भजनमा शक्ति वल्लभ
चितवन : साहित्यकार एवं चलचित्र निर्देशक प्रकाश सायमीले १२ वर्षअघि निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘सिमाना'मा समेटिएको ‘उकाली ओराली गर्दै' बोलको गीत जनजिब्रोमा लामो समयसम्म रह्यो । सोनु निगमले स्वर दिएको यो गीतका संगीतकार हुन् शक्ति वल्लभ । युट्युबमा अहिलेसम्म नौ लाखभन्दा बढी पटक हेरिएको यो गीतले संगीतकार वल्लभलाई चर्चाको शिखरमा पुर्यायो । उनै संगीतकार वल्लभ शुक्रबार चितवनको रत्ननगरमा भजन गाउँदै गरेको भेटिए ।
३२ वर्ष लामो सरकारी जागिरबाट सेवानिवृत्त ६० वर्षीय रामहरि अर्यालद्वारा रचित एवं संगीतकार वल्लभद्वारा संगीतबद्ध भजनसंग्रह ‘भजन सन्देश' लोकार्पण समारोहमा वल्लभले भजनमा भाका हाले,
राम ईश्वर रामेश्वर
राम भज या भज शंकर
दुवै एकै हुन् परमेश्वर ।
‘मैले अहिलेसम्म सयौं गीतमा संगीत भरेँ', भजन गाएपछि वल्लभले भने, ‘यो भजनको शब्दमा संगीत भरेपछि आफैंले गाउन लोभ लाग्यो । म हिन्दु भएकाले यही भजनबाट भजन गायन सुरु गरेँ ।' संगीतकार वल्लभले भजन सन्देशमा एकल स्वर दिएका छन् । कार्यक्रममा उनलाई गायक सुमित खड्काले स्वरमा साथ दिएका थिए । वल्लभले खड्कासँगै ‘गुरु मेरो माता गुरु मेरो पिता' बोलको भजन पनि सुनाएका थिए । गायक खड्काले ‘जयजय राम जयराम', गायिका रीता केसीले ‘न त यो मेरो न त त्यो तिम्रो' र ‘कति रुन्छौ मानव संयोगलाई वियोग मानेर' बोलका भजन सुनाएका थिए ।
चितवनवासी रामहरि अर्यालकी धर्मपत्नी नीलिमा अर्यालले निर्माण गरेको भजन सन्देश एल्बम लोकार्पण देवघाटधामस्थित गलेश्वर आ श्रमका पीठाधीश स्वामी आत्मानन्द गिरीले गरेका थिए । आठवटा भजन संग्रृहीत भजन सन्देशमा वल्लभ, खड्का, केसीका साथै आनन्द कार्की, रामकृष्ण ढकाल, शिशिर योगी, मिलन अमात्य र रामचन्द्र काफ्लेको स्वर रहेको छ । ‘जीवनको बारेमा साह्रै राम्रा भजनहरू लेखिएको छ', भजन सन्देशको संगीत कर्णप्रिय रहेको बताउँदै गायक कार्कीले भने, ‘मैले पनि एउटा भजन गाउने मौका पाएँ, खुसी लागेको छ ।'
भजन सन्देशमा संग्रृहीत भजनहरूमा जीवन दर्शन, भक्ति र सन्देश रहेको भजनका रचयिता अर्यालले बताए । लोकार्पण समारोहमा बोल्दै ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रत्ननगरकी प्रमुख ब्रह्मकुमारी शर्मिलाले भजनले विचार शुद्धिमा सहयोग पुर्याउने विचार व्यक्त गरिन् ।