भेदभाव नगरी सेवा गर्ने राजदूतको प्रतिवद्वता
![भेदभाव नगरी सेवा गर्ने राजदूतको प्रतिवद्वता](https://annapurnapost.prixacdn.net/media/albums/rajdot-new33-5938c265103829.31907777_4tEdI9tarf.jpg)
कोरिया : कोरियाका लागि नवनियुक्त राजदूत अर्जुज जंगबहादुर सिंहले कामदारको काम र अवस्था बुझ्न सक्रिय हुनु भएको छ ।कोरियामा कार्यरत नेपालीलाई कुनै पनि भेदभाव नगरी सेवा गर्ने प्रतिबद्धता गर्नु भएका नवनियुक्त राजदुत सिंहले स्वंयम कम्पनीमा पुगेर कामदारको अवस्था र कामका बारेमा जानकारी लिनु भएको हो ।
कोरिया आएको दुइ साता नबित्दै राजदूत सिंहले नेपाली युवकले आत्महत्या गरेको थेगुस्थित कम्पनीमा पुगेर त्यसबारे अवलोकन र जानकारी समेत लिनु भएको छ । उहाँले अस्पतालमा राखिएको मृतक गोरखाका सुनिल अधिकारीको शव अवलोकन गर्नुको साथै त्यहाँ कार्यरत नेपाली र कम्पनी मालिकसँग छलफल समेत गर्नुभएको छ ।
राजदूत सिंहका अनुसार अधिकारीले अस्वस्थ्यका कारण डिप्रेसनमा परेको बताउदै कम्पनीको बाहिरपट्टीबाट होस्टलमा जाने फलामको सिढिमा खादाको पासो लगाएर आत्महत्या गरेका थिए ।
प्रहरी र अस्पतालको पोष्र्टमार्टम रिपोर्टमा पनि अधिकारीले आत्महत्या गरेको पुष्टि गरिएको पनि उहाँले बताउनु भयो । २२ वर्षीय अधिकारी दुइ वर्ष अर्को कम्पनीमा काम गरेर करिब चार महिना अघि मात्र थेगुको पेपर बक्स कम्पनीमा पुगेका थिए ।रुममा संगै बस्ने पार्टनर नेपाल घरको बेला अधिकारीले फलामको सिढिमा पासो लगाएर आत्महत्या गरेका थिए ।
त्यहाँ कार्यरत अन्य आठ जना नेपालीले पनि कम्पनी मालिक ठिक भएको र राम्रो व्यवहार गर्ने बताएका पनि राजदूत सिंहले बताउनु भएको छ ।अधिकारीले सुसाइड नोटमा पनि डिप्रसेन परेको उल्लेख गरेका छन् । यसैगरी राजदूत सिंहले राहतका लागि कम्पनी मालिकसँग छलफल भएपनि मालिकले राहत दिन अस्वीकार गरेको बताउनुभयो ।
यद्यपि कम्पनी मालिकले अस्पतालमा पोष्टमार्टम गर्दा लागेको शुल्क तिरेको छ । अधिकारीको शव यहि शुक्रबार नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनु भएको छ ।
कोरिया आएको दुइ साता नबित्दै नवनियुक्त राजदूत स्वंयम घटनास्थल पुगेर घटनाको जानकारी लिने कार्यको सकरात्मक रुपमा लिइएको छ । नवनियुक्त राजदूतले गत साता एक कार्यक्रममा पनि महिनाको दुइ दिन सार्वजानिक बिदाको दिन दूतावास खोल्ने घोषणा पनि गरिसक्नु भएको छ।
उहाँले कामदारको हक अधिकार र सेवाका लागि आफु हरपल सक्रिय रहने पनि प्रतिबद्धता ब्यक्त गरिसक्नु भएको छ । जसबाट यहाँ कार्यरत नेपाली उत्साहित समेत भएका छन् । नेपाली कांग्रेसको कोटाबाट दक्षिण कोरियाका लागि राजदूतमा नियुक्त हुनु भएका सिंहको यहाँका राष्ट्रपति मून जे इनलाई राजदूतको ओहोदाको प्रमाण पत्र बुझाउने प्रक्रिया भने अझै पुरा भएको छैन् ।
चार जना राजदूतलाई सामूहिकरुपमा ओहोदाको प्रमाणपत्र बुझ्ने प्रावधानका कारण सिंहको प्रक्रियामा केहि ढिलाइ हुने देखिएको छ । ओहोदाको प्रमाण पत्र नबुझेका कारण उहाँले औपचारिकरुपमा यहाँका अधिकारीसँगको भेटवार्ता र बैठकमा सहभागीबाट हुनबाट रोकिनु भएको छ । यद्यपी कोरियामा कार्यरत नेपालीसँगको भेटवार्ता र दुतावासमा आफ्नो कार्यसम्पादन भने सुरु गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)