‘भनौं कि नभनौं' निबन्धमाथि विचरण

‘भनौं कि नभनौं' निबन्धमाथि विचरण

भनौं कि नभनौं... ! सन्देहै सन्देहले धुस्स परेको वाक्यांश यो ! सन्देहका स्वर निकाल्ने यी अक्षर संयोजन ! म भन्ने कुनै पनि फजुल जन्तुको संकोचन होइन । एकै झुल्कामा खुलस्त हुन्न वाक्यांश- भनौं कि नभनौं ! के रहेछ त्यत्रो खुल्दुलीले खचाखच कौतूहलले लरखराउँदो- भनौं कि नभनौं ! वाक्यांश यो ! रसी नै रहेँ, पोखिएर भलभली- मन, चेत, सोचाइका सोच सँगालेर ।

पोखिनु त एक लहर रहेछ । अन्तरालदेखिको भित्री रहर ! त्यही भित्री अन्तरालका रहरका भलभली लहर त हो नि आनन्दका स्रोत गर्भ ! हामी त्यसमै रमाउने रमिते ! रमाउनु एक मोक्षप्रद अवसर हो । मोक्षप्रद अवसर जीवनदायिनी हुन्छ । निबन्धहरू जो निर्बन्ध लेखिन्छन्, लेखिएका हुन्छन् । पढ्दापढ्दै मन त मन्त्रमुग्ध भइदिन्छ । मोहिनीले मुग्ध आकर्षण गरेझैं । लोभ्याएझैं ! अदृश्य स्पर्श गरेझैं ! सुमसुम्याएझैं ! भन्नै सकिन्न के झैं के झैं !

आँखाका नानीहरू तिनमै गढेका छन् । अक्षरहरू उफ्रीउफ्री नाच्न थालेझैं बुर्लुक बुर्लुक बुर्लुकिँदै ! चिन्तनका चेतहरू त्यसमै रमाइरहे । आनन्दका लहरहरू लहराइरहे । मन मुग्ध बन्यो ! मन मुग्ध हुनु त रैछ- मोक्ष धामको अवसर ! संकोचबिनाका निसंकोच मनमय क्षण मोक्षप्रद, माक्षदायिनी ! जुन बेला मनमा कुनै पनि पीरव्यथा रहन्न भित्री मनका पिँढमा त्यही हुँदै रै'छ मोक्ष सार समय ! मोक्ष त अनावश्यक पीर, चिन्ता मुक्तिको क्षणहरूले सुमसुम्याउँदो जीवन्त अनुभूतिहरू !

भनौं कि नभनौं ‘रोदन'का स्वरलहरी हुन् ! शब्द संरचनाका, चिन्तन विन्यासका, अभिव्यक्तिका अभिव्यञ्जना ! कौतूहल बनाउने, सन्देहका शब्द- स्वर ! भनौं अर्थात् अर्थबोधक ! मनलाई उद्वेलित बनायो- छाल तरंगजस्तै ! आखिर त एक छाल नै हो ! तरंगी नै रहन्छन् अदृश्य रूपमा भित्रभित्रै मनभरि चिन्तनभरि !

मनमनै वाचन गरेँ ! यस्तो रहेछ पर्दा उघार्दा अनुच्छेद/पहिलो पाराः
‘औंसीको रातमा ठूलाठूला असिनाले सिसाको झ्यालमा हानेजस्तै दुःख लाग्यो सुनेर ! सम्बद्धका लागि मांगलिक होला भलै तर मलाई रामोराम अमंगल नै लाग्यो । कसैका बारेमा खबर सुन्नु सुनाउनु प्रत्यक्ष' मार्फत जे जे भए पनि केही राम्रो र केही नराम्रो अनुभूत पक्कै हुन्छ । अभिव्यक्त नहुन सक्छ सजिलै, त्यो अर्कै कुरा हो ।' ‘भनौं कि नभनौं' संग्रहको आचमन अनुच्छेद यो । सबै नै जसो अनुच्छेदहरू यही ढाँचाकाँचामा रंगिएका छन् । रंगिनुले लेखन अभिव्यक्ति कला, शैली, सीप, शब्द संयोजन, वाक्य विन्यास, शिल्प साधना-विज्ञानलाई अँगाल्छ । प्रतिनिधित्व गर्छ भनौं... के छ र... !

निबन्ध निर्बन्ध बन्छन् जहाँ निबन्धै निबन्धमा निबन्धकार उद्दीपनका सशक्त पखेटा फट्फटाई अन्तरिक्ष यात्रा भर्न सक्षम बनिदिन्छ । निबन्धकार जबजब अन्तरिक्ष यात्रा भर्न सक्षम बन्छन्, निबन्धले जीवन-जगत्का जुनकुनै पक्षलाई सार्थक अँगालो हाल्छन् ।

निबन्ध निर्बन्ध विचरण ठान्छु, मान्छु जीवन दर्शन, विज्ञान, संस्कार रञ्जित संस्कृति सबै निबन्धका निर्बन्ध विचरणका अन्तरिक्ष बन्छन् । तिनै निर्बन्ध विचरण पद्धतिसित सिउरिएका हुन्छन् । स्वच्छन्द निबन्धकारिता । श्री ॐ श्रेष्ठ ‘रोदन'का यस्तै निबन्धकारितामा श्वासप्रश्वास लिइरहेका हुन्छन्, भेटिन्छन् सँगालोभरि ।

निबन्ध निर्बन्ध बन्छन् जहाँ निबन्धै निबन्धमा निबन्धकार उद्दीपनका सशक्त पखेटा फट्फटाई अन्तरिक्ष यात्रा भर्न सक्षम बनिदिन्छ । निबन्धकार जबजब अन्तरिक्ष यात्रा भर्न सक्षम बन्छन्, निबन्धले जीवनजगत्का जुनकुनै पक्षलाई सार्थक अँगालो हाल्छन् । त्यस अवसरमा त हो कि निबन्धले स्वच्छन्दतापूर्वक म्वाइँ खान्छन्, चुक्कचुक्क औपन्यासिक ढाँचाकाँचाहरूका जीउभरि । चुक्कचुक्क चुम्बनका अनेक आयाम छन् । निधारै निधारभरि म्वाइँ ख्वाउनुहोस्- म्वाइँका महिमा बौद्धिक चिन्तन चेतलाई अनुपम मायाभाव खन्याइरहेको यथार्थ भाव मुत्र्याइरहेको हुन्छ ।

आँखैआँखामा आँखाभरि चुक्क म्वाइँका चुस्की दिनुस् यहाँले दृष्टिकोणहरूलाई कोणिक/आयामिक दृष्टिलाई स्नेह सम्मान टप्काइरहनु भएझैं हुनेछ । श्रवण गर्ने कानहरूका श्रवणेन्द्रियलाई म्वाइँ दिनुस् हजुरले तीक्ष्ण श्रवण शक्तिलाई चुमिरहनुभएको हुनेछ । ध्राणेन्द्रीय-नाकलाई म्वाइँ दिनुस्- ध्राणशक्तिप्रति सम्मान- श्रद्धा अर्पिरहेसरह हुनेछ । सुगन्ध र दुर्गन्ध छुट्याउने ध्राणेन्द्रिय नाक नेपाली संस्कारको पाटोमा मानसम्मान, इज्जत, गौरवगाथाका कीर्ति धान्न सक्दो सामथ्र्यबोधक व्यञ्जनाका विम्बबोधक बनिदिन्छ ।

भनौं कि नभनौं श्री ॐ का श्रेष्ठ रोदन ध्वनि संकेत बन्छन् निबन्धकारिताहरूमा । निबन्धका मिठासपूर्ण स्वाद लिन दोहोर्‍याई दोहोर्‍याई वाचन गरेँ, मनमनै । शैली शिल्प साधनाका साधकहरूका शृंगारै हुन् । भन्न मन पराएर नि कति असहज स्थितिका साङ्लो बढाइका चंगुल आफ्नै वरपरका परिवेश बोधक अभिव्यक्तिका अभिव्यञ्जनाहरू बन्न अनुभूत गर्न सकिन्छ ‘भनौं कि नभनौं' निबन्धका दफादफामा । यी केही पंक्ति यस्तै अनुभूतिगम्य अभिव्यञ्जना रहेका छन्- उदाहरणस्वरूपः

‘असामञ्जस्यको साङ्लोले बाँधिएको छु म, तसर्थ औपचारिकताको पनि बीउ छर्न नसकूँला सायद । अँध्यारो मन र उज्यालो मनमा असमान भएर समान देखिरहेको छु । समान भएर असमान देखिरहेका छन्- आँखाभित्रका आँखाहरूले । भन्न सक्दिनँ म जय र पराजय । सत्य र असत्यमा अन्तर के के छन् भनेर । साँच्चै ढाँटेको होइन मैले । त्यो साँझले मेरो विश्वासको भण्डारमा नराम्रोसँग डढेलो लागेको छ । अरूको त के कुरा, आफैंलाई पनि विश्वास गर्न छाडेको छु मैले ।'

‘अहिले पनि म देखिरहेको छु एकातिर रातो सिन्दूर सन्त्रासको र अर्कोतिर कालो सिन्दूर छ मोहिनीको । भन्नुपर्ने सबै भनिसकेँ । अरू म के भनूँ ।' लक्षणा र व्यञ्जना शिल्प साधनामा अभिव्यञ्जित ‘रातो सिन्दूर सन्त्रास र कालो सिन्दूर मोहिनीको' सांस्कृतिक संस्कार मण्डित छन् । नेवार संस्कृतिमा मात्र अद्यावधिक रातो सिन्दूर र कालो सिन्दूर मोहिनी संस्कारजन्य यी वाक्यांश गम्भीर चिन्तन र विमर्श चाहन्छन् । रातो सिन्दूर शुभ विजयको सांकेतिक रङ हो । अर्कोतिर कालो सिन्दूर- मोहिनी विजयोत्सव सूचक आराधना पूजा, अर्चना आदि अवसरमा प्रयुक्त विधिअनुसार थापिने दियो ।

सलेदोको ध्वाँसो संकलित सलेदो पात्रको कालो टिको/सिन्दूर बनेको छ । प्रज्ज्वलित दियो रातो हुन्छ । सबैलाई थाहा छ । तर, प्रज्ज्वलित सलेदोको दीपशिखा कालो मोहिनी सिन्दूर बन्छ । किन्तु, यहाँ श्री ॐका श्रेष्ठ निबन्धकार सामुदायिक संस्कार मण्डित मोहिनी सिन्दूरलाई किंबा कालो मोहिनी सिन्दूरलाई बिट मारिने/अन्तिम संस्कारको सिन्दूरका विम्ब बोधक बनाई प्रयुक्त गरिएको अनुभूत गर्छु ।

साहित्यिक संरचनामा आआफ्ना सांस्कृतिक संचेतना मूर्त या अमूर्त तवरले अभिव्यक्त भए, गरिएका हुन्छन् । सांस्कृतिक संचेतनाका सम्वाहक अध्ययता भएको नाताले प्रसंगवश रंग सिन्दूरका दुई भेदका विमर्श गर्न पुगेँ । अर्को तिनै सिन्दूर भेदका अभिव्यक्तिको प्रसंगमै ‘एकातिर र अर्कोतिर शब्दहरू प्रयोग भए, गरिएका छन् । अर्कोतिर यी दुई शब्दले वर्तमान स्थितिका समाजका दुई वर्ग विभेदलाई प्रतिनिधित्व गर्छन् । यी दुई एकातिर र अर्कोतिर शब्दहरूले वर्ग मेटाउने वाचाबन्धन गर्ने र गरी पाएका सामाजिक, आर्थिक, औद्योगिक, वित्तका विज्ञ र अनभिज्ञ तथा राजनीतिक पक्षधरहरूलाई इंगित गर्छन् ।

त्यसैले असामञ्जस्यको साङ्लोले बाँधिएको अनुभूति ‘भनौं कि नभनौं' निबन्धका अन्तरवस्तु बनेको छ । प्रयुक्त अँध्यारो मन र उज्यालो मन असमान व्यवहार र वस्तुस्थितिको सम्वाहक प्रतिनिधि शब्द बनेका छन् । अर्को वाक्य ‘समान भएर असमान देखिरहेका छन्- आँखाभित्रका आँखाहरूले । समान् छन् दुई आँखाहरू । तर पनि यस्तो अनुभूति दिलाउँछन् तिनै आँखाहरू कि तिनीहरू दुई वर्ग भेद देखिरहेछन् । यही अनुभूत गर्न सकिने नितान्त सूक्ष्म प्रहारयुक्त व्यंग्य अन्तर निहित छ । अनि आँखाभित्रका आँखाहरू शब्द संयोजनले आँखाका दुई भेद जाहेर गर्छन्- एक सरसर्ती हेरिने सामान्य आँखा अर्को भित्री तहबाट अन्तरालसम्मकै तह छिचोल्ने आँखा ।

निबन्ध लेखन त्यसैले निर्बन्ध विचरण कर्म ठहर्छ । ठहर्छ उत्तिकै स्वच्छन्द गहिराइका तहसम्म डुबुल्किएर । निर्बन्ध विचरण गर्दै निबन्ध लेख्दाको अनुपम आनन्द स्वर्णिम अन्तरीक्ष यात्राजस्तै हुन्छ । निबन्धकार स्रष्टाका सार्थक निबन्धमाथि विवेकपूर्ण विचरण गर्दाका यी अनुभूति पनि उस्तै हुँदो रहेछ । बिट मार्नुअगाडि ‘भनौं कि नभनौं' निबन्ध संग्रहका पात्रका पात्रतामूलक एकदुई हरफ उद्धरण गर्न रहर मेट्छुः  

‘मैले जानेको ज्ञान पनि यत्ति हो । आफूसँग जति घात गरे पनि अरूलाई दिएको विश्वासमा कस्तै परिस्थितिमा पनि घात नगर्ने ! यसैलाई मन्त्र ठानेको मैले ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.