इस्लाम हाम्रो धर्म, रामायण हाम्रो संस्कृति

इस्लाम हाम्रो धर्म, रामायण हाम्रो संस्कृति

सागरपारि: हाम्री छोरी

उनको नाम रहमा जुल्मा। उनको घर इन्डोनेसियाको सुराबाया सहर। उनको धर्म इस्लाम। उनी मेरी छोरी। पूर्वी नेपालको उपाध्याय बाहुनकी छोरी कसरी इन्डोनेसियाली मुस्लिम केटी हुन पुगी?

कथा तीन वर्षअघि सुरु हुन्छ। २०७१ सालको जेठताका मेरी छोरी नेहाको मित्रता रहमा जुल्मासँग कुनै सामाजिक सञ्जालमार्फत भयो। उनीहरूले आफ्ना विचार आदानप्रदान गरे, पढेका पुस्तकको चर्चा गरे र आफूलाई मन पर्ने ठाउँ पनि एकअर्काले थाहा पाए। त्यसपछि, रहमा भदौमा नेपाल आउने भइन्, नेपाल घुम्नका लागि। उनले नेपालमा नेहासँग भेट्न खोजिन्। उनी पहिले काठमाडौं आइन् र नेहासँग बस्ने–खाने ठाउँ मिलाइदिन आग्रह गरिन्। छोरी नेहाले यो कुरा मलाई सुनाइन् र मैले हाम्रै घरमा बोलाऊ भनी सहमति दिएँ। त्यसरी उनी इटहरी र इलाम आइन्।

हुन त मैले उनको हिजाब लगाएको फोटोमात्र एकपल्ट हेरेको थिएँ, तर उनलाई देख्नेबित्तिकै मलाई लाग्यो यिनी त हामीसँग वर्षौंदेखि परिचित छिन्, लाग्छ आफ्नै छोरी हुन्। मलाई लाग्यो, मेरी अर्की पनि छोरी भइन्। सम्भवतः ईश्वरले पठाए। रहमा हामीसँग डेढ महिना बसिन्, छोरी भएर, बाआमाकी नातिनी भएर।

हामीसँगै दसैं मनाइन्। एक महिना बस्दा हाम्रो परिवारकी अभिन्न अंग भइन्। बस् बाँधियो एउटा धागो प्रेमको। हामीलाई धर्मले छेकेन, देशको सिमानाले छेकेन, समुद्रले छेकेन। मेरा बुवा, व्यासमा बसेर दसौंपल्ट पुराण वाचन गरेका पण्डित हुनुहुन्थ्यो। हिजाब लगाएकी रहमालाई घरभित्र नपस भन्नुभएन। हामी सुत्ने ओछ्यानमा नसुत भन्नुभएन। भान्सामा सँगै बसेर खाना नखाऊ पनि भन्नुभएन।

रहमालाई घरको मन्दिरकै छेउमा राखेर दसैंको टीका लगाइदिन्नँ भन्नुभएन। अगाध स्नेहले टीका लगाइदिनुभयो, आफ्नी नातिनी मानेर। संस्कृतका श्लोक पढेर आशीर्वाद दिनुभयो। श्लोकको अंग्रेजी अर्थ पनि लगाइदिनुभयो। रहमा विधिवत् उहाँकी नातिनी भइन्। हाम्री छोरी भइन्। हामीले सँगसँगै सबै आफन्तकहाँ गएर टीका लगायौं।

आखिर उनी हिँड्ने दिन पनि आयो। उनले काठमाडौं गएर, अन्नपूर्ण पदयात्रा गर्ने कुरा गर्दै थिइन् तर हिँड्न मानिरहेकी थिइनन्। तर, उनलाई जानै थियो र हामीले उनलाई बिदा गर्‍यौं। फिक्कलमा बस चढाउन सबै आयौं। माघेको घरबाट हिँड्दै खेरि उनको अनुहार मलिन थियो। फिक्कलमा बसको सिटमा बसालिसकेपछि हिँड्न थाल्दा, उनी ग्वाँग्वाँ रुन थालिन्।

हाम्रो पनि हृदय रोयो। मैले उनलाई अँगालामा बाँधे र भने, 'नरोऊ छोरी। अब तिमी हाम्री छोरी हौ, नेपालमा तिम्रो घर छ। बाबुआमा छन्, दाजुबहिनी छन्। हजुरबा हजुरआमा हुनुहुन्छ। जहिले जति बेला मन लाग्छ तिमी उडेर आऊ, कुदेर आऊ। हामी तिम्रै प्रतीक्षामा बस्नेछौं। कुनै बेला मिल्यो भने हामी पनि इन्डोनेसिया आऊँला। हाम्रो दोस्रो घर जाऊँला।'

 

भन्न त भनेँ तर मलाई पनि आफ्नो आँसु रोक्न गाह्रो भइरहेको थियो। आँखाभरि आँसु भरेर गह्रौं मन लिएर बसबाट ओर्लिएँ। चस्माको चेपबाट चियाएर हेरेँ, रहमा रोइरहेकी थिइन्। एक मन त काठमाडौंसम्म पुर्‍याउन जाऊँ कि जस्तो पनि लाग्यो। तर, तुरुन्तै त्यो सम्भव थिएन। उनी काठमाडौं गइन्। नेपालमा हुन्जेल दिनको दुईपटक फोन गरिन्। अनि उडिन् इन्डोनेसिया। उनी त्यहाँ पुगेपछि, सम्बन्धका नयाँ आयामहरू सिर्जना भए, उनले नेपालमा बाआमा भेटेको, दाजुबहिनी भेटेको, हजुरबा हजुरआमा भेटेको कुरा गरिन्। यसरी हाम्रो अर्को घर बन्यो इन्डोनेसियाको सुरबाया सहर। यसरी रहमाको अर्को घर बन्यो नेपालको माघेगाउँ, इटहरी सहर।


विश्वकै सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसिया। इन्डोनेसियामा रामायण र महाभारत जताततै भेटिन्छन्। राजधानी जकार्तामै कृष्ण सारथि भएर रथ हाँकेको बडेमानको प्रतिमा ठडिएको छ। रामायणसम्बन्धी विभिन्न पपेट सोहरू नियमित रूपमा गरिन्छन्, देखाइन्छन्।

 

रहमालाई भन्न त भनियो कुनै बेला आइहालिन्छ कि इन्डोनेसिया भनेर। तर, कहिल्यै इन्डोनेसिया पुगिन्छ वा पुगिन्न निधो थिएन। भविष्य भन्ने क्षमता हामीसँग छैन पनि। तर, गत वर्ष लगभग साउनतिर ईमेलमा भारतको छत्तीसगढबाट निम्तो आयो— सृजन सम्मानले तेह्रौं अन्तर्राष्ट्रिय हिन्दी सम्मेलन बाली, इन्डोनेसियामा गर्दैछ। सादर उपस्थितिको कामना गर्छौं।

हत्त न पत्त बाली कहाँ पर्छ, सुरबायादेखि कति टाढा, राजधानी जकार्तादेखि कति टाढा भन्दै गुगल म्याप हेर्न थालियो। बाली अलग्गै टापु रहेछ। छोरी रहमा फेरि जकार्तामा कार्यरत थिइन्। आफ्नो कार्यक्रम बालीबाट अन्त नजाने किसिमको थियो। एक मन लाग्यो, भेट नहुने नै रैछ। रहमालाई म आउने कुरा सुनाएँ। उनका खुसीका पखेटा निस्किएका थिए। उनले जसरी पनि बाबालाई भेट्न बाली आउँछु भनेपछि अलिक ढुक्क लाग्यो।

प्रतीक्षाका पल समाप्त हुनेवाला थिए। बाली पुगेको दोस्रो दिन, दिनभरि कार्यक्रममै व्यस्त भएँ। साहित्यिक कार्यक्रममै मैले मेरी छोरीको घर इन्डोनेसियामा छ भनेँ। तीनछक्क परेका विभिन्न देशबाट आएका साहित्यकारको उत्सुकता शान्त पार्न मैले माथिकै कुरा दोहोर्‍याएँ। मेरी छोरी मलाई भेट्न आउँदैछिन् पनि भनेँ।

प्रेम, स्नेह र अपनत्वलाई केले पो छेक्दो रहेछ र ? सुन्ने जति सबै आश्चर्यचकित भए। म भने छोरीसँगको मिलनको पल सम्झिएर मनमनै रमाइरहेँ। त्यस दिन त उनी आउन भ्याइनन्। तर, अर्को दिन बिहान आइपुगेकी रहिछन्। हामी बसेको होटलमा आएर बिहानैदेखि भेट्न खोजेकी रहिछन्। तर, दिउँसो भेट्न सम्भव भएन। कार्यक्रम सकेर होटल फिर्दा आँखाहरू गेटतिर फर्काएर उभिइरहेकी थिइन् उनी।

आँखामा नेपालको आफ्नो बाबालाई भेट्ने उत्कट अभिलाषा प्रस्ट देखिन्थ्यो। परैबाट देख्नेबित्तकै ‘बाबा' भनेर बोलाइन्। म पनि दौडिँदै गएर उनलाई स्नेहले भरिएको अँगालामा बाँधे। फिल्मको दृश्यजस्तो लाग्ने यस वास्तविक घटनामा, होटल परिसरमा भएका पर्यटकहरूले देखे ­एउटा नेपाली बाबु र इन्डोनेसियाली छोरीको अभूतपूर्व मिलन। रहमालाई भेट्दाको क्षणको बयान म कसरी गरूँ ? शब्दै छैनन्। हिँड्ने बेलामा एउटा मीठो वाचा गरिन् ­ आगामी जनवरी २०१८ मा नेपाल आउने। हृदयमा सानो मायाको दियो बालेर रुँदै हिँडिन् मेरी छोरी। उनको जकार्ताको फ्लाइट छुट्नै लागेको थियो।

रामायण र महाभारत
विश्वकै सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसिया। इन्डोनेसियामा रामायण र महाभारत जताततै भेटिन्छन्। राजधानी जकार्तामै कृष्ण सारथि भएर रथ हाँकेको बडेमानको प्रतिमा ठडिएको छ। रामायणसम्बन्धी विभिन्न पपेट सोहरू नियमित रूपमा गरिन्छन्, देखाइन्छन्। जाभा र सुमात्रा द्वीपहरूमा मुस्लिम धर्मावलम्बीको बहुलता छ, त्यस्ता ठाउँहरूमा पनि मुस्लिम कलाकारहरूले रामायण र महाभारतका कथाहरू पपेट सोमार्फत देखाउँछन्।

इन्डोनेसियामा गएर कसैले किन मुस्लिम भएर हिन्दुहरूको रामायण वा महाभारतको खेल देखाएको ? भनी सोध्यो भने राष्ट्रपतिदेखि सर्वसाधारणले एउटै जवाफ दिन्छन्, ‘इस्लाम हाम्रो धर्म हो, रामायण हाम्रो संस्कृति।' धार्मिक कट्टरताको भावनाले इन्डोनेसियालीहरूलाई कतै छोएको देखिन्न। नब्बे प्रतिशतभन्दा बढी हिन्दुको जनसंख्या भएको बाली टापुमा भएका मन्दिरहरूमा जोसुकै जानसक्छ।

बालीमा हजारभन्दा बढी मन्दिर छन्। हरेक गाउँमा तीनवटा मन्दिरहरू हुनैपर्ने नियम रहेछ। तीनवटा मन्दिर गाउँको उत्तर, मध्य र दक्षिणमा हुन्छन्। ब्रह्मा, विष्णु र शिवका यी मन्दिरहरू इन्डोनेसियालीहरूका आस्थाबिन्दु हुन्। अझ रोचक कुरा, बालीका हरेक घरबाहिर हाम्रातिर तुलसाको मोठ भएजस्तै साना मन्दिरहरू छन्। घरको कुनै एकजना सदस्यले बिहान पूजा गरेपछि मात्र बाली निवासीहरूको दिनचर्या सुरु हुँदो रहेछ।

बुर्का लगाएका मुस्लिम नारीहरू, हिजाब लगाएका मलेसियाली वा इन्डोनेसियाली मुस्लिम नारीहरू प्रशस्तै मन्दिर घुम्दै गरेका देखिन्छन्। कुनै धर्मान्धता छैन, सबैले प्रसाद चढाउँछन्, पूजा गर्छन् र फर्किन्छन्। प्रमुख मन्दिरहरूको पूजा स्थलमा भने पुजारीले मात्र पूजा गरेका बेला छिर्न पाउँछन्, अरू कसैलाई प्रवेश अनुमति छैन। तर, हेर्न र दर्शन गर्न सबैलाई छुट छ। मन्दिर परिसरभित्र पस्दा सबैले विशिष्ट किसिमको कपडा कम्मरमा बेरेरमात्र जान पाउँछ, जुन दर्शन गरिसकेर फर्किएपछि फिर्ता गर्नुपर्छ।

इन्डोनेसियाका धेरै ठाउँमा सरकारी स्तरबाटै चर्च, मस्जिद, मन्दिर, गुरुद्वारा आदि सँगै बनाइएका पनि छन्। बाली गएपछि र घुमेपछि लाग्यो, धार्मिक सहिष्णुताको अनुपम उदाहरण हो इन्डोनेसिया।

उलुवाटु मन्दिर र केचक नृत्य
बालीमा उलुवाटु नाम गरेको एउटा मन्दिर रहेछ। उलु (शिखर) वाट ु(चट्टान) चट्टानको शिखरमा रहेको मन्दिर हुनाले उलुवाटु मन्दिर र ठाउँको नाम पनि। श्री रुद्रको यो प्राचीन मन्दिर कुनै सन्तले बनाएका हुन् रे, बाली टापुलाई सुनामीजस्ता प्राकृतिक विपद्बाट बचाउनका निमित्त।

उलुवाटु मन्दिर क्षेत्र जंगलको बीचमा पर्ने भएकाले खैरे बाँदरहरूको चकचकले चाहिँ साँच्चिकै सताउने। चस्मा, गरगहना, क्यामेरा आदि खोसेर रूखका टुप्पामा गएर बस्छन्। अनि फलफूल र अन्य खानेकुरा दिन तयार भयो भने फ्यात्त भुइँमा फ्याँकिदिन्छन्। (मेरो आफ्नै मोबाइल खोसेर लगेकाले आफैं पीडित भएँ)। बाँदरबाट सामान जोगाउनु भनेर बारम्बार माइकबाट घोषणा पनि भइरहन्छन्।

उलुवाटु मन्दिर क्षेत्रमा एउटा ओपन थिएटर पनि बनाइएको छ। त्यस थिएटरमा साँझको ६ बजे केचक नृत्य भन्ने नृत्य देखाइन्छ। पहिले धेरै लोग्ने मानिसहरू चकचक... चकचक... चकचक... आवाज गर्दै मञ्चको मध्यमा आउँछन् र तीन चार गोला घेरा बनाउँछन्। अनि एकछिनपछि शास्त्रीय शैलीको नृत्य गर्दै राम र सीताको प्रवेशबाट सुरु हुन्छ केचक नृत्य। रामायणको संक्षिप्त कथा स्थानीय नृत्यमा देखाइने यो प्रस्तुति बालीको संस्कृतिको अनुपम नमुना हो। यस नृत्यमा न कुनै पाश्र्व संगीत छ, न कुनै विशेष प्रकाशको व्यवस्था। लगभग एक घन्टाको नृत्यले हेर्नेलाई मन्त्रमुग्ध पार्छ र समय बितेको पत्तै हुँदैन। करिब दुई हजार बस्न मिल्ने ओपन थिएटरबाट केचक नृत्यको पाश्र्वमा समुद्रमा अस्ताउँदै गरेको सूर्यको मनमोहक दृश्य पनि देख्न सकिन्छ।

बालीमा पर्यटन र कफी
आम्दानीको सत्तरी प्रतिशत पर्यटनले धान्ने बाली द्वीपमा धेरैजसो अस्ट्रेलिया, न्युजिल्यान्ड, मलेसिया, जापान, भारत र चीनबाट पर्यटक आउँदा रहेछन्। एउटा निकै अचम्म लाग्ने कुरा­ बालीमा सार्वजनिक सवारीसाधन देखिएनन्। पर्यटकीय ठाउँमा ट्याक्सी पाइन्छन्। बजार क्षेत्रमा त्यो पनि छैन। किन यस्तो भनेर सोध्दा गाइडले भने बालीका हरेक परिवारमा सवारीसाधन छ। अरू केही नभए मोटरसाइकल त हुन्छ नै। त्यसैले सार्वजनिक सवारीसाधनको आवश्यकता छैन। पर्यटकका लागि ट्याक्सी छन्, बस छन्।

बालीमा सपिङ मार्ट चौबीसै घन्टा खुल्छन्। सडकमा गाडी पनि चौबीसै घन्टा त्यत्तिकै गुड्छन्। सडकमा हिँड्ने भनेका पर्यटकमात्र हुन्छन्। कुनै पनि बालीवासी खाली बसेर चिया पिइरहेको वा खेलिरहेको वा गफिएको देखिँदैन। सबैजना काम गरिराखेका छन्। व्यस्त छन्।

धानका खेतहरू, कफी बगानहरू, फलफूल खेतीहरू देखाउन पनि पर्यटक लगिन्छ। कफीसम्बन्धी एउटा रोचक जानकारी प्राप्त भयो। कफी बगानमा गएर कफी चाख्न पनि पाइयो। सबैभन्दा महँगो कफीचाहिँ चाखिएन किनकि पैसा तिर्नुपर्ने रहेछ, धेरै महँगो भएकाले। तर, त्यो कफी बन्ने विधिले भने हामीलाई छक्कै पार्छ। कफी पाक्न थालेपछि न्याउरीले कफीका राम्रा दानाहरू छानीछानी खाँदो रहेछ।

कफीको बोक्रा मात्र पच्ने भएकाले कफीको दिउल नपची न्याउरीको दिसाबाट निस्कँदो रहेछ। त्यही दिसा संकलन गरेर प्रबोधन गरी बनाइएको कफी संसारकै उच्च कोटिको कफीमध्ये पर्छ रे र सबैभन्दा महँगो पनि। नेपाली मान्छेलाई न्याउरीले दिसा गरेको कफी खान मन लाग्ने कुरै भएनख। धेरै महँगो भएकै कारण त्यसलाई चाख्न पनि शुल्क लाग्ने रहेछ। मलगायत अरू सबैले सित्तैमा पाइने नै कफी चाख्यौं र मीठो मान्दै फर्कियौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.