किसानलाई रोपाइँको चटारो

किसानलाई रोपाइँको चटारो

प्युठान :  स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्युठानका अधिकांश किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ । ‘मानो रोपेर, मुरी फलाउने' समय भएकाले किसानले चुनावभन्दा खेतीपातीलाई धेरै समय दिएका छन् । जेठभित्रै रोपाइँ सकाउने गरी जिल्लाका अधिकांश किसान लागिपरेको देखिएको छ । नेता खेतमै भोट माग्न पुग्ने गरेको किसानले बताएका छन् ।

जिल्लाका बहुसंख्यक किसानले जेठमै सबै क्षेत्रमा रोपाइँ गर्छन् । रोपाइँ सकाएर मात्र चुनावमा लाग्ने किसानले प्रतिक्रिया दिए । अन्य जिल्लामा चैत र असार महिनामा धान रोप्ने गरेता पनि यो जिल्लामा जेठमै रोपाइँ सकिने गरेको जिल्ला कृषि विकास कार्यालय प्युठानले जनाएको छ । पर्याप्त सिँचाइ सुविधाले जिल्लाका फाँटमा छिटो रोपाँइ हुने गरेको हो । बाह्रैमहिना बगिरहने झिमरुक नदी क्षेत्रमा पर्ने फाँटमा अहिले किसानलाई रोपाइँको चटारो छ ।

झिमरुक नदीको उद्गमस्थल गौमुखीदेखि विद्युत् उत्पादन गृह खैरास्थित ड्याम साइडसम्म रोपाइँ चलिरहेको छ । ठूलावबसी, ढाड, मच्छि, तोरवाङ, मरन्ठाना, दम्ती, धर्मावती, बाग्दुला, पुण्यखोला, बिजुवार, रातामाटा, दाखाक्वाडी र खैरालगायत क्षेत्रमा रोपाइँ भइरहेको छ । ‘वैशाखबाट रोपाइँ थालेका हौ',प्युठान नगरपालिका-७ बिजुवार पुन्यखोलाका किसान पोम नारायण पौडेलले भन्नुभयो, ‘जेठभित्र सबैले रोपाइँ सक्छन् ।' झिमरुक नदीबाट सिँचाइ गर्न पर्याप्त सुविधा भएकाले जेठ महिनाभित्रै रोपाइँ गरेर सकिने उहाँको भनाइ छ।

‘केहीकेही ठाउँमा चैते धान पनि रोप्दा रहेछन्' ,सोही ठाउँकी अञ्जु के.सी.ले भन्नुभयो, ‘सिँचाइ व्यवस्था नहुनेले असारे झरीमा रोपाइँ गर्छन् । बिजुवार फाँटमा जेठमा नै सकिन्छ ।' जिल्लाका किसानलाई झिमरुक नदी प्रकृतिले वरदान स्वरुप उपहार दिइएको उहाँले बताउनुभयो । अन्नमा धानबालीलाई प्रमुख बालीका रूपमा लिइने गरिएको छ । किसानले अन्य बालीको तुलनामा धानखेतीलाई वर्षदिनमा पर्वजस्तै गरेर मेहनत गर्ने गर्छन् । अधिकांश किसानले हप्तादिन बढी समय लगाएर खेतभरी रोपाइँ गर्ने गरेका छन् ।


प्युठानमा झिमरुक नदीबाट सिँचाइ सुविधा भएकाले जेठ महिनाभित्रै रोपाइँ गर्ने चलन छ । 

जिल्लाकै उर्वरभूमिका रूपमा झिमरुक फाँटलाई लिने गरिएको जिल्ला कृषि विकास कार्यालय प्युठानले जनाएको छ । धान उत्पादनको कुल खेतीयोग्य क्षेत्रफलमध्ये करिब ७० प्रतिशत हिस्सा झिमरुक नदी क्षेत्रबाट सिंचित हुने गरेको कार्यालयका योजना अधिकृत एवं सूचना अधिकारी अमर बिष्टले जानकारी गराउनुभयो । ‘धेरै जिल्लामा चैत वा असारमा रोपाइँ हुने गरेको देखेका थियौं' ,उहाँले भन्नुभयो, ‘प्युठानका किसानले जेठमै रोपाइँ गरेर सक्छन् । किसानलाई चुनावभन्दा धान रोप्ने चटारो देखिएको छ ।' जिल्लाभर ६ हजार पाँच सय ५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । ‘करिब १५ प्रतिशतले मात्र बर्खामा धान रोप्छन्' ,उहाँले भन्नुभयो, ‘केहीले चैत र अधिकांश किसानले जेठ महिनामै रोपाइँ गर्ने गरेका छन्।'

जिल्लाका बहुसंख्यक किसानले धानखेती गर्ने गरेको उहाँको भनाइ छ । राधा ७, राधा १३, सावित्री, लोकतन्त्र, रामभान र सुक्खा श्रीस जातको धान जिल्लामा रोप्ने गरिएको कार्यालयले जनाएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना, बाली विकास कार्यक्रम, अन्तर्राष्ट्रिय धान अनुसन्धानलगायत कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्दै आइरहेको बिष्टले बताउनुभयो । पछिल्लो समय उर्वरभूमि झिमरुकलगायत फाँट बाढीले माँसिदै गएपछि किसान चिन्तित छन् । फाँट संरक्षणका लागि राज्यले ठोस लगानी नगरेको किसानले गुनासो गरेका छन् । अव्यवस्थित प्लटिङले समेत जिल्लाका खेतीयोग्य फाँट मासिँदै गएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.