्थानीय निकायमा पनि उपस्थिति कमजोर भयो भने स्थानीय पनि मधेसवादीको हातबाट जान सक्छ, जसले झन् चुनौती थपिन्छ र त्यहाँको साधनस्रोतमा मधेसको पहुँच कम हुन सक्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कार्य स्थानीय निकायमै हुने भएकाले यहाँ बन्ने कानुनले पनि चुनौती सिर्जना गर्न सक्छन् । निश्चित रूपमा केही कर्मचारी आवश्यक पर्छ, जसको पदपूर्तिमा प्राथमिकता स्थानीयले नै पाउनेछन् । यसमा पनि मधेसीहरू पछि पर्न सक्छन् ।

अहिले नै हरेक गाउँपालिकामा कार्यकारी अधिकृतको नियुक्ति गरिएको छ, जुन रोजगार सिर्जनाको अवसर हो । नागरिकता र राहदानी, सिफारिस, सामाजिक सुरक्षा, स्कुल कलेज, जग्गा रजिस्ट्रेसन, उद्योग दर्तालगायतका कार्य अब गाउँपालिकाबाटै हुने भएकाले सदरमुकाम वा राजधानी जानुको जरुरत छैन । वास्तवमा भन्ने हो भने हरेक गाउँपालिकामा एउटा सदरमुकाम हुने भई हरेक पाँच-सात गाउँपिच्छे एउटा सहर निर्माण हुनेछ, जुन आफैंमा एउटा महत्वपूर्ण विकास हो ।

सहरजस्तो बाटो, बजार, बिजुली, पानीलगायतको विकास इमानदारीपूर्वक गरियो भने स्वतस्फूर्त रूपले विकास हुन्छ । यसअघि विकास भएको क्षेत्रलाई नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका घोषणा गरेर परिचित गराइन्थ्यो तर अब गाउँपालिका नगरपालिकाभन्दा बलियो र शक्तिशाली हुनेछ । यसले हरेक जनता विकासको अवसर पाउनेछन् ।

केन्द्रीय सरकारको मुख ताक्ने अवस्था आउँदैन, वास्तविक स्वायत्तता प्रदान गरियो भने । यस्ता विषयमा अवसर पाउन चुनावबाट बहुमत ल्याउनुपर्छ, जुन एकता नगरी हुँदैन । संविधानले वास्तविक स्वायत्तता दिएको छैन । जुन संविधान संशोधन नगरी हँदैन र संशोधनलाई थाती राख्नु स्थानीय स्वायत्तता एवं मधेस मुद्दाको लागि जायज छैन ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.