फेरि सुरू भयो पलेँटी शृंखला
काठमाडौं : झन्डै तीन वर्षपछि सांगीतिक कार्यक्रम 'पलेँटी शृंखला' फेरि सुरु हुने भएको छ । अंग्रेजी क्यालेन्डरअनुसार हरेक महिनाको अन्तिम शुक्रबार आयोजना हुने परम्परालाई निरन्तरता दिँदै यसपटक अप्रिल २८ (वैशाख १५) देखि कालिकास्थानस्थित नेपालयको आरशालामा पलेँटी शृंखला सुरु हुँदैछ । यसपटक पलेँटीमा कवि तथा गीतकार दिनेश अधिकारीका सिर्जना प्रस्तुत गरिँदैछ ।
गीतकार अधिकारीका गीत नारायणगोपाल, तारादेवीदेखि नयाँ पुस्ताका चर्चित गायकगायिकाले पनि गाएका छन् । लघुसांगीतिक अभियानका रूपमा नेपालयले श्रोता र सर्जकको सम्बन्धलाई निकट र सौहार्दपूर्ण बनाउन यो शृंखला पुनः सुरु गरेको जनाएको छ । गायक तथा संगीतकार आभासको सक्रियतामा सन् २००५ देखि सुरु भएको पलेँटीमा एक वर्षसम्म उनको एकल प्रस्तुति समेटिएको थियो । २००६ देखि यसले आधुनिक नेपाली संगीतजगत्का अग्रज कलाकारलाई समेट्न थालेको हो ।
नेपालमात्र नभएर प्रवासमा रहेर नेपाली संगीतमा तल्लीन दार्जिलिङ, पूर्वोत्तर भारत र भुटानदेखिका स्रष्टाहरूसमेत पलेँटीमा प्रस्तुत भइसकेका छन् । त्यस क्रममा ४१ जना कलाकार नेपालयको आरशालामा प्रस्तुत भए । पुराना गायक एवं संगीतकार प्रकाश गुरुङ र उनकी गायिका छोरी रीमा गुरुङ होडाको संयुक्त प्रस्तुतिसँगै सन् २०१४ को जुलाईदेखि पलेँटी शृंखला स्थगित भएको थियो ।
लोकप्रिय सांगीतिक समूह नेपथ्यले आफ्नो स्थापनाको २५औं वर्ष मनाउने क्रममा पलेँटी शृंखलाको व्ययभार ब्यान्डले बेहोर्ने घोषणा गरेपछि यसलाई फेरि सुचारु गर्न सम्भव भएको नेपालयले जनाएको छ । यस शृंखलामा गीतकारका सिर्जनालाई गायक आभास, गायिका मीना र योगेन्द्रले सुनाउनेछन् । नयाँ वाद्यवादन टोलीको समेत पुनर्संयोजन गरिएको पलेँटी शृंखलाका निम्ति नेपालयकै आरशालामा अभ्यास थालनी भइसकेको छ ।