चर्चा बालसाहित्यको
काठमाडौं : सुन्दा बालबालिकाका लागि साहित्य । गहन ढंगले बुझ्न नसक्दा र यसको दूरगामी महत्ववलाई मनन गर्न नसक्दा यो अत्यन्तै सामान्य विषय नै भइरहेको छ । न नेपालका विशिष्ट साहित्यकारले बालसाहित्यलाई कहिल्यै गम्भीर ढंगबाट चिन्तनमनन गरे न सरकारले । दुर्भाग्य नै भन्नुपर्छ, सरकारले आजसम्म नेपाली बालसाहित्यको विकासका लागि कुनै नीतिसम्म बनाएको छैन ।
राम्रो कुराको अनुकरण र अनुसरण गर्दा विदेशीको नक्कल गरेको ठहरिँदैन । विश्वभर चर्चित साहित्यकारहरू म्याक्सिम गोर्की, लियो टोलस्टोय, प्रेम चन्द, शरद चन्द आदिले मूलधारको साहित्यमै पकड र प्रभाव जमाएर पनि बालसाहित्य लेखेका छन् । आखिर किन ? उनीहरूले लेखे र आखिर किन ? नेपालमा लेखिँदैन । किन बालसाहित्य सर्जक र लेखकलाई तल्लोस्तरको दर्जा दिइन्छ ? ‘बालसाहित्यमा कलम चलाउनु तल्लो स्तरको काम होइन बरु राष्ट्रलाई माथि उठाउनु हो', बालसाहित्यकार विनय कसजू भन्नुहुन्छ, ‘बालसाहित्य लेख्नु चानचुने कुरो होइन, थुप्रै चुनौती छन् र यसका लागि विशेषज्ञता चाहिन्छ । बालसाहित्य लेख्नु भनेको राष्ट्रको ऋण चुकाउनु हो ।'
बालसाहित्य आजसम्म जे जति छ त्यो जनस्तरबाटै भएको हो भन्दा अत्युक्ति नहोला । के कोरा कागज र गिलो माटो मानिएका बालबालिकामा आकार कोर्न र उनीहरूलाई आकार दिन सरकारको कुनै दायित्व हुन्न ? संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०६८ सालदेखि मुलुकभरका सबै जिल्ला, नगरपालिका र गाउँ विकास समितिमा बालमैत्री शासन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको छ । यसले बालबालिकाको व्यक्तित्व विकासमा धेरै प्रभावकारी भूमिका खेले पनि बालसाहित्यको पाटोलाई ३९ वटा सूचकमा पनि अटाउन सकेको छैन । कसजूका अनुसार, सरकारले बालबालिकाका लागि दसवर्षे रणनीति दुईपटक बनाए पनि कार्यान्वयनमा सार्थकता पाएकै छैन ।
समयलाई आधार मान्ने हो भने नेपाली बालसाहित्य प्रौढ भइसकेको छ । यद्यपि सवा सय वर्ष पुग्न लागेको नेपाली बालसाहित्यमा गर्व गर्न सक्ने ठाउँ भने छैनन् । ‘बढ्दो आधुनिकीकरण र वैज्ञानिकीकरणले गर्दा बालबालिकामा पनि बालचेतना, उत्सुकता, जिज्ञासा, बौद्धिकता धेरै अघि बढिसकेको आभास हुन्छ', नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तीका क्रममा लोकवार्ता तथा बालसाहित्य विभागले गत साता आयोजना गरेको ‘राष्ट्रिय वाङ्मय संगोष्ठी' मा तेजप्रकाश श्रेष्ठले ‘नेपाली बालसाहित्य ः हिजो, आज र भोलि' विषयक कार्यपत्र प्रस्तुत गर्दै थप्नुभयो, ‘विश्वसाहित्यले ई-बुकजस्ता डिजिटल माध्यमलाई अगाडि बढाएकोमा नेपाली बालसाहित्य र बालबालिका पनि ई-बुक, कम्प्युटर, ल्यापटप, ट्याब्लेट, आईप्याड, मोबाइल आदिमा रमाउन थालेका छन् ।' यति हुँदाहुँदै पनि अभिभावक बौद्धिक खुराकका रूपमा बालसाहित्यको आवश्यकता नठान्नु दुर्भाग्य भएको उहाँको बुझाइ छ ।
‘बालसाहित्य त्यो साहित्य हो जो भाषा, विषय, शैली प्रस्तुति सबै दृष्टिबाट बालबालिकाको रुचि, स्तर र ग्रहण क्षमताअनुरूप रचिएको हुन्छ', बालसाहित्य र लोककथामा रमेश विकलले लेख्नुभएको छ, ‘बालबालिकाको उद्देश्य मुख्यतः बालबालिकाको मनोरञ्जन नै हुन्छ तर यसले मनोरञ्जनका साथसाथै उनीहरूको मानसिक र बौद्धिक तथा चारित्रिक र नैतिक विकासमा पनि सहयोग पुर्याउँछ ।' यस भनाइलाई कसले कसरी बुझेका छन् ? लेखकले पनि यो र यस्तै भाव नबुझिकनै कृति लेख्नु पनि दुर्भाग्य भएको सरोकारवाला बताउँछन् । बालकृति जसले पनि र जस्तो पनि प्रकाशित गर्ने गलत प्रवृत्ति देखिइरहँदा समेत सरकारले एकरूपता दिन र निश्चित मापदण्ड तोक्न सकेको छैन ।
प्रकाशक र सरकार दुवैले लेखकलाई प्रोत्साहित गर्न सकेको छैन । कुनै पनि साहित्यकार बालसाहित्यमा पूर्णरूपमा लीन हुन सक्ने वातावरण छैन । प्रकाशन र वितरण गर्ने अवस्था दयनीय छ । प्रत्येक विद्यालयमा पुस्तकालय हुनैपर्छ भन्ने सामान्य सोच सरोकारवालासँग देखिँदैन । न त लेखकमा नै वैज्ञानिक र खोजमूलक बालकृति दिनुपर्छ भन्ने छ । २१औं शताब्दी, विश्व बालसाहित्य, विश्वका बालसाहित्यकार र विश्वभरका बालसाहित्यका पाठक सबैको मूल्यांकन गर्ने हो भने अब प्रकाशनको गुणस्तरीयता, सरकारको प्राथमिकतापूर्ण योजना र बजेटका साथै सूचना-प्रविधिको व्यापक प्रयोग गर्ने गरी ई-बुकदेखि बालसाहित्य समेट्ने विविध एप्ससमेतमा जानुपर्नेमा कसैको दुई मत नहोला ।