हामी पनि फोटो खिच्छौं

हामी पनि फोटो खिच्छौं

झट्ट हेर्दा फोटोग्राफरको जस्तै हाउभाउ देखिन्थ्यो संगीत रोकाको । घाँटीमा क्यामरा झुन्ड्याएका संगीत निकै चासो दिएर हालै आर्ट काउन्सिलमा भएको प्रदर्शनीमा राखिएका फोटोहरू खिच्न व्यस्त थिए । सिन्धुपाल्चोकको सिपापोखरीबाट आएका रोका भन्दै थिए, 'मलाई प्राकृतिक सौन्दर्यको तस्बिर उतार्न रमाइलो लाग्छ ।' फोटोसम्बन्धी केही ज्ञानसमेत बटुलिसकेका संगीतले भने, 'फोटो खिच्नको लागि लाइट, कम्पोजिसन, फोकसजस्ता सामान्य कुरामा ध्यान दिनु आवश्यक छ ।' १४ वर्ष पुगेका संगीत कक्षा आठका विद्यार्थी हुन् ।

अमेरिकन फोटोग्राफर केभिन बुब्रिस्कीको पहलमा सिन्धुपाल्चोकका १० जना विद्यार्थी काठमाडांैमा भएको फोटो प्रदर्शनी हेर्न आएका थिए । उनै केभिनका क्यामरा भिरेर हिँडिरहेका संगीतले आफूले खिचेका तस्बिरहरू देखाउँदै भने, 'मैले लिएका तस्बिरहरू नराम्रा भए सच्याउन सुझाव दिनुहुन्छ केभिन सरले । मैले धेरै फोटोहरू खिचेको छु र सबै फोटोहरू राम्रै खिचेको छु ।' फोटोग्राफीमा उनलाई निकै रुचि छ । त्यसैले यस्ता कार्यक्रमबाट धेरै सिक्न सकिने भएकाले पनि उनलाई छुटाउन मन लाग्दैन ।

१४ वर्षीया उषा परियार कक्षा ८ मा पढ्दैछिन् । संगीतसँगै आएकी उनी सदरमुकामबाट टाढा रहेको बालबालिका सुधार आदर्श विद्यालयमा पढ्छिन् । काठमाडौं आउनुभन्दा पहिले केभिनको सहयोगमा गाउँमा पाँच दिनको फोटोग्राफीसम्बन्धी तालिम उनले लिएकी थिइन् । आप्mनै बाआमाले गोबर सोरेको, घाँस काटेको, भाँडा माझेको फोटो खिचेर उहाँहरूलाई देखाउँदाको पल खुब रमाइलो लागेको थियो उनलाई । फोटोग्राफीको तालिममा फोटो खिच्ने तरिकामात्रै नभई मानिससँग कसरी बोल्ने र आफ्ना ज्ञानलाई कसरी अझै बढाउने भन्ने पनि उनले सिकिन् ।

सिपापोखरीमा कक्षा ९ मा पढ्ने सिर्जना तामाङ पनि प्रदर्शनी हेर्न आएकी थिइन् । उनले यस्ता अवसरले बालबालिकामा केही गर्ने हौसला मिल्ने र नयाँ कुराको खोजी गर्न सिकाउने बताइन् । काठमाडौं आएर यहाँका विभिन्न ग्यालरीमा फोटो प्रदर्शनीमा प्रत्यक्ष सहभागी बन्दा धेरै कुरा सिक्न पाइन् उनले । यसैमा करिअर बनाउन यो ठूलो अवसर भएको सिर्जनाको बुझाइ छ ।

१० जना बालबालिकालाई लिएर काठमाडौं आउनुभएको थियो नारायणबहादुर रोका । उहाँ ती बालबालिकाका शिक्षक पनि हुनुहुन्छ । उहाँका अनुसार सिन्धुपाल्चोकको सिपापोखरी दलित बस्ती भएको दोस्रो ठूलो गाविस हो । विद्यालयमा दलितमात्रै अध्ययन गर्छन् । त्यही गाउँका ६ जना दलित र चारजना जनजाति विद्यार्थी काठमाडौं आएका हुन् ।

 

राजधानीबाट नजिक भइकन पनि छुवाछूतप्रथामा एकदमै जकडिएको, अशिक्षाले पिरोलेको, गरिबीले निमोठेको र विकासको नाममा अझै केही काम सुरु नभएको आफ्नो ठाउँमा यस्ता कार्यक्रम सुरु हुनुलाई निकै राम्रो मान्नुहुन्छ शिक्षक रोका । आफ्ना गाउँका मानिसमा बल्ल पढ्नुपर्छ भन्ने चेतना पलाएको उहाँले बताउनुभयो । फोटो प्रदर्शनीमार्फत जातीय भेदभाव र छुवाछूतको कुरालाई बाहिर ल्याउन सक्ने बताउँदै उहाँले भन्नुभयो,' बालबालिकाले पनि फोटोमार्फत गाउँमा चेतना फैलाउन सक्छन् ।'

दलित समुदायमा यस्ता खालका कार्यक्रम लिएर गाउँमा पुगेका केभिनको योगदान सराहनीय भएको उहाँले बताउनुभयो । सामाजिक परिवर्तनमा फोटो तथा आर्टले ठूलो भूमिका खेल्ने र बालबालिकाले यसैको माध्यमबाट आफ्नो पहिचान बनाउन सक्ने पनि पनि शिक्षक रोकाको भनाइ छ । दलित समुदायका धेरै बालबालिकामा फोटोग्राफीसम्बन्धी लगाव भएका र उनीहरूले समयमै थप ज्ञान सिक्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।सिन्धुपाल्चोकमा पाँच दिनसम्म दिइएको फोटोग्राफी तालिमको क्रममा बालबालिकाले खिचेका तस्बिरहरू हालै काठमाडौंका विभिन्न आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.