एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी
काठमाडौ: गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ। शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो।
गतवर्ष नेपाल सरकारले उहाँलार्ई अष्ट्रेलियाको क्विन्सल्यान्ड सहरका लागि पर्यटनदूत नियुक्ति गरेको थियो। रासससँग कुरा गर्दै शाहले भन्नुभयो-'मैले तीन कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेपछि अध्यक्षमा मेरो दाबेदारी स्वभाविक हो, म निर्विरोध निर्वाचित हुन्छु ”।
शाहले अस्ट्रेलियमा रहेका नेपालीको समस्या समाधान र हितका लागि काम गर्ने तथा नेपालमा पर्यटक र विदेशी लगानी भित्र्याउने आफ्नो प्रमुख कार्यसूची रहेको पनि बताउनुभयो।
अष्ट्रेलियाको नेपाली समाजलाई मातृभूमिसँग सामाजिक र सांस्कृतिक रुपमा जोड्न विभिन्न मौलिक कार्यक्रम आयोजना गर्न आफ्नो विशेष ध्यान केन्द्रित हुने उहाँले बताउनुभयो ।
एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालका लागि असार २४ गते अधिवेशन हुँदैछ । उहाँले अस्ट्रेलियामा शिक्षा, रेस्टुरेन्ट र पर्यटन व्यवसायमा लगानी गरिरहनुभएको छ । फेसबुक, मेरो भ्यालेन्टाइन लगायतका नेपाली चलचित्रमा समेत उहाँले नायकको रुपमा अभिनय गर्नुभएको छ ।
अस्ट्रलियामा करिब एक लाख नेपाली रहेको अनुमान गरिए पनि करिब नौ हजारले मात्रै एनआरएनको सदस्यता लिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)