चुनावको जोखिमपूर्ण यात्रा

चुनावको जोखिमपूर्ण यात्रा

आउँदो वैशाख ३१ गते हुने भनी नेपाल सरकारले घोषणा गरेको स्थानीय चुनाव आउन अब धेरै दिन बाँकी छैन । चुनावका सन्दर्भमा विभिन्न किसिमका धारणा र टिप्पणीहरू सतहमा आएका छन् र यसो हुनु स्वाभाविक छ । भाग लिने, नलिने, खारेज गर्ने र क्रान्तिकारी उपयोग गर्नेजस्ता सन्दर्भलाई लिएर सबै आआफ्ना नीति-निर्णयको औचित्य साबित गर्न लागेका छन् । सिंगो मुलुक चुनाववरिपरि घुमेकाले मुलुक चुनावमय भएको छ पनि भन्न सकिन्छ ।

Image may contain: 1 person, closeupचुनावको सन्दर्भसित जोडिएर भएका बहस र प्रतिक्रियाहरू हेर्दा चुनावका सन्दर्भमा थुप्रै स्वार्थहरू चल्मलाएको बोध गर्न सकिन्छ । अहिलको स्थिति भनेको मतदाताहरूभन्दा पार्टीहरू बढी अलमलमा परेको स्थिति हो । सबैभन्दा बढी अलमल र अन्योलमा सरकारमा बसेकाहरू नै देखिएका छन् । उनीहरूका अभिव्यक्ति नै चुनाव हुनेमा आशंका उत्पन्न गराउने खालका छन् । भर्खरै चीन पुगेर आएका प्रधानमन्त्रीले 'चुनाव हुन्छ कि हुन्न भनेर प्रश्न नगर्न' भनेर पत्रकारलाई उछिनेर अभिव्यक्ति दिनु र परराष्ट्र मन्त्रीले 'चीन चाँडै चुनाव चाहन्छ' भन्ने अभिव्यक्ति दिनु सरकार आफैं अन्योलमा हुनुको द्योतक हो ।

चुनाव नगराउँदा मुलुकलाई पश्चगमनतिर धकेल्न बाह्य शक्तिको योजनामा बनेको सरकार भनेर भनिएको यथार्थ प्रमाणित हुने अनि चुनाव गराउँदा आफ्नो पार्टीको केकस्तो हविगत हुने हो भन्ने नाफा-नोक्सानको चिन्ताले सरकारमा बसेकाहरूलाई बेचैन बनाएको देखिन्छ । आफूलाई कुर्सीमा विराजमान गराउने शक्तिले हरियो झन्डा नदेखाई अघि बढ्दा हुने परिणामले पनि उनीहरूलाई पिरोलेको स्थिति छ । नेपाली जनता के चाहन्छन् भन्दा पनि भारत के चाहन्छ र कसरी उसको चित्त बुझाउने भन्नेमा नै नेपाली कांग्रेस र माओवादी केन्द्रको चिन्ता र चिन्तन केन्द्रित रहेको उनीहरूको व्यवहारबाट थाहा पाउन सकिन्छ । प्रभुको आशीर्वाद पनि प्राप्त नहुने र मतदाता पनि आफ्नो पक्षमा नउभिने स्थितिमा सरकारमा बसेकाहरूमा चुनावप्रति उत्साह नहुनु अनौठो कुरा भएन ।

अहिलेको स्थानीय चुनाव विशिष्ट स्थितिमा हुन लागेको विशिष्ट किसिमको चुनाव हो । यसको सन्दर्भ र सान्दर्भिकतालाई 'ठीक' र 'बेठीक', 'उपयोग' र 'खारेजी' को अंकगणितमा अटाउन खोज्नु सही निष्कर्ष प्रमाणित हुन सक्तैन । माक्सवादी कोणबाट हेर्ने हो भने यो संविधान जनताको संविधान होइन, यो संविधानले जनताका आधारभूत वर्गीय समस्या हल गर्दैन । यसले नेपाली समाजको उत्पादन सम्बन्ध र उत्पादन शक्तिबीचको अन्तर्विरोध पनि हल गर्दैन ।

यस्तो संविधानलाई विदेशी शक्तिहरूले प्रशंसा गर्नुपर्नेमा यसविरुद्ध उनीहरूले खास गरेर भारतीय विस्तारवादले लडाइँको मोर्चाका रूपमा यसप्रति किन व्यवहार गरिरहेको छ भन्ने साँच्चिकै गम्भीर छ । आफूले भनेअनुसारको संविधान नभएकाले भारतीय विस्तारवादले नेपालको राष्ट्रिय स्वाधीनतामाथि नै धावा बोलिरहेको स्थितिको चिरफार नगरी र यससित गाँसिएका सञ्जालहरूलाई प्रस्ट नपारी चुनावसित गाँसिएका प्रश्नहरूको सही उत्तर निस्किँदैन ।

नेपाली उत्पीडित जनताले चाहेजस्तो नभए पनि अहिलेको संविधान संघर्षकै बीचबाट आएको संविधान हो । भारतीय सत्ताधारीहरूलाई चित्त नबुझेकै भरमा नेपालको संविधान प्रभावित हुनु साँच्चिकै दुःखद् स्थिति हो । यो संविधान जारी गर्ने बेलादेखि नै भारतीय सत्ताधारी वर्ग यसविरुद्ध उभिएको सबैलाई थाहा छ । संविधान घोषणाको समयमा भारतीय सत्ताधारी वर्गका देखिने÷नदेखिने प्रतिनिधिहरू आएर धम्की दिएकै हुन् र आफूले भनेअनुसार संविधान हुनुपर्छ भन्दै डन्डा उज्याएकै हुन् । आफूले भनेअनुसार नगए नेपालको नक्सा नरहने भन्ने खालका भनाइसमेत भारतीय सत्ताधारीहरूबाट आएका थिए । यस अर्थमा यो संविधान भारतीय सत्ताधारी वर्गको स्वार्थविपरीतको संविधान हो भनेर भन्नुपर्ने हुन्छ ।

संविधान घोषणाको क्रमसँगै नाकाबन्दी लगाएर नेपाली जनतालाई भोकभोकै मार्न खोजियो । टीकापुर घटना गराइयो । नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक नभएर भारतको कुनै प्रान्तका झैं व्यवहार गर्न खोजियो । राष्ट्रिय स्वाभिमानका कुरा गर्नेहरूलाई भारतीय विस्तारवादसामु आत्मसमर्पण गराउन जेजे गर्न सकिन्थ्यो, ती सबै गरियो । यो सामान्य घटना सन्दर्भ थिएन । यो केही लालबुझक्कडहरूले भनेजस्तो भारतीय विस्तारवादभित्र सरकार र कर्मचारीतन्त्र, सरकार र प्रतिपक्षबीचको अन्तर्विरोधको परिणाममा सीमित व्यवहार मात्र थिएन, संविधानभित्रैबाट नेपाल विखण्डन गर्न÷गराउन गरिएको घिनलाग्दो षड्यन्त्रको शृंखला थियो ।

यस किसिमको षड्यन्त्रविरुद्ध नेपाली जनता जुटेकै हुन् । नाकाबन्दीको षड्यन्त्र असफल भएपछि स्थानीय चुनावको घोषणासँगै अहिले यो षड्यन्त्र सीमांकन, नागरिकता र हिन्दी भाषा जोडेर संविधान संशोधनको आवरणमा अवतरित भएको छ । 'सिमांकनबाहेक अरू कुरामा संशोधन' भनेर किस्ताबन्दी हुन थालेजस्तो पनि छ । यस अर्थमा अहिलेको चुनाव भारतीय विस्तारवादसितको एउटा ससानो लडाइँमा फेरिएको प्रस्ट छ ।

भारतीय सत्ताधारीहरूलाई मन नपरेको यो संविधान खारेज गर्ने, मुलुकमा भद्रगोल उत्पन्न गर्ने, आफूले अगाडि सारेकाहरूले नमाने तिनलाई पनि खारेज गर्ने र आफूले भनेअनुसारको अर्को शक्तिलाई अगाडि ल्याएर राजनीतिक कोर्स बदल्ने र आन्दोलनबाट अहिलेसम्म प्राप्त उपलब्धिहरू पूरै उल्टाउने उद्देश्य भारतीय विस्तारवादको रहेको प्रस्ट छ । नयाँ राजदूत मञ्जीवसिंह पुरीले ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै थालेको भेटघाट अभियानमा उठाएका कुराले पनि सम्भावित स्थितिको संकेत दिएको छ ।

भारतमा जोगी र भोगीको राज चल्न थालेको छ । मोदीको सरकारसँगै दलित र मुस्लिमहरूमाथि भएको अमानवीय व्यवहार अब अभिव्यक्ति स्वतन्त्रताविरुद्ध खनिएको छ । भारतमा जोगी र भोगीको राजसँगै नेपालमा पनि एकथरी तत्वहरू निकै उत्साहित भएको देख्न सकिन्छ । राष्ट्रियताको चर्का कुरा गर्ने उनीहरू योगी र भोगीले नेपालमा गोरख जगाइदेलान् भनेर आशावादी बनेका देखिन्छन् । चुनाव नहोस्, भद्रगोल होस्, अझ सेनाले 'कु' गरोस् अनि भारतीय हिन्दु फासीवादी सत्ताले अमूकलाई लगेर गद्दीमा राखिदेओस् भनेर एकथरीहरूले दिनदिनै धूपधुवाँ र पूजापाठ गरिरहेको स्थिति छ ।

मोदीको आशीर्वादमा नेपालमा 'शान्ति-सुव्यवस्था र राष्ट्रिय स्वाधीनता' फलेफुलेको देख्ने तत्वहरू अहिलेको चुनावको विपक्षमा छन् । सामन्ती राजतन्त्र र हिन्दु राज्यभित्र राष्ट्रवाद सुरक्षित देख्ने एकथरी कूपमण्डुकहरू मोदीलाई मुक्तिदाताका रूपमा देखिरहेका छन् । 'राजामाथि अन्याय भयो' भन्दै समाजवादी ठकुरी बाबुसाहेबहरू पनि हारगुहार गरिरहेको स्थिति छ । मधेसवादी भनिनेहरूको बुझाइ र सोचाइ भनेको मोदीकै एजेन्डा हो । मधेसवादी भनिने एकजना 'नेता' ले हिन्दु राज्य र राजतन्त्रको वकालत गरेको कुरा सार्वजनिक भइसकेको छ । यसबाट स्थितिको आकलन गर्न सकिन्छ ।

केही दिनअघि सप्तरी र कन्चनपुरमा घटना भए । योजनाबद्ध ढंगले नापीतौली गराइएका घटनाहरू थिए ती । सप्तरी र कन्चनपुर घटनाले भारतीय विस्तारवाद के गर्न खोजिरहेको छ भन्ने एकपटक फेरि प्रस्ट भएको छ । यसको एउटै उद्देश्य हो—भद्रगोल, अराजकता, जातीय-क्षेत्रीय मारकाट, विध्वंस र ठाडो भारतीय हस्तक्षेप । यस अर्थमा पनि अहिले हुन लागेको चुनाव भारतीय विस्तारवाद र उसका दलालहरूसितको लडाइँको खुला मोर्चा हो भन्नुपर्ने हुन्छ ।

केही दिनअघि सप्तरी र कन्चनपुरमा घटना भए । योजनाबद्ध ढंगले नापीतौली गराइएका घटनाहरू थिए ती । सप्तरी र कन्चनपुर घटनाले भारतीय विस्तारवाद के गर्न खोजिरहेको छ भन्ने कुरा एकपटक फेरि प्रस्ट भएको छ

संख्या र शक्तिका दृष्टिले एकदुई समूहले भाग लिएर अथवा नलिएर त्यति ठूलो असर नपर्ला । तर यो अमूकहरूको बुझाइ र व्यवहारले कुन प्रवृत्तिलाई सहयोग पुर्याइरहेको छ भन्ने अहम् प्रश्नसित गाँसिएको सन्दर्भ हो । स्थानीय निकायहरू जनसरोकारसित प्रत्यक्ष सम्बन्ध राख्ने जनसम्बन्ध विस्तारका सहज माध्यमहरू हुन् । अहिले वैकल्पिक जनसत्ताहरू पनि छैनन् । अहिलेको स्थिति एक हिसाबले २०४८ पछिको जस्तै हो । क्रमभंगमा जाने हो, कार्यनीतिमै छलाङ हानेर अगाडि बढेर जाने अवस्था हो भने सक्रिय बहिष्कार नै सही बाटो हो, २०५२ सालमा गरिएजस्तो । बहिष्कार आफैंमा सम्पूर्ण होइन ।

आफूले भनेजस्तो भएन भने प्रतिक्रियावादी शक्तिले पनि चुनाव बहिष्कार गर्ने गर्छ । भारतीय विस्तारवादले एकएकवटा निहुँ खोजेर आफ्ना प्यादामार्फत अहिले गर्न खोजेको कुरा पनि यही नै हो ।सत्य के हो भने चुनाव खारेजीको हाइसञ्चोभन्दा 'क्रान्तिकारी उपयोग' को नीति बढी जोखिमपूर्ण र चुनौतीपूर्ण छ र हुन्छ । एक हिसाबले यो अँध्यारो सुरुङभित्रको यात्राजस्तै हो, परीक्षण नै हो ।

जनसम्बन्धको आयाम विस्तारको माध्यम बनाएर क्रान्तिकारी क्रमभंगको भूमिकाको तयारीको लागि चुनावको उपयोग गर्ने कि अँध्यारो गुफामै हराउने भन्ने चुनौती 'क्रान्तिकारी उपयोग' को नीति अँगालेकाहरूका सामु उपस्थित छ । यहाँ वर्गीय पक्षधरता केन्द्रमा छ कि छैन भन्ने कुराले अहम् महत्व राख्छ । फड्को मार्न केही कदम पछि हट्नुपर्ने पनि हुन्छ । क्रान्तिकारीहरू हिँड्नुपर्ने बाटो र पुग्नुपर्ने ठाउँका बारेमा चाहिँ कुनै पनि अन्योल हुनु हुँदैन । प्रश्न आफूलाई जनताको निगरानीमा राख्ने कि नराख्ने भन्ने नै हो ।

अहिले मुलुकमा क्रान्तिकारी शक्ति कमजोर अवस्थामा छ । सकेको खण्डमा भद्रगोल स्थितिबाटै क्रान्तिकारी दिशामा फट्को मार्ने हो, बाटो यही हो । तर भद्रगोल उत्पन्न हुँदा त्यसलाई भौतिक रूपमा कमान्ड गर्ने हैसियत राख्ने क्रान्तिकारी शक्ति यतिबेर मुलुकमा विद्यमान छैन । यहाँ हुने भद्रगोलको कमान्ड विस्तारवादी आडमा घोर दक्षिणपन्थी शक्तिले गर्ने सम्भावना प्रबल रूपमा रहेको स्थिति छ । यस्तो अवस्थामा क्रान्तिकारीहरूले मनोगतवादी भएर होइन, वस्तुवादी भएर वैज्ञानिक किसिमले सोच्नु आवश्यक छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.