रिस भाग्यो आत्मविश्वास बढ्यो
सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ६ मा पढ्ने आरम्भ घिमिरेलाई ध्यान गर्न थालेदेखि उनमा धैर्य बढ्नुका साथै मनमा आनन्द महसुस हुन थालेको छ । त्यसैगरी हिजोआज उनमा आत्मविश्वास पनि बढेको छ र उनको रिसाउने बानी पनि हटेको छ । बिहानै उठेर छोराले नुहाउने गरेको देखेर उनकी आमा शोमना घिमिरे पनि दंग परेकी छिन् ।
आर्ट अफ लिभिङको साना भाइबहिनी हेर्ने शाखा येस क्लब वल्र्ड नेपालले बालबालिकाको सर्वाङ्र्गीण विकासका लागि हालै आयोजना गरेको चारदिने आर्ट एक्सेलको कोर्समा सहभागी भएर अर्की विद्यार्थी ओजश्वी आचार्यलाई पनि निकै फाइदा पुगेको छ । भीएस निकेतनमा पढ्ने ओजश्वीले यस कार्यक्रममा सहभागी भएर आफूले आफ्ना नराम्रा बानी त्यागेर राम्रा बानी अपनाउन सकेको महसुस गरेकी छिन् । सँगै बसेकी उनकी साथी ओजस्वी धमलाले भने केही दिन यता आफ्नो स्मरण शक्ति बढेको र आफू शारीरिक रूपमा पनि स्फुर्त महसुस गरेको बताइन् । दीक्षा महतले आफूले सिकेको धेरै ज्ञानलाई दाइ र ममीलाई पनि सिकाउने भएकी छिन् ।
कार्यक्रममा सहभागी भएदेखि केएमसी स्कुलमा कक्षा ७ मा पढ्ने अस्मी ढकालमा धेरै परिवर्तन आएको उनकी आमा नीता ढकालले बताइन् । खाना खाँदा एउटा हातमा मोबाइल त अर्कोमा माम हुने गरेकोमा अहिले छोरीले आफ्ना बाबालाई समेत खाँदा टेलिभिजन हेर्नु हुँदैन भनेर सम्झाउन थालेकी छिन् अस्मीले । अस्मीले हिजोआज त आफ्ना अभिभावकलाई समेत सूर्य नमस्कारलगायतका योग सिकाउने गरेकी छिन् । रातो बंगलाकी आर्या प्रसाईंमा कुनै कुरामा पनि पछि नहट्ने हक्की स्वभाव पलाएको छ । सानोसानो कुरामा रिसाउने सुयोग्य कार्की पनि रिसाउन छाडेका छन् ।
योगउन्नत हुमागाईं साह्रै चकचके थिए । उनमा पटक्कै धैर्य थिएन । तर आर्ट एक्सेलको कोर्स गर्न थालेपछि कक्षाकोठामा समेत ४५ मिनेटसम्म पनि एउटै सिटमा बसिरहन नसक्ने योगउन्नत अहिले चल्बलाउन छाडेका छन् । यही कक्षाको निरन्तरता स्वरूप अर्को अन्तर्राष्ट्रिय तालिम लिने सोच बनाएकी छिन् श्रेया कोइरालाले । उनले तालिमले मनमा रहेको छटपटी हटेर मनलाई शान्त र सुशील बनाएको महसुस गरेकी छिन् । काष्ठमण्डपका सम्भव कार्की र शुभताराका आर्यन आचार्यले नयाँ कुरालाई रमाइलोसँग सिक्न सकिने हुनाले तालिमले ज्ञान र नेतृत्वदायी क्षमता बढाउने बताए । अन्तर्राष्ट्रिय प्रशिक्षक मिरल नानभटीमार्फत यश २ कोर्ससमेत गरिसकेका आर्यनले यस कोर्सले आफूमा विश्लेषणात्मक ढंगमा सोच्ने क्षमताको साथै सकारात्मक सोच पनि बढाएको बताए ।
जीवन जिउने कलाका विभिन्न पाटो सिकाइने यस तालिममा पठाएपछि आफ्ना नानीमा आएका परिवर्तन देखेर अञ्जना लामिछाने, मनीषा आचार्य, लीला खड्का, कमला आचार्य धमला खुसी छन् । अहिलेको खानपान र रहनसहनले बालबालिकामा पारेको प्रभावलाई यहाँ सिकाइने योग, ध्यान र अन्य विधिले आफ्ना छोराछोरीमा सकारात्मक ऊर्जा र संस्कार सिकाउने उनीहरूले बताए । आर्ट अफ लिभिङकी स्वयंसेवक शिक्षिका रमा रायमाझीले बालबालिकालाई रमाइला खेलमार्फत विभिन्न विषय सिकाइने हुनाले यस तालिमले उनीहरूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्ने बताइन् ।
यसले बालबालिकामा परिवारप्रतिको आत्मीयता, माया र विश्वास पनि बढाएको उनको अनुभव छ । विगत १५ वर्षदेखि आर्ट अफ लिभिङमा लागेकी वरिष्ठ प्रशिक्षक ऋतिका लोहियाले युवापुस्तामा भएका ऊर्जालाई सकारात्मक दिशा दिन यो तालिम आवश्यक भएको बताइन् । १४ देखि १८ वर्ष उमेरसमूहका किशोरकिशोरीका लागि यश अर्थात् युथ इम्पावरमेन्ट सेमिनार सञ्चालन हुने गरेको छ । उनका अनुसार मानिसको मन शान्त भएपछि एकाग्रता बढ्छ र अरूप्रति पनि विश्वास बढ्ने हुनाले यस्ता कार्यक्रमले बालबालिका र युवामा आत्मविश्वास र सही निर्णय गर्ने क्षमता बढाउने गर्छ ।
येस क्लब वल्र्ड नेपाल कार्यक्रम संयोजक गौरव कँडेलले विगत १० वर्षदेखि सञ्चालन भएको यस कार्यक्रमले हजारौं विद्यार्थी लाभान्वित भएका बताए । आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर र सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले फागुन २३ गतेमात्रै उद्घाटन गरेका शंखमूलस्थित सभाहलमा गत साता करिब दुई सयजना विद्यार्थी भाइबहिनीले आर्ट एक्सेल र एस कोर्स गरेर आफ्नो जीवन र सोचलाई परिवर्तन गरेका छन् ।