मतगणना सुस्त, आयोगको चासो

मतगणना सुस्त, आयोगको चासो

काठमाडौं : पहिलो चरण स्थानीय निर्वाचनअन्तर्गत आइतबार मतदान सम्पन्न चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकाको पूरै परिणाम आउन कम्तीमा एक साता कुर्नुपर्ने भएको छ । गणना सुस्त गतिमा अघि बढेकाले काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरपालिका, मकवानपुर उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकाको मतपरिणाम आउन कठिन भएको हो ।

निर्वाचन सकिएको २४ घन्टा बित्दा गाउँपालिकाको परिणामसमेत कछुवा गतिमा आइरहेको छ । दिउँसैदेखि गणना सुरु भए पनि राति १० बजेसम्म चार महानगरपालिका, नगरपालिका र गाउँपालिकाका अधिकांश स्थानमा थोरै मात्र मत गनिसकिएको छ । सोमबार बिहानैबाट गणना सुरु भएको ललितपुरमा केही छिटो गणना भएको देखिए पनि अन्य तीनवटै महानगरको गणना सुस्त गतिमा भइरहेको छ ।

 

मतगणना भएका अधिकांश ठाउँमा एमालेले अग्रता लिएको छ भने कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । काठमाडौंको हकमा साझा पार्टीका किशोर थापा र विवेकशीलकी रञ्जु दर्शनाका पक्षमा राम्रो मत छ ।निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८१ मध्ये २ सय ४४ स्थानमा मतगणना जारी छ । हुम्लाको ६ र रुकुमको एक ठाउँमा मात्र मतपेटिका संकलन गर्न बाँकी छ । सर्वदलीय सहमति जुट्न लामो समय लागेको चितवनको भरतपुर नगरपालिकामा पनि सहमति जुटेपछि ढिलो गरी गणना सुरु भएको आयोगले जनाएको छ ।

प्रदेश नम्बर ३ का १ सय ११, प्रदेश नम्बर ४ का ७९ र प्रदेश नम्बर ६ का ५४ स्थानमा मतगणना भइरहेको छ । १५ जिल्लाका ३७ स्थानमा मात्र गणना सुरु हुन बाँकी रहेको आयोगले जनाएको छ । मतणगना ढिलाइबाट देखिएका समस्या र तिनका कारण भोलिका दिनमा उत्पन्न हुनसक्ने परिस्थितिका विषयलाई लिएर प्रमुख आयुक्त, आयुक्तहरू, सचिवलगायतको बैठक मंगलबार बस्ने भएको छ । बैठकले मतगणना कार्यलाई कसरी सहज र सुलभ गराउन सकिन्छ भन्ने विषयमा ठोस निकास दिने विश्वास आयोगका एक सदस्यले अन्नपूर्णसँग गरे । उनले भने, 'आजभन्दा करिब २० दिनअघि एक मतपत्रमा मतदान र मतगणना गर्ने अभ्यास तालिममा हाम्रा सहसचिवहरूलाई करिब ५ मिनेट लागेको थियो । यहाँहरूले देखिहाल्नुभयो काठमाडौंको हकमा ७१ सेन्टिमिटर लामो र ५१ सेन्टिमिटर चौडा मतपत्र छ । त्यसमा पनि क्रस मतदान धेरै भएको परिवेशमा गणना कार्य निश्चय नै ढिलो भएको छ ।'

आयोगका सचिव गोपीनाथ मैनालीले प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग छलफल हुँदा सोमबार रातिबाटै पोखरामा तीन–चार र काठमाडौंमा एक–दुई स्थान थप गरेर मतगणना गर्ने समझदारी भएको बताउनुभयो । मतगणना स्थान थप्नासाथ सोहीअनुसार अधिकृत र सुरक्षाकर्मीसमेत व्यवस्था गर्नुपर्ने जानकारी उहाँले दिनुभयो । अन्नपूर्णको एक प्रश्नमा उहाँले भन्नुभयो, 'मतपेटिका एक घरबाट अर्को घरमा लान मिल्दैन । जहाँ राखिएको छ त्यहाँ पर्याप्त स्थान छैन । मतपत्र धेरै ठूलो र अत्यन्त अप्ठ्यारो छ । यद्यपि महानगर र केही नगरपालिकामा अहिलेको गणना स्थान थप गर्ने भएका छौं ।'

सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले मतगणनाका समग्र अप्ठ्यारो पक्षमा मंगलबार आयोगले केही निर्णय लिनसक्ने बताउनुभयो । उहाँका अनुसार त्यो निर्णय परिणामको प्रतीक्षामा रहेका आमजनता, गणनामा रहेका कर्मचारी, उम्मेदवार र दलहरूकै पक्षमा रहनेछ । एमालेका सचिव योगेश भट्टराईले मतगणना किन र के कारण ढिलाइ भइरहेको छ भन्ने आफूहरूले पनि नबुझेको बताउनुभयो । उहाँले भन्नुभयो, 'यसबारे प्रमुख आयुक्तदेखि स्थानीय निर्वाचन अधिकृतसम्मलाई हामीले घचघच्याएका छौं । उदाहरणका लागि भन्नुपर्दा पोखरा महानगरपालिकामा एक स्थानामा मात्र मतगणना भइरहेको छ ।'

भट्टराईले प्रतिप्रश्न गर्दै भन्नुभयो, 'मतगणनाकार्यमा आयोगले पुनर्विचार नगरे एक महिना लाउने ? ' आयोग सम्बद्धहरूबाट केकस्तो जबाफ पाउनुभयो भन्ने जिज्ञासामा भट्टराईले थप्नुभयो, 'मंगलबारसम्म परिणाम देख्न पाइएला ।'कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले आयोगसँग मतगणनाका विषयमा कांग्रेसले मंगलबार औपचारिक वार्ता गर्ने जानकारी दिनुभयो । कर्मचारी व्यापक रूपमा थपेर भए पनि मतगणनालाई तीव्रता दिनुपर्ने धारणा पराजुलीले व्यक्त गर्नुभयो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मतगणनाकार्य छिटोछरितो गराउनुपर्ने विषयमा आफूहरू गम्भीर भएको बताउनुभयो । यस विषयमा आयोगसँग आग्रह गरिने उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.