फ्ल्यासब्याकमा बुद्धचोक

फ्ल्यासब्याकमा बुद्धचोक

चितवनको कृष्णपुर । नजिकै क्यान्सर अस्पताल छ । गौरीगन्ज, प्रेमबस्ती, बसपार्क र एअरपोर्ट छुट्टिने चौबाटो । घरघरका निधारमा लेखिएको छ बुद्धचोक । अम्बरबहादुर गुरुङ त्यहाँका पुराना बासिन्दा । प्रशस्त जग्गाजमिन थियो उनको । उनकै नाममा 'अम्बरे चोक' भनिन्थ्यो त्यो ठाउँलाई पहिले । भरतपुरको 'हाकिम चोक' पनि त्यसैगरी त्यहाँ निवासी एकजना सरकारी कर्मचारीकै कारण नामांकित भएको थियो । पछि हाकिमलाई विस्थापित गरे ऐतिहासिक पात्र पृथ्वीले । नयाँ नाम 'पृथ्वीचोक' त राखियो तर उनै हाकिम अस्तित्वमा छन् अझै, राजमार्गछेउका घरका भित्ताभित्तामा । तर, अम्बरे चोकको हकमा विपरीत भयो । अम्बर काकाको अमरता लामो नरहने भयो । बुद्धले छायाँमा पारे उनलाई ।

Ganesh-Khaniyaझन्डै तीन दशक पहिलेको समाज । सूचना र मनोरञ्जनका माध्यम सीमित थिए । न्यासनल पानासोनिक वा फिलिप्स रेडियो देखिन्थे केही घरमा । त्यसमा पनि रेडियो नेपालको मोनोटोनस खबर सुन्दासुन्दा आजित थिए मान्छे । आखिर पञ्चायती मुखपत्र न थियो त्यो । टेलिभिजन दुर्लभ नै थियो । अनि गोरखापत्र पहुँचबाहिर । रेडियोको कान निमोठ्दा कहिलेकाहीँ सुनिन्थ्यो, 'यो अल इन्डिया रेडियो हो । अब दर्शन ठाकुरबाट समाचार सुन्नुहोस् ।' त्यस बखत बीबीसी नेपाली सेवामात्र पन्ध्र मिनेट बज्थ्यो, साँझको प्रसारण । त्यसले तृप्ति मिलेन जिज्ञासु र विद्रोही मनहरूलाई । अनि बुझीनबुझी बीबीसी हिन्दी सुन्ने गर्थे हाम्रा मामा-काका पुस्ता, आफ्ना दौंतरीको साथमा । नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको गठबन्धनमा निरंकुश राजतन्त्रविरुद्ध आन्दोलन चल्दैथियो देशभर । 'क्षेत्रपाटीस्थित गणेशमानको निवास चाक्सीबारीको बैठकले के निर्णय गर्‍यो ?

' बिस्तारमा बुझ्न बीबीसीको हिन्दी संस्करणतर्फ सबैको ध्यान एकोहोरिन्थ्यो । तिनै तात्तातो खबर आदानप्रदान हुन्थे भोलिपल्ट बुद्धचोकमा, दीपक दाइको दोकानको गुलियो चिया घुटयाउँदै । हटकेक न्युज । कालान्तरमा अम्बरे चोकले बीबीसी चोकको इनफर्मल नाम धारण गर्‍यो- ब्रेकिंग न्युज सुन्ने, सुनाउने । राजनीति नै केन्द्रीय विषय हुन्थ्यो त्यहाँ । परिवेश भने असहज थियो तिनताका । साप्ताहिक पत्रिकाको गजबको क्रेज थियो । देशान्तर, पुनर्जागरण, दृष्टि, छलफलजस्ता पत्रिका कहिले हात पर्ने हो ? व्यग्र प्रतीक्षामा हुन्थे सबै । राष्ट्रिय पञ्चायतमा भीमबहादुर ( श्रेष्ठ), भेटवाल (जागृत प्रसाद)ले के बोले ?

रूपचन्द्र विष्टले अर्को तोप के पड्काए ? पद्मरत्न तुलाधर, द्रोणप्रसाद आचार्य, गम्भीरजंग कार्की आदि जनपक्षीय नेताको भनाइ के रह्यो ? यिनै बहस हुन्थे हप्ता दिनसम्म । साप्ताहिक पत्रिकाका नयाँ अंक हात नलागेसम्म बहसका लागि महत्वपूर्ण मसला बनिरहन्थे तिनै बासी पत्रिका । दोहोर्‍याई तेहर्‍यई पढिन्थे अखबारका हेडलाइन । काठमाडौंबाट कोही घर फर्कंदैछ भने भनिन्थ्यो, 'फलानो फलानो पत्रिका ल्याउन नबिर्सनू है ।'

राजनीतिक प्रशिक्षकहरूले गोप्य रूपमा ल्याएका माक्र्स, लेनिन, माओका रेडबुक त उपलब्ध थिए । कतिखेर पुलिसको पासोमा पर्ने हुन् भन्ने डरले बारीका कान्लामा पुरिन्थे ती । परदेशबाट फर्कंदा लाहुरेहरूसँग भित्रिएका 'कोकशास्त्र' भने अर्धभूमिगत पारामा डुल्थे युवाहरूको हातहातमा ।

 घरको चियाले धीत मर्थेन हाम्रै टोलका धेरै घरमूलीलाई । घर नजिकको सोतीको पसलको चियामा पनि रमाएनन् उनीहरू । त्यसैले त बत्तिन्थे साइकलमा, अलि परकै त्यही बुद्ध चोकतिर । एक दिन हाजिर नहुँदा के­-के नै गुमेझैं गर्थे । आफ्नै बुवाको यस्तो हुटहुटी देख्थेँ म । तुलसीको ताजा पत्ता हालेर घरमै चिया पिउनेहरू पसलको चियातिर लहसिन थाले । अझ शनिबार त घरमा आमा÷ श्रीमतीहरू खाना कुरेर बसिराख्न विवश हुन्थे, झिँगा धपाउँदै । पुरुषहरू भने बिन्दास गफमा । नयाँ बानेश्वर चोकलगायत राजधानी सहरका चोकचोकमा उभीउभी अखबार पढ्नेमा अधिकांश पुरुष नै त देखिन्छन् अहिले पनि । पब्लिक डोमेनमा पुरुषको तुलनामा महिला पछाडि पर्नुमा यस्तै मसिना घटनाहरूको लामो इतिहास छ पक्कै पनि ।

राणा शासनको अन्त्यसँगै 'राप्तीदुन एकीकृत विकास आयोजना' सुरु गरिएको थियो चितवनमा, नयाँ बस्ती विकासका लागि । यसै आयोजनाको प्राविधिक सुझावअनुरूप भुवदेव राई अञ्चलाधीश रहँदा चितवनको खोरिया फाँडेर बस्ती बसाउने गरी पुर्जी वितरण सुरु भएछ । पैह्रो लगायतका प्राकृतिक प्रकोपपछि भोकमरी झेल्न बाध्य गण्डकी, धवलागिरि भेगका पहाडियाको ओइरो लागेछ त्यहाँ । औलोको महामारी फैलिएछ । पछि यूएसएआईडीको सहयोगमा औलो उन्मूलनार्थ डीडीटी छर्ने काम अभियानकै रूपमा चलेछ । पहाडियाको आगमनपछि रैथाने थारूहरूसँग लभ-हेट रिलेसन बन्दै गएछ । बुद्धचोकको दक्षिणपट्टि यसरी नै खोरिया फाँडी बस्नेहरू छन् । हाम्रा बाउबाजे पनि त्यही लर्कोमा सामेल भई चितवनको कृष्णपुर आइपुगेछन् २०१३ तिर ।

भरतपुर एअरपोर्टको तल्तिर अनि बुद्धचोकको सिरानपट्टिको क्षेत्र भने अलि पछि आवाद भयो, हरेक परिवारले दस कट्ठाका दरले जग्गा पाएछन् । 'दसकट्ठे' उपनाम पनि पाएछन् त्यहाँका बासिन्दाले । दस कट्ठामा बस्नेहरू अधिकांश जागिरे थिए, त्यसमा पनि शिक्षण पेसासँग सम्बद्धको संख्या बाक्लो । तल्तिरकाहरूको मुख्य पेसा नै कृषि थियो । दुवैतिरका बासिन्दाको संगमस्थल रह्यो बुद्धचोक ।

खेमराज वस्ती, मुक्ति भण्डारी, झुलप्रसाद पौडेल, विष्णु अधिकारी, धर्मराज गिरी, लालकृष्ण लामिछाने, राममणि पौडेल, दीपक रानामगर त्यहाँ प्रायः दोहोरिने अनुहारहरू । अखबार पल्टाएर चर्कोचर्को स्वरमा समाचार वाचन गरी सुनाउँथे पालैपालो । कहिलेकाहीँ पार्टीविशेषका पक्षधरताले भनाभन र हात हालाहालको स्थिति पनि आइलाग्थ्यो । नरबहादुर खाँड, जगन्नाथ पौडेल, गंगाधर लम्सालजस्ता राजनीतिका हेभिवेटहरू पनि झुल्किन्थे त्यो चोकमा बेलाबखत । आवतजावत गर्नेेहरूसमेत अडिन्थे, केही बेर सुस्ताउँथे बुद्धचोकमा । धेरै सुन्थे, केही सुनाउँथे । अनि आआफ्ना गन्तव्य ताक्थे । गाउँदेहात र सहरबजारका किसिमकिसिमका खबर भित्रिन्थे यसैगरी, तिनै अवैतनिक हुलाकीमार्फत ।

दसैंतिहारमा नाटक देखाउने, अन्य सांस्कृतिक कार्यक्रम गर्ने थलो रह्यो यो चोक । रिकुटे चरित्रसँग परिचित बनियो यहीँ मञ्चित नाटक 'बसाइँ' हेरेर । गर्भवती बनाइएकी झुमालाई स्वीकार्ने मोटे कार्की बनेका थिए हाम्रै स्कुलका स्वास्थ्य विज्ञानका शिक्षक गणेश न्यौपाने । गाउँले दर्शकहरू त्यो दृश्य सहजै पचाउन नसकेर जिब्रो टोक्थे, चरम आश्चर्यमा । खुसीराम पाख्रिन लगायतका सांस्कृतिककर्मीहरूले जनजागरण र विद्रोही भाका उराल्थे यही चोकमा । सम्साँझै खाना खाइवरी पुग्थ्यौं हामी गीतसंगीतको आनन्द लिन । तर पुलिस प्रशासनको धरपकडमा पर्ने खतरा पनि रहन्थ्यो उत्तिकै । गाउँघरमै हाम्रैमाझ लुकी बसेका थिए थुप्रै पञ्चायतका भिजिलान्तेहरू । कालान्तरमा पञ्चायतविरुद्ध तीव्र 'डिस्कन्टेन्ट' बढाउने थलो बन्यो बुद्धचोक पनि ।

कतै लाइब्रेरी खुलेका थिएनन् । न त थिए वाचनालय । राजनीतिक प्रशिक्षकहरूले गोप्य रूपमा ल्याएका माक्र्स, लेनिन, माओका रेडबुक त उपलब्ध थिए । कतिखेर पुलिसको पासोमा पर्ने हुन् भन्ने डरले बारीका कान्लामा पुरिन्थे ती । परदेशबाट फर्कंदा लाहुरेहरूसँग भित्रिएका 'कोकशास्त्र' भने अर्धभूमिगत पारामा डुल्थे युवाहरूको हातहातमा । ज्ञानका प्रामाणिक आधारको अभावमा स्थानीयको चेतना विकास होस् कताबाट ? त्यसैले पनि हावादारी खबर नै बढी हिट हुन्थे त्यहाँ । गफका सदाबहार विषय हुन्थे- कसले कत्ति जग्गा किन्यो ? कुन नयाँ छिमेकी थपियो गाउँमा ? आफ्नोभन्दा अर्काको हरहिसाब र खोजखबर ज्यादा राख्थे मान्छेहरू । चाहिँदो नचाहिँदो खबर सुनिन्थ्यो त्यहाँ । त्यसैले होला, फटाहा चोक पनि भनिन्थ्यो यसलाई । फटाहाको ट्याग निकाल्न लामै समय लाग्यो यो चोकलाई ।

कुटानीपिसानी मिल थियो बुद्धचोकमा । धान कुट्न, गहुँ, मकै पिस्न अनि तोरी पेल्न गइराख्नु पथ्र्यो हामी, साइकलमा सामान राखेर डोर्‍याउँदै । एकमात्र मिल भएकोले निकै भीड हुन्थ्यो । पालो कुरिबस्दा पट्यार लाग्थ्यो । त्यो चोकमा जम्मा भएका मान्छेहरूको चर्कोचर्को आवाजतिर मोडिन्थ्यो ध्यान । अनि त्यही चोक वरपरका गतिविधि र चर्तिकला हुन्थे मेरो लागि समय काट्ने माध्यम ।

२०५३ तिरको सन्दर्भ हो । क्यान्सर अस्पताल बन्दै थियो बुद्धचोकको नजिकै । चिनियाँ ठेकेदार कार्यरत थिए त्यहाँ । म भर्खर इन्जिनियरिङ पढेर फर्केको, भोजाडस्थित पोलिटेक्निक इन्स्टिच्युटमा पढाउँथे सब-ओभरसियरहरूलाई । कहिलेकाहीँ विद्यार्थी लिएर जान्थ्यौं अवलोकन गराउन निर्माणाधीन क्यान्सर अस्पतालको परिसरमा । अचम्म लाग्थ्यो, सुकिलामुकिला मान्छेहरू काँधमा आफैं लेभल मसिन, थियोडोलाइट बोकी हिँडेको देखेर । पछि बुझियो उनीहरू त त्यहाँका प्रोजेक्ट चिफ, सिनियर इन्जिनियर रहेछन् । त्यसको विल्कुल एक सय असी डिग्री उल्टो परिपाटी देखिरहेको हामीकहाँ-हाकिम भनाउँदाहरू दम्भले भरिएका, मानखातिर र चाकडीको लेनदेनमै रमाउने प्रवृतिका ।

त्यो देख्दा छक्क पर्नु अस्वाभाविक थिएन । माओकालीन साम्यवादी धंगधंगी कायमै थियो सायद ती चिनियाँहरूमा । तिनै मान्छेहरू बिहान साँझ गाउँघर चाहार्थे । फरक ढबका मान्छेहरूको त्यो उपस्थिति धेरैको नजरमा पर्ने नै भयो । तिनैको देनभन्दा फरक पर्दैन, विस्तारै त्यो क्षेत्रमा बढेको मर्निङवाक, इभिनिङ वाकको नयाँ ट्रेन्ड । समाजका यी नयाँ पात्र र परिवर्तन त्यो चोकमा उपस्थितिका लागि चियासँगैको मीठो सितन हुने गथ्र्यो साँझबिहान ।

उर्वर फाँटहरू चक्लाबन्दी गरी महँगा घडेरीमा रूपान्तरित भए । बिघा, कट्ठा हुँदै धुरमा समेत कारोबार हुन थाल्यो जमिनको । जग्गा दलाली गरेरै नवधनाढ्य बन्नेहरूको रवाफ बढ्दै गयो । फेरि नवप्रवेशीहरूले खोरिया फाँडी बस्ने रैथानहरूलाई ओझेलमा पार्दै लगे । जाडोमा अँगेनामा आगो ताप्दै र गर्मीमा बाहिर बसेर हावा खाँदै गफ्फिने समाज थियो पहिले । त्यही सल्लाह गरिन्थ्यो, भोलि कसको खेतमा पानी पटाउने ? रोपाहार कहाँबाट जम्मा गर्ने ? एकाएक सामाजिक सद्भाव र पारस्परिक सहयोग ओरालो लाग्दै गयो ।

अत्यधिक व्यक्तिकेन्द्रित प्रवृत्ति मौलाउँदै गयो । अँगेनाका डिस्कोर्र्सहरू फेसबुक, भाइबर, मेसेन्जर, ट्विटरतिर सरे । के गाउँ, के सहर, मान्छेहरू काउच पोट्याटो बन्न थाले, घन्टौं एउटै पोजिसनमा बस्ने, मनमाफिक इन्टरनेट इन्टरटेन्मेन्टमा डुब्ने । प्लेग्राउन्डमा खेलिने फुटबल, क्रिकेट भिडियो गेममा प्रवेश गरे । फेसबुक, ट्विटर, ह्यासट्याग, इन्स्टाग्राम भनेको आवश्यकतामात्र होइन, 'स्टेटस सिम्बल' पो बन्न लागे । यिनै उतारचढावको सवाई कहन्छ अहिले बुद्धचोक ।

मस्कोको रेड स्क्वायर, इजिप्टको ताहारिर स्क्वायर, इजरायलको रविन स्क्वायर, टर्कीको ताक्सिन स्क्वायर, चाइनाको तियानमेन स्क्वायर, अमेरिकाको हार्भड स्क्वायर । यस्ता थुप्रै स्क्वायरको बहुआयामिक महत्व देखिन्छ- सांस्कृतिक, राजनीतिक, ऐतिहासिक, कलात्मक आदि पाटाहरूबाट हेर्दा । यिनै सार्वजनिक स्थलबारे ख्यातिनामा लेखकहरूले गरेको विमर्श संकलित छ गत वर्ष क्याटी म्यारोनको सम्पादनमा निस्केको किताब 'सिटी स्क्वायर्स' भित्र । सुकेतु मेहेताको सुन्दर मेमोयर छ भारतको मुम्बई सहरमाथि- 'म्याक्सिमम सिटी' । सहरलाई पात्र बनाई लेख्ने क्रम सुरु भएको छ हामीकहाँ पनि । गिरीश गिरीको 'वीरगन्ज' र रवि थापाको 'ठमेल' यसैका पछिल्ला उदाहरण हुन् । अझै कैयौं सहर, चोकका विविध पाटा केलाउनै बाँकी छ हामीले । डिस्कोर्सका अद्भुत प्ल्याटफर्म हुन् यस्ता चोक, पटांगिनीहरू ।

काठमाडौंको न्युरोडस्थित पीपलबोटको गर्विलो इतिहास छ सामाजिक राजनीतिक चेतना फैलाउनमा । चितवनकै चम्पानगरको पाखुरी चोकको पनि रमाइलो कहानी छ । कम्युनिस्ट जन्माउने चोक भनिन्थ्यो यसलाई । त्यसैले त यो चोकका गतिविधि पञ्चायतकालीन प्रशासनको विशेष निगरानीमा थिए । कम्युनिस्टहरूको बाहुल्य क्षेत्र भएकैले तत्कालीन सिडियोले यो चोकलाई पेकिङ चोक नाम दिएका थिए, भेटघाटमा यो सन्दर्भ जोड्छन् लेखक रेशम विरही । नारायणगढपारिको गैंडाकोटस्थित कांग्रेस चोकले पनि छुट्टै पहिचान बोकेको छ । गाउँगाउँ, कुनाकुनामा यस्ता कैयौं थलो छन् जसले व्यक्तिगत आक्रोशलाई सामूहिक बल प्रदान गरिरहे- निर्बाध, निरन्तर । धेरै ऊर्जा थपे आन्दोलन चर्काउन, व्यवस्था परिवर्तन गर्न यस्ता चोके विमर्शहरूले ।

बुद्धचोकमा हुने नियमित भेला पनि अविस्मरणीय अध्याय बनेको छ कृष्णपुरेहरूमाझ । अहिले पनि त्यो बाटो ओहोरदोहोर गर्दा मान्छेहरूको झुण्ड देखिन्छ, चियाको चुस्की लिँदै गरेका, अखबारका पानामा आँखा डुलाइरहेका, उत्साहित हुँदै वादविवाद गरिरहेका । पात्रहरू फेरिएका छन् अवश्य । तर, अड्डा जमाउने पुरानो प्रवृत्ति कायमै छ । बसाइँ झरेका नयाँनयाँ पात्रहरू त्यो चोकको हिस्सा बनिरहेछन् आजपर्यन्त । यी पंक्तिहरू लेखिरहँदा मोहम्मद रफीको सुरिलो आवाज अनायास गुनगुनाउन पुग्छु म, 'आदमी मुसाफिर है, आता है जाता है । आते जाते रस्तेमे यादे छोड जाता है ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.