नर्सिङ एसोसिएसनले जित्यो 'रिस्क अवार्ड'
![नर्सिङ एसोसिएसनले जित्यो 'रिस्क अवार्ड'](https://annapurnapost.prixacdn.net/media/albums/risk-award-2017-photo-1-592a0eacbae897.17802183_93pB8Pz5VQ.jpg)
नयाँदिल्ली : स्वास्थ्य क्षेत्रको जोखिम न्यूनीकरण गर्न नर्सहरूको विशेष तालिम परियोजना सञ्चालनका लागि नेपाल नर्सिङ एसोसिएसनले १ लाख युरो (१ करोड १६ लाख ३२ हजार रुपैयाँ) बराबरको 'रिस्क अवार्ड २०१७' जितेको छ ।इपिनर्स परियोजना (इपिडिमिओलोजी नर्स) का लागि नर्सहरूको छाता संगठन नर्सिङ एसोसिएसनले उक्त अन्तर्राष्ट्रिय पुरस्कार जितेको हो ।
मन्च री फाउन्डेसन, संयुक्त राष्ट्रसंघको प्रकोप जोखिम न्यूनीकरण तथा ग्लोबल रिस्क फोरम डावोसद्वारा संयुक्त रूपमा प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड यसपटक नर्सिङ एसोसिएसनलाई प्रदान गरिएको हो । अवार्डका लागि अन्तिम तीनमा इपिनसका अलाबा केन्या तथा भारतको परियोजना छानिएका थिए ।
सूचना तथा सञ्चारका लागि नयाँ अवधारणा तथा प्रविधि शीर्षकमा राखिएको अवार्ड अन्ततः इपिनर्सलाई प्रदान गरिएको हो । मेक्सिकोमा बुधबार प्रदान गरिएको उक्त अवार्ड नर्सिङ एसोसिएसनको तर्फबाट अप्सरा पाण्डेले लिनुभएको थियो । प्रकोप जोखिम तथा कमजोर जनआवादी भएको क्षेत्र पहिचान गर्न एसोसिएसनको सञ्जाल प्रभावकारी रहेको जानकारी गराउँदै मेक्सिकोस्थित अवार्ड वितरण समारोहमा पाण्डेले भन्नुभयो, 'प्रकोप जोखिम घटाउन एपिनर्सको भूमिका प्रभावकारी रहेको छ । जोखिम क्षेत्रका जनताबीच समन्वय गरेर जनचेतना जगाउँदै प्रकोप जोखिम न्यूनीकरण गर्न उनीहरूले योगदान दिइरहेका छन् ।'
मेक्सिकोमा अवार्ड वितरण समारोह भइरहँदा नयाँदिल्लीमा भेटिनुभएकी एसोसिएसनकी अध्यक्ष तारा पोखरेलले एक लाख युरो बराबरको अन्तर्राष्ट्रिय पुरस्कार पाउने नर्सिङ एसोसिएसन सम्भवतः पहिलो संस्था भएको दाबी गर्नुभयो । उहाँका अनुसार दुईवर्षे यो परियोजनाअन्तर्गत भूकम्पप्रभावित क्षेत्र पहिचान गरेर स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्ने कार्यक्रम छ । पहिलो चरणमा पोखरा, बुटवल, सिन्धुपाल्चोक र काठमाडौंमा कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)